scheduleआइतवार जेष्ठ २ गते, २०७८

सेक्सी ‘कुमार’ दाई !

विनोद ढकाल/ काठमाडौं, १६ चैत । जीवनको उत्तरार्ध लागिसक्यो, शरीरमा उत्तिकै जोस र जाँगर छ । उमेर ७३ पुग्यो तर व्यक्तिगत जीवनलाई ठाँटले बिताउन अब्बल छन्, लोकगायक कुमार बस्नेत । सम्झनै नसक्ने गरी विश्वका धेरै देशका स्टेज तताएका उनीसँग अनौपचारिक भेटवार्ताको निरन्तरताको उपज हो, सम्बोधनमा ‘कुमार दाई’ । उनी खुसी हुन्छन् । त्यसैले उनको मन आधा शताव्दि र दुई दशक बढीको उमेरमा पनि ‘कुमार’ नै छ । मन कुमार भएपछि भै’गो नि ! तन बुढो भएर के हुन्छ र ?

दरबारदेखि जंगलसम्मका अनेक अनुभव बटुलेका कुमार दाईका सुन्दरताप्रतिको अडिग तर्क छ । भन्छन्,‘म ५० प्रतिशत गायक र ५० प्रतिशत ह्यान्डसम भएका कारणले नै शतप्रतिशत थिएँ, अहिले पनि छु ।’ तत्कालीन उपसचिव गंगाबहादुर बस्नेत र आमा मनकुमारी बस्नेतबाट वि. सं. २००० सालमा जन्मिएका लोकगीतका ‘सेक्सी’ प्रस्तोता कुमार दाईको व्यक्तित्व उनको समयले रूचाएका कारण उनी ‘हिट’ पात्र हुन् । ‘काठमाडौंको कमलपोखरी कुमारी हल नजिक मेरो जन्म भएको हो,’ उनले भने ।

लामो समयसम्म प्रतिलिपि अधिकारको अध्यक्ष, संगीत संघको अध्यक्षका रूपमा पनि काम गरेका कुमार दाई जीवनका हरेक रंगको अनुभवी छन् । एउटा कालखण्डकै आधुनिक पात्रका रूपमा स्थापित कुमार दाईका लागि कैयौं केटी मरिहत्ते गर्थे । तीन छोरा तीन छोरीका धनी कुमार दाई भल्गर होइन, सेक्सी गायक हुन् । उनलाई अहिलेका गीत सुनेर दिक्क लाग्छ । यद्यपि, गीतको प्रस्तुति निकै ऊर्जाशील हुनेमा भने उनी विश्वस्त छन् । त्यसैले पनि ‘लै बरी लै लै बरी लै, गाउँकी ठिटी सबैलाई, शनि सातको दशाले घुमाउँदा’ भन्ने गायक कुमार दाईसँग अनेक अनुभव छन् ।

जीवनमा गाएको पहिलो पपगीतले निम्त्याएका घटनाक्रम पनि बडो रोचक छन्, कुमार दाईका । उनी सम्झिन्छन्,‘दिउँला यो जोवन तिमीलाई दिउँला‘ भन्ने पपगीतको निकै चर्चा भयो । राष्ट्रिय नाँचघरमा ५ पटकसम्मको ‘वान्स मोर’लाई त पूरा गरें । छैटौं पटक गाउन नै सकिनँ । पछि थाहा भयो मैले गीत नगाएका कारणले दर्शकले नाचघर तोडफोड नै गरेछन् । त्यसपछि यो गीत गाउन नै ब्यान्ड गरियो, मलाई ।’ नाचघरका तत्कालिन स्टेज म्यानेजर यमबहादुर खड्काले उनलाई त्यो गीत गाउन प्रतिबन्ध लगाएका थिए । एउटा गीतमा एक ठाउँको प्रतिबन्धले लक्ष्यको गोरेटो बन्द हुन् छ र ? उनको कयन लोक गीत नै तत्कालिन स्रोतको जिब्रोमा झुन्डियो । ०४८ सालको गीत ‘छोरी भन्दा आमा तरूनी लिपिस्टिक पाउडरले लान्छ क्यारे घुमाउन झिल्के ड्राइभरले’मा स्वर भरेका कुमार दाईको प्रशंशा र माग अत्यन्तै बढायो । युगकै एउटा सफल गीत भयो, यो ।

केही वर्ष उनी यहि गीतका कारण चर्चामा रहे । त्यसको ५ वर्षपछि फेरि एउटा युगलाई नै हल्लाउने गरी गाइदिए,‘कलियुगको बेलैमा जोसमा हुन्न होस् उनकै छोरी तरूनी हाम्लाई केको दोष ?’ ०५३ सालको यस गीतले त उनको गायनभित्र रहेको ‘सेक्सीनेस’लाई झनै बलियोगरी बजारमा ल्याइदियो ।

नाटककार बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतको प्रशंसा बटुलेका कुमार दाई गायकभन्दा पहिला कुशल ‘डान्सर’ थिए । कुमार दाई सम्झिन्छन्,‘आठ वर्षको उमेरदेखि नै मैले नाँचेको थिएँ । म केटी बनेर पनि कत्ति समयसम्म नाँचेँ । नेपालमा हुने नाटकमा त नाँचे नै भारतको आसामलगायत ठाउँमा पनि पुगेर नाच देखाएँ ।’

कलाकारिताको प्रवेश भीमनिधि तिवारीले गराएको स्मरण गरेका कुमार दाईले ‘अमरसिंह’ नाटकमा नाँच्न लालदरबार (अहिलेको याक एन्ड यती) होटलमा पुगेका थिए । उनले त्यस नाटकमा नाँचेनन् तर करिअर भने सुरू गरेका थिए । तत्कालीन भारतीय नेता जवाहरलाल नेहरू २ पटक नेपाल आउँदा नाँचेर देखाएका कुमार दाई सम्झिन्छन्,‘बेलायतकी महारानी एलिजावेथ नेपाल आउँदा पनि राणाको सिंहदरबारमा रहेको नाचघरमा पनि नाँचेको छु ।’ त्यसताका कुमार दाई जम्माजम्मी १२ वर्षका थिए । बालकृष्ण समका छोरा जनार्दनसँगै गीत गाएका कुमार दाईले २ सय बढी गीत रेकर्ड गराइसकेका छन् । आफ्नो यौवनावस्थाको संघर्षबारे कुमार दाई भन्छन्, ‘त्यसबेला जय नेपाल हलमा गाउँथ्यौं हामी । तारादेवी, कोइली देवीहरू गायिका थिए । तैपनि, म महिलाको आवाज निकालेर गाउँथेँ ।’

कवि वासु शशिले केटी बनाएर नचाएको सम्झना साटेका कुमार दाई थप्छन्,‘कविहरूले माया गर्नुहुन्थ्यो, वासु शशि, लक्ष्मीप्रसाद देवकोटाहरूलाई नाँचेर देखाउँथे ।’ राजनीतिक दलसँग सानैदेखि चिढिएका उनलाई लाग्छ, राजनीति कार्यकर्ता भनेका नेताका लँगौटी हुन् ।

डा. के आई सिंहको पार्टीको चुनावका बेला भैरहवामा गिटार किनिदिने प्रलोभनमा नाँच्न गायक धर्मराज थापासँग पुगेका कुमार दाईलाई गिटारको साटो ३५ रूपैयाँ दिएर फर्काएपछि उनी राजनीतिक दलका कार्यक्रममा जान छाडे । ‘धोका दिने काम भयो अनि मलाई राजनीतिक दलको कार्यक्रममा जान मन लाग्न छाड्यो,’ अनुभव साट्दै कुमार दाई थप्छन्,‘त्यसबेला भैरवबहादुर थापा भन्ने नृत्य निर्देशककोमा म नाच सिक्थेँ ।’

०१५ सालको चुनावका बेला उनी भैरहवा पुगेका थिए । त्यसपछि उनले राजनीतिक दलसँग चटक्कै सम्बन्ध छुटाएर आफ्नो नृत्य कर्ममा अगाडि बढे । भारतको पश्चिम बंगालका विभिन्न ठाउँमा नृत्य देखाउँदाका मीठा अनुभव बटुलेका उनी सम्झिन्छन्,‘आसाम गुहाटी, सिलोङ, डिब्रुगढ, तेजपुरमा ‘फिमेल डान्सर’का रूपमा पुगेको थिएँ । त्यतिबेला मलाई चर्चित नायिका नर्गिसको नाममा जिस्क्याउने गर्थे ।’

कुमारबहादुुर भनेर प्रशंसा पाएका उनलाई नाँच्ने क्रममा पनि चुुनौतीका रूपमा कसैले प्रश्न गरेका थिए । ‘आसामको ब्यु डान्सर रेखा भन्ने हुनुहुन्थ्यो, उहाँको अगाडि इज्जत जोगिने गरी नाँच्छौ कि नाँच्दैनौ भने, रेखाको अगाडि नाँचेर प्राइज नै जितियो ।’

आफ्नो समयमा राम्रो फुुटबलरसमेत रहेका कुमार दाईले महावीर, संकटा र विद्या व्यायामबाट फुुटबल पनि खेलेका थिए । ०१५ सालतिर नेपालका चर्चित नेता विश्वेश्वरप्रसाद कोइराला, टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, सुवर्णशमशेर राणा, तेजकान्त सिलवाललगायतसँग पनि राम्रो चिनजान थियो, कुमार दाईको ।

डा. के आई सिंहको पार्टीको चुनावका बेला भैरहवामा गिटार किनिदिने प्रलोभनमा नाँच्न गायक धर्मराज थापासँग पुगेका कुमार दाईलाई गिटारको साटो ३५ रूपैयाँ दिएर फर्काएपछि उनी राजनीतिक दलका कार्यक्रममा जान छाडे ।

सन् १९६५ मा पहिलो पटक नेपाल सरकारको डेलिगेसनका रूपमा चीन पुुगेका कुमार दाई थप्छन्,‘चीनको अध्ययन गर्न पाइयो । माओत्सेतुुङ, चाउन लाइनले गरेका काम देख्न पाइयो । चीन विकासको क्रममा थियो ।’ हिमालयसमशेर राणाले राष्ट्र बैंकमा ०१६ सालमा मासिक ८० रूपैयाँमा जागिर लगाइदिएको स्मरण गरेका कुमार दाईले थपे, ‘त्यसपछि कर्मचारी सञ्चय कोषमा त्यति नै रकममा काम गर्न थालेँ । ३९ वर्ष काम गरेर ०४९ सालमा मैले कर्मचारी सञ्चयकोषबाट स्वेच्छिक अवकाश लिएको हुँ ।’

कुमार दाईलाई राजा महेन्द्रले निकै मन पराउँथे । महेन्द्रको राज्याभिषेकका लागि तयार भएको एल्बममा पनि गीत गाएका कुमार दाई महेन्द्रको जन्मदिनका बेला नयाँदिल्लीस्थित होटल अशोकामा प्रस्तुति दिएर वाहवाही कमाउने गायक हुुन् । उनले थपे,‘त्यसबेला शुभद्रा अधिकारी र मेरो प्रस्तुतिको प्रशंसा भएको थियो । भारतका मिडियाले थामिनसक्नु प्रचार गरेका थिए ।’ हिन्दूस्तान टाइम्स, टाइम्स अफ इन्डिया, नवभारत टाइम्सलगायतमा कुमार दाई नेपाली कलाकारका रूपमा छाएका थिए ।

कुमार दाईलाई राजाले बोलाउनुुको रहस्य भने उनको जित नै थियो । ०१७ सालतिर युुरोपियनलगायत दूतावासका अधिकारीको ह्याम्स भन्ने संस्थाले रमाइलोका लागि गर्ने कार्यक्रममा कुमार दाईले गीत गाए र शुभद्रा अधिकारीले नृत्य देखाइन् जुन प्रथम भयो । ‘१० हजार रूपैयाँ पुरस्कार पाएका थियौं, अनि राजा महेन्द्रको जन्मदिनमा बोलाइएको थियो ।’, उनले भने ।

कुमार दाईले औपचारिक गीत गायनको यात्रा भने रेडियो नेपालको लोकगीत कार्यक्रममार्फत गरेका थिए । त्यसबेला धर्मराज थापाले कार्यक्रम सुुरू गर्दा ०१६ सालमा गोविन्दबहादुर गुरूङ, ज्ञानबहादुर श्रेष्ठसँगै छानिएर भारतको कोलकातामा भ्वाइस रेकर्ड गराउन पुगेका थिए, कुमार दाई ।

रंगमञ्चमा नृत्यका लागि उत्रिएका कुमार दाईको स्वरको व्यापक तारिफ हुन थाल्यो । उनको जीवनको फरकयात्रा त्यतिबेला सुुरू भयो जतिबेला रेडियो नेपालका लागि रेकर्ड गरिएका लोकगीत, चौतारी घयांला‘नानी गान्छा‘रिमझिम रिमझिम पानी पर्ला‘ भन्ने आधुनिक गीत हिट भए । कोलकातामा इन्द्रेणी रेकर्डबाट ती गीत नेपालमा प्रचारप्रसारमा आएको थियो । उनी थप्छन्,‘गीत हिट भए, त्यसपछि त बटुज्वाला, गोविन्दबहादुर गुरूङ, रत्नदास प्रकाश, नाताकाजी, तारादेवी, शिव शंकर, किरण खरेल, यादव खरेल हावापानी लाग्यो अनि गीतमै व्यस्त हुन थालेँ ।’

कुमार दाईसँग विदेश भ्रमणका अनेक अनुभव छन् । छिमेकी मुलुक भारत र चीन मात्र होइन, जापान, युरोपका कैयन देश र अमेरिकाका विभिन्न सहरमा उनले प्रस्तुति दिइसकेका छन् । सन् १९७० मा एक्सो नागोया जापानमा ‘हेर्दा राम्रो माछापुच्छ्रे, मारी राम्रो माछा बैगुनीलाई गुनले मार्छु खोजी ल्याइ देउ कहाँ छ भन्ने गीत गाएका थिए । १९७४ मा अन्तर्राष्ट्रिय फोक डान्स फेस्टिभलमा जर्मनी, फ्रान्स, बेल्जियम, अस्ट्रिया, युगोस्लाभियामा ११२ देशको कार्यक्रममा सहभागी थिए । विभिन्न देशमा बस्ने नेपालीले बोलाएर हङकङ, सिंगापर, ब्रुनाई, अष्ट्रेलियाको सिड्नी, मेलवर्न, क्यानभाराका कार्यक्रममा कुमार दाई सहभागी भएका थिए ।

कुमार दाई अक्सर शिकार खेल्ने सौखमा हुर्किएका थिए । काठमाडौंमात्र होइन, धादिङदेखि नुवाकोटसम्मका त्यस्ता जङ्गल नहोलान्, उनले जहाँ शिकार नखेलेका हुन् । ‘शिकार खेल्न कति हिँडियो, कहिले बाघसँग साक्षात्कार भयो, कहिले स्यालसँग जम्काभेट’, उनी स्मरण गर्छन्,‘लक्का जवानमा गर्ने काम धेरै गरिए ।’

गाला चाउरी परेपनि खल्तीमा काइँयो बोक्ने बेलाको फेसन अहिले पनि उनमा छ । फुर्सद भयो कि, अधिक खुइलिएको टाउकोमा रहेका गन्न सकिने कपाल कोर्छन्, उनी । भन्छन्,‘ह्यान्डसम छु । ह्यान्डसम रहिरहन चाहन्छु ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय