१८ वटा मरेका बाख्रासहित व्यवसायी पक्राउ

काठमाडौं, १२ असार । काठमाडौँ उपत्यकामा मरेका १८ वटा बाख्रा भित्र्याउँदै गरेको अवस्थामा हिजो थानकोट चेकपोष्टमा एउटा गाडी पक्राउ परेको छ ।
थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले गाडी नियन्त्रण गरेका हुन् । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २७७० नम्बरको यात्रुवाहक बसमा व्यवसायी रामबाबु ठाकुरले चारवटा जिउँदो बाख्रासँगै १८ वटा मरेका बाख्रा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले काठमाडौँ उपत्यकामा मासु आपूर्ति गर्ने उद्देश्यले ती बाख्रा ल्याइएको हुन सक्ने भन्दै गाडीलाई नियन्त्रणमा लिएर व्यवसायी ठाकुरलाई पक्राउ गरेको बताए ।
व्यवसायी ठाकुरलाई छानबिन गरी पशु स्वास्थ्य तथा पशुसेवा ऐन– २०५५ अनुसार कारबाही हुने उनले बताए ।