scheduleबुधवारमाघ ७ गते, २०७७

प्रणय दिवसको दिन चर्चित नृत्याङ्गना निलमको भावुक सम्बन्धविच्छेद सन्देश

काठमाडौं, २ फागुन । चर्चित नृत्याङ्गना निलम ढुंगानाले प्रणय दिवसको दिन मनछुने सम्बन्धविच्छेद सन्देश सार्वजनिक गरेकी छन् । केही समयअघि पतिसँग सम्बन्ध बिच्छेद गरेकी उनले बुधबार प्रणय दिवसको दिन सम्बन्धविच्छेदबारे आफ्ना समर्थक शुभचिन्तकलाई सन्देश सार्वजनिक गरेकी हुन् ।

एक खुट्टाको सहाराले सवलाङ्ग सरह उत्कृष्ट नृत्य गरेर देश विदेशमा ख्याती कमाएकी निलमको बलराम बस्नेतसँग १० वर्षअगाडि वैवाहिक सम्बन्ध जोडिएको थियो । उनीहरुको एक ६ महिनाकी छोरी छिन् ।

०६४ सालमा भयंकर दुर्घटनामा परेर पनि बाँच्न सफल निलमको दुर्घटनामा परेको एउटा खुट्टा गुमेको थियो । स्कुल जान पुलको पेटीबाट हिँडिरहेकी निलम र उनकी साथी अन्जना राईलाई ओभर लोड भएको ट्रकले किच्दा अन्जनाको दुर्घटना स्थलमै मृत्यू भएको थियो । नीलम बाँच्न त सफल भइन् तर देब्रे खुट्टा सधैंका लागि गुमाएकी थिइन ।

यस्तो छ निलमको प्रणय दिवसको सन्देश-

जिन्दगीमा घटेका कतिपय कुराहरु शब्दहरुमा बयान गर्न सकिँदैन रहेछ । आफ्नो बारेमा आएका समाचारहरु पढेर आफै दुःखी हुनु शिवाय केही गर्न नसकिने रहेछ ।

जुन सम्बन्धमा रहेर मैले मेरा जिन्दगीका अमुल्य दश वर्ष बिताएँ सुख र दुखहरु अनुभव गरेँ । जिन्दगीलाई नजिकबाट बुझेँ त्यस्तो सम्बन्ध जुनसुकै कारणबाट भएपनि गुमाउनु पर्दाको पीडालाई म शब्दमा उतार्न सक्तिनँ । अवस्था भयावह नभइकन काखमा ६ महिनाकी सानी बच्ची हुँदा यस्तो निर्णय लिन कसरी सम्भव होला र !

मध्यम किसिमका समस्याहरु मात्र पर्दैमा यस्ता गम्भीर निर्णयहरु कसैले पनि लिनु हुँदैन ! तर सद्भाव, विस्वास र सम्मानको अभाव हुनु, आपसी सद्भाव बिथोलिनु, विश्वास टुट्नु र सम्मानको अभाव हुनु जस्ता अवस्थाहरु सृजना हुँदै गएपछिआत्मसम्मानको क्षयिकरण हुने रहेछ र आत्मसम्मानको क्षय हुँदा खेरिको जस्तो कठिन कुनै क्षण नहुने रहेछ ।

त्यसैले अब साथ नरहने निर्णय नै लिइसके पछि पनि मेरो छोरीको बाबा भएको नाताले मैले वहाँप्रति कुनै दुराभाव ब्यक्त गर्न सक्दिनँ । मलाई मातृत्वको अनुपम अनुभव गराउने मेरो नानीको पिताप्रति मेरो अत्यन्तै ठूलो सम्मान छ र मैले वहाँप्रति गर्ने सम्मान सधैं उस्तै रहिरहनेछ ।

जति मन मुटावहरु भए त्यो साथमा रहुन्जेल भए, साथ छुटेपछी एकले अर्कोलाई उचित र सम्मानित ब्यवहार गर्नुपर्छ भन्ने कुरा म बुझ्दछु र त्यही अनुसार आशा पनि गर्दछु । मेरा शुभचिन्तकहरुले सामाजिक संजालमा मेरो लागि धेरै चिन्ता ब्यक्त गर्नुभएको छ, यहाँहरुको म प्रतिको सद्भावले म द्रविभुत भएकी छु । यो अवस्थामा आएका सबै म्यासेजहरुको जवाफ दिनसक्ने अवस्थामा छैन र मैले आफु ‘कमजोर छु’ भनेर कहिँ कतैबाट सहानुभुती बटुल्ने कोसिस पनि गर्ने छैन ।

जुन बिन्दुबाट हाम्रो बाटो अलग्गिएको छ त्यहींबाट आफैले आफु र बच्चाको भविष्यको लागी केही थप संघर्षहरु सुरु गर्नेछु। आउने दिनहरु जस्तासुकै भएपनि म मेरो अतितलाई सकेसम्म सम्मान गर्नेछु।

मेरोलागि परिस्थिति अत्यन्तै जटिल भएपनि म कत्ती पनि विचलित हुन नपरोस्, हजुरहरु मलाई आशीर्वाद दिनुहोला । बाँकी कुरा संघर्ष गर्दै जाँदा जिन्दगीले सबै ठिक बनाउदै लैजाला भन्ने आशा गर्दछु ।

र आजै पर्न गएको प्रेम दिवसको उपलक्षमा यहाँहरु सबैको प्रेम अजर अमर रहोस भन्ने शुभेच्छा समेत ब्यक्त गर्न चाहन्छु।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay