scheduleआइतवार भाद्र ८ गते, २०७६

‘यौनको प्रभावबाट रचनालाई अल्गाएर राख्न सक्दिनँ’

केही रहस्य, केही आश्चर्य र जिज्ञासाले भरिपूर्ण साहित्यकार पारिजातको जीवन आफैंमा अध्ययनको विषय हो । उनी जीवनभर अविवाहित नै रहिन् तर, उनको रचनामा प्रेम, यौन र विवाहबारे खुला र स्पष्ट धारणाहरु भेटिन्छन् । ‘साहित्य सामाजिक सन्दर्भमा आमजनता अथवा शोषित वर्गका निम्ति लेखिन्छ’ भन्ने धारणा राख्ने पारिजातले प्रेम, यौन र विवाहमा केन्द्रित रहेर दिएको अन्तर्वार्ताका केही अंशहरु यहाँ प्रकाशित गरिएको छ । यो सामग्री हामीले निर्माण प्रकाशनद्वारा प्रकाशित पारिजातका संकलित रचनाहरु, ग्रन्थ-६ बाट लिएका हौं ।

साहित्यमा वैंशालु प्रेमको स्थान कस्तो हुन्छ भन्नुहुन्छ ?

प्रेम जस्तो सार्वभौम कुरा, मान्छेको जीवनमा एउटा खास उमेरमा जरूर हुन्छ । प्रकृतिमा वैंशालु प्रेम हुन्छ भने साहित्यमा यसलाई नकार्न कसरी मिल्छ ? प्रगतिवादी साहित्यमा प्रेमलाई ठाडो र उत्ताउलो किसिमले चाहिँ राख्न मिल्दैन । प्रेमबिनाको जीवन देखाउने कुरा पनि हुँदैन । तर अधिकांश हिन्दी र नेपाली चलचित्रको जस्तो प्रेमलाई नै सबैथोकको केन्द्र बनाएर प्रस्तुत गर्नु उपयुक्त हुँदैन । प्रेम वियोग र त्यसबाट आइपर्ने दुःख मात्र मानिसको जीवनमा आइपर्ने दुःख होइन । त्यसैले साहित्यमा प्रेमको चित्रण गरिँदा त्यसै ढंगले गरिनुपर्छ, जसले गर्दा जीवनको अनुवाद त्यो एकै थोकमा मात्र जबर्जस्ती थोपरिएको नहोस् ।

महिला-पुरुष सम्बन्धबारे नेपालको वामपन्थी आन्दोलनमा समेत उठ्ने गरेका विवादबारे केही भन्न चाहनु हुन्छ कि ?

यौन सम्बन्धलाई लिएर जटिलभन्दा जटिल सामाजिक व्यवस्थालाई पार गरेर बल्लबल्ल यहाँ आइपुगेका छौं । एकनिष्ठता भनेको एउटा छाप मात्रै हो, लाइसेन्स भन्ने त केही छैन । प्रेम विवाह होस् वा जस्तोसुकै विवाह होस्, अर्कोसँग प्रेम हुन्छ भने प्रेममा त्योसँग यौन सम्पर्क राखेर अथवा उसलाई स्वास्नी बनाएर ल्याउनुपर्छ भन्ने कुराको चाहिँ म विरुद्धमा छु ।

एकभन्दा बढीसँग ‘प्रेम’ हुनसक्छ तर ‘विवाह’ हुन सक्दैन ?

प्रेम त सक्छ । विवाह गर्न हुँदैन । विकार आउँछ नि ! यौन सम्पर्क राख्यो, कसैलाई थाहा भएन रे, त्यो कुनै अपराध होइन । तर त्यसले मानिसमा मानसिक विकार ल्याउँछ नि ! त्यसैले रोक लगाउन आवश्यक देखिन्छ ।

एकनिष्ठ विवाह हुनुपर्‍यो, छाडापन हुन भएन भन्नेबारे त विवाद भएन । तर यदाकदा अन्यथा घटना भए भने तिनैलाई आवश्यक भन्दा बढी गिजोल्याएर ‘राजनीतिक हतियार’ बनाउनु अलि बेठीक जस्तो लाग्दैन ?

त्यो त हुन्छ । तर कमसेकम मार्क्सवादलाई मानेर आउनेहरू प्रतिबद्ध भइदिनु पर्‍यो एकनिष्ठतातर्फ । जेठीलाई छोडेर कान्छी ल्याउने, अनि कान्छी छँदाछँदै अर्कोसँग लाग्ने ! उत्तरदायी व्यक्तिहरूले, जानेबुझेकाहरूले, ठूला ठूला पदमा बसेकाहरूले त्यसो गरिँदिँदाखेरि समाजमा भाँडभैलो त मचिन्छ मचिन्छ नि !

जेठी छोडेर कान्छी नल्याउनेभन्दा यो सम्बन्ध बिच्छेद र पुनर्विवाह कुनै पनि हालतमा गर्न नहुने भने जस्तो भएन र ?

विच्छेद गर्न त पाउनु पर्छ नि ! तर दुवैथरी राजिखुसी हुनुपर्‍यो ।

मानौं, दुईटा मध्ये एउटा गलत नै रहेछ भने त दुइटैलाई ‘राजीखुसी’ गराउने कुरो कसरी व्यवहारिक होला र ?

‘डिभोर्स’ गरेर बसे हुन्छ नि ! लोग्नेमान्छे बदमाशै रहेछ भने त्यसलाई ‘डिभोर्स’ गरेर हटाइदिन्छु भन्ने स्वाभिमान त स्वास्नीमान्छेमा हुनुपर्‍यो ।

तर कोही स्वास्नीमान्छेहरू चाहिँ लोग्ने बदमाश हो पनि भन्ने तर त्यसलाई छोड्दिनँ पनि भन्ने पाइन्छन् नि ?

त्यो संस्कार हो, के गर्ने ? लोग्ने नभई हुँदैन भन्ने संस्कार । संस्कारले माया लाग्छ । त्यसैले छोड्न मान्दैन ।

सामाजिक असुरक्षाको कारण पनि त छ ?

त्यो पनि हो । … यो प्रेमको पनि के भरोसा ? कैले बूढो मान्छेमा पनि हुन्छ, कैले अधबैंसेमा पनि । कमसेकम ४० वर्षभन्दा माथि चाहिँ यो समस्या हुनु नपर्ने भन्छु ।

तपाईंको अहिलेसम्मको अनुभवमा नेपाली समाजमा र खास गरी वामपन्थीहरूको बीचमा यो नैतिकताको स्तर कतिको उच्च भएको ठान्नु हुन्छ ?

केही अंसगतिहरू छन् । आफूले यसो व्यक्तिगत रूपमा चिनेका केही कुराहरूमा आफूभन्दा प्रगतिशील भने पनि यस्तो विकृत आचरण चाहिँ मैले देखेको छु ।

नैतिकताको घेरो छोड्ने अधिकांश त पुरुष नै होलान् ?

पुरुष नै छन् । तपाईंले कतै सुन्नुभा’ छ कि स्वास्नीमान्छेले एउटा लोग्नेमान्छेलाई बलात्कार गर्‍यो भन्ने कुरा ?

नेपाली साहित्यमा यौनको बढ्ता प्रभाव देखापर्नाको खास लक्षण के हो, आजको साहित्यमा बढ्ता यौन देखा पर्नुको यो शुभलक्षण हो ? तपाईंको रचनामा पनि बढ्ता यौनको प्रभाव पर्नाको कारण के हो ? आजको साहित्यमा यौनको कहाँसम्म प्रतिनिधित्व हुनु पर्दछ ?

साहित्यलाई यथार्थवादी बनाउनु छ भने यौनको अभिव्यक्ति हुनु कुनै संक्रामक रोग हो झैं मलाई लाग्दैन । यौनबिनाको महान साहित्य रच्न सकिन्छ र रचिएका पनि छन् । तर ‘यौन-यौनकै लागि’ भन्ने दृष्टिकोण चाहिँ राखेर कुनै पनि लेखकले लेख्न चाहिँ अलि हुँदैन झैं मलाई पनि लाग्दछ । अर्को कुरा, जहाँसम्म मेरो रचनामा बढ्ता यौनको प्रभाव देखापर्दछ भन्ने प्रश्न छ, त्यसमा मलाई यही भन्नु छ कि– हो ! म पनि यौनको प्रभावबाट आफ्नो रचनालाई अल्गाएर राख्न सक्दिनँ, तर मेरो लेखाइको मूल दृष्टिकोण चाहिँ पाठकलाई बढ्ता यौनप्रति आकार्षित पारेर, तिनीहरूलाई विकृत तुल्याएर छोडिदिन चाहिँ होइन । म उदाहरणको लागि तपाईंको समक्ष एक दुई कथाहरूलाई ल्याउँछु । पहिले प्रेमा शाहको कथालाई नै लिनुहोस् । ‘पहेंलो गुलाब’ मा के यौनको गन्ध आउँदैन र ? म भन्छु प्रशस्त छ । तर पनि कथाकारले कतै यौनलाई प्रतिनिधित्व गरेको थाहा पाइँदैन । अरू कैयौं समस्याहरूको सँगसँगै यौन पनि आएको छ । त्यस कथामा अभिव्यक्तिको जुन मिठास छ, शैलीको जुन ज्यान छ, र कलाको जुन पराकाष्ठा छ, त्यसले यौनलाई छोडिदिएको छ । एउटा सफल कलाकारमा सेक्सप्रति हुनुपर्ने गुण यही नै हो, जुन प्रेमामा देखा परेको छ । म अझ पनि भन्छु- साहित्यमा अश्लीलता हुनुहुन्न । कलाले त्यसलाई छोपदिएको हुनुपर्दछ । मुख्य कुरा के भन्देखि यौनलाई प्रधानता दिए पनि महानता चाहिँ मैले दिएकी छैन । यौनलाई नै साहित्यमा आधार बनाएर लेखिएको अरूको रचनाहरूलाई पनि प्रधानता दिन चाहन्नँ । जस्तै, ‘मैंया साहेबको डायरी’, ‘मेरी सीता जस्ती निरजा’ यस्तै खालका अरू कैयौं कथाहरू त्यति हिन भएर चाहिँ लेख्न हुन्न झैं लाग्दछ । त्यो त लेखकमा यौनप्रति देखापरेको विकृति मात्रै हो, त्यो लेखकको हिनता मात्रै हो, कुनै खुबी चाहिँ होइन । अर्कोतिर आर्थिक समस्या पनि त्यत्तिकै जटील रूपमा देखा परेको छ । अविकसित अफ्रिका, एशिया र लेटिन अमेरिकाका जनता आफ्नो निर्धनता, गरीबी, अशिक्षा, रोग, भोक आदिसँग लड्नमा लागेका छन् भने त्यहाँ यौनको स्थान रहँदारहँदै पनि त्यो त्यत्ति प्रमुख रूपमा रहेको हुन्न । जति उनीहरूलाई बाह्य भौतिक, आर्थिक र राजनीतिक समस्याहरूले पिरोली राखेको हुन्छ, चिन्तित तुल्याइराखेको हुन्छ । यी देखापरेका सबै वस्तुहरूबाट पनि लेखकहरू आँखा चिम्लेर बस्न सक्दैनन् भने अर्कोतिर ती देशका सबै लेखकहरूले यसै विषयमा मात्रै लेख्नुपर्दछ भन्ने पनि मेरो विचार होइन । कुनै पनि लेखक कुनै पनि विषयमा मात्रै लेख्न पूर्णतः स्वतन्त्र छ । उदाहरणका लागि, अमेरिकालाई नै लिउँ । मलाई लाग्छ आज त्यहाँ आर्थिक समस्या उति जटिल रूपमा छैन । जुन समस्याले आजको अमेरिकी जीवन संकटग्रस्त छ, त्यो हो- यौनको समस्या किनकि आजकाल त्यहाँ मानिसहरूको ‘इन्डिभ्यूजल मोरेल’ मा आइराखेको संकटले नै यो कुरालाई प्रष्ट गर्दछ । सुव्यवस्था र सुसम्पन्नता आउनासाथै यौन समस्याको वास्तविकता लोप हुन्छ भन्न गाह्रो छ । यो सधैं जटील नै रहन्छ ।

प्रेम र यौनलाई तपाईंले कसरी हेर्नु भएको छ ?

प्रेम मानव मात्रमा हुने एउटा सार्वभौम अनुभूति हो । त्यसो त प्रेम अरू प्राणी जातिमा छैन भन्ने होइन । बाघ बघिनी जस्ता खुंखार र एकलकाँटे प्राणी पनि वर्षको एक पल्ट उनीहरूको मेटिङ डेजमा आठ नौ दिनसम्म नारिएर सँगै घुमेको देख्न पाइन्छ । मान्छे जातमा त यो प्रेम बाह्रैकाल छ । प्रेमलाई लिएर समाज परिवर्तन प्रक्रियाको भित्री स्वरूप अझै संघर्षरत नै छ र मान्छेको सचेतनता पनि विकासतर्फ नै छ । तथापि, आजसम्म प्रेममा एकनिष्ठता आइसकेको छैन । परिणामस्वरूप, यौन पनि एकनिष्ठ भएको छैन । यौन एकनिष्ठ हुन सक्छ, यो ठोकुवा गर्न सकिँदैन । कारण, यौन मान्छेको निम्ति भोक, तिर्खा र निद्रा जस्तै अनिवार्य हुन्छ । आपसमा प्रेम भावना भएपछि यौन सम्बन्ध हुनु, त्यो स्वाभाविक प्रक्रिया हो तर यौन सम्बन्धमा प्रेम हुनै पर्छ भन्ने कुनै जरूरी छैन । यौन सम्पर्क मान्छेले मौका हेरेर जोसुकैसँग जहाँकही पनि राख्न सक्छन् तर प्रेमको रूप यति सहज छैन । समाजवादतर्फ संक्रमण भएको समाज बाहेक अरू देशहरूमा रहेको वेश्यावृत्तिको व्यापक कारोबारको पनि यौन र मान्छेको सम्बन्ध कस्तो छ, स्पष्ट पार्छ । यस यौन सम्बन्धले गर्दा पुरुष हैकमवाला समाजमा वेश्यावृत्ति जस्तो, पुरुषलाई क्षणिक शारीरिक सुख दिएर थकित हुने पेशा गर्नु महिलाप्रति अपमानजनक र शोषणपूर्ण नीति हो । वात्सल्यले गर्दा नारीमा कामुकता कम हुन्छ, र पनि नारीले चाहेमा उनीहरूलाई यो सुविधा छैन । अमेरिकामा र युरोपका केही देशहरूमा पुरुषहरू वेश्यावृत्ति गर्छन्, जसलाई मेल प्रोस्टिच्यूट भनिन्छ । मेरो भनाइ महिलाले यौन तृप्तिको सुविधा पाउनुपर्छ भन्ने होइन । वेश्यावृत्तिको क्रमशः उन्मूलन भई समाज शिष्ट र सौम्य स्थितितिर प्रवृत्त होस्- यही चाहन्छु ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage