scheduleबुधवार भाद्र ४ गते, २०७६

सीमा नेपाली जसले आफ्नै जमिन खेतजोत गर्न पाउँदैनन्

फाइल फोटो

कञ्चनपुर, ६ कात्तिक । कञ्चनपुरको महाकाली नगरपालिका–८ सुन्दरनगरका बिरबल गुरुङ नेपाल भारत सीमा क्षेत्रमा बसोबास गर्छन् । बाजेका पालादेखि गुरुङ सीमा क्षेत्रमा बसोवास गर्दैआएका छन् ।
झण्डै पाँच दशकदेखि गुरुङको परिवार सुन्दरनगरमा बस्दैआएको छ । महाकाली र जोगबुढा नदी पारिको गाउँ सुन्दरनगरमा बिरबल गुरुङ जस्तै डेढ सय परिवार पीडैपीडामा बाँच्न विवश छन् । जोगबुढा र महाकाली नदीमा पुल नभएका कारण मार खेप्दैआएका सुन्दरनगरवासी भारतीयबाट पनि उत्तिकै पीडित छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट उनीहरू बढी प्रताडित छन् ।
एसएसबीले नेपाल भारत सीमा पिलर ७९६/१ नम्बरको दक्षिणतिर रहेको गुरुङको जमिन खनजोतमा अवरोध पुर्‍याएको छ । एसएसबीले नेपाली नागरिक बिरबल गुरुङको जमिनलाई भारतको जमिन भन्दै खनजोतमा अवरोध गरेको हो । बिरबल गुरुङले खनजोतका बेला एसएसबीले टर्चर दिएको बताए । मैले आफ्नै खेत जोत्दा एसएसबीले मलाई नजोत भन्यो, उनले भने, बेला बेलामा एसएसबीले हामीलाई धम्क्याउने गर्छन् । पिलरको पश्चिम क्षेत्र तिरको जमिन नजोत्न बारम्बार चेतावनी दिएको गुरुङको दुःखेसो छ ।
गुरुङले विस २०२४ साल बाजेका पालादेखि बस्दै आए पनि भारतीय एसएसबीले दुःख दिएको बताए । सुन्दरनगरका स्थानीयले सुन्दरनगरमा सीमा सुरक्षा बलको क्याम्प स्थापना गर्नसमेत माग गरेका छन् । स्थानीयले भारतीय सीमा सुरक्षा बलले २४ सै घण्टा सीमा क्षेत्रमा गस्ती गरे पनि नेपाली सीमा अधिकारी सीमा क्षेत्रमा कहिलेकाहीँ मात्रै देखिएको बताए । सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नभएका कारण पनि बेला बेलामा भारतीय सीमा सुरक्षा बलबाट आफू पीडित र नेपालीको भूमि जोखिममा परेको विश्लेषण छ । महाकाली नगरपालिका–८ का वडा अध्यक्ष ओमप्रकाश रोकायाले सीमा सुरक्षा बल नभएका कारण पटक पटक भारतीयले सीमा क्षेत्रमा बस्दैआएका नेपाली नागरिकमाथि दुःख दिँदै आएको बताए । उनले सुन्दरनगरमा देखिएको विवाद समाधानका लागि वडास्तरबाट पहलसमेत भएको बताउँदै सीमा क्षेत्रमा सुरक्षा बल आवश्यक रहेको औँल्याए । गोरखापत्र दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage