scheduleसोमवार माघ ७ गते, २०७५

मैले चिनेको डा. उपेन्द्र देवकोटा

मिलनचन्द्र खनाल

म नेपाल मेडिकल एसोसिएसनमा २०६४ सालमा जर्नलको कामका लागि प्रवेश गरेँ । त्यतिबेला अर्थात् २०६३ साल आसपास अस्पतालमा आक्रमण गर्ने, चिकित्सकमाथि हातपात गर्ने जस्ता घटनाहरुको श्रृंखला चलिरहेको थियो । म यो क्षेत्रमा आउँदा यसबारे कमै जानकारी थियो किनकी म सामाजिक विज्ञानको विद्यार्थी हुँ । सामाजिक गतिविधिमा पहिलेदेखि नै सक्रिय रहने गरेकोले सामान्य भेटघाट र कुराकानी त पहिले पनि हुन्थे ।

त्यतिबेला डा. उपेन्द्र देवकोटाबारे विभिन्न अनुमानहरु थिए । टप्पर मान्छे, ब्रेनको अपरेशन गर्ने मान्छे, मेधावी चिकित्सक इत्यादि । एसोसिएसनको भेला र बैठकहरुमा उहाँलाई बेला बेलामा बोलाइन्थ्यो । उहाँको अचम्मको व्यक्तित्व थियो । उहाँको अनुपस्थतिमा उपेन्द्र घमण्डी छ, यो छ ऊ छ भनेर ब्याकबाइटिङ गर्नेहरु पनि उहाँ बैठकमा आएर उभिएपछि र केही सम्बोधन गर्न थालेपछि सबै मान्छे मौन रहनुहुन्थ्यो । एउटा सन्नाटा पैदा हुन्थ्यो । उहाँको कुरा सबैले ध्यान दिएर सुन्नुहुन्थ्यो । ‘उपेन्द्र आएपछि केही नयाँ कुराहरु भन्छन्’ भन्ने वातावरण बन्थ्यो ।

संयोगवश मैले एसोसिएसनको प्रशासन हेर्ने जिम्मा पाएँ । उहाँले न्याम्स अर्थात् विर अस्पतालमा नेपाल एकेडेमी अफ मेडिकल साइन्सेस भन्ने एउटा संस्था खोलेर एमडी पढ्ने चिकित्सकहरुलाई पढाउन थाल्नुभएको थियो र चिकित्सक उत्पादनमा योगदान दिनुभयो ।

मिलन चन्द्र खनाल

उहाँले बाँसबारीमा न्यूरो अस्पताल पनि खोल्नुभयो । उहाँले दुवैतिर काम गर्नुहुन्थ्यो । वीरमा पढाउनुहुन्थ्यो र बाँसबारीमा आफ्ना बिरामीहरुको सेवा पनि गर्नुहुन्थ्यो ।

त्यति नै बेला एउटा घटना घट्यो न्यूरो अस्पतालमा । संखुवासभाको एकजना सभासदको आफन्त बिरामी हुनुहुन्थ्यो । उहाँको डा. देवकोटाले शल्यक्रिया गर्दागर्दै असमायिक निधन हुनपुग्यो । त्यतिबेला न्यूरो अस्पतालमा तनाव सिर्जना भएको थियो । त्यतिबेला म एसोसिएसनको तर्फबाट एउटा टोलीको नेतृत्वसहित अस्पताल पुगेँ । तोडफोडका घटना भइरहेकोले म प्रहरीको टोलीसहित त्यहाँ पुगेको थिएँ । उहाँलाई रेस्क्यू गर्ने हाम्रो उद्देश्य थियो । त्यतिबेला डा.देवकोटासँग जोकोहीले भेट्न सक्ने अवस्था थिएन । किनकी उहाँ मन्त्री हुनुभएको मान्छे ।

ब्रेनको अपरेशन गर्दा १०-१५ प्रतिशत बिरामीलाई मात्र बचाउन सकिन्छ भन्ने थियो । सभासदको आफन्तको निधन भएपछि उहाँलाई विभिन्न आरोप लगाइयो । आवश्यक हेरचाह भएन, अपरेशन नगरौं भन्दा बचाउँछु भन्दै अपरेशन गरियो जस्ता आरोप लगाइयो । बिरामीका आफन्तले उहाँमाथि भौतिक आक्रमण पनि गरियो । अस्पतालमा तोडफोड पनि भयो । त्यतिबेला उहाँलाई ठूलो भीडले घेरेर राखेको थियो ।

त्यतिनै बेला म अस्पतालमा पुगेँ । प्रहरीको सहयोगमा एसोसिएसन नेतृत्वको १५ सदस्यीय टोलीले उहाँलाई उद्धार गरेर मेडिकल एसोसिएसनमा ल्याइयो । त्यहाँ ल्याएपछि त्यहाँ त उपत्यकाभरीका चिकित्सकहरुको खचाखच भिड थियो । भित्र नअटेर मानिसहरु बाहिर कम्पाउन्डसम्म थिए । उहाँलाई ल्याउनुभन्दा अगाडि नै त्यहाँ दुई मत थियो । एकाथरीले भनिरहेका थिए कि उपेन्द्र देवकोटा भगवान होइनन्, गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ । त्यस्तै, ‘यो त मेडिकल इरर हो, यस्तो घटना घटिहाल्छन्, शल्यक्रिया गर्ने हाम्रो जिम्मेवारी हो, त्यहीक्रममा कसैको निधन भए हाम्रो हामीले जिम्मेवारी लिन सकिँदैन’ भन्ने मत पनि बलियो थियो । हामीभित्रै यस्तो विवादित वातारवरण थियो । त्यहाँ त वादविवाद चलिरहेको थियो ।

तर, जब हाम्रो टोलीसहित डा. देवकोटाको त्यहाँ उपस्थिति भयो, त्यहाँ अचानक शान्त वातावरण भयो । उहाँले त्यो घटना कसरी घट्यो भने ब्रिफिङ गर्नुभयो । त्यहाँ वरिष्ठ चिकित्सकहरुले प्रश्न सोध्नुभयो घटनाक्रमबारे । जब उहाँले घटनाक्रम बताउनुभयो, सबैको चित्त बुझ्यो । एउटा ‘चिकित्सकले बिरामी बचाउन परपूर प्रयास गर्ने हो, तर जसरी पनि बचाउन भगवान त होइन’ भन्ने निष्कर्ष निस्कियो ।

त्यसपछि २०६६ पुष १३ गते हामीले नेपालभरीका अस्पताल बन्द गरेर चिकित्सकहरुको सुरक्षाको लागि आवाज उठाउन थाल्यौं । त्यतिबेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लागू भएको थियो । ०६६ मा त्यो घटना घट्यो । मेडिकल एसोसिएसनले त्यही ऐनमा टेकेर आवाज उठाउन थाल्यौं । चिकित्सकले सुरक्षित स्थान र वातावरणमा बसेर उपचार गर्न पाउनुपर्‍यो, डाक्टर भगवान होइनन्, उनीहरु पनि जनताका छोराछोरी हुन्, आज उपेन्द्रलाई पर्‍यो, भोलि अर्को चिकित्सकलाई पर्ला भन्नेबारे कुरा हुन थाले । चिकित्सक चिकित्सकबीचमा पनि जुन सञ्चारको अभाव थियो, त्यसले डाक्टरहरु एकजुट हुनुपर्छ भन्ने पक्ष कमजोर थियो । एक्लाएक्लै केही गर्न सकिँदैन भन्नेबारे डा.देवकोटाले बोल्नुभयो । उहाँले भन्नुभयो, ‘अब नेपाल मेडिकल एसोसिएसन भनेको हाम्रो पेशागत संस्था हो, यसलाई अगाडि बढाउनुपर्छ र यसैलाई टेकेर हामीले ऐन कार्यान्वयन गराउनुपर्छ । तब मात्र हामी सुरक्षित हुन्छौं र हामीले काम गर्ने उचित वातावरण पाउन सक्छौं ।’

उहाँलाई भेट्नुअघि हल्लैहल्लामा उहाँबारे फरक धारणा थियो । उहाँ घमण्डी हुनुहुन्छजस्ता । तर, जब हाम्रा बैठकहरुमा आउनुभयो, हामीसँग अन्तरक्रिया गर्नुभयो, उहाँप्रतिको धारणा फेरियो । उहाँ आफूलाई लागेको कुरा ‘बोल्ड’ ढंगले राख्न सक्नुहुन्थ्यो । उहाँको कमाण्ड थियो । उहाँ तर्क र तथ्यहरुले आफ्ना कुरालाई बलियो बनाउन सक्नुहुन्थ्यो । ‘कन्भिन्सिङ क्यापासिटी’ शक्तिशाली थियो । कसैले गल्ती गर्‍यो भने ठाउँको ठाउँ गल्ती औंल्याउनुहुन्थ्यो । कडा स्वभावको पनि हुनुहुन्थ्यो । तर, बिरामीलाई गर्ने व्यवहार उहाँको असाध्यै राम्रो थियो । उहाँले बिरामीलाई असाध्यै माया गर्ने, बिरामीप्रति समर्पित हुने बानी थियो । राति १२-१ बजेसम्म अपरेशन गरेर बस्नुभएको मैले देखेको छु ।

त्यसपछिका हरेक बैठकहरुमा हामीले उहाँलाई बोलाउँथ्यौं । उहाँ मोबाइल बोक्नुहुन्नथ्यो । हामीले उहाँको म्याडम र निजी सहयोगीलाई सन्देश पठाउँथ्यौं । ‘डा.साब, म मिलन खनाल, आज बैठक छ’ भन्ने सन्देश पठाएपछि अथवा हाम्रा कार्यसमितिमा चिकित्सकहरुले खबर गर्नुभएपछि उहाँ बैठकमा आउनुहुन्थ्यो र बैठकमा ऊर्जा भर्नुहुन्थ्यो । उहाँले संस्थालाई कसरी अगाडि बढाउने भन्नेबारे आफ्नो इनपुट दिनुहुन्थ्यो । एसोसिएसन नीतिगत पैरवी गर्ने निकाय भएकोले त्यसबारे पनि उहाँले आफ्ना धारणाहरु राख्नुहुन्थ्यो ।

एकपटक अर्घाखाँचीमा गाडी दुर्घटना भयो । घाइतेहरुको विभत्स अवस्था थियो । म आफैंलाई सँगै राखेर उहाँले बिरामीको उपचार गर्नुभयो । एकजना गीता पन्थी ढकाल भन्ने बिरामीको असाध्यै संवेदनशील अवस्था थियो । उहाँ बाँच्नुहुन्छ भन्ने हाम्रो विश्वास नै थिएन । हामी सबैले माया मारेका थियौं । म आफैं न्यूरो अस्पताल पुगेँ । उहाँले १५/२० मिनेट मलाई समय दिनुभयो । उहाँले त्यतिबेला मलाई गर्नुभएको सहयोग र व्यवहार म जीवनभर भुल्न सक्दिनँ । उहाँले सबै अवस्था व्याख्या गरेर मलाई सम्झाउनुभयो । उहाँले बाँच्ने नबाँच्ने त भगवानको लिला, तर म अधिकतम् मिहिनेत गर्छु भन्नुभयो । मैले बिरामीका आफन्तलाई सम्झाएँ । अपरेशन भयो । भाग्यवश उहाँ बाँच्नुभयो । आज मात्रै मेरो उहाँसँग कुरा भयो । उहाँले डा.देवकोटाको निधनको खबरले आफूले खाना खान पनि नसकेको बताउनुभयो । आफूलाई जीवन दिने भगावनको जीवन गएको खबरले आफू मर्माहत भएको उहाँले भावुक हुँदै सुनाउनुभयो ।

उहाँले आफूभन्दा जुनियरलाई उहाँले ‘यसरी गर्ने’ भनेर काम सिकाउनुभएको देखेको छु । उहाँ आफ्नो क्षमता र ज्ञान सिकाउनुपर्छ भन्ने भाव थियो ।

दुःखको कुरा, हजारौं बिरामीको सेवा गर्ने उहाँ आफैंमा त्यस्तो समस्या देखियो । क्यान्सरले आक्रमण गरेपछि उहाँ सख्त बिरामी हुनुभयो । उहाँ राजनीतिक कार्यक्रमअन्तर्गत चुनावी प्रचारमा गोरखा जानुभएको थियो । त्यही क्रममा उहाँले अप्ठेरो महसुस गरेपछि काठमाडौं फर्कनुभयो र उपचारको क्रममा क्यान्सर हो भन्ने थाहा भयो । उहाँ थप उपचारका लागि बेलायत जानुभयो । त्यहाँ पनि उपचारका सबै तरिकाहरु असफल हुँदै गए ।

उहाँ आफ्नै मातृभूमि र कर्मभूमिमा फर्कन चाहनुभयो । काठमाडौं फर्कनुभएपछि हामी संस्थागतरुपमा समूहमै पनि भेट्न गयौं । समूहमा धेरै छलफल हुन पाएन । पछिल्लो समय म उहाँलाई भेट्न जाँदा उहाँ अत्यधिक पीडामा हुनुहुन्थ्यो । मैले एउटा चिट पठाएँ मेरो परिचय खुलाएर । उहाँले मलाई भित्र आउन अनुमति दिनुभयो । मलाई देखेपछि उहाँले बरर आँसु झार्नुभयो । ‘मिलन, मैले यति दुःखले बनाएको यो संस्था, यो न्यूरो अस्पताललाई तिमीले धेरै सहयोग गर्‍यौ । म मरेर गएपछि पनि यो संस्थालाई राम्ररी हेर्नू । एनएमएमा तिमी लामो समयसम्म बस्छौं । मलाई आशा पनि छ । तिमीहरुले राम्रो गर्‍यौ भने मेरो आत्माले शान्ति पाउँछ ।’

अन्ततः हामी कसैको पनि प्राथनाले उहाँको मृत्यूलाई जित्न सकेन । उहाँको निधनले हामी भावविह्वल भएका छौं । नेपालले एउटा विलक्षण स्नायू शल्यचिकित्सकलाई गुमाएको छ । उहाँले धेरै बिरामीलाई जीवन दान दिनुभएको थियो । मष्तिष्कको शल्यक्रिया गर्नु एकदमै महंगो हुन्थ्यो । कम खर्चमा नेपालमै त्यसको उपचार सम्भव थियो । उहाँले धेरै बिरामीलाई नेपालमै जीवनदान दिनुभयो । एसियाकै ताराको रुपमा उहाँलाई चिनिन्थ्यो । आज उहाँलाई गुमाउनु पर्दा हामी सबै भावविह्वल छौं । शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।

(खनाल नेपाल मेडिकल एसोसिएसनका प्रशासकीय अधिकृत हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob