scheduleशुक्रवार आश्विन १ गते, २०७८

व्रत बसेकी उनीलाई

मुक्ति गौतम

तिम्रो भोको दिनले
मेरो कति दिन आयू थपियो
त्यो त थाहा छैन
तिम्रो मप्रतिको मायाले भने
म निथ्रुक्क भिजेको छु,
तिम्रो सुकेको आँतले
मेरो जीवन अरु कति लम्ब्यायो,
आफ्नै आयू घटाएर
तिमीले कति थप्यौ मेरो भागमा
अरु अमूल्य दिनहरु,
तिम्रो भोको पेटले
मेरो श्वास अरु कति तन्कियो
भलै अन्दाज नहोला मलाई
तिम्रो मप्रतिको समर्पणले भने
मेरो मन पुरापुर भरिएको छ ।

आफू भोकै बसेर तिमीले
मेरा निम्ति बनाएको रोटी उक्सिँदा
मैले त्यसैमा देखें
आफ्नो थपिएको आयू,
आफ्नो प्यास बिर्सिएर तिमीले
मेरो पानीको अम्खरा भर्दा
अम्खराबाट पानी धारो भएर
मेरो सुकेको गलामा झर्दा
मैले त्यतिबेलै अनुभूत गरेँ
मेरो तन्किएको आयू ।

बर्षभरि हरेक दिन
तिम्रा छोटा र लामा
अनगिन्ति व्रतहरुबाट
हामी सबैले आफ्नो भागमा
अलि अलि आयू थप्छौं,
हाम्रो ओठको खुसी
आँखाको चमक
अनुहारको कान्ति

रातको निस्फिक्रि निन्द्रा पनि
तिम्रै भागबाट आउँछ
हाम्रो भागमा ।

तिमी नभए त
मेरो हुनुको पनि केहि अर्थ देख्दिनँ म त,
कहाँ लम्बिएला र मेरो आयू
तिम्रो आयू घट्दा,
कहाँ भेटौंला र खुसी
तिम्रो तन गल्दा
तिमीले व्रतमा माग्ने बरदानको आयू
बरु नमाँगे हुन्न र प्रिय ?

२५ अगस्त २०१७
टोरण्टो

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय