scheduleमगलवार जेष्ठ ७ गते, २०७६

गठबन्धनको मुख्य नेतृत्वमा रुपान्तरणभन्दा पनि चुनावी दाउपेच हावी छ

डा.बाबुराम भट्टराई, संयोजक- नयाँ शक्ति पार्टी, नेपाल

राजनीति निकै उतारचढावमा अगाडि बढिरहेको जस्तो देखिन्छ । यो प्रक्रियामा सहभागी हुँदै आउनुभएको तपाईंलाई कस्तो लागिरहेको छ ?
देशको संक्रमणकाल अन्त्य भएर अर्को चरणमा प्रवेश गर्ने प्रक्रियामा भइरहेको ढिलाईले यस्तो भइरहेको छ । हामीले भोगिरहेको संक्रमणकालकै पीडा हो । संविधानसभाबाट नयाँ संविधान बनिसकेपछि प्राप्त उपलब्धिलाई जोगाएर देशमा उत्पादन शक्तिको विकास गर्दै समृद्धि हासिल गरेर समाजवादमा जाने स्पष्ट धार अगाडि आउनुपर्थ्यो, यो बीचमा त्यसो हुन सकेन । हिजो आन्दोलनमा भूमिका खेलेका पुराना शक्तिहरु विचार, सिद्धान्त, मूल्य मान्यताबाट स्खलित भए । जसरी पनि सत्तामा पुग्ने र राज्यको दोहन गर्ने, निजी र दलगत स्वार्थ पूर्ति गर्ने प्रवृत्ति अत्यन्त हावी हुँदै गएको कारणले गर्दा जनताको जीवनमा व्यवहारतः परिवर्तन ल्याउने कार्यहरु हुनसकेनन् । यसले गर्दा आम जनतामा निराशा पैदा भएको छ भने पुराना राजनीतिक शक्तिहरु र तिनका नजिक रहेका कार्यकर्ताहरुमा चाहिँ जसरी पनि राज्यसत्ताको दोहन गर्ने र त्यसको बाँडफाँडमा निर्लिप्त हुने जुन प्रवृत्ति भयो, त्यसले गर्दा यी समस्या अहिले आएका हुन् ।

यिनै समस्याहरु देखाएर वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्नुभएको थियो । तर, तपाईंहरुमा पनि कुनै दृढता देखिएन भन्ने आरोप छ ?
यसैको निम्ति हामीले एउटा वैकल्पिक राजनीतिक धार निर्माण गरेर जानुपर्छ भन्ने प्रयत्न गरेका हौं । त्यो वैकल्पिक राजनीतिक धार जसलाई हामीले पाँच ‘स’को रुपमा अभिव्यक्त गरेका छौं, त्यो लक्ष्य त सही छ । तर, त्यहाँसम्म पुग्नको निम्ति समयअनुकूल बाटो परिवर्तन गर्नुपर्ने हुन्छ । यो बीचमा हामीले हिजो कम्युनिष्ट रहेको वामपन्थी भनिने एउटा गठबन्धन र अर्कोपट्टि कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनको रुपमा दुईटा ध्रुव देखिन खोज्यो । हामी त वाम लोकतन्त्रलाई विश्वास गर्ने र यो हुँदै समाजवादतिर जाने शक्ति हौं । त्यसैले हाम्रा निम्ति दुवै समदुरीका शक्तिहरु हुन् अहिले तत्कालको निम्ति । यसर्थ, वाम गठबन्धनमा रहेर त्यसभित्रबाट पनि वैकल्पिक धार अगाडि बढाउन सकिन्छ कि सोचका साथ हामी त्यहाँ संलग्न हुन खोजेका थियौं ।

वाम गठबन्धनबाट तत्काल निस्कनुपर्ने अवस्था किन आयो ?
मार्क्सवादको द्वन्द्वात्मक भौतिकवाद अन्तर्गत एउटा नियम छ, निषेधात्मक द्वन्द्ववाद । विपरितहरुको एकत्वले नै पदार्थ, समाज, विचार बन्छ भन्ने कुरालाई रुपान्तरणको दिशामा लैजानुभन्दा पनि फरक विचार, फरक सोच र फरक शक्तिलाई सुरुमै निषेध गर्ने सोच त्यहाँ सुरुमै देखापर्‍यो । एउटा निषेधात्मक चिन्तन, अर्को अत्यन्त एकमनावादी र एकाधिकारवादी प्रवृत्ति देखापर्‍यो । त्यसले त वैकल्पिक राजनीतिक धार बन्न सक्छ अथवा वामपन्थको विकास र मार्क्सवादको समृद्धिकरण गर्दै अगाडि लैजान सकिन्छ भन्ने हाम्रो जुन सोच थियो, सुरुमा नै त्यहाँ यस्तो सम्भावना देखिएन । यसर्थ, हामीले आफ्नै स्वतन्त्र बाटो जान आवश्यक ठानेका हौं ।

निर्वाचन आउँदैछ । ठूला गठबन्धनहरु बनेका छन् । तपाईंहरु के गर्नुहुन्छ त ?
हो, आम निर्वाचन नजिकिँदै छ । निर्वाचनमा आवश्यकताअनुसार जोसँग पनि तालमेल गरेर जान सकिने अवस्था हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रका मान्यतामा रहेका शक्तिहरु र कम्तिमा यसलाई विरोध नगर्ने शक्तिहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने हाम्रो सुरुदेखिकै अडान हो । यसर्थ, आवश्यकताअनुसार अर्को लोकतान्त्रिक भन्ने शक्तिसँग पनि तालमेल गर्न सकिन्छ भन्ने मात्र हाम्रो प्रयत्न हो । तर, दुवैसँग हाम्रो तालमेलको ढोका खुल्ला छ । अहिले हामी कुनै पनि गठबन्धनमा सहभागी बन्दैनौं । हाम्रो स्वतन्त्र वाम लोकतान्त्रिक धारलाई नै अगाडि बढाउँछौं ।

यी गतिविधि हेर्दा त नयाँ शक्ति अस्थिर देखियो नि ?
कतिपयले यसैलाई अलिकति अस्थिरता भयो कि भन्ने आशंका गरेका छन् । यो हाम्रो अस्थिरता होइन । हाम्रो रणनीतिक लक्ष्यमा हामी स्थिर छौं । नेपाल भर्खरै सामन्तवादी समाजबाट पुँजीवादी समाज हुँदै समाजवादतिर उन्मुख हुने अवस्थामा छ । त्यसको निम्ति वाम लोकतन्त्रको विचारमा टेकेर समाजवादको दिशामा जाने विषयमा हामी स्पष्ट छौं । यसलाई हामीले छाडेका छैनौं र छाड्दैनौं । यसको निम्ति तत्कालिनरुपमा कहिले वाम पक्षसँग सहकार्य गर्ने र कहिले लोकतान्त्रिक पक्षसँग सहकार्य गर्ने, यी चाहिँ कार्यनीतिक श्रृंखलाका कुराहरु हुन् । त्यसैले हाम्रो अस्थिरता होइन, रणनीतिक स्थिरता छ, कार्यनीतिक रुपमा केही लचकता मात्रै हामीले प्रदर्शन गरेका हौं ।

तपाईंले त वाम गठबन्धन भोगेर आइसक्नुभयो । यो तालमेल सत्ताकेन्द्रित मात्रै हो कि उनीहरु नयाँ अवस्थामा केही रुपान्तरित पनि भएका रहेछन् ?
मेरो बुझाईं अर्कै थियो । संविधानमा जुन शासकीय स्वरुप र निर्वाचन प्रणाली अपनाइयो, त्यसले कसैलाई पनि स्थिर सरकार बन्ने परिस्थिति निर्माण गर्दैन । त्यसैले आउँदो निर्वाचनमा कुनै पनि दलको प्रष्ट बहुमत नहुने भएपछि गठबन्धन बनाएर बहुमतमा जाने दबाव चाहिँ यी दलहरुमा थियो । यो दुवै पक्षमा थियो । त्यसैले यसले अलि रुपान्तरणतिर लिएर जान्छ कि भन्ने मेरो चाहनापनि थियो र त्यो खालको मूल्यांकन पनि थियो । तर, मैले सुरुमै के देखेँ भने उहाँहरुमा रुपान्तरणसहित वैकल्पिक शक्ति निर्माण गर्ने दिशामा जाने भन्दा पनि तत्काल चुनावी लाभको निम्ति एकअर्काप्रति घातप्रतिघात कायम गरेर आफ्नो श्रेष्ठता र एकाधिकार कायम गर्ने प्रवृत्ति त्यहाँ देखा पर्‍यो । खासगरी यो वामपन्थी कम्युनिष्ट आन्दोलनमा स्टालिनको पालापछि एउटा निषेधात्मक प्रवृत्ति हावी भयो । अत्यन्त एकमनावादी चिन्तन राख्ने र सम्पूर्ण राज्यसत्तामा पूरा एकाधिकार कायम गर्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनभित्र रह्यो, त्यसैको निरन्तरता रहेको मैले यहाँ देखेँ । यसर्थ, यो गठबन्धन तत्काल रुपान्तरणतिर जाने सम्भावना देखा परेन । यसर्थ, यी पुराना शक्तिहरु तत्काल रुपान्तरण हुन्छन् भन्ने विश्वास मैले गर्न सकिनँ ।
केपी ओलीले जेम्सवाटको इन्जिनको आविस्कारको प्रसंग कोट्याउँदै उक्त इन्जिनको तत्कालीन भूमिकालाई धन्यवाद दिँदै नयाँ इन्जिनको आविस्कार भएको भन्दै वामगठबन्धनलाई नयाँ इन्जिनको संज्ञा दिइरहेका छन् । यसमा यहाँको मत के छ ?

त्यस्तै होस् भन्ने मेरो पनि चाहना हो । त्यही चाहनाले नै हामीले पनि त्यहाँ जाने प्रयत्न गरेका हौं । अब हामीलाई हिजोका सोच, चिन्तन, शैली र विचारले मात्रै पुग्दैन । मार्क्सवाद एउटा विज्ञान हो । द्वन्द्वात्मक भौतिकवाद एउटा विज्ञान हो । समयअनुकूल त्यसमा पनि विकास र परिमार्जन गरेर जानुपर्छ भन्ने मान्यता राखेर नै हामीले नयाँ शक्ति अभियान सुरु गरेका हौं । नेपालको कम्युनिष्ट आन्दोलनमा पनि अलिकति सिर्जनशील ढंगले अगाडि जाऔं भन्ने धार नभएको होइन । खासगरी मदन भण्डारीले ४९/५० देखि नै केही नयाँ ढंगले जाने प्रयास गर्नुभएकै हो । तर, त्यतिबेला अलि समय सापेक्ष भएन भनेर हामीले माओवादी आन्दोलन अगाडि बढाउँदा यसलाई पनि हिजाकै डुप्लिकेशनभन्दा पनि अलि फरक ढंगले लैजाने प्रयास हामीले गरेका हौं । तर, अहिले परिस्थिति बदलिईसकेपछि कम्युनिष्टहरुले पनि आफूलाई अहिलेको युगको आवश्यकताअनुसार लोकतान्त्रिकरण गर्दै अगाडि जाने परिस्थिति सिर्जना हुनुपर्दथ्यो । त्यो हुन्छ कि भन्ने र गरौं भन्ने मेरो चाहना हो । म अझै के देख्छु भने त्यो वामगठबन्धनभित्र त्यो प्रवृत्ति पनि छ । रुपान्तरण गरेर जानुपर्छ भन्ने प्रवृत्ति पनि छ । तर अहिलेको मुल नेतृत्वमा रुपान्तरण भन्दा पनि खाली चुनावी दाउपेच गर्ने प्रवृत्ति नै बढी हावी भएको मैले पाएँ ।

अहिले विश्वले नै विकल्प खोजेको छ । भन्न थालिएको छ कि यो विकल्पको युग हो । तर, विकल्पहरु कुनै दक्षिणपन्थी विकल्प बनेका छन् भने कुनै प्रगतिशील विकल्प । हाम्रो देशको विकल्प कता ढल्किने सम्भावना देख्नुभएको छ ?
अहिले विश्वव्यापीरुपमै वैकल्पिक राजनीतिको खोज छ । त्यो अमेरिकादेखि डेनमार्क, फ्रान्स हुँदै अहिले अस्ट्रेलिया र जर्मनीसम्म जाँदा नयाँ राजनीतिक शक्तिहरु निर्माण हुने प्रयत्नहरु भइरहेका छन् । यूरोप र अमेरिकामा अलि बढी दक्षिणपन्थी विकल्पतिर नै ढल्केको हामी पाउँछौं । त्यस्तो विकसित र उन्नत औद्योगिक अर्थतन्त्र भएकोले पनि त्यसको जगमा उभिएर उनीहरुले दक्षिणपन्थी धार समाउन खोजेका हुनसक्छन् । तर, हाम्रोजस्तो औद्योगिक क्रान्ति सम्पन्न नभइसकेको र पुँजीवादको आधार पनि सिर्जना नभइसकेको देशमा बन्ने विकल्प भनेको वाम झुकावसहितको एउटा लोकतान्त्रिक विकल्प नै हुन्छ । त्यसैले वाम लोकतान्त्रिक विकल्प नै नेपालको सन्दर्भमा एउटा सही विकल्प हो भन्ने मलाई लाग्छ । यहाँ अलि लोकतान्त्रिक भन्नेहरु दक्षिणपन्थतिर ढल्केको र आफूलाई वामपन्थी भन्ने र हिजोका कट्टरपन्थी कम्युनिष्ट यी दुईटै धार नेपालको लागि उपयुक्त छैनन् । एउटा वाम लोकतान्त्रिक धार नेपालको सन्दर्भमा सही अर्थमा वैकल्पिक धार बन्न सक्छ भन्ने हामीलाई लाग्छ ।

त्यसको नेतृत्व गर्न सक्ला नयाँ शक्तिले अब पनि ?
हाम्रो प्रयत्न त्यही नै छ । हामी गर्छौं । अहिले तत्कालको चुनावी चापमा र चुनावी गठबन्धनको लाभहानीमा नै बढी शक्ति केन्द्रित छ । तर, हामीले अहिलेको निर्वाचनलाई एउटा वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने एउटा अवसरको रुपमा प्रयोग गर्ने क्रममा नै हामी छौं । अहिले तुरुन्त सत्तामा पुग्ने भन्दा पनि वैकल्पिक राजनीतिक शक्ति र विचारलाई स्थापित गर्ने र एउटा राष्ट्रिय शक्तिको रुपमा आफूलाई उभ्याउने प्रयत्न हाम्रो छ । त्यसहिसाबले हामी वैकल्पिक राजनीतिक शक्तिकै रुपमा नयाँ शक्तिलाई अगाडि बढाउँछौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob