scheduleशनिवार आश्विन ४ गते, २०७६

लगातारको वर्षाका कारण नेबेर र तिरगाउँ पहिरोको उच्च जोखिममा

धादिङ, ३१ असार । वर्षाका कारण उत्तरी धादिङको धेरै ठाउँमा पहिरोको जोखिम बढ्न थालेको छ । रुवीभ्याली गाउँपालिकाको विभिन्न वस्तीमा शुक्रबार रातिदेखि परेको वर्षाका कारण पहिरोको जोखिम बढेको स्थानीयले बताएका छन् ।

वर्षाका कारण रुवीभ्याली गाउँपालिकाको वडा नम्वर ५ नेवेर र वडा नम्वर ६ तिरगाउँमा ठाउँ ठाउँमा जमिन चिरा परेको, बस्ने घरभित्रको जग नै चिरा पर्नुको साथै भासिदै गएको तिर गाउँका बलबहादुर गुरुङले जानकारी दिए ।

वर्षासँगै बस्तिभित्रको जग्गा चिराचिरा पर्न थालेपछि माथिबाट पहिरो आएर पुर्ने तथा तलबाट माटो बगेर जाने हुँदा चिन्ता थपिएको गुरुङले बताए। रातभरी पानी पर्दा पहिरोको डरले सुत्न नसकेको तिरगाउँकै निरबहादुर तामाङले बताए ।

तिरगाउँमा पहिरोको जोखिम बढेपछि अहिले त्यहाँका ५० परिवार सुरक्षित ठाउँको खोजिमा छन् । सुरक्षित ठाउँका लागि उनीहरुले सरकारसँग आग्रह गरेका छन् । यस्तै रुवीभ्याली गाउँपालिकाकै वडा नम्वर ५ नेवेरको केही वस्तीमा पनि पहिरो खसेको स्थानीय किस्मान तामाङले जानकारी दिए । लगातार पानी परेसँगै गाउँमा पहिरो जाँदा ६० रोपनी बारी पुरिएको तामाङले बताए । उनका अनुसार पहिरोले स्थानीयको तरकारी बारी, कोदो, अलैची, मकैबारी पुरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage