वैज्ञानिक सफलताः अब फैलनुअघि नै पत्ता लगाउन सकिन्छ क्यान्सर
एजेन्सी, ५ माघ । अमेरिकाका वैज्ञानिकहरूले क्यान्सर परीक्षणका लागि आफूहरूले एउटा ठूलो उपलब्धि हासिल गरेको बताएका छन् । एक हजार बिरामीमाझ गरिएको नमुना परीक्षणमा उनीहरूले आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका थिए ।
क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अन्य भागमा फैलिनु अघि आठ किसिमका ट्युमरहरू पत्ता लगाउन सकिने दह्रो आधार दिएको छ । यो अनुसन्धानबाट फैलिनु अघि नै क्यान्सर पत्ता लगाउन सकिने अपेक्षा गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
‘ क्यान्सर सिकु’ भनिने उक्त परीक्षणलाई व्यापक रूपमा पहुँचमा पुर्याउनु अघि थप अध्ययनहरू आवश्यक रहेको साइन्स नामक जर्नलमा प्रकाशित रिपोर्टमा भनिएको छ । उक्त परीक्षण गर्न प्रति व्यक्ति करिब ५ सय डलर खर्च लाग्न सक्ने आंकलन गरिएको छ ।
एक हजार पाँचजना क्यान्सरका बिरामीमाझ जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थी लगायतमा क्यान्सर रोग पत्ता लागेको थियो । यो परीक्षणको अन्तिम उद्देश्य भनेको मानिसमा रोगको लक्षण देखिनु अगावै क्यान्सर लाग्ने नलाग्ने पत्ता लगाउनु रहेको वैज्ञानिकहरूले जनाएका छन् ।
उक्त अनुसन्धानमा संलग्न नरहेका विज्ञहरूले भने अनुसन्धानको सत्यता बाहिर आउनुअघि थप अनुसन्धानहरू गर्न आवश्यक रहेको बताएका छन् । क्यान्सर पत्ता लगाउन गरिने रक्त परीक्षण सम्बन्धी थुप्रै किसिमका अन्य अनुसन्धान पनि जारी रहेको बताइएको छ ।