scheduleआइतवार आषाढ़ १ गते, २०७६

हातखुट्टा नभएका निक, जसको चामत्कारिक जीवनकथाले तपाईलाई उजिल्याउन सक्छ

एजेन्सी । अष्ट्रेलियाका निक भुजिकिक हातखुट्टा विनै जन्मिएका असाधारण व्यक्ति हुन् । तरपनि उनी अरुभन्दा आफूलाई कम नठानी बाँचिरहेका छन् । ३२ वर्षिय उनी लस एन्जलसको एउटा सेवामूलक संस्थामा आफूजस्तै मान्छेहरूलाई प्रेरणात्मक उर्जा दिएर सम्मानजनक जीवन बाँचिरहेका छन् । विवाह समेत गरिसकेका उनको २ वर्षका छोरा छन् । उनको जीवनमा आधारित एउटा वृत्तचित्र टेलिभिजन च्यानल टिएलसीले १७ जुनमा प्रशारण गर्ने भएको छ ।

‘सबै कुरा राम्राका लागि हुन्छ भन्ने लागेर म ठूलो भएको छु । मलाई भगवानमा विश्वास छ र मेरा आमाबाबुले पनि मलाई सँधै प्रोत्साहन गर्नुभएको छ,’ उनी भन्छन्, ‘उहाँहरूले मप्रति हरेस नखाएकाले मैले पनि जीवनमा कहिल्यै हार मानिनँ । म जन्मिने बेलामा मेरी आमालाई थाहा थियो कि उनको गर्भमा केही न केही समस्या छ । तरपनि उनले मलाई जन्म दिइन् तर हात खुट्टा विनै जन्मिएको देखेर सबै छक्क परेका थिए । मेरो बुवाले मलाई पहिलो पटक हेर्न आउँदा उहाँ बेहोस् हुने अवस्थामा हुनुन्थ्यो भन्ने मैले सुनेको थिएँ ।’

उनी थप्छन्, ‘म ६ वर्षको हुँदा मैले प्रोस्थेटिक अभ्यासको प्रयास गरेको थिएँ । मैले उनीहरू विनानै धेरै थोक गर्न जानिसकेको थिएँ । अष्ट्रेलियामा स्कुल पढ्ने बेला सबैले मलाई जिस्काउने गर्थे । मेरो बुवाआमाले मलाई उनीहरूलाई वास्ता नगर्न भन्नुभयो । तर म पनि अरू जस्तै सामान्य जीवन चाहान्थेँ । मेरो पनि अरूको जस्तो हात र खुट्टा होस् भन्ने मनमा लागिरहन्थ्यो ।’

उनले १० वर्षको उमेरमा आत्महत्याको प्रयत्न पनि गरेका थिए । उनलाई त्यतिबेला जीवनको कुनै अर्थ नभएको आमाबाबुका लागि बोझमात्र भएको भान हुन्थ्यो । ‘मैले त्यसबेला मजस्तै हातखुट्टा नभएको अर्को मान्छे देखेपछि सहयोग गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छन् ।

उनी किशोरावस्थाको रहँदा स्वतन्त्र हुन चाहन्थेँ। उनका आमा बाबुले प्रयास नगरेसम्म केही हासिल गर्न नसकिने भन्दै हौसला दिने गर्दथे । त्यही हौसलाका कारण उनले निरन्तर प्रयास गरे । अहिले उनी पौडी खेल्न सक्छन्, फिसिङमा रमाउन सक्षम छन् । उनी हिउँमा खेल्नेदेखि समुद्रमा रमाएर विभिन्न खेलका लागि सक्षम छन् ।

अहिले उनलाई असफल हुन मन लाग्दैन । उनी थप्छन्, ‘मलाई आफ्नो काम आफैं गर्न मन लाग्छ । दाँत माझ्छु । कपाल नुहाउँछु ।’

उनले युवा अवस्थामा प्रेरणाको सन्देश दिन थाले । नगरे केही हुन्न गरे जे पनि सम्भव छ भन्ने उदाहरणका विषयमा उनले कुरा गर्न थाले । ‘मैले १९ वर्षको उमेरमा प्रेरणात्मक वक्तव्य दिन सुरू गरेँ र त्यस क्रममा पाँच वर्षसम्म संसारका विभिन्न देश पुगेँ । नयाँ पिँढीसँग कुरा गर्न मलाई असाध्यै रमाइलो लाग्छ । म उनीहरूलाई जीवनको मूल्यबारे सधैँ सचेत गराउँछु । कसैसँग नडराउन र बाहिरी समाजसँग निर्धक्क भएर सामना गर्न सल्लाह दिन्छु ।’ उनी भन्छन् ।

उनकी पत्नी केनिएसँग अमेरिकाको टेक्सासमा पहिलो भेट भएको सुनाएँ । उनी थप्छन्, ‘सम्बन्ध मायामा परिणत हुनका लागि केही समय लाग्यो तर हामी एकअर्कालाई भेटेकोमा धेरै खुसी छौं ।’

सन् २०११ मा उनी निजी समस्याले ग्रस्त थिए । उनका योजनाहरु असफल हुँदै गएका मात्रै थिएनन्, उनको पैसा पनि चोरी भएको थियो । त्यसबेला उनी २८ वर्षका थिए । ‘मैले बाबुआमासँग मद्दत माग्न सकिनँ, श्रीमतीले पनि छाड्छिन् जस्तो लागेको थियो । तर, केनिएले मलाई समर्थन गरिन् । सहयोग गरिन् । मलाई केही गर्छु भन्ने आँट आयो ।’, उनी भन्छन्, ‘अहिले छोरो मेरो कुमसम्म आइपुग्छ । एकअर्काको अँगालोमा हामी ज्यादै खुसी हुन्छौं । मेरी पत्नी अहिले हाम्रो छोरा हुर्काउन व्यस्त रहेकाले म सकेसम्म आफ्ना कामहरू आफैँ सम्हाल्छु र आफ्नो परिवारलाई सुखी राख्ने प्रयास गर्दैछु ।’

अहिले उनी आफ्ना प्रवचनमा आत्महत्या, अरूलाई गरिने छुस्क्याँईजस्तो व्यवहारविरूद्ध बताउँछन् । कुनै बेला चमत्कार हुने विश्वास गर्नुपर्ने जनाउँदै जीवनमा हार मान्न नहुने बताउँछन् । उनी भन्छन्, ‘म सुपरहिरो होइन । मेरो लगातारको संघर्षले आज म यहाँसम्म पुग्न सकेको हुँ । मैले जीवनबाट यहि पाठ सिकेको छु ।’

भावानुवाद : ममता घिमिरे

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob