scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

बाबुरामजीको गोर्खाबाट चुनाव लड्ने प्रवल इच्छा स्वभाविक हो : ज्ञवाली

प्रदीप ज्ञवाली, नेता- नेकपा एमाले
फाइल फोटो

माओवादी केन्द्रले गोर्खा २ मा बाबुराम भट्टराईलाई निषेध गर्न खोजेपछि नयाँ शक्ति असन्तुष्ट देखिएको छ र उसले गठबन्धन छाड्ने बताउन थालेको छ । के अब वाम गठबन्धन धरमराउन थालेको हो ?
त्यस्तो होइन । सबै दलका केही सरोकारका विषयहरु छन् । उहाँहरुले कुरा राख्नुभएको छ । हामी निरन्तर संवादमा छौं । यो सहकार्य अगाडि बढ्छ ।

तर, तपाईंको पार्टी अध्यक्ष ओलीलाई भेटेपछि बाबुराम निराश भएको भन्ने खबर आएको छ र अलि असन्तुष्टिपूर्ण प्रतिक्रिया दिएको बाहिर आइरहेको छ ।
ती भेट्नुभन्दा अगाडिका प्रतिक्रिया हुन् र भेटिसकेपछि त्यो समस्या छ भन्ने मलाई लाग्दैन । उहाँहरुले स्वभाविकरुपमा एउटा सम्मानजनक सहकार्यको कुरा गर्नुभएको छ । अब निर्वाचनमा कतिपय स्थानहरुको तालमेलको सन्दर्भमा छलफल जारी नै छ । कुनै समस्याको विषय छैन । त्यसो भएको हुनाले यसमा अहिले नै कुनै गुनासो वा असन्तुष्टि व्यक्त गर्ने ठाउँमै पुगेका छैनौं । हामी प्रारम्भिक अवस्थाकै छलफलमा छौं ।

जस्तो स्थानको कुरा गर्नुभयो । गोर्खा क्षेत्र नं. २ बाट लड्ने भन्ने बाबुराम भट्टराईको अडान छ । त्यसमा माओवादीले अडान राखेको भन्ने खबरहरु आइरहेका छन् । माओवादी दिन तयार होला बाबुराम भट्टराईलाई ?
त्यो विषय अलिकति त्यस्तो देखिएको छ । हामीले माओवादी साथीहरुलाई पनि भनेका छौं । वृहत्तर हितको निम्ति तपाईंहरुले त्यस्तो विषयमा धेरै अडान लिनु उचित हुँदैन । उहाँले आकांक्षा जाहेर गर्नुभएको छ र हिजो पनि त्यहीँ निर्वाचन लड्नु भएको स्थिति हो । त्यही नै उहाँको जन्मथलो हो भने हामीले उहाँलाई एउटा सिनियर नेताको रुपमा मान्यता प्रदान गर्दै सहकार्यमा लिएर आएका छौं भने त्यति सानो प्राविधिक कुरामा अल्झिन हुँदैन भनेका छौं । उहाँले पनि त्यति संवेदनशील अथवा त्यही कुरा नै सहकार्यमा जाने कि नजाने भन्ने विषयको प्रस्थानविन्दू बनाउनु हुँदैन र बनाउनु पनि हुन्न ।

तर, बाबुराम भट्टराईले त धर्ती फाटेफाटोस्, आकाश खसे खसोस् तर म गोर्खाबाटै चुनाव लड्छु भन्नुभएछ त ?
उहाँको गोर्खाबाट चुनाव लड्ने प्रवल इच्छा छ र स्वभाविक पनि हो भन्ने मलाई लाग्छ । हामी छलफल गरिरहेका छौं माओवादी केन्द्रका साथीहरुसँग । उहाँहरु पनि सहमतिमा आउनु हुन्छ र त्यो त्यति ठूलो कुरा बन्दैन भन्ने पनि मलाई किन लाग्छ भने अहिले को कहाँबाट चुनाव लड्ने भन्ने प्रश्न होइन । अहिले हामीले जुन सहमतिको घोषणा गरेका छौं, यसका त वृहत्तर उद्देश्य छन् । संविधानको कार्यान्वयन र एउटा समृद्ध नेपाल निर्माण गर्ने उद्देश्यका निम्ति एउटा निर्वाचन क्षेत्र अथवा को कहाँबाट लड्ने भन्ने कुरा त धेरै तपसीलको कुरा हो । यसर्थ, मलाई लाग्छ, यसमा माओवादी साथीहरुले पनि यसमा लचकता देखाउनुहुन्छ र बाबुराम भट्टराईले पनि यसमा सुझबुझ देखाउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।

भनेको त्यो के ? बाबुराम भट्टराईले गोर्खा छोड्ने कि उनको लागि छाड्ने ?
होइन, मैले यसो भनिनँ । मैले के भनेँ भने त्यो एउटा प्राविधिक विषय हो । हाम्रो वृहत्तर हितका विषयमा ती प्राविधिक विषय हुन् । धेरै सामान्य विषय हो ।

तर तपाईंले प्राविधिक भने पनि दुवैले त्यसलाई प्रतिष्ठाको विषय बनाएको देखिन्छ । किनकी मैले आज माओवादीका एक उच्च नेतासँग कुरा गर्दा पार्टी छाडेका बाबुराम, त्यसमाथि सूर्य चिन्हबाट चुनाव लड्ने, त्यसमाथि गोर्खाबाट भनेपछि उनीहरुले अलि प्रतिष्ठाकै विषय बनाएको देखिन्छ ।
त्यस्तो प्रतिष्ठाको विषय बनाउन कसैले पनि हुँदैन । वृहत वाम एकताका अगाडि हाम्रा विगतका प्रतिष्ठाका कुराहरु तपसीलका कुराहरु हुन् । त्यसो भए त कयौं ठाउँमा होला, नेकपा एमाले तुलनात्मकरुपमा बलियो भएको ठाउँमा माओवादीको उम्मेदवार उठ्ने ? वा माओवादी बलियो भएको ठाउँमा एमालेको उम्मेदवार उठ्ने भन्ने होला ? यसरी सबैले प्रतिष्ठाको विषय बनाउने हो भने त यो एकता कहाँ अगाडि बढ्छ त ? यसर्थ, यी प्रारम्भिक विषयका छलफल हुन् । छलफल अगाडि बढ्दै जाँदाखेरी टुंगिन्छ ।

अन्तिममा, तपाईंले विश्वास छ भन्नुभयो । को लचिलो बन्ने विश्वास छ ?
होइन, अहिले त्यसमा जानुपर्दैन । वार्ताकै टेबलमा को लचिलो बन्ने भन्ने कुरा गरौंला । यहाँ मैले भन्ने कुरा यति मात्रै हो कि निर्वाचन क्षेत्र, को कहाँबाट लड्ने भन्ने कुरा तपसीलको कुरा हो । वृहत्तर उद्देश्यहरु महत्वपूर्ण कुराहरु हुन् । यी वृहत्तर उद्देश्यका अगाडि हरेकले लचिलो बन्नै पर्छ । कहीँ कोही लचिलो बन्नुपर्ला, कहीँ कोही लचिलो बन्नुपर्ला, त्यो हामी वार्ताको टेबलबाटै टुंग्याउँछौं ।

तपाईं विश्वस्त हुनुहुन्छ, बाबुराम भट्टराईको नयाँ शक्ति वामपन्थी गठबन्धनबाट छुट्टिएर जाँदैन ?
म विश्वस्त छु । उहाँहरुले त्यस्तो कुनै पनि निर्णय आवेगमा लिनु हुँदैन ।

तपाईंको यो भावना हो कि नेताहरुको सम्पर्कको आधारमा भनेको ?
हाम्रो कुराकानी भइरहेको छ । हाम्रा बैठकहरुमा भइरहेको कुराकानीकै आधारमा मैले यी कुराहरु तपाईंलाई बताउन चाहेको हुँ ।

-ज्ञवालीले बीबीसी नेपाली सेवासँग गरेको कुराकानीको सम्पादित अंश

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob