scheduleबिहिवार माघ ३ गते, २०७५

असोज १७ को समझदारी गल्ती होइन तर, हतारमा गरियो : डा. भट्टराई

डा. बाबुराम भट्टराई, संयोजक- नयाँ शक्ति पार्टी, नेपाल

के तपाईंहरु वाम गठबन्धनबाट बाहिरिनुभएको हो ?
बाहिरिएको चाहिँ होइन । तर हामीले जुन सहमति गरेका थियौं एउटै साझा चुनाव चिन्हमा लड्ने, सहकार्य गर्दै एकतासम्म जाने भन्ने थियो । तर, उहाँहरु दुवैले आआफ्नै चुनाव चिह्न लिएर लड्ने सोच्नुभयो । अब हामीले मात्रै साझा चिन्ह भनेर पछि लागेर अर्थ भएन र हामीले पनि आफ्नै चुनाव चिन्ह आँखा लिएर लड्ने भन्ने हामीले निर्णय गर्‍यौं ।

तपाईंको यति तिव्र असन्तुष्टि हो भने त्यसबाट किन बाहिर निस्कने आँट गर्न नसक्नुभएको ? अझै पनि त्यसबाट हामीलाई केही फाइदा हुन्छ कि भनेर अपेक्षा गरेर बसिराख्नुभएको हो ?
होइन, त्यस्तो अपेक्षा होइन । हामीले देशमा शान्ति र स्थिरता आओस् भन्ने चाहेका छौं । मुलुक समृद्धिमा जाओस् । त्यसका निम्ति यतिधेरै दलहरु टुक्रा टुक्रामा बाँधिनुभन्दा गठबन्धन हुँदै एकतामा जानु राम्रो हुन्छ भन्ने सदासयतासहित सुरु गर्यौं । तर, उहाँहरुको व्यवहार र आचरणले त्यस्तो देखिएन । उही पुरानै प्रकारको अपारदर्शी ढंगले षड्यन्त्र, जालझेल गर्ने शैली देखियो । हामीलाई समेट्ने कुरामा पनि अलिकति उहाँहरुको एकोमोडेटिङ स्पिरिट देखिएन ।

भनेपछि अब चुनावी तालमेल हुने सम्भावना टर्यो । तपाईंहरु, एमाले र माओवादीबीच, होइन त ?
अब करिब करिब टर्दै गएको छ । टुंगिसकेको त छैन । करिब करिब व्यवहारतः त्यो दिशातिर गइरहेको छ ।

यसको अर्थ के हो ? एकता प्रक्रियामा के हुन्छ ? तपाईंहरु त्यसमा पनि बाहिरै बस्नुहुन्छ ?
चुनावी प्रक्रिया पछि नै एकताको कुरा हो । एकता त अहिले गर्ने भनिएको होइन ।

तर, असोज १७ गते एकता संयोजन समिति गठन गर्ने, अहिलेदेखि नै गृहकार्य गर्ने भन्ने भएकै हो नि ?
भएको हो तर, त्यो संयोजन समितिको पनि जुन ढंगले बैठक बसेर निर्णयहरु गर्नुपर्दथ्यो, त्यसरी नै त्रिपक्षीय ढंगले उहाँहरुले गरिराख्नुभएको छैन । यसरी, एकताको स्पिरिटमा पनि कमि देखिन्छ ।

स्थानीय चुनावमा तपाईंहरु कमजोर देखिनुभयो । दुई पार्टीसँग मिल्दा उनीहरु हावी हुनु स्वभाविकै हो । नयाँ शक्तिले धेरै दावी गर्न मिल्दैन भन्ने तर्क देखिन्छ नि ?
होइन, यो धेरै र थोरैको प्रश्न होइन । हामी भर्खरै उदाएका उदियमान शक्ति हौं ।
कस्तो उदियमान भन्नुभाको ? निर्वाचनमा त त्यस्तो देखिएन ।
हामीले जुन नयाँ विचार अगाडि सारेका छौं, त्यसले जनतालाई नयाँ दिशाबोध र नयाँ उत्साह पैदा गरेको छ । भोलिको निम्ति एउटा शक्ति हो भन्ने संकेत मिलेको छ । गएको स्थानीय चुनावमा हामीले चुनाव चिन्ह नै पाइएन । अरुको चुनाव चिन्ह लिएर लड्नुपर्‍यो, आदि आदि कारणले गर्दा पनि संख्या कम देखिएको हो । हामीले गुण पनि हेर्नुपर्छ, मात्रा मात्रै हेरेर हुँदैन ।

कम्युनिष्ट पार्टी छाड्ने, वाम गठबन्धनमा जाने, फेरि फर्कने । तपाईंले यसअघि गरेको निर्णय गलत भयो भनेर पछाडि फर्किएको जस्तो देखिएन र ?
होइन, हामी वाम लोकतान्त्रिक शक्ति हौं । वाम लोकतन्त्र हुँदै एउटा समुन्नत समाजवादतिर जाने हाम्रो कार्यदिशा हो । अस्तिको (१७ गते) घोषणामा पनि मैले कम्युनिष्ट पार्टी, कम्युनिष्ट केन्द्र नामाकरणको पक्षमा छैनौं । हामी समाजवादी पार्टी बनाउने पक्षमा छौं भन्ने मत राखेर नै मैले त्यहाँ हस्ताक्षर गरेको हुँ ।

त्यसो भए, तपाईं अहिले कम्युनिष्ट हो कि होइन ?
कम्युनिष्ट पार्टी बनाउने हाम्रो लक्ष्य होइन । माक्र्सवादका आधारभूत कुरालाई हामी स्वीकार गर्छौं । हामी वाम लोकतन्त्र चाहिन्छ, प्रगतिशील अग्रगामी विचार चाहिन्छ भन्ने मान्यता हामी राख्छौं । तर, पुरानै धातुको कम्युनिष्ट पार्टीले नेपालका अबको सन्दर्भमा काम दिँदैन भन्ने हाम्रो निष्कर्ष हो ।

असोज १७ गतेको समझदारीमा पार्टी एकताको लागि वैचारिक बहस खुल्ला राख्ने तर एकअर्कालाई अस्वस्थ आलोचना नगर्ने भन्ने थियो । अहिले तालमेलको विषयलाई लिएर तिक्तता देखियो । यसको अर्थ, तपाईंहरु सहमतिबाट बाहिरिएको वा पछाडि हटेको भन्ने हो ?
नकरात्मक भनेको व्यक्तिगत गालीगलौजपूर्ण र शत्रुतापूर्ण टिप्पणी नगर्ने भन्ने हो । नयाँ राजनीतिक संस्कार बनाउनुपर्छ । हामी कहिले पनि त्यो गर्न चाहँदैनौं । हामी उहाँहरुसँग अहिले पनि सहकार्यको ढोका खुलै राख्छौं । र, वाम लोकतन्त्र हुँदै समाजवादतर्फ जाने शक्तिहरुबीच ध्रुवीकरणको पक्षमा अहिले पनि हामी छौं । यसर्थ, समझदारी पूरै अन्त्य भयो हामी भन्दैनौं ।

पछिल्ला घटनाक्रमहरु हेर्दा असोज १७ को समझदारी गल्ती भयो भन्ने त लागेको छैन नि ?
गल्ती नै त होइन । त्यो अलिकति हतारमा भयो । त्यहाँ परिमार्जन त्यति गर्न भ्याइएको थिएन । मौखिक ढंगले मैले आफ्नो कुरा त्यहाँ राखेको थिएँ तर अहिले सहकार्य गर्दै जाँदा उहाँहरु हाम्र कोर भ्यालूहरु पाँच स मा आधारित मूल्य मान्यताहरुमा सहमति हुनेजस्तो परिस्थिति देखिएन ।

त्यो हो कि आफूले मागेको स्थान दिएन भन्ने आक्रोश हो तपाईंको ?
होइन । यो गलत कुरा हो ।

तर, गोर्खा क्षेत्र नं. २ बाट म जसरी पनि लड्छु भनेर तपाईंले भनेको होइन र ?
गोर्खाबाट त म दुईपटक जितिसकेको मान्छे । एउटा पार्टीको प्रमुख, पूर्वप्रधानमन्त्री । यसलाई मध्यनजर गर्दै यसमा विवाद नै हुनुहुँदैनथ्यो । यो विवाद त उहाँहरुले किन ल्याउनुभाछ, यसको उत्तर त उहाँहरुले दिने कुरा हो ।

(बीबीसी नेपाली सेवामा डा. भट्टराईले गरेको कुराकानीको सम्पादित अंश)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob