scheduleबिहिवार कार्तिक २९ गते, २०७५

तिहारमा चिल्लो, फलफूल, मिठाई र पटाका

डा. प्रकाश बुढाथोकी

मानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको शृंखलामा स्वास्थ्य जागरणको व्यापक अभियान नचलेको र गरिबी एवं अभावका कारणले समेत लामो समयपछि र अन्तरालमा आउने चाडपर्वमा आवश्यक भन्दा बढी मात्रामा गुलियो, चिल्लो र गरिष्ट खाना खाने हाम्रो बानी परेको छ । तिहार भन्नेबित्तिकै सेल, रोटी, बर्फी, लड्डु, रसवरी, रिंगऐठा, लालमोहन, अनरसा, फिनी, ल्वाङफूल, विभिन्न मिठाई, फलफूल अनि मरमसलाको याद आउँछ । खानपिनमा गुलियो, अमिलो, पिरो, नुनिलो र चिल्लोको मात्रा बढी भएको आहारविहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड भएको प्रायः देखिन्छ । प्रशस्त रक्सी नभए, मनग्गे खान नपाए, धूमपानको फुर्तीफार्ती र बासीत्यासी अचार नभए तथा नाचगान, देउसीभैंलो, गफगाफ र जुवातास नखेले चाड मानेजस्तो नहुने सोचाइ पनि धेरैमा पाइन्छ ।

चाडपर्वमा खाद्यपदार्थमा गुणस्तरहीन वस्तु मिसाउने सम्भावना बढी हुन्छ । यस्ता मिसाइने रङ, कम गुणस्तरको खाद्यपदार्थ तथा लामो समय जोगाउन राखिने रसायनले मुख तथा जिब्रोमा ससाना घाउखटिरा, पेटमा गडबड, पखाला, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गनाउनेजस्ता अल्पकालीन तथा क्यान्सर र मृत्यृसम्मको दीर्घकालीन समस्या निम्त्याउँछ । त्यस्तै, चाडपर्वमा पिरो, चिल्लो तथा मसलादार खाद्यपदार्थले जटिल समस्या पनि उत्पन्न गराउँछ । त्यस्तै, खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ । अपच, अमिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आऊ, पखाला, रिँगटा लाग्ने, आँखा पोल्ने, बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर), उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गाैलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ ।

धेरै तेल, घिउ वा तारेको, भुटेका खाद्यपदार्थमा बोसो बढी हुने भएकाले मोटोपना, मुटु तथा धमनीका रोग, उच्च रक्तचाप, मधुमेह, अपच, कब्जियत वा पखाला, आन्द्राको रोग, पित्तथैलीमा समस्या, पत्थरी, आन्द्राको क्यान्सर बनाउँछ । मसलादार, पिरो तरकारी तथा अमिलो अचारले एसीडीटी बढाई घाँटी, छाती पोल्ने र अल्सर गराउँछ । चिल्लो पिरो खानाले पेटको माथिल्लो मुख (ढकन) खुली पेट पोल्ने समस्या, अम्लपित्त, अल्सर उत्पन्न हुन्छ । त्यसैमा अझ पेट पोलिरहने ग्यास्ट्रिक भएका र अल्सर भएका व्यक्तिले चिल्लो, पिरो, मसलादार खानेकुरा खानु नै हुँदैन ।

फलफूलमा कार्बाइड

डा. प्रकाश बुढाथोकी

कार्बाइडको प्रयोग गरेर पकाएको फलफूलले मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्याउँछ किनभने कार्बाइड मन्द विष हो । जबरजस्ती पकाइएको फलफूलको स्वाद र सुगन्ध त कम हुन्छ नै पौष्टिक तत्व पनि कम हुन्छ । नियमित खाँदा मुखमा घाउ, वाकवाकी आउने, बान्ता हुने, पखाला लाग्ने, ग्यास्ट्रिक, पेटसम्बन्धी गम्भीर समस्याहरू र कहिलेकाहीँ फुड प्वाइजनिङसमेत हुन सक्छ । फस्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले क्यान्सरसम्म हुन सक्ने भएकाले अत्यन्त खतरनाक छ । यसरी पकाइएको फलफूल खाँदा तत्काल असर कमै परे पनि लामो समयमा फोक्सोमा, स्नायुप्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ ।

फास्ट फुड

घरमा खाना बनाएर खान निकै झन्झट मान्ने वा समयको अभाव भएका व्यक्तिले तयारी वा अर्धतयारी खानामा निकै जोड दिने गरेको पाइन्छ । निकै आकर्षक बट्टामा पाइने, क्षणिक स्वादिलो र छिट्टै तयार गर्न सकिने खालका तयारी खानाले समयको बचत र मीठो स्वाद दिने भए तापनि पैसाको खर्च त छँदै छ । दीर्घकालीन रूपमा स्वास्थ्यमा निकै नकारात्मक असर पार्दछ । कुनै पनि तयारी खानालाई धेरै समयसम्म जोगाइराख्न वा आकर्षक बनाउन तथा खानयोग्य बनाउन विभिन्न प्रकारका रासायनिक तत्वहरूको मिसावट हुने भएकाले डब्बा वा प्याकेटमा बन्द तयारी खानाले बेफाइदा गर्दछ । त्यसैले फास्ट फुड इज फास्ट डेथ भनिन्छ ।

मिठाई


तिहार र मिठाईको सम्बन्ध नङ र मासुजस्तै छ । सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकाले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनु दुई साता अघिदेखि नै बनाइन्छ । मिठाई बनाउँदा प्रयोग गरिने अखाद्य पदार्थले शरीरमा दीर्घकालीन असर पारिरहन्छ । पसलेले मिठाई ढोकाबाहिर आँगन, बाटोसम्म राखेर बेच्ने चलनले बाटोको धुँवा, धुलोले एकातिर मिठाईलाई दूषित बनाइरहेको हुन्छ भने अर्कोतिर झिँगा, कीरा लागी संक्रमित बनाइरहेका हुन्छन् ।

चाडपर्वमा खाद्यपदार्थमा गुणस्तरहीन वस्तु मिसाउने सम्भावना बढी हुन्छ । यस्ता मिसाइने रङ, कम गुणस्तरको खाद्यपदार्थ तथा लामो समय जोगाउन राखिने रसायनले मुख तथा जिब्रोमा ससाना घाउखटिरा, पेटमा गडबड, पखाला, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गनाउनेजस्ता अल्पकालीन तथा क्यान्सर र मृत्युसम्मको दीर्घकालीन समस्या निम्त्याउँछ ।

विभिन्न प्रकारका रङहरू, सिम्रिक, सिन्दुर, अबिर, नीर, रोडामिन बी, ब्रिलियन्ट ग्रिन, मालाचिट ग्रिन, मेटालिन एल्लो, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, अउरामिन, केशरी तथा चम्पारङ र बढी मात्रामा खाद्य रङहरू क्यारोटिन, एनाटो, विकजिन, कार्नेन, खैरो चिनी इत्यादि तथा एडेटिभ पीर्जरभेटिभहरू प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानि गर्ने त केहीमा दीर्घकालीन असर स्वास्थ्यमा पर्दछन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा विगतमा गरिएको अध्ययनअनुसार अखाद्य रङ थुप्रै प्रयोग भएका थिए । मिठाईलाई चम्किलो रातो बनाउन रोडाइमान बी, हरियोको लागि मालाच्युट ग्रिन, पहेंलोको लागि मेटालिन एल्लो प्रयोग भएका थिए जुन औद्योगिक प्रायोजनका लागि बनाइएका रङ हुन् । चप, पकौडाजस्ता पहेंला रङ हुने खाद्य परिकारमा समेत मेटालिन एल्लो पाइन्छ । गलैंचा र कपडा रंगाउने यस्ता रङहरू हालेर बनाइएका परिकारहरू लामो समयसम्म खाँदा क्यान्सर रोगसम्म लाग्न सक्छ । रगतको हेमोग्लोविन नष्ट पार्ने फास्ट रेड कार्मोइसिन रातो रङ दिन, आँखाको दृष्टिशक्ति कमजोर पारी अन्धो बनाउने एफसीएफ, सेन्सेन्ट कार्मोइसिन, मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने केशरी रङ जेरी, चप, पकौडा, सेल र बिस्कुटमा पहेंलो रङ दिन, पुरुषको शुक्रकिट नष्ट गरी बाँझोपन बनाउने ब्रोमोनेट तेल पेय पदार्थमा बाक्लोपना र रङ सुरक्षित गर्न । मिठाईलाई आकर्षक तुल्याउन चाँदीको पातलो पत्र तपक, बर्फी र लड्डु राख्न प्रयोग गरिन्छ जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । रोडामाइन बीले मिर्गौला र अण्डकोषमा क्षति, मालाचाइटले फोक्सोमा पानी जम्ने, मालासाइट ग्रिनले फोक्सो, स्तन, पाठेघर र कलेजोमा घाउ, लेड क्रोमेट, कपर सल्फेट र आइरन अक्साइडले प्यारालाइसिस र गर्भपतन प्रमुखतः पर्छन् ।

र, पटाका

दीपावली, तिहार र छठमा अत्यधिक खपत हुने पटाकाका नकारात्मक पक्ष अनगिन्ती छन् र यसबाट प्रताडित हुनेमा अधिकांश महिला, १८ वर्ष कम उमेरका बालबालिका र त्यसैमा मधेसमा बढी हुन्छन् । युनिसेफका अनुसार विश्वमा बर्सेनि साढे ७ लाख व्यक्तिको डढेर मृत्यु हुन्छ, जसमा पटाका मुख्य जिम्मेवार छ । पटाकामा एउटा आवाजको र अर्काे पडकाई वा ब्लास्टको प्रभाव हुन्छ ।

तिखो आवाजले फिर्ता नहुन सक्ने गरी कानको भित्री नसा कमजोर हुन सक्छ भने पडकाइले कानको जाली फुट्न सक्छ जुन आफैं वा शल्यक्रियाद्वारा ठीक हुन्छ । त्यस्तै, कान कराउने समस्या स्थायी वा अस्थायी रूपमा देखिन सक्छ । ५० डेसिवलभन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने १२५ डेसिबल बढीले कानको पर्दालाई नोक्सान तथा श्रवनशक्ति गुम्न सक्छ । पटाकामा भएको नाइट्रोजन डाइ–अक्साइड, सल्फर डाइ–अक्साइड, क्याडमियम, सिसा, तामा, म्यागनिज, सोडियम, सल्फर, म्याग्नेसियम, पोटासियमलगायत हानिकारक प्रदूषकले ब्रोङकाइटिसजस्ता श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउछन् । सास र दमको समस्या हुनेहरू धुँवाबाट बच्नुपर्छ जसका लागि घरभित्रै बस्ने, बाहिर निस्कँदा मास्क लगाउने तथा दमको औषधि साथमै राख्नुपर्छ ।

तिहारका बेला पटाका चलाउँदा, दियो बाल्दा तथा खाना बनाउँदा प्रायः दुर्घटना हुन्छ । तसर्थ, प्राथमिक उपचारका लागि फास्ट एड बक्स घरमा राख्नुपर्छ । पटाकाका कारण आँखामा कुनै कण परे तुरुन्त सफा पानीले धुनुपर्छ तब पनि असजिलो महसुस भए चिकित्सकलाई देखाउनुपर्छ । बच्चाहरू संवेदनशील हुने भएकाले पटाका पड्कँदा निस्कने आवाज, हानिकारक प्रदूषकसँगै बारुदका कण फैलिँदा बालबालिकामा केही समय सास फेर्न अप्ठ्यारो, आँखा, नाक सुक्खा हुन थाल्ने हुन्छ । आतेशबाजी र पटकाले आगजनी मात्र हुँदैन आँखामा चोट, आँखाको ढकनी च्यातिने, दृष्टि गुम्ने, ह्दयाघात, रक्तचाप, दम, छाला, सास, नाकको एलर्जी, ब्रोङकाइटिस, निमोनिया, कानको जाली च्यातिने, कान कराउने, श्रवणशक्ति नोक्सान, हात–खुट्टा जल्ने, टाउको दुख्ने, अनिद्रा तथा कहिलेकाहीँ ज्यानै जानेसमेतलगायतका दर्जनौं स्वास्थ्य समस्या हुन सक्छ । अन्तमा, खानपान, जीवनशैली र असावधानीका कारण खुसी, उमंग लिएर आउने चाडपर्व क्षणभरमै दुःखद अवस्थामा परिणत हुन सक्छ भनी हामी सबै सजग रहनुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob