scheduleबिहिवार माघ ३ गते, २०७५

उत्ताउलो असार

माधव दाहाल

खोप्लाङी काँईला दाईको पसलबाट दैनिक उपभोगका समान किनेर म घर फर्कंदै थिएँ । झमक्क साँझ परिसकेको थियो । घरमा बाख्रापाठा थुन्ने, दुहुनो बाहुनो गर्ने र गाई भैंसीलाई कुँढो पानी दिने लगायतका साँझको घरधन्दाहरु बाँकी नै थिए । कामकै चटारोले गर्दा म हतार-हतार आफ्नो बाटो लागिरहेको थिएँ । मेरो काँधमा खिच्रीमिच्री समानले भरिएको मन्सुली चामलको एउटा सानो बोरा थियो ।

असारको महिना । मकै गोड्ने, उकेरा लगाउने, गोडेको मकैमा विकासे मल राख्ने र कोदो रोप्ने सिजन । घर फर्कंदै गर्दा लाम्पाटा र सुर्केनीमा कसैले खास्य्राकसुस्रुक गरेजस्तो आवाज सुनियो । दिन ढल्केको लामै समय भैसक्दा पनि मेलो तुरिएको रहेनछ र बारीमा कोही काम गर्दैछ भन्ने मैले बुझिहालेँ ।

माधव दाहाल
कान्लाको सिरुमा समात्दै म बिस्तारै बारीमा उक्लेँ । यति अबेरसम्म पनि तल्लाघर काकाबा बारीमा काम गर्दै थिए । उनी काममा यतिबिधि दत्तचित्त थिए कि म नजिकैबाट हिंडिरहेको समेत थाहा पाएनन् ।

उनलाई आफु आएको संकेत दिने हिसाबले मैले यसो खोके जस्तो गरेँ । यसो गुनगुनाए जस्तो गरेँ । तर मेरो नक्कली खोकी र निरस असारे भाखाले उनलाई छोए जस्तो लागेन । मलाई मेरो आवाज उनको कानसम्म पुगे जस्तो लागेन । उनी एकोहोरो मकै बेडाउन मै व्यस्त थिए ।

‘नमस्कार काका सन्चै हुनुहुन्छ ?,’ मैले अलि जोडले भनेँ ।

निधारबाट तप-तप चुहिएको पसिनालाई एक हातले पुच्दै उने भने, ‘नमस्कार, नमस्कार ठाँईला कताड आइस् त यो साँझको बेलामा ? ‘

‘कतै हैन काका । यसो अलिअलि उधारो लिनुपर्ने थियो । उही खोप्लाङी माईलाको पसलबाट फर्केको नि । अरु त कसले पत्याउँछ र हामीलाई ? भोलि मकै दोहोरो गोड्न खेताला बोलाएको छु, त्यसैले हिंडेको नि काका,’ मैले मेरो हिडाईको मस्कद बताएँ ।

उनले अरु थप केहि बोलेनन् । बरु बेडाउन बाँकी भएको मकैका बोटहरु बेडाउन मै व्यस्त हुन थाले ।

‘मकैका बोटहरु त केहि पहेंला भएछन् नि त काका , मल हाल्न भ्याउनु भएको छैन र ?,’ मैले कुराको थालनी गरेँ ।

उनले केहि उत्तर दिएनन् । लाग्यो दिनभरको थकानले गर्दा काकाले बोल्न झ्याउ मानेका होलान् । यस्तोमा धेरै सोध्दा उनी झन रिसाउलान् कि भनेर मैले थप केहि बोलिनँ र आफ्नो बाटो लाग्ने तरखर गरेँ ।

‘काका म जान्छु है । हजुर पनि व्यस्त नै हुनुहुँदो रहेछ । यस्तोमा धेरै के बिथोलुँ हजुरलाई । म अहिले लागे है, बरु भोलि गफ गरौंला नि हुन्न ?,’ यति भनेर म आफ्नो बाटो लाग्नै आँटेको के थिएँ, काकाले भने, ‘पर्खि ठाईला म पनि जान्छु । जति गरे पनि यत्तिकै हो । कति गर्ने ? यो बुढेसकालमा म डाँडामा बसेको घामले कति दिन घर धान्ने हो र ?’ उनले अनायासै आफ्नो बुढ्यौलीको बेदना ओकले ।

‘यस्तै हो काका के गर्ने त ? यो मोरो पापी पेटले भोको बस्न मान्दोरहेन छ त ? के गर्ने त ? सबैको ब्यथा एकै त हो नि काका,’ मैले उनलाई ढाडस दिने मनसायले भनेँ ।

मेरो भनाईमाथि उनले केहि प्रतिक्रिया दिएनन् । बरु दिनभरी बेडाएको मकैको भारी काँधमा बोक्दै उनी पनि मसँगै घरतिर लागे ।

बाटामा आउँदै गर्दा काकाले सोधे, ‘ठाँइला आज असारको कति गते रे ?’

मैले भनेँ, ‘काका आज त असारको ९ गते भयो नि । अब त कोदो पनि रोप्ने बेला नि भयो है ? हजुरहरुले कहिलेतिर कोदो रोप्ने विचार गर्नु भएको छ ? ल है मेलामा म पनि मिसिन्छु नि । खबर गर्नुहोला ।’

‘केको कोदो रोप्नु नि ठाँईला । कोदै नरोपी कोदोको झोल खान पाएपछि कोदो केलाई रोप्ने ? कोदो रोपेर नै के पो हुन्छ र ? बरु मलाई त अचेल यो असार साउनको महिना नै चाडै सकिए हुन्थ्यो जस्तो लाग्न थालेको छ । यो उत्ताउलो महिनाले मलाई रातको निद्रा न दिनको भोक बनायो बाबु,’ उनले अनायासै बोले ।

बेप्रसंगमा गरिएका उनका कुराहरु बेतुकका हुन् भन्ने कुरामा मलाई कुनै शंका भएन ।

‘हँसाउनुहुन्छ काका पनि । हजुरलाई कोदोको झोलको के मतलब ? बरु ब्याड गोड्ने, कोदो रोप्ने कुरा गर्नुस् न । आजसम्म मैले हजुरले कोदोको झोल खाएको कहिल्यै देखेको छैन । पण्डितको छोरो भएर पनि के यस्तो ठट्टा गर्नु भएको काका हजुरले ? कि हामीहरुलाई उडाउनु भएको हो ?,’ उनको भनाईलाई अचम्म मान्दै मैले भनेँ । मलाई उनका भनाईहरु कुनै पनि हिसाबले सहि लागेनन् ।
मैले फेरि थपेँ, ‘अनि असार साउन महिनासँग हजुरलाई केको रिस त काका ? यहि महिनामा त हो नि वर्षमा एकचोटी दुःख गरेर बाँकी एघार महिनासम्म ढुक्कले खाने । नत्र कसरी मंसिर आउँछ त काका ?’

मैले उनको भनाईलाई सामान्यीकरण गर्दै वातावरणलाई थप सहज बनाउने प्रयत्न गरेँ ।


‘हेर ठाँईला, तिमेरलाई त असार साउनमा खेतबारीमा काम गरेर मंसिर भित्र्याउने चाहना होला तर मलाई त यो बर्खामास पनि निरस लागिरहेको छ साँच्चै भन्ने हो भने । यस्तै हुने हो भने त आगामी दिनहरुमा हाम्रो घर परिवार, नातागोता, ईष्टमित्र, समाज केहि रहदैनन् बाबु । हामी सबै एकआपसमा काटाकाट, मारपिट, झगडा, बोलचाल बन्द गरेरै यसै वर्षभित्र सकिने भयौं ठाँईला । यो असार साउन मेरा शत्रु महिना हुन् । कसैको घरमा पनि यो कालो असार महिना नआओस्,’ काकाले झन अडबङ्गे कुरा गरे ।

अब मलाई फसाद पर्‍यो । कुरा नगरौं भन्दा, उनले चित्त दुखाउलान् भन्ने पिर अनि कुरा गरौं भन्दा काकाले बोलेका कुनै कुराहरु सहि छैनन् । लाग्यो, परार साल आएको भुइँचालोले कतै काकामा सदमा परेको त हैन ? मेरो मनमा एकतमासको चिसो पस्यो ।

उनीसँग कुरा गर्दा आफु झनझन दलदलमा फसेको जस्तो मैले महसुस गरेँ । मैले उनले भनेका कुनै पनि कुराहरुको अर्थ तातोभुत्लो बुझ्न सकिनँ र ती बुझेर पनि मलाई केही होला जस्तो लागेन । म धर्मसंकटमा परेँ । के बोल्ने, के कुरा गर्ने, कसरी उम्कने ! उनको अडबङ्गे कुराको के उत्तर दिने मैले भेउ पाउन सकिनँ । तै पनि आफुभन्दा बढी उमेरका, सबैले आदर गर्नुपर्ने मान्छेले बोलेपछि यत्तिकै उत्तर नदिईरहन हुँदैन होला जस्तो लाग्यो ।

मैले भनेँ, ‘के भयो र काका ? हजुरको कुराको मैले केहि भेउ नै पाउन सकिनँ नि । सबै ठिक त छ नि काका, हैन ?’ मैले उनको दिमागी हालत ठिक नभएको निश्कर्ष निकाल्दै आफ्ना कुराहरु राखेँ । सोचेँ, अब बुढासँग धेरै कुरा गरेर साध्य हुनेवाला छैन । बरु उनले जे भन्छन्, ‘त्यो सबै कुरामा ‘हजुर हजुर’ भन्दै उम्कनु पर्छ ।’

‘केहि ठिक छैन ठाँइला । यो ढल्किँदो उमेरमा पनि मै बुढोले सबै काम नगरी कसैको मुखमा माड लाग्दैन । के गर्ने ? सबैलाई आआफ्नै धुन छ । घरको काममा कसैको ध्यान नै छैन । झन हिजो आज त घरमा साँढेसातको दशा लागेको जस्तो भा’छ बाबु,’ उनले फेरि भद्रगोल कुरा गरे । ठानेँ, ‘आफुले मात्रै घरको सबै काम गर्नु पर्दा गारो परेको बेथा ओकलेका होलान् ।’

‘किन र काका ? छोरा बुहारी नातिनातिना सबै छँदै छन् नि । उनीहरुले पनि त हजुरलाई बारीको काममा सहयोग गरिहाले कै छन् नि । किन यति सारो पिर मान्नुभएको,’ मैले उनलाई सान्त्वना दिने मनसायले भनेँ ।

उनलाई मेरो कुराले केहि छोएन । भने, ‘ठूलो घर झगडा छ बाबु हिजो आज हाम्रो घरमा । कोहि कसैसँग बोल्दैनन् ।’ उनी अगाडि थप्दै गए, ‘असार महिना लागेदेखि नै छोराबुहारी एकचोटी पनि एकआपसमा राम्ररी बोलेका छैनन् बाबु । नाती नातिनाहरुको बीचमा सधैं चिथोराचिथोर भैरहन्छ । घरमा त दोहोरो कुरा गर्ने, खेतीपातीको मेसोमेलो मिलाउने, परिवारको बन्दोबस्त गर्ने भने कै बिर्खेको आमा म मात्र हो ठाँईला,’ उनले भने ।

‘उता छोरी ज्वाँईको पनि घरमा हिजो आज बिनाकारण काटामार मात्रै भैरहेको छ रे भन्ने सुन्छु । मैले यो मर्ने बेलामा यो के देख्न पर्‍यो ठाँईला । यदुबंशी कौरवझैं आपसमा काटामार गरेरै मेरो त परिवार नै सकिने भयो हेर,’ उनले आफ्ना कुराहरु एकोहोरो भनिरहे ।

‘हिजो छोरोले नातीलाई बिना कारण बेस्करी कुट्यो । म छुट्याउन जाँदा, मलाई पनि त्यसले बेस्सरी झपार्‍यो । किन यस्तो गर्‍या हो मैले केहि भेउ पाउन सकिनँ । तेसलाई साँढेसातीको दशाले छोएको छ कि क्या हो बाबु । मैले सुनेको बाउचाँहिलाई के जाती रोनाल्डो भन्ने मनपर्छ रे अनि नाती केटोलाई चाँही के जाती मसी हो कि मेसी भन्ने हो मन पर्छ रे । झगडाको कारण यत्ति हो बाबु । बाउले मन पराएको मान्छेलाई छोराले मन पराएन रे, बाबुले माया पिरेम गरेको बिदेशी राष्ट्रलाई छोराले मन पराएन भनेर भकुरेको रे । मैले तिनेरले भनेको केहि बुझिन बाबु । यस्तो पनि हुन्छ त ? ल तिमी आफैं भन त ?’

उनी थप्दै थिए, ‘हेर हिजो आज त अरु अन्यत्रीको कारणले गर्दा आफ्नै घरमा झगडा हुन थाल्यो । झगडा गर्न केहि कारण नै नचाहिने कस्तो जमाना आयो । म त चखतभुल परे बाबु । एउटा नाथे भकुण्डोको कारणले गर्दा हुँदाहुँदा लोग्ने स्वास्नी कै बीचमा पनि सम्बन्धविच्छेद हुने भयो । ल तिमी आफै भन् त, गाउँघरका सबै भुसतिध्रेहरु केटाहरु कामै नगरेर बरालिएर हिडेका छन् । कोदो रोप्न छोडेर कोदोको झोलको भोज आयोजना गर्न थालेका छन् । हल्ला खल्ला गरेर हामी जस्ता बुढापाकालाई रात बिरात सुत्न दिदैनन् । जल्ले जितोस्, जल्ले हारोस् । हामीलाई के मतलब बाबु । निमेक गरेर खान पाए हुन्थ्यो । खेतीको समयमा पानी परे हुन्थ्यो । खेती गर्ने बेला गाउँका केटाहरु नबरालिए हुन्थ्यो । अरुको कारणले गर्दा आफ्नो घर परिबार र समाजले नहारे हुन्थ्यो । म त अचम्ममा परे बाबु । यो कतै कली बौलाएको त हैन । ल तँ नै भन् त ।’

उनी यसरी आफ्ना कुराहरु बेलिबिस्तार लगाउँदै थिए । मसँग उनले बोलेका कुराहरुको केही उत्तर थिएनन् । म अवाक भएँ । कुरा गर्दा गर्दै हामीहरु घर छेउ आईपुगिसकेका थियौं । पारीबाट एकथरी मानिसहरु चिच्याउँदै थिए । भिडमा कसैले अर्जेन्टिना अर्जेन्टिना भन्दै थिए भने कसैले चाँही जर्मनी जर्मनी भन्दै थिए । यस्तै होहल्लाको बिचमा ‘जिन्दाबाद’ र ‘मुर्दाबाद’को नारा लगाएको पनि टड्कारो सुनिन्थ्यो । घर नजिकै फ्याँकिएका बियर, रोयलस्टाग र वाईनका बोतलहरु अनि लोकल रक्सीको जर्किनहरुको बीचबाट हामी अगाडि बढ्दै गयौं ।

हामीहरु छुट्टिने बेला आइसकेको थियो । मैले उनलाई भोलि तल बेंसीबजारमा भुईचालो पीडितले पाउने भनेको दोस्रो किस्ता रकम लिन सँगै जानुपर्छ भन्ने बाचासहित बिदा मागेँ । काकाको कुराले लामो समयसम्म मेरो दिमाग हल्लिई रह्यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob