scheduleशनिवार श्रावण ४ गते, २०७६

यान्त्रिक हलोले खेत जोत्न थाले महिला

म्याग्दी, १५ असार । म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् ।

महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् ।

बिहीबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाइँमा यान्त्रिक हलोले खेत जोतिरहेकी कमला केसीले यान्त्रिक हलो (मिनी पावर टिलर) गाउँमा भित्रिएपछि महिलालाई पनि खेत जोत्न सक्ने सुविधा भएको बताइन् ।

‘गोरुले जोत्दा महिलाले हलो छुन हुँदैन भन्थे, खेत जोत्नका लागि मान्छे खोज्नुपर्ने बाध्यता थियो, अहिले यान्त्रिक हलो भित्रिएपछि भाडामा लिएर आफँैले समेत जोत्ने गर्छौं,’ केसीले भनिन् ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको सन्दर्भमा यान्त्रिक हलोको प्रयोग बढिरहेको छ । छिटो र छरितोरुपमा खेत जोत्न सकिने भएकाले पनि कृषक यान्त्रिक हलोको प्रयोगतर्फ आकर्षित भइरहेका छन् ।

गोरु पाल्न झन्झट हुने गरेको अवस्थामा आफूलाई आवश्यक परेको समयका लागिमात्रै खर्च गरेर पनि खेत जोत्न सकिने भएकाले यान्त्रिक हलो कृषकलाई उपयोगी बनेको मौवाफाँटका कृषक मुकुन्द शर्माले बताए ।

गोरुको विकल्पमा ट्र्याक्टरको प्रयोगले खेत रोपाइँलगायतको खेती गर्दा लागतसमेत कम लाग्ने उनको भनाई छ ।

स्थानीय कृषकसँग मिलेर शर्माले दुईवटा हाते ट्र्याक्टरका रुपमा चिनिने यान्त्रिक हलो ७० हजारमा खरिद गरेका छन् । यसका लागि रघुगंगा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको अर्का कृषक मुक्ति सुवेदीले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob