scheduleआइतवार श्रावण ५ गते, २०७६

कागती बेचेर पाँच वर्षमा करोडपति

सुरुङ्गा (झापा), १९ भदौ । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रेती कागती बेचेरै करोडपति बनेका छन् ।

नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्किएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका  हुन् । उनले अहिले वार्षिक  २० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ सालबाट कागतीखेती शुरु गरेका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा उत्पादन पनि गर्न थालेका  छन् ।

बिरुवा उत्पादनको शैली र उन्नत जातका बिरुवा पनि सरल प्रविधिबाट उत्पादन गर्दै थोरै ठाउँमा मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका  उप्रेती अहिले मेहनती कृषकका रुपमा झापामा परिचत छन् । उनले कृषि कर्मसँगै निजी वनको संरक्षण, सम्बद्र्धन र जैविक विविधतामा पुर्‍याएको योगदानस्वरुप यस वर्षको निजी वन राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेका  छन् ।

डेढ लाखको लगानीमा कृषि कर्म शुरु गरेका उप्रेतीले कृषि फर्म सञ्चालन गर्दै अहिले आफ्नो कारोबार करोडमाथि पुर्‍याएको बताएका छन् । उनले पाँच कट्ठा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा समेत लगाएका  छन् ।

डेढ बिगाहा काँशघारी किनेर कागतीका बिरुवा रोपेर त्यसैलाई मलजल गर्दै आम्दानी लिन शुरु गरेका  उप्रेतीले अहिले वार्षिक डेढदेखि दुई लाख कागतीका दाना बिक्री गर्छन् । उनको आम्दानीको मुख्य स्रोत कागती नै हो । कागती बेचेरै आफू पाँच वर्षमा करोडपति भएको उनले सुनाए।

कागतीलाई विभिन्न प्रजातिमा रुपान्तरण गर्दै उनले युरिका, चाइनिज, एनसीआपी ५५ नामाकरण गरेका छन् । वार्षिक २५ देखि ३५ हजार उत्पादित बिरुवा बिक्री गर्दै उनले आम्दानीको स्रोतलाई अझ फराकिलो बनाएका  छन् । उनका बगैँचामा ३०० कागतीका बोट छन् । उनले कागती कलमी गरेर गमलामा समेत फलाएका  छन् ।

कलमी गरिएका र बिउ राखेर उमारेका कागतीका प्रतिबिरुवा  ५० देखि ८५ सम्ममा बिक्री गर्ने गरेको उनका बुबा लक्ष्मीप्रसाद उप्रेतीले बताए । उनले भने–’छोराले मान्छे हेरेर बिरुवाको दाम लिन्छ, गरिब दुःखीलाई निःशुल्क बिरुवा बाँड्छ भने व्यावसायिक कागतीखेती गर्न इच्छुकलाई ५० देखि ८५ सम्ममा बिरुवा बिक्री गर्दै आएको छ ।’

होटल व्यवस्थापन अध्ययन गर्दागर्दै उप्रेती सीप नसिकी हतार गर्दै कतार पुगेका  थिए। उनले विदेशमा पाएको दुःख सम्झिएर यहाँ मेहनत गरिरहेका छन् । धेरै पैसा कमाउने लाचले कतार पुगेको थिएँ, उनले भने– ‘नौ वर्ष विदेश बस्दा जति कमाएँ त्योभन्दा दशौँ गुणा बढी त मैले यहाँ पाँच वर्षमै कमाएको छु ।’

कागतीसहित तेजपात, मेवा, तरकारी, मलेसियन साल, टिकलगायतका बिरुवा उत्पादन उहाँको अर्काे आयस्रोतको बाटो हो । उनी उन्नत जातका तरकारीका बिरुवा पनि उत्पादन गर्दै बिक्री वितरण गर्छन् ।

त्यस्तै गड्यौँले मल बिक्रीबाट पनि उनको मनग्ये आम्दानी हुने गरेको छ । गड्यौँले मल उत्पादनका लागि उनले छुट्टै मल घर बनाएका  छन् ।

उनले आफ्नो कृषि फर्ममार्फत धेरैलाई रोजगारी पनि दिएका  छन् । ‘हिजो रोजगारीको खोजीमा विदेश गएको थिएँ, आज म यहीँ अरुलाई रोजगार दिन सक्ने भएको छु,’  उप्रेतीले भने, ‘माटोमा सुन फल्छ भन्ने उखान सुनेको थिएँ, आज चरितार्थ भयो,’ । उनले पाकेका कागतीको दाना देखाउँदै भने, ‘सुनभन्दा कम छैन, यो कागतीको दाना ।’

‘हिजो मैले व्यवसाय शुरु गर्दा कागतिको खेती गरेर के  कमाइ होला र भनी खिस्याउनेहरु अहिले मसँगै कागतीखेतीका विषयमा बुझ्न आउँछन्, म उनीहरुलाई कागतीखेती मात्र नभई अन्य विषयमा पनि जानकारी दिन्छु,’ उप्रेतीले भने, ‘कतिलाई त कागतीका बिरुवा दिएर बगान बनाउन पनि सहयोग गरेको छु ।’

उप्रेतीले उत्पादन गरेका बिरुवा र कागती मेची अञ्चलका विभिन्न जिल्ला तथा अन्य जिल्लामा पनि बिक्री हुने गरेको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob