scheduleआइतवारबैशाख ५ गते, २०७८

गिनिज बुकमा नाम लेखाउन रक्तदान


काठमाडाैं, २४ फागुन । एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

लायन्स क्लब अफ काठमाडौंको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा विभिन्न उमेर समूहका मानिस, विद्यालय तथा कलेजका विद्यार्थी तथा युवाको बाक्लो भीड लागेको हो।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आयोजित कार्यक्रममा रगत दिन चाहने संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई विभिन्न चरणको परीक्षण पार गर्दै दान गर्नसक्ने व्यवस्था मिलाइएको थियो। जनसंख्या तथा वातावरणमन्त्री लालाबाबु पण्डितले जीवनमा रगतको ठूलो महत्व रहेको हुँदा रक्तदानको प्रचारका लागि कार्यक्रमले सकारात्मक सन्देश दिने विचार व्यक्त गरे।

आयोजकका अनुसार यसअघि भारतमा करीब ९०० पिन्ट रगत संकलन भएको हुँदा एक हजार पिन्ट रगत संकलन भएमा कीर्तिमान कायम हुनेछ। नेपालस्थित लायन्स क्लबका प्रमुख बालकृष्ण बुर्लाकोटीले आयोजक संस्थालाई प्रमाणपत्र वितरण गरेर कार्यक्रमलाई औपचारिक रुपमा अगाडि बढाइएको थियो। आयोजकले करीब तीन हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ।

रगत दिन आएका मानिसलाई सहयोगका लागि १० सहयोगी कक्ष स्थापना तथा करीब ५०० स्वयंसेवकलाई खटाइएको कार्यक्रमका संयोजक अखिल श्रेष्ठले जानकारी दिए। सो कार्यक्रममार्फत गिनिज बुकमा नाम लेखाउन सकिएमा नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय तहमा गौरव प्राप्त हुने लायन्स क्लबका सदस्य सुचिता घिमिरेले विश्वास व्यक्त गरिन।

विसं २०७२ को भूकम्पमा रगतको केही अभाव भएका कारण लायन्स क्लबले नयाँ सडकमा आयोजना गरेको रक्तदान कार्यक्रममा करीब ५०० पिन्ट रगत संकलन गरिएको थियो। बसुन्धरास्थित ग्रीन सिटी हस्पिटलका अध्यक्ष एलबी टण्डनले स्वस्थ मानिसले गरेको रक्तदानका कारण थला परिरहेका बिरामीले जीवन प्राप्त गर्नसक्ने हुँदा यसबारे सन्देश फैलाउन आवश्यक रहेको बताए। रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay