scheduleआइतवार श्रावण ५ गते, २०७६

नयाँ शक्तिसँग गृहमन्त्रीको प्रतिवद्धता- अपराधीलाई संरक्षण गर्दिनँ


काठमाडौं, २७ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले भ्रष्टाचार र अपराधमा संलग्नलाई आफूले संरक्षण नगर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार नयाँ शक्ति पार्टी, नेपाल सम्वद्ध आंगिक संगठनका नेतृहरुको ज्ञापनपत्र बुझ्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् । ‘अपराधलाई संरक्षण गर्दिनँ, यसअघि सरकारबाटै अपराध र अपराधीलाई संरक्षण हुने अभ्यास सरकारले तोड्छ,’ गृहमन्त्री बादलको भनाई उद्धृत गर्दै नयाँ शक्तिकी नेतृ कल्पना धमलाले भनिन् ।

मन्त्री थापाले नयाँ शक्तिका नेतृहरुलाई आफूले भ्रष्टाचार, ढिलासुस्ती र अपराधका विरुद्ध निर्मम कदम उठाइरहेको स्पष्ट पार्दै सरकारको कदममा साथ दिन आग्रह गरे । नयाँ शक्तिसम्बद्ध आंगिक संगठनहरु महिला शक्ति नेपाल, दलित शक्ति नेपाल, समाजवादी ट्रेड युनियन महासंघ र नयाँ शक्ति विद्यार्थी युनियनले मन्त्री थापालाई जनप्रतिनिधि हत्याको विरोधमा ज्ञापनपत्र बुझाएका हुन् ।

कालिकोटकी जनप्रतिनिधि मना सार्की (आइती)को जघन्य हत्याको विरोधमा गृहमन्त्रालयमा नयाँ शक्ति पार्टी, नेपालले पेश गरेको ज्ञापनपत्रमा घटनामा संलग्न दोषीमाथि तत्काल कारबाहीको माग गरिएको छ ।

मन्त्री थापाले घटनाका दोषीमाथि छानबिन गरी कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिवद्धता जनाएको नयाँ शक्तिकी नेतृ कल्पना धमलाले जानकारी दिइन् । कालिकोटको नरहरिनाथ-९ की दलित महिला सदस्य सार्कीलाई सोही ठाउँ बस्ने सृजना शाही र दुर्गा शाहीले निर्मम ढंगले ढुंगाले कुटी हत्या गरेको नयाँ शक्तिले दावी गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob