scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

‘अयोग्य’ मीराले जितिन् प्रचण्डले हारेको युद्ध

राजेश विद्रोही

लामो समयपछि भेट भयो । युद्धका संघर्षपूर्ण दिनहरु सँगै बिताएको एकजना कमरेड ।

शिविरमा हुँदा उनले भनेकी थिइन्, ‘दादा ! कुन मुख लिएर घर फर्कनु ? म त अयोग्यमा परेँ ।’

उनको पीडाले मलाई पनि दफारेको थियो । गह भरिएर टिलपिल टिलपिल भएका आँसु लुकाउन आँखा यताउता घुमाइन् । सकिनन् । भावुकताले गाला काँप्दै थिए ।

हामी बोल्न सकेनौं । मौनताले लामै समय शासन गर्‍यो । कहिलेकाँही शब्दहरुले परिस्थिति सम्हाल्ने हिम्मत गर्दैनन् । उनले नै तोडिन् मौनता लामो श्वास फेरेर ।

उनले कतै विद्यालयमा भर्ना गरिदिन भनेकी थिइन् । ‘घर जान कत्ति मन छैन,’ उनले मनकै कुरा गरेकी थिइन् ।

आँसु झारिरहेकी उनको अनौठो प्रतिवद्धता थियो । सशक्त दृढता थियो । मैले उनको दृढता र केही गरौं भन्ने इच्छाशक्तिलाई सहजै अनुभूत गरेँ ।

उनी अर्थात् भोजपुरको सानोदोम्बा-९ पिता सुकाबहादुर राई र आमा पम्फारानी राईको छोरी मीरा राई । ०४५ असार १७ गते जन्मिएकी राईलाई राज्यले अयोग्य लडाकूको बिल्ला भिरायो । तर, उनले राज्यले दिएको पहिचानलाई चुनौती दिँदै सफल अल्ट्रा धाविकाको पहिचान बनाइन् ।

राजेश विद्रोही र मीरा राई

सानै उमेरमा परिवर्तनको रुमानी सपना बोकेर जनयुद्धमा हाम फालेकी थिइन् मीरा । उनले जसलाई विश्वास गरेर आफ्नो जीवन नै बलिदान दिन तयार भइन्, बदलामा ‘अयोग्य’ लडाकूको बिल्ला बोकेर घर फर्काइदिए नेताहरुले । नेतृत्वको कारण मीराको आधी सपना बाटोमा पछारिए ।

हिम्मत् हारिनन् मीराले । उनले आधा सपना टपक्क टिपिन् र अर्को परीक्षामा आफूलाई होमिदिइन् । उनले तय गरिन् अर्को कठिन संघर्षको यात्रा । युद्धले दिएको धोका र नेतृत्वले दिएको पीडा सम्झेर उनी जीवनका गोरेटोहरुमा बेजोडले दौडन थालिन् । क्रोधलाई शक्तिमा बदल्दै दौडिरहँदा समयले उनको पहिचान नै फेरिदियो ।

दश वर्षे जनयुद्धको सुप्रिमो प्रचण्डले बाँढेको वर्गीय मुक्तिको सारा सपना अधूरो बन्यो । समय यस्तो आयो, परिवर्तनको एजेन्डाहरुको बर्खिलाप बोल्नेहरु अहिले सत्तासीन छन् । वर्गसंघर्षले थोरै पाएर धेरै गुमायो । थुप्रै योद्धाहरूको जीवन निराशामा बदलिए । आधारभूत नागरिकको पनि अपेक्षा पुरा हुन सकेन ।

यसको बाछिटा मीराको जीवनमा पनि पर्‍यो । बाँकी जिन्दगी कसरी बाँच्ने र सफलतामा पुर्‍याउने ? उनको जिन्दगीलाई प्रश्नहरुले बिथोल्यो । माओवादी आन्दोलन नसोचेको बाटो हिंड्न थाल्यो । हिजो वर्गशत्रु भनेकाहरुसँग नेताहरुको उठबस हुन थाल्यो । अवस्था यस्तो आयो कि अब सुप्रिमो ‘कृपया नयाँ दस्तावेजमा जनयुद्ध शब्द लेखिदिनुस्’ भनेर ओलीसमक्ष बिन्तीपत्र बोकेर जानुपर्ने भयो । जसरी जाने गर्थे माधव नेपाल राजासमक्ष दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको पद माग्न ।

पहिचान र सामर्थ्यसहितको संघीयताका नारा लगाएर जनता जगाउने प्रचण्ड अहिले गरुडको अगाडि सर्प लडीबुडी गरेजस्तै भएका छन् केपी ओलीका अगाडि ।

यस्ता गतिविधिले असह्य पीडा र चोट दिएको छ आधारभूत वर्गमा । यी घटनाक्रमहरुले सुप्रिमोलाई नै अयोग्य बनाइदिएको छ समयले ।

तर, यिनै नेताहरुले अयोग्यको बिल्ला भिराएर घर फर्काइदिएको एउटा चेलीले अन्तर्राष्ट्रिय स्तरमै आफ्नो मात्रै होइन, राष्ट्रकै नाम उज्यालो बनाउन सफल भएकी छन् ।

हाम्रा नेताहरु नबर्सिने बादलजस्तै गर्जिन्छन् । नतिजा केही निस्कन्न । मीरा यस्तो बादल बनिन् जो कहिल्यै गर्जिएन तर सधैं वर्षियो । कहिले लडाईंका मोर्चाहरुमा । कहिले सपनाको रुमानी दौडमा ।
अयोग्य लडाकूको बिल्ला अहिले धुजाधुजा भएर च्यातिएको छ । के थाहा ? इतिहासले कतै त्यही बिल्लालाई उडाउँदै लगेर सुप्रिमोको निधारमा पो टाँसिदिन्छ कि ? यसअर्थमा आज मीरा राईले बाँकी युद्ध जीतेकी छिन् । प्रमुख नेतृत्वको हिसाबले प्रचण्डले हारेका छन् ।

उनले बिनाहिंसा बाँकी युद्ध जीतेकी छिन् । यता सुप्रिमो प्रचण्डले हिंसासहितको युद्ध हारेका छन् । प्रचण्डले हजारौ नागरिकलाई भरिया बनाए । मीरा एकलैले सिंगो संसार तहल्का मचाई दिइन् ।
त्यसो त, मीरा सानैदेखि ठूला ठूला सपना देख्ने गर्थिन् । असाध्यै असफलतामा पनि उनी निराश बनिनन् । जीवनमा सधै उत्साहको ऊर्जा भरिरहिन् । ‘मैले आफूलाई कहिले पासाङ ल्हामुलाई किताबको पानाबाटै बाहिर निकालेर संवाद गरेँ कहिले इतिहासमा नाम लेखाएका पात्रहरुलाई ।’

पुस्तकमा ऐतिहासिक पात्रहरुको बारेमा पढ्दा उनले आफूलाई उनीहरुको अगाडि उभ्याउने गर्थिन् । बाल्यकालमा जस्तो कल्पना गरे पनि सानै उमेर दौडिएर नेपाललाई संसारसामू चिनाउँछु भन्ने उनले कल्पना गरेकी थिइनन् ।

मीरा सात कक्षामा पढ्दापढ्दै माओवादी जनयुद्धमा सामेल भएकी थिइन् । माओवादी जनयुद्धको अन्तिम चरणमा उनि जनमुक्ति सेनामा प्रवेश पनि गरिन । शान्ति प्रक्रियामा सरकार र यूएनको रोहबरमा रहेको जनमुक्ति सेनाको क्यान्टोनमेन्ट २ नं. डिभिजन सिन्धुलीको दुधौलीमा थिईन् । पटक-पटक प्रमाणिकरण भईन ।

केहि वर्षपछि जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गर्ने निश्चित मापदण्ड बनेपछि मीरा राई उमेरको हदबन्दीमा परेर अयोग्य भईन् । त्यतिबेला मीरा छानोबाट खसेझै भइन् । जीवनलाई हत्केलामा राखेर अब कहाँ जाने ? निकै दुःखित् भइन । म पनि त्यतिबेला मीरासँगै थिएँ । उनको कमाण्डरको रुपमा । मैले उनको पीडालाई नजिकबाटै महसुस गरेको थिएँ ।

उनी अहिले पनि विगत सम्झिँदा भावुक हुन्छिन् । सानो उमेरको छँदा पनि क्यान्टोनमेन्ट भित्र हरेक फौजी तालिम र विभिन्न क्रियाकलापहरूमा अरूको भन्दा राम्रो गर्थिन् । मुख्यतः कराँते, फुटबल, भलिबल, हाईजम्प, लंगजम्प र रनिंगमा उनी अब्बल थिइन् ।

मैले नै उनलाई लिएर गएको थिएँ जनकपुर । जहाँ केही प्रतियोगिताहरु आयोजना गरिएको थियो । आयोजक थियो जनकपुर उद्योग वाणिज्य संघ ।

यी सबै कृयाकलापमा पनि राम्रो गर्थिन् । पटक-पटक पुरस्कृत पनि हुन्थिन् । पछि कराँते र रनिंग नै मुख्य रोजाईमा पारिन् । र, एकपछि अर्को सफलता हाँसिल गर्दै गइन् ।

‘२०६६ सालमा अयोग्य लडाकुलाई क्याम्पमा नराख्न सरकार र पार्टी केन्द्रको निर्देशन आयो । सबै अयोग्यलाई क्याम्पबाहिर जिल्ला र वाईसिएल संगठनमा राख्ने निर्णय भयो । कि त सबैलाई घर फिर्ता पठाउने भनियो । हामी त यता न उताको भयौं,’ मीरा विगत सम्झँदै भन्छिन्, ‘समाजमा कसरी पुनरस्थापित हुने निकै सकस लाग्यो । जुन समाजलाई फेरर फर्किन्छु भनेको थिएँ त्यहि समाजमा फिर्ता जानु निकै कठिन थियो । मानसिकरुपमा असुरक्षाको पनि महसुस भयो ।’

एकपछि अर्को विगतका पाना पल्टाउँदै उनी बोल्न थालिन्, ‘हामी केहि समय विच्चलीमा पर्‍यौं । के गर्ने ? कसरी बाँच्ने ? जीवन नै भारीको महसुस गरेका थियौं । तथापि, परिस्थितिलाई चुनौतीको रूपमा लिएँ । र, जीवन संघर्षमा उत्रिएँ । मुक्ति यात्रामा भएको थुप्रै सहयोद्धा सहयात्रीहरूसँगको वर्गीय नाताको चिनाजानिले थुप्रै सहयोग र प्रेरणा मिल्यो । साथीहरूको थोपाथोपी सहयोग र मायाले धेरै धेरै सफलता मिल्यो ।’

उनी सहयोग गर्ने साथीहरुप्रति कृतज्ञ पनि छिन् । उनी भन्छिन्, ‘म ति साथीहरूलाई अझैं पनि सम्झि राखेको छु । धेरैसँग भेटघाट भैसकेको छ । अरू सम्पर्कमा आउँदै छन्, भेट हुँदैछन् । थुप्रै साथीहरूसँग अझैं पनि भेटघाट भएको छैन । जनयुद्धको यात्रामा को कहाँको थिए ? कुन थर र जातका थिए ? के तराई, के पहाड, के हिमाल, के पूर्व, के पश्चिम केहि थाहा थिएन । सोध्ने र बुझ्ने चलन थिएन । सोध्नेहरूलाई लामो स्पष्टीकरण दिनु पर्थ्यो । मन, भावना र विचार नै प्रधान थियो ।’

उनले अगाडि थपिन्, ‘वर्गीय सम्बन्धको यात्रा यति गहिरो हुँदोरहेछन् मैले जनयुद्धबाटै थाहा पाएकि छु । संसारमा योभन्दा सुन्दर मानवीय सम्बन्ध अरू कुनै छैन् ।’

मलाई अझै याद छ । त्यतिबेला थुप्रै अयोग्य लडाकुहरूलाई निर्णयनुसार घर फिर्ता पठाए । केहि कलात्मक अयोग्य लडाकुहरूलाई क्याम्पभित्रै अनमिनबाट लुकाएर केहि समय राख्यो पनि । त्यसमध्ये एकजना मीरा पनि हुन् । केहि समय राम्रैसँग मीरा क्याम्प भित्रै बसिन् । उनको सक्षमताको कदर पनि हुँदै गए । तर, दिर्घकालीन जीवन नभएपछि पार्टीले बाहिर पठायो ।

लामो समयको अन्तरालपछि मीरालाई भेट्दा र उनको सफलतासँग साक्षात्कार हुन पाउँदा खुसी लाग्यो । अलि भावुक पनि बनायो परिवेशले । योग्यता र अयोग्ताको बिल्ला समयले कसरी फेरिदिँदो रहेछ । म रोमाञ्चित पनि भएँ । प्रकृतिका हरेक रचनाहरु अयोग्य छैनन् । सबैसँग आफ्नै क्षमता छन् । तर अयोग्यताको प्रमाणपत्र बाँढ्दै हिंड्नेहरुले यो कुरा कहिले बुझ्ने ?

अब बिस्तारै समयले सिकाउँदैछ कि सुप्रिमोहरुलाई ?

(पूर्वसहकर्मी मीरालाई भेटेपछि आफ्नो भावना प्रस्तुत गरेको छु । मेरो यो व्यक्तिगत विचार हो । -लेखक)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob