scheduleमगलवार माघ १४ गते, २०७६

रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी सङ्क्रमित

कविता उपाध्याय/रोल्पा, १९ फागुन । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् ।

प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष पाँच बालबालिका एचआइभी एड्स सङ्क्रमित भएर जीवन जीउँदै आएको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिइन् ।

उनका अनुसार वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुकमा पुगेका युवा एचआइभी एड्स सङ्क्रमित भएर स्वदेश फर्किसकेपछि उनीहरुबाट जन्मेका बालबालिका एचआइभी एड्स सङ्क्रमित भएका हुन् ।

यसरी सङ्क्रमित बाबुआमाबाट जन्मेका बालबालिकाले निरन्तर औषधि सेवन गरिरहेका छन् । समाजले अपहेलना गर्ने डरले यी सबै बालबालिका आफूलाई एड्स सङ्क्रमण भएको कुरा खुलासा गर्न चाहँदैनन् । एकातिर बिरामी पर्नु, अशक्त हुनु, अर्काेतिर समाजले घृणा गर्ने डरले यी बालबालिकाको बाल मस्तिष्कमा नकारात्मक असर पर्न थालेको छ ।

यसरी एचआइभी एड्स सङ्क्रमित हुने बालबालिकामा पूर्वि रोल्पाकी १४ वर्षीया बालिका आशमती कुसुम (नामपरिवर्तन) रहेकी छिन् । वैदेशिक रोजगारीका लागि भारतको चण्डीगढ पुगेका उनका बुबा एचआइभी एड्स सङ्क्रमित भएर करिब १५ वर्ष पहिले स्वदेश फर्केका थिए । आफू सङ्क्रमित भएको कुरा श्रीमतीलाई जानकारी नदिएका कारण उनकी श्रीमती पनि सङ्क्रमित भइन् । सङ्क्रमित बाबुआमाबाट जन्मेको हुँदा उनी जन्मँदै एड्स सङ्क्रमित भएर जन्मेकी हुन् ।

हाल आसमतीका बुबाआमा दुबैको मृत्यु भइसकेको छ । उनी हजुरबुबा र हजुरआमासँग घरमा बस्दै आएकी छिन् । श्रीमान/श्रीमती दुबैको एड्स सङ्क्रमणका कारण मृत्यु भएपछि गाउँलेले आसमतीलाई पनि एचआइभी एड्स सङ्क्रमण भएको हुन सक्ने भन्दै चेकजाँच गराउने क्रममा केही वर्ष पहिले आसमतीमा पनि एड्स सङ्क्रमण देखिएको हो । हाल उनी गाउँकै विद्यायलमा कक्षा ३ मा पढ्दै छिन् । पटक पटक बिरामी पर्ने गरेको हुँदा उनको पढाइले तीव्रता पाउन सकिरहेको छैन ।

यस्तै उत्तर पूर्वि रोल्पामा पनि ८ र १२ वर्षका दुई दिदीबहिनी एड्स सङ्क्रमित भएर बाँचिरहेका छन् । उनीहरु पनि सङ्क्रमित बाबुआमाबाट जन्मेका हुँदा जन्मँदै एड्स सङ्क्रमित भएका थिए । रोजगारीका लागि भारतको बम्बै पुगेका उनीहरुका बुबा एक होटेलमा काम गर्थे । उनी पनि भारतमा काम गर्ने क्रममा एचआइभी एड्स सङ्क्रमित भएका हुन् ।

घरमा आएका बेला श्रीमतीलाई आफू सङ्क्रमित भएको कुरा जानकारी नदिएको हुँदा उनका कारण उनकी श्रीमती पनि एड्स सङ्क्रमित भएकी हुन् । करिब तीन वर्ष निरन्तर बिरामी परेपछि उनको मृत्यु भइसकेको छ भने उनकी श्रीमती र दुई छोरी पनि एड्स सङ्क्रमित भएर बाँच्न बाध्य भएका छन् ।

श्रीमानको मृत्युपछि तीन आमाछोरी लगातार बिरामी पर्न थालेपछि रगत जाँच गर्ने क्रममा उनीहरु एड्स सङ्क्रमित भएको थाहा पाएका थिए । ती बालिका गाउँकै विद्यालयमा क्रमशः ३ र ४ कक्षामा पढ्दै आएका छन् । सुखी जीवन बिताउने सपना देखाएर धन कमाउन विदेश गएका श्रीमान्को एचआइभी एड्स सङ्क्रमणका कारण मृत्युमात्र भएन बाँचेको परिवार पनि एड्स सङ्क्रमित हुँदा उनीहरुलाई जीवन चलाउन हम्मेहम्मे परेको छ । काम गरिखाने हातपाखुरा भए पनि सङ्क्रमणका कारण तागत नचल्ने उनीहरुले बताए । ती बालिकाको परिवारले हाल सहकारीबाट पाएको सानो ऋणबाट गाउँमै सानो पसल चलाएर गुजारा गर्दै आएका छन् । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय