scheduleशनिवार श्रावण ४ गते, २०७६

‘स्टार मोडेल’ हाम्रो मुख्य एजेन्डा

चुनावी अभियानमा ठूला र साना दलहरूका आफ्ना गठबन्धन छन् । सवैका उस्तै बाटोमा हिँड्ने प्रतिबद्धतापत्र र घोषणापत्र सार्वजनिक भइसकेका छन् । हेर्दा उस्तै लाग्ने तर परिवर्तनका नाममा व्यवाहारमा सिन्को नभाँच्ने दलहरूको परिक्षण फेरि पनि हुँदैछ । तर कतिपय यस्ता दलहरू पनि छन् जसलाई ‘साना’ भनिन्छ तर उनका आर्थिक सम्पन्नताको एजेन्डा बलिया देखिन्छन् । यद्यपि यो चुनावी प्रक्रियामा सामेल हुनका लागि उनीहरू पनि गठबन्धनमा बस्नै परेको छ । नेकपा मालेसँग गठबन्धन गरी चुनावमा होमिएको जन समाजवादी पार्टीले मुलुकमा आर्थिक समृद्धिको खाका नौलो ल्याएको छ । के छ चुनावी योजना ? यी र यस्तै विषयमा पार्टीका अध्यक्ष सुवास काफ्लेसँग साझा पोष्टले गरेको कुराकानीको सम्पादीत अंश ।

चुनावको रन्को देशभरी चलिरहेको छ, तपाईहरूको गतिविधि कसरी हुँदैछ ?
हामी चुनावलाई तताउने तयारीमा लागिसकेका छौं । प्रचारप्रसार र विविध राजनीतिक र जनपरिचालनको काममा व्यस्त हुन थालेका छौं । हामी मिडियामा पछि थियौं, अब हाम्रा मुद्दा बोकेर सामाजिक सञ्जाल र विभिन्न मिडियामा आउने क्रममा छौं ।

चुनावको मुख्य एजेन्डाचाहीँ के हो ? तपाईको दलले किन चुनाव जित्ने ?
हामी राजनीतिक एजेन्डा र भाषणबाजीमा होइन, मुलुक आर्थिक विपन्नताबाट छिटो भन्दा छिटो सम्पन्नतातिर जाने एजेन्डा लिएर जनतामाझ झरेका छौं । राजनीतिक एजेन्डा चलिरहन्छ । तर, आर्थिक एजेन्डा सशक्त बनाउने क्रममा छौं । जनताको चाहना आर्थिक विसंगतीको अन्त्य र आर्थिक सम्पन्नता बलियो बनाउनुपर्छ भन्ने छ । दरिद्र मुलुकको नागरिक भएर देखा पर्नु, तुलनात्मक रूपमा कमजोर भएर देखिनुमा दुख मानिरहेका छन् । छिमेकी मुलुकहरू अघि बढीसकेका छन् । हिजोका कमजोर मुलुक आर्थिक सम्पन्नता जानेर अघि बढिरहेका छन् । राजनीति भन्दाभन्दै आर्थिक एजेन्डामा हामी प्रवेश गर्न सकेनौं । हामी आर्थिक एजेन्डा लिएर जनतामाझ गइरहेका छौं ।

आर्थिक एजेन्डा सवैका छन् । तपाईको दलका के हुन् ? के फरक छन् ?
हामीले स्टार मोडेल कार्यक्रम ल्याएका छौं । यो फिल्मी स्टार मोडेल होइन । हाम्रो मुलुक रहेको विविध स्रोत र साधनको चरम उपयोग गर्ने आर्थिक मोडेल हो । यसमा विदेशी पुँजीको आवश्यकता छैन । छोटो समयमा छिटो सम्पन्नतामा गर्नका लागि स्वदेशी पुँजीको प्रयोगका कुरा गरेका छौं । स्टार मोडेलको अर्थ छ । साइन्स टेक्नोलोजी, टुरिजम एन्ड एभिएशन, एग्रीकल्चर, रिकन्स्ट्रक्सन र रिभाइलेशन स्टारको अर्थ हो । मोडेरेशन, ओइल, डाइभर्सिटी, इनर्जी र ल्यान्ड मोडेलको अर्थ हो । यो अर्थपूर्ण राजनीतिक लक्ष्यबारे जनतालाई बुझाउने क्रममा छौं । यो कार्यक्रम लागु गरेपछि देशले काँचुली फेर्छ । परिवर्तनको अनुभुति सवैले गर्छन् । नेपाल उन्नत भविष्यमा अघि बढ्छ । आर्थिक समृद्धिको पाटोमा अघि बढ्छ ।

तपाईहरूको यो एजेन्डा बुझाउनुभएको छ ? मतदाताले बुझेका छन् त ?
हामी बुझाउने क्रममा छौं । घोषणापत्रमा उल्लेख गरेका छौं । हामी तल्लो तहसम्म यो अवधारणा लिएर जनतामाझ जाँदैछौं । यी भन्दा बाहेक नेपालमा धेरै सम्भावना छन् । हाइड्रोपावरमा ८३ हजार मेगावाट भनेर लेखियो । त्यतिमात्र होइन नेपालमा दुई लाख मेगावाट भन्दा बढि विद्युत निकाल्न सकिन्छ भन्ने अध्ययनले देखिन्छ । अहिले सात वर्षजति लाइसेन्स लिन लाग्छ । यो जम्मा ६ महिनाको काम हो । यो प्रक्रियालाई सहज बनाउनुपर्छ । अर्को, वर्षाको पानी खेर जान्छ, वर्षाको पानी खेर जान दिनुहुन्न । त्यस बेला विद्युतको संकट हुन्छ । तर, हामी त्यहि बेलाको पानीबाट विद्युत निकाल्न सकिन्छ भन्ने मान्यतामा हिँडिरहेका छौं । यो काम गरेर देखाउने हाम्रो लक्ष्य हो । ५ वर्षमा २ लाख मेगावाट मध्ये धेरै उत्पादन गर्न सकिन्छ ।

तपाईको दलको प्रभाव त्यति छैन, साना दल भनिन्छ । योजना ठूलो छ । राजनीतिक रूपमा स्थापित हुनका लागि कस्ता सहयोगी र गठबन्धन बनाउनुभएको छ ?
अहिले सीपी मैनाली नेतृत्वको नेकपा मालेसँग हाम्रो गठजोड छ । त्यसमा मधेसका फुटेका पार्टीहरू फोरम लोकतान्त्रिक, अन्य मधेसका पार्टीहरूको आवद्धता पनि छ । हामी अझ हाम्रा विचारसँग सहमत हुने राजनीतिक शक्तिसँग सहकार्यको चरणमा छौं । साना भनिएपनि हाम्रा विचारसँग प्रभावित हुने र लक्ष्यसँग साझा यात्रा गर्नेसँग सहकार्य हुनेछ ।

अहिले थ्रेस होल्डका कारणले राष्ट्रिय पार्टी बनाउनका लागि अप्ठेरो पर्ला नि ? त्यसपछि एजेन्डा कार्यान्वयनको चरण नै नपाइएला ?
हामीहरूलाई अप्ठेरो पर्दैन । अरूले विस्तारै बुझ्दैछन् । राजा ज्ञानेन्द्रले एउटा गल्ती गरेका थिए । मन्त्रीपरिषदमा एउटा गुन्डा गौचन सामेल गराए । यो कारणले उनी विस्थापित भए । आजका पार्टीले गुन्डा नाइके भित्राइरहेका छन् । यो जनताले देखिरहेका छौं । हामी विचार दिएर, विचार बोकेर जनतामाझ जाने हो । हामीलाई जिताउनैपर्छ भन्ने भित्रि चाहना हो तर जनताले दिएको निर्णयलाई हामीले मान्ने हो । तर, यी आर्थिक एजेन्डा त दिर्घकालसम्म जनतामाझ लिएर हामी राजनीतिक लडाईमा अनिवार्य रहीरहनेछौं । जनतालाई सुझाव पनि छ । नेकपा एमाले, नेपाली कांग्रेसको गठबन्धनलाई मानिरहेका छौं हामी । तर, उनीहरूले कस्ता मानिसलाई जिम्मेबारी दिँदैछन् ? त्यस्ताबाट हामी राजनीतिक दलबाट आर्थिक फड्कको सपना कसरी देख्नेछौं ? भोलीको सन्ततीलाई हामी कस्तो नेतृत्व दिँदैछौं भन्ने भविष्यले देखाउँछ ।

यो कुरा जनतामाझ बुझाउने काम गर्नुभएको छ त ?
हामी जनतालाई बुझाउने क्रममा छौं । हामीले अझ धेरै कुरा बुझाउने कोशिश गरिरहेका छौं । परम्परागत दलले १० हजार प्रतिव्यक्ति आयको कुरा गरेका छन् । तर, कसरी भन्ने मोडेल छैन । हामी ५० हजार प्रतिव्यक्ति आयको लक्ष्य राख्छौं । तर, हामीसँग त्यसका लागि स्टार मोडेल छ । यसैमा काम गर्ने हो भने सम्भावना शतप्रतिशत छ ।

एजेन्डा त छन् तर सफल भइएला त ?
यथास्थिति चहाने हो भने कांग्रेस एमाले ठिक छन् भन्नुप¥यो । राज्यलाई लुट्ने भाँडो बनाउने हो भने ति दल काफी छन् । तर, परिवर्तन चाहने हो भने अरूको खाँचो हुन्छ । हामी राष्ट्रिय पार्टी बनाउने तयार गर्नेछौं । राजनीति पास फेलकै खेल हो । पास पनि भइन्छ फेल पनि । हामी प्रयासमा छौं । जनतालाई यथास्थिति चाहिएको हो भने हामी असफल हुन्छौं । परिवर्तन चाहिएको हो भने हामी आउँछौं ।

यसबाहेक नयाँ धारणा लिएर दलहरू आएकै छन्, राजनीतिक रूपमा तपाईहरूको जनतासँगको अपिल के हो ?
हाम्रो दलको खास काम भनेको देशको आर्थिक उन्नयनको दिशानिर्देश गर्ने हो । हामी चन्दा असुल गर्दैनौं । माग्दैनौं । बरू जनतासँग अपिल छ एक रूपियाँ चन्दा कसैलाई नदिनुहोस् । यसबाहेक हाम्रा कुरा बुझाउने कोशिशमा जनतासँग छौं । समृद्ध नेपाल फास्ट ट्रयाकमा छिटो लाने हाम्रो लक्ष्य र संकल्प हो । हामी बोल्ने होइन, गरेर देखाउनका लागि तयार छौं । हामीसँग मास्टर प्लान छ । हामी यहि भनेर अघि बढिरहेका छौं ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob