scheduleबुधवार आषाढ़ ४ गते, २०७६

गाउँमा बाँदरले आतंक मच्चाएपछि किसानहरु नाराबाजी गर्दै सदरमुकाममा (भिडियो)

धादिङ, ३१ जेठ । गाउँमा बाँदरले आतंक मच्चाएपछि वाक्कदिक्क बनेका धादिङका किसानहरु नाराबाजी गर्दै सदरमुकाम पुगेका छन् ।

भर्खरै घोगा पस्न लागेको मकै र अन्य अन्नबाली बाँदरले सखाप बनाउन थालेपछि पीडित किसानहरु सदरमुकाम उत्रिएका हुन् । उनीहरु बाँदरले चिथोरेका मकै लगायत अन्नबालीको माला लगाएर बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शनमा उत्रिए ।

बाँदरले हरेक वर्ष दुःख दिएपछि उनीहरु हरेक वर्ष जिल्ला प्रशासन कार्यालयलगायतका निकायहरुमा बाँदर नियन्त्रणको माग गर्दै आइरहेका छन् । पटकपटक गुनासो र उजुरी गर्दा पनि सुनुवाई नभएपछि उनीहरु नाराबाजीसहित सदरमुकाम पुग्दै नाराबाजीमा उत्रिए ।

पीडित किसानहरुले बाँदर पीडित समूह नै बनाएका छन् । उक्त समूहका अध्यक्ष तिलप्रसाद लम्सालले भने, ‘५ वर्षदेखि पटक पटक नियन्त्रण गरिदिनुस् भनेर गुहार्दै आएका छौं, आश्वासन भन्दा केही भएन ।’ उनले आश्वासनले हामीलाई भएन, जसरी हो हामीले खाने अन्नबाली जोगाइदिनु पर्‍यो भन्दै यसपटक पनि सदरमुकाम आइपुगेको बताए ।


पछिल्लो समयमा बाँदरको आतंक बढ्दै गएपछि निलकण्ठ नगरपालिकाको वडा नं ९ देखि १२ सम्मका किसान र ज्वालामुखी गाउँपालिकाका किसान निकै पीडित बनेका छन् ।  किसानहरुले बाँदर आतंक नियन्त्रण गर्न प्रभावकारी विधि खोजीदिन वा बाँदरले पुर्‍याएको क्षतीपुर्तीको व्यवस्था मिलाउन प्रशासन, वन कार्यालय र कृषि कार्यालय समक्ष आग्रह गरेका छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने किसानले चेतावनी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob