scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

नेपालको सन्दर्भमा वाम भनेको कम्युनिष्ट होइन : देवकोटा

एमाले, माओवादी र नयाँ शक्तिको गठबन्धनलाई वाम तथा प्रगतिशील गठबन्धनको नाम दिइएको छ । यो गठबन्धन लगत्तै कांग्रेसको नेतृत्वमा अर्को गठबन्धन बनेको छ । जसको नाम दिइएको छ- लोकतान्त्रिक गठबन्धन । तर चरित्रका हिसाबले पहिलो गठबन्धनलाई वाम–लोकतान्त्रिक गठबन्धन र दोस्रो गठबन्धनलाई उदारवादी-पुरातनवादी (लिवरल-कन्जर्भेटिभ) गठबन्धन भन्नुपर्छ भन्ने बहस पनि छ । यसै सन्दर्भमा नयाँ शक्तिका नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटासँग साझापोस्टले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ-

अहिले बनेको गठबन्धनको नामबारे यहाँको बुझाई के हो ?
प्रजातान्त्रिक प्रमाणपत्र नेपाली कांग्रेसको भएको हुनाले उसले जे गर्दा पनि लोकतान्त्रिक हुने । ऊ जुन कित्तामा उभियो, त्यही लोकतान्त्रिक कित्ता हुने । यो चाहिँ नेपालको परम्परागत मान्यता बन्न पुगेको हो । तर बाइ कन्डक्ट डेमोक्रेटिक भन्ने हो भने नेपाली कांग्रेस सबैभन्दा निरंकुश भएको छ । अर्को कोणबाट हेर्ने हो भने नेपालका कम्युनिष्टहरु दस्तावेजका हिसाबले हेर्दा पनि र क्रियाकलापको दृष्टिले हेर्ने हो भने पनि सबैभन्दा बढी लोकतान्त्रिक देखिन्छ । अभ्यासका हिसाबले सबैभन्दा बढी छलफल, बहस हुनेगर्दछ । तर उनीहरुलाई प्रजातान्त्रिक प्रमाणपत्र छैन । यसर्थ, उनीहरुले आफूलाई लोकतान्त्रिक शक्ति भनेर दावी गर्न नि सक्दैनन् । अरुले स्वकार्दा पनि स्वीकार्दैनन् । यसर्थ अहिले नेपालको सन्दर्भमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भनिएको छ । यो व्यवहारका हिसाबले सही होइन ।

हुनुपर्ने के हो त ?
हुनुपर्ने के हो भने कम्युनिष्ट नाम भएका र कम्युनिष्ट पृष्ठभूमि भएकाहरु एकठाउँमा आइसकेपछि त्यसको प्रतिक्रियास्वरुप बनेको गठबन्धनलाई म लोकतान्त्रिक होइन बरु म त रेस्ट एलाइन्स (बाँकी रहेकाहरुको गठबन्धन) भन्छु । नेपालको सन्दर्भमा लेफ्ट भनेको कम्युनिष्ट होइन । यो भनेको क्रान्तिकारी, परिवर्तनका एजेन्डा उठाउनेहरुको समूह लेफ्ट अथवा वाम हो । यसबाट बाँकी रहेकाहरुको एलाइन्स चाहिँ ‘रेस्ट’ एलाएन्स हो । यसर्थ, उनीहरुले लोकतान्त्रिक गठबन्धन भनेर दावी गर्न मिल्दैन भन्ने मेरो बुझाई छ ।

तर, सबैले वाम र लोकतान्त्रिक गठबन्धन भनिरहेका छन् नि ?
यहाँ त यस्तो भयो, परम्परागतरुपमा नेपाली कांग्रेस प्रजातन्त्रको लागि लडेको भन्ने कुरा अभ्यस्त बनाइएको छ । उसले जतिसुकै निरंकुश व्यवहार गर्दा पनि उसले लोकतान्त्रिक प्रमाणपत्र पाउँछ । कांग्रेस सहभागी भएको एलाएन्स चाहिँ लोकतान्त्रिक एलाएन्स, कांग्रेसबाहेकको भयो भने त्यो चाहिँ लोकतान्त्रिक नै नहुने, गैरलोकतान्त्रिक हुने जस्तो भयो ।

यसरी हेर्दा, विषयको सारभन्दा पनि ब्रान्डको रुपमा गठबन्धनको नाम जुराइएको छ ?
हो, ब्रान्डकै रुपमा प्रयोग भएको छ । सारतत्व अथवा इसेन्सको रुपमा भन्ने हो भने नेपालमा त सबै प्रयोगहरु भए । राप्रपा, एमाले र माओवादी सरकारको पनि अभ्यास भयो । कांग्रेस, राप्रपा र माओवादीको सरकार पनि अभ्यास भयो । सबैखाले अभ्यासहरु भए । सबै सरकारका नीति, कार्यक्रम र खासगरी व्यवहार हेर्दा ती उन्नाइस बीस पनि छैन । बराबर छन् । यसर्थ, ‘इसेन्स’को हिसाबले त कहीँकतै पनि फरक देखिँदैन । अवधारणा र दृष्टिकोणका हिसाबले मात्रै विभाजित भएका छन् । अहिलेको एलाएन्सकै कुरा गर्दा यो कन्टेन्ट बेस अवधारणा हो कि फिअर साइकोसिसबाट सिर्जना भएको भनेर हेर्दा एमाले पनि गठबन्धन नगरे सरकारमा जान सकिँदैन भन्ने । माओवादी र नयाँ शक्तिका लागि पनि गठबन्धन नगरी सुरक्षित भईंदैन भन्ने लाग्ने । उता, कांग्रेस पनि वामहरु एकजुट भए भने त हामी खत्तम हुन्छौं । यसर्थ, हामीले जोजोलाई जहाँजहाँबाट ल्याएर भए पनि गठबन्धन बनाउनै पर्छ भन्ने सोच देखियो । यसरी हेर्दा, पहिलो यो प्रतिक्रियाको गठबन्धन हो । दोस्रो, कुरा कन्टेन्टमा आधारित भन्दा सत्ताबाट बाहिर रहनुपर्छ कि भन्ने डरमा आधारित गठबन्धन हो । यसर्थ, यसको सैद्धान्तिक विश्लेषण गर्ने कुरा त्यति सुविधा छैन ।
डर र सत्ता स्वार्थ मात्रैले यी ठूला पार्टीहरु आफ्नो नामै फेर्ने, नयाँ पार्टी बनाउने अवस्थामा पुगेका हुन् ? अरु केही कुराको प्रभाव छैन ?
होइन, वस्तुगत अवस्था एकदमै तयार छ । यसमा विवादै छैन । गठबन्धनको लागि वस्तुगत अवस्था तयार भएकै हो । तर, नेतृत्व गर्ने नेताको गुण र सोचको कारण यो भएको होइन । अवस्था तयार भयो अब गठबन्धन गरौं भन्ने नेतृत्व बुझाई भएर यो भएको म पटक्कै पाउँदिन । यदि उनीहरु तयार थिए भने यो चुनावै मुखमा किन गर्नुपर्दथ्यो ? चुनावको मुखमा भएको छ भने त यो सत्ता सुरक्षाको निम्ति नै हो भन्न सकियो नि ! तर, यो कामलाई वस्तुगत अवस्थाले भने अवश्य सहयोग गरिरहेको छ ।

तपाईंको विचारमा के हुनुपर्दथ्यो ? कसरी हुनुपर्दथ्यो ?
हुनुपर्दथ्यो चाहिँ के भने वस्तुगत अवस्था प्राथमिकतामा पर्नुपर्दथ्यो । वस्तुगत अवस्था बुझेर गठबन्धन गरेको भए त सत्ता यसै सुरक्षित हुन्थ्यो नि । तर, अहिले सत्ता प्राथमिकतामा पर्यो । सत्ता प्राथमिकतामा परेपछि वस्तुगत अवस्था पनि छ भन्ने कुरा द्वितीय कुरा हो । यद्यपि सत्ताकै कारणले भने पनि वस्तुगत अवस्थाले पेलिरहेको छ । भोलि कन्टेन्टका हिसाबले विवाद नहोस्, वस्तुगत अवस्थाले अपेक्षाको सम्बोधन यो गठबन्धनले गर्न सकोस् भन्ने मेरो शुभकामना छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob