scheduleबुधवार श्रावण २८ गते, २०७७

एक यस्ता प्रधानमन्त्री जसलाई फाँसी दिनुभन्दा पहिले शौचालयभित्र पनि निगरानीमा राखिन्थ्यो

बिबिसी, चैत२३।  सन् १९७३ देखि १९७७ सम्म पाकिस्तानको ९ वौं प्रधानमन्त्रीको पदमा आसिन भएका जुल्फिकार अली भुट्टोलाई सन् १९७९ अप्रिल ४ तारिखमा राती दुई बजे पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिन्डीको सेन्ट्रल जेलमा फाँसीमा चढाइयो ।

उनलाई रावलपिन्डी जेलको ‘जनान खाने’ (जहाँ महिला कैदीलाई राखिन्छ) मा सात गुणा दस फिटको सेलमा कैद गरिएको थियो ।

भुट्टोलाई एक पलङ, डसना, सानो टेबल र एउटा किताब राख्ने दराज दिइएको थियो । नजिकैको सेलमा उनका लागि खाना बनाइन्थ्यो जहाँ एक कैदीले उनका लागि खाना बनाउँथे ।

हरेक दस दिनमा खाना बनाउने कैदी परिवर्तन गरिन्थ्यो ता कि उनको भुट्टोसँग लगाव नहोस् । कहिलेकाँही भुट्टोका साथी र डेन्टिस्ट डाक्टर नियाजीले उनका लागि खाना पठाउने गर्दथे ।

भुट्टोका जीवनीकार सलमान तासिर (जसको पछि हत्या गरियो), आफ्नो किताब ‘भुट्टो’ मा लेख्छन्, ‘सुरुका दिनमा जब शौचालय जान्थे तब एक सुरक्षागार्ड त्यहाँ पनि उनको निगरानी राख्ने गर्दथे । भुट्टोलाई यो कुरा यति नराम्रो लाग्थ्यो कि उनले करिब करिब खान नै छोडिदिएका थिए ता कि उनलाई शौचालय जानु नपरोस् । केहि समयपछि यस्तो प्रकारको निगरानी राख्न बन्द गरियो र उनका लागि सेल बाहिर भिन्न शौचालय बनाइयो ।’

भुट्टोलाई जेलमा पढ्नका लागि स्वतन्त्रता थियो । अन्तिम दिनमा उनी चार्ल्स मिलरको ‘खैबर’, रिचर्ड निक्सनको आत्मकथा, नेहरुको ‘डिस्कभरी अफ इन्डिया’ र सिद्दिक सालिकको ‘विटनेट टू सरेन्डर’ पढिरहेका थिए ।

पंजाब सरकारका जल्लाद तारा मसिहलाई भुट्टोलाई फाँसी दिनका लागि लाहोरबाट बोलाइएको थियो । उनको चार पुस्तादेखि पूरा परिवार रणजीत सिंहको जमानादेखि फाँसी दिने काम गर्दै आएको थियो ।

त्यतिबेला उनको मासिक तलब ३ सय ७५ रुपैयाँ थियो र उनलाई फाँसी दिनका लागि अतिरिक्त १० रुपैयाँ दिइन्थ्यो ।

जेलमा बस्दा भुट्टो लगातार दाँतको समस्याबाट तनावमा थिए ।

एकपटक उनका डेन्टिस्ट डाक्टर नियाजी लालटेनलाई भुट्टोले ठट्यौली पारामा भनेका थिए, ‘नियाजी तिमी पनि मजस्तै अभागी रैछौ । क्लिनिकमा एक सुन्दर युवतीले तिमीलाई मद्दत गरिरहेकी हुने थिइन्  । यहाँ जेलमा मद्दत गर्नका लागि यी कैदी नै तिमीले भेट्यौ ।’

बेनजिर भुट्टो सन् १९७९ को अप्रिल २ तारिखमा बिहान आफ्नो ओछ्यानमा सुतिरहेकी थिइन् । अचानक उनकी आमा नुसरतले ‘पिंकी, घरबाहिर आएका सेनाका अधिकारीले आज नै तिम्रो बुवालाई भेट्न जानुपर्छ भनिरहेका छन् । यसको अर्थ के हो ?’ भन्दै कोठामा छिरिन् ।

बेनजिर आफ्नो आत्मकथा ‘डटर अफ द इस्ट’ मा लेख्छिन्, ‘मलाई थाहा थियो, यसको अर्थ के हो भनेर । मेरी आमालाई पनि थाहा थियो । तर हामी दुबैले उक्त यथार्थलाई स्विकार गरिरहेका थिएनौं । ती मानिसहरु हामी दुईलाई उनीहरुसँगै लिएर जाने जिद्दि गरिरहेका थिए । यसको एउटै अर्थ थियो कि उनीहरुले मेरो बुवालाई हत्या गर्न तयार गरिरहेका थिए ।’

नुसरत र बेनजीरलाई एक शेवरलेट कारमा रावलपिन्डी जेलमा लगिएको थियो । छानबिनपश्चात् उनलाई भुट्टोको अगाडि लगियो । उनीहरुबिच पाँच फिटको दुरी राखिएको थियो ।

बेनजिर लेख्छिन्, ‘मेरो बुवाले सोधेका थिए कि परिवारसँग भेट्न उनलाई कति समय दिइएको थियो ? जवाफ आएको थियो ‘आधा घण्टा’ । तर मेरो बुवाले ‘जेलको नियम अनुसार अन्तिम भेटघाटका लागि एक घण्टाको समय निर्धारण गरिएको हुन्छ’ भन्नुभयो । तर अधिकारीले आफूलाई आधा घण्टा मात्र दिने आदेश आफूलाई आएको बताए । उनी जमिनमाथि राखिएको एक डसनामा बसेका थिए किनभने उनको सेलमा राखिएको टेबल, कुसी र पलङ त्यहाँबाट हटाइसकिएको थियो ।’

बेनजिर थप लेख्छिन्, ‘उनले मैले उनलाई दिएको पत्रिका र किताब मलाई फिर्ता दिए ।’

बुवाको भनाई उद्धृत गर्दै उनी लेख्छिन्, ‘म चाहन्नँ कि म मरेपछि उनीहरुले यी किताब छोउन् । उनले मलाई उनको वकिलले दिएका केही सिगार पनि फिर्ता दिएका थिए । उनले बेलुकाका लागि एउटा सिगार बचाएर राखेको कुरा पनि गरेका थिए । उनले शालिमार कोलोनको एक बोतल पनि आफूसँगै राखेका थिए । उनले आफ्नो विवाहको औंठी पनि मलाई दिन लागेका थिए तर मेरी आमाले उनलाई रोकेकी थिइन् । यसबारे उनले भनेका थिए, ‘अहिले त म यसलाई लगाइराख्छु तर पछि यसलाई बेनजिरलाई दिइयोस्’ ।’

‘केही समयपछि जेलरले हाम्रो भेटघाटको समय सिद्धिएको बताए,’ उनले लेखेकी छिन् ।

बेनजिरले जेलर सेल खोल्न आग्रह गर्दै आफ्नो बुवालाई अंगालो हाल्न चाहेको बताइन् तर यसका लागि उनले अनुमती नपाएको पनि उक्त किताबमार्फत जानकारी दिइन् ।

बेनजिर लेख्छिन्, ‘मैले अनुनय बिन्ति गरें । मेरा बुवा पाकिस्तानका निर्वाचित प्रधानमन्त्री हुन् र म उनकी छोरी हुँ । यो हाम्रो अन्तिम भेट हो । मैले उनलाई अंगालो हाल्न पाउने अधिकार छ । तर जेलरले ठाडै अस्विकार गरे । मैले भनें, ‘गुड बाई पापा’ । मेरी आमाले बारको बिचबाट हात अघि सारेर बुवाको हात छोइन् । हामी दुबै फटाफट बाहिर लम्कियौं । म पछाडि फर्केर हेर्न चाहन्थें तर मैले यसो गर्न सकिनँ ।’

Salman Tasir

जेल अधिक्षक यार मोहम्मदले उनलाई ‘ब्लायक वारेन्ट’ पढेर सुनाए जसलाई उनले चुपचाप सुने ।

उनले सेल बाहिर उभिएका पुलिसलाई भित्र बोलाए र डेप्युटी सुपरिटेन्डेन्टलाई भने, ‘म मरेपछि मेरो घडि उनलाई (पुलिसलाई देखाउँदै) दिइयोस् ।’

आठ बजेर पाँच मिनेटमा भुट्टोले आफ्ना सहयोगी अब्दुर रहमानलाई कफी ल्याउन आग्रह गरे । उनले रहमानसँग भने, ‘यदि मैले तिमीसँग कुनै अभद्र व्यवहार गरेको छु भने मलाई माफी दिनु ।’

सर्वोच्च अदालतद्वारा उनको अपिल अस्विकार गरेपछि उनको दाह्री काट्ने मेसिन पनि खोसिएको थियो ता कि उनले आत्महत्या गर्न नसकून् ।

सलमान तासिर लेख्छन्, ‘भुट्टोले भने, ‘मलाई दाह्री काट्ने अनुमती दिइयोस् । म धर्मगुरु जसरी यो संसारबाट बिदा हुन चाहन्नँ ।’

९ बजेर ५५ मिनेटमा उनले आफ्नो दाँत ब्रस गरे । मुख धोए र कपाल काटे । त्यसपछि उनी सुत्न गए । मध्य रातको १ बजेर ३० मिनेट जाँदा उनलाई उठाइयो । उनले अफ ह्वाइट रंगको कुर्ता सुरुवाल लगाएका थिए । जेल अधिकारीले उनलाई उक्त पहिरन परिवर्तन गर्न दबाब दिएनन् ।

जब सुरक्षाकर्मीले उनको हात पछाडिबाट बाँध्ने कोसिस गरे तब उनले त्यसको विरोध गरे ।

अन्त्यमा उनको हातलाई जर्बजस्ती डोरीले बाँधियो । त्यसपछि उनलाई एक स्ट्रेचरमा सुताएर ४ सय गजसम्म लगियो ।

सलमान तासिर लेख्छन्, ‘त्यसपछि भुट्टो स्ट्रेचरबाट आफै ओर्लिएर फाँसी दिने स्थानसम्म हिँडे । जल्लादले उनको अनुहारलाई कालो कपडाले ढाकिदिए । उनको खुट्टा बाँधियो । घडीमा दुई बजेर चार मिनेटमा मजिस्ट्रेट बसिर अहमद खाँले इशारा गरे, जल्लाद तारा मसिहले लिभर ताने । भुट्टोको अन्तिम शब्द थियो, ‘फिनिस इट’ ।’

३५ मिनेट पछि भुट्टोको मृत शरिरलाई एक स्ट्रेचरमा राखियो ।

त्यतिबेला रावलपिन्डी सेन्ट्रल जेलमा गुप्तचर अधिकारी रहेका कर्नल रफिउद्दीन आफ्नो किताब ‘भुट्टोको अन्तिम ३२३ दिन’ मा लेख्छन्, ‘केही समयपश्चात् गुप्तचर एजेन्सीका एक फोटोग्राफर आए र भुट्टोको गुप्ताङ्गको तस्बिर खिचे । प्रशासनले यो कुराको पुष्टि गर्न चाहन्थ्यो कि भुट्टोले इस्ताली रितिरिवाज अनुसार खतना गरेका थिए वा थिएनन् । तस्बिर खिचेपछि यो कुरा पक्का भएको थियो कि भुट्टो वास्तवमा नै खतना भएका थिए ।’

पछि श्याम भाटियोले पनि आफ्नो किताब ‘गुडबाई शहजादी’ मा लेखेका थिए कि बेनजिरले उनलाई आफैं बताएका थिए कि भुट्टाको मृत्युपश्चात पनि यो अपमान सहनुपरेको थियो ।

उता निकै टाढा रहेको सिहालाको एक गेस्ट हाउसमा कैद गरिएको बेनजिर भुट्टोले आफ्नो पिताको मृत्यु महसुस गरिन् ।

बेनजिर आफ्नो आत्मकथा डटर अफ द इस्टमा लेख्छिन्, ‘आमाले दिएको वोलियम गोली खाएपछि पनि ठिक दुई बजे मेरो आँखा खोलियो । म निकै चिच्याएँ, ‘नो… नो…’ मेरो सास रोकिएको थियो । यस्तो लागेको थियो मेरो गलामा पासो लगाइएको थियो । पापा….पापा.. मेरो मुखबाट यतिमात्र आवाज निस्किरहेको थियो  । निकै गर्मी हुँदासमेत मेरो पूरा जिउ काँपिरहेको थियो ।’

केही घण्टा पछि सेन्ट्रल जेलका असिस्टेन्ट जेलर बेनजिर र नुसरतलाई नजबन्द गरिएको घरमा पुगे ।

उनलाई भेट्ने बित्तिकै बेनजिरको पहिलो शब्द थियो, ‘हामी प्रधानमन्त्रीको साथमा हिँड्न तयार छौं ।’ जेलरको जवाफ थियो, ‘उनलाई गाड्नका लागि लगिसकिएको छ ।’

बेनजिर लेख्छिन्, ‘यति सुनेपछि मलाई कसैले छुरी रोपेको जस्तो महसुस भयो  । मैले चिच्याउँदै भनें, ‘उनको परिवार बिना उनलाई कसरी गाड्न सक्छौ ?’’

त्यसपछि ती जेलरले भुट्टोको एक सामान बेनजिरलाई सुम्पिए ।

बेनजिर लेख्छिन्, ‘उनले मलाई पापाले अन्तिम समयमा लगाएको कुर्ता सुरुवाल दिए । त्यसबाट मैले शालिमार कोलोनको सुगन्ध महसुस गरिरहेको थिएँ । त्यसपछि उनले एक टिफिन बक्स दिए जसमा पछिल्लो १० दिनदेखि उनले नखाएको खाना राखिएको थियो । उनले उनको ओछ्यान र चियाको कप पनि सुम्पिए । मैले सोधें उनको औंठी कहाँ छ ? जेलर उनले औंठी पनि लगाएका थिए र भन्ने प्रश्न तेर्साए । पछि उनले झोलामा औंठी खोज्ने नाटक गरे र औंठी पनि दिए । ती जेलरले पटक–पटक भनिरहेका थिए, ‘उनको अन्त्य निकै शान्तिपूर्ण थियो’ । मैले सोचें, ‘के फाँसी पनि शान्तिपूर्ण हुनसक्छ ?’

बेनजिरको परिवारका सहयोगी बशिरले जब भुट्टोको कपडा देखे तब उनी चिच्याउँदै भने, ‘या अल्लाह! या अल्लाह! उनीहरुले हाम्रो साहबलाई मारिदिए ।’

प्रतिकृया लेख्नुहोस्:

आजको लोकप्रिय