scheduleबिहिवार भाद्र ५ गते, २०७६

३० प्रतिशत महिला अझै वर्थिङ सेन्टर बाहिर बच्चा जन्माउँदै

फाइल फोटो

हुम्ला, ६ फागुन । हिमाली जिल्ला हुम्लामा राज्यले प्रोत्साहनका कार्यक्रम ल्याए पनि ३० प्रतिशत गर्भवती महिलाले अझै वर्थिङ सेन्टर बाहिरै  बच्चा जन्माउने गरेका छन् । भौगोलिक विकटता, जनचेतनाको कमी र नियमित गर्भ जाँच नगर्नाले प्रसुती गृह बाहिर यति धेरै प्रतिशत महिलाहरु बच्चा जन्माउन बाध्य भएका हुन् ।

एक हप्ता अगाडी दोस्रो सन्तान गोठमा जन्माएकी चंखेली गाउँपालिका वडा नम्वर ५ की पुल्तीसरा शाहीले बर्थिङ सेन्टर घरबाट निक्कै टाढा भएको कारण बाध्यताले गोठमा बच्चा जन्माउनुपरेको बताईन् । स्वास्थ्य चौकीले बर्थिङ सेन्टरमा बच्चा जन्माउँदा सुविधा दिने कुरा थाहा पाउँदा पाउँदै पनि त्यो संभव नभएको उनको भनाइ छ ।

दुर दराजका गाउँका महिला भौगोलिक विकटताले बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउन संभव नभएको बताउँछन् । तर सदरमुकाम सिमकोटको वडा नम्वर ६ की सेर्मा सुनारको पनि १५ मिनेटमा पुगिने जिल्ला अस्पतालको सुुबिधा सम्पन्न बर्थिङ सेन्टरमा नभइ १५ दिनअघि बाटोमै बच्चा जन्मियो ।

२७ बर्षिया सुनारले नियमित रुपमा गर्भ जाँच नगराउँदा बाटोमै बच्चाको जन्म भएको हो । नियमित गर्भ जाँच गराउँदा अस्पतालले आवश्यक विभिन्न जानकारी र बच्चाको जन्म हुने समयका बारेमा पनि जानकारी दिन्छ ।

तर सुनारले नियमित गर्भ जाँच नगर्दा बाटोमै बच्चाको जन्म भयो । सिमकोट चार हिल्दुमकी कमला शाहीले पनि आधा महिना अगाडी बाटो मै बच्चा जन्माएकी  थिईन् । बर्थिङ सेन्टर बाहिर बच्चा जन्माउने यी महिला केही उदाहरण मात्रै हुन् । हुम्लामा जंगल, बाटो खेत र गोठमा बच्चा जन्माउने महिलाको संख्या धेरै छ ।

हुम्ला जिल्लामा २२ वटा स्वास्थ्य चौकी र एक जिल्ला अस्पताल गरेर २३ वटा बर्थिङ सेन्टर सञ्चालनमा भए पनि करिब ३० प्रतिशत गर्भवती महिलाले बर्थिङ सेन्टर बाहिरै बच्चा जन्माउने गरेको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहोराले बताईन्।

अस्पतालले प्रत्येक गर्भवती महिलालाई चार महिना, छ महिना, आठ महिना र नौं महिना गरि चार पटक निशुल्क गर्भजाँच गर्ने व्यवस्था गरेको छ । चार पटकको गर्भ जाँच गर्दा चार सय र बर्थिङ सेन्टरमा सुत्केरी हुँदा एक हजार पाँच सय गरेर एक हजार नौ सय प्रोत्साहन भत्ता दिने गरिएको भए पनि ३० प्रतिशत महिला अझै अस्पताल नआउने गरेका अनमी बोहोराको भनाइ छ ।

भौगोलिक विकटता, जनचेतनाको कमी र महिलाहरुले आफ्ना भित्री अंग देखाउन लाज मान्ने भएकाले उनीहरु नआउने गरेका बोहोरा बताउछिन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage