scheduleआइतवार आषाढ़ १ गते, २०७६

आर्थिक समृद्धिमा सहकारी

पेशलकुमार खतिवडा

सामान्यतया: सहकारी भन्नाले सहकार्य, अस्तित्व वा सँगसँगै गरिने कामलाई जनाउँछ । सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुको सहकार्यमा आर्थिक लगानी गरी व्यवसायबाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशील व्यवसायिक संगठन नै सहकारी हो । र, अर्को शब्दमा सहकारी एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ । सहकारी समुदायमा बसोबास गर्ने मानिसहरुको अभियान हो । यो पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं वितरीत सेवा ग्रहण गर्न सक्दछन् । यो समुदायमा आधारित, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालन हुनुपर्छ । समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन, वस्तु, सेवा र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो । अन्तर्राष्ट्रिय सहकारी महासंघले सहकारीलाई व्यक्तिहरुको स्वेच्छिक सहभागीताबाट उनीहरुको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामुहिक स्वामित्व र प्रजातान्त्रिक ढंगबाट नियमित स्वायत्त उद्यम भनिएको छ । जनताहरूको जीवनस्तर उकास्न सहकारीलाई अर्थतन्त्रको प्रमुख आधार मानेको छ । समाजवाद उन्मुख अर्थतन्त्रलाई स्वीकार गरेको नेपालको संविधानले निजि, सार्वजानिक र सहकारीलाई तीनखम्बे अर्थनीति एवंम् मुलुक निर्माणको प्रमुख आधारका रुपमा परिभाषित गरेको छ ।

नेपालमा वि.सं. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना भएको थियो । वि.सं. २०१३ सालमा तत्कालिन सरकारको कार्यकारी आदेशमा चितवन जिल्लामा बखान ऋण समिति समेतका १३ वटा प्रारम्भिक संस्थाहरु स्थापना भएका थिए । राप्तीदून विकास परियोजना अन्तर्गत तत्कालिन अवस्थामा बाढीपीडित कृषकहरुलाई पुनरवास गराउने र कृषि ऋणको व्यवस्था गरी राहत उपलब्ध गराउने उद्देश्यले चितवन जिल्लामा खोलिएका सहकारी संस्थाहरुको कामबाट शिक्षा लिएर नेपाल सरकारबाट देशभर सहकारी संस्थाहरु खोल्ने निर्णय गरियो । यसै शिलशिलामा संस्थागत कानूनी व्यवस्था गर्न सहकारी संस्था ऐन २०१६ जारी गरी लागू र २०१८ मा सहकारी नियम पनि जारी भयो । २०२० सालमा नै सहकारी बैंकको स्थापना भएको पाइन्छ । वि.सं. २०४८ मा साझा केन्द्रिय कार्यसमितिको विघटन गरी साझा संस्था ऐन २०४१ खारेज गरी सहकारी ऐन २०४८ जारी गरिएको थियो । उक्त समय पञ्चायतकाल भरिनै राज्यद्वारा निर्देशित र नियन्त्रित संस्थाको रुपमा सहकारीलाई लिइन्थ्यो ।

पेशलकुमार खतिवडा

२०४८ पश्चात सहकारी स्थापना गर्ने एक लहर नै चलेको पाइन्छ । राज्य व्यवस्थाले ०१० साल देखि अपनाएको सहकारी अवधारणा हालसम्म ३३ वटा डिभिजन कार्यालयका ६८ वटा जिल्लामा काम गरिरहेका बेला देशभर सहकारी संस्थाको संख्या बढ्दो अवस्थामा छ । अहिले मुलुकभर १३ हजार ५ सय ७८ बचत तथा ॠण सहकारी, १० हजार ९ सय २१ वटा कृषि सहकारी, २० वटा विषयगत संघ तथा राष्ट्रिय सहकारी संघ, अन्य १५ प्रकारका सहकारीहरू गरी जम्मा ३४ हजार ५ सय १२ (हालसम्म) भन्दा बढी सहकारी सन्चालन भएको आँकडा छ । जसमा ६३ लाखभन्दा बढी सदस्य आबद्द छन । अर्थतन्त्रको उदियमान व्यवसायका रूपमा रहेको सहकारी क्षेत्रले मुलुकको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत हिस्सा र वित्तिय क्षेत्रमा १८ प्रतिशतभन्दा बढी योगदान रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार हाल नेपालमा सहकारीमार्फत ३ खर्ब रुपैयाँ बचत परिचालन गरेको छ भने २ खर्ब ७४ अर्ब ॠण प्रवाह गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा वार्षिक साढे ६ अर्ब बराबरको कारोबार गरेका छन । त्यस्तै, सहकारी संस्थाहरूमा ब्यवसायिक रूपमा ६० हजार भन्दा बढिले रोजगारी पाइरहेका छन् । जसमध्ये ५१ प्रतिशत महिला र ४९ प्रतिशत पुरूष संलग्न छन । संख्यात्मक रूपमा महिलाको संख्या बढी छ । वर्तमान विश्वका अधिकांश मुलकको आर्थिक विकासका प्रयाससंग सहकारी क्षेत्र जोडिएको पाइन्छ । समूदायको दिगो आर्थिक विकासमा सहकारीले पुर्याएको महत्वपूर्ण भूमिकाकै कारण संयुक्त राष्ट्रसंघले सन २०१२ लाई अन्तराष्ट्रिय सहकारी वर्षका रूपमा मनाउनुका साथै सन् २०१० देखि सन २०२० सम्मको दशकलाई सहकारी दशकको घोषणा समेत गरेको छ ।

राज्यको दिगो आर्थिक विकासका निम्ति सहकारीको उल्लेखनीय भूमिका हुँदाहुदै पनि बेतिथि भने फरक ढंगले मौलाएको छ । एक अर्थविदको भनाइमा ‘सहकारी त्यस्तो परम् मित्र हो, जसले घाम लागिरहेका बेला छाता पैँचो दिन्छ, जब पानी पर्न थाल्छ छाता फिर्ता माग्छ’ । सोही अनुरूप हाम्रा सहकारी मालिकहरू प्रजातान्त्रिक नियन्त्रण र स्वायत्तताको खोक्रो मन्त्र पढाएर आकर्षक युवतीहरूलाइ मार्केटिङमा परिचालन गरी जबरजस्ती कारोबार गराउने परिपाटि पछिल्लो समय व्यापक बनेको छ । मध्यम र निम्न वर्गका व्यापारी, व्यवसायी किसान, श्रमिक, र सर्वसाधारणबाट बलतल रू. १० रूपैँया ब्याज भुक्तानी गरेर निक्षेप स्वीकार्ने र तिनै व्यक्तिहरुलाई पुन: २० देखि २५ रूपैँया सम्म ब्याजमा कर्जा प्रवाह गरी राम्रैसँग ढाड सेक्नुका साथै चरम शोषण गरेका छन् ।

अतिरिक्त मूल्यको सिद्दान्त अनुसार त्यसबाट प्राप्त हुने नाफा लगानीकर्तालाई नदिई उक्त अतिरिक्त नाफाले सहकारी वित्तीय संस्थाका मालिकहरु चिल्ला टाइसुट पहिरिने । यो एउटा आर्थिक एवंम श्रम शोषणको ज्वलन्त उदाहरण हो । यसले के देखाउँछ भने सर्वसाधारण जनताको लगानीबाट सहकारी मालिकहरू शक्तिशाली पुँजीपति बनेर वित्तीय अधिनायकत्व जमाएका छन् । नियम विपरीत सञ्चालक र व्यवस्थापक पति, पत्नी कर्मचारी छोराछोरी, भतिजा, भतिजी, भान्जाभान्जी , त्यतिले नपुगे सौताने छोराछोरीजस्ता परिवाद, नातावाद, कृपावादले व्यवहारिक र वैज्ञानिक सहकारीको माध्यमबाट पुँजीनिर्माण हुँदैन । उल्टो राज्य र जनतालाई ठग्ने प्रवृत्ति मौलाउँदै गएको छ । जुन बेतिथि नियामक निकायले रोक्न नसकेको हो या नचाहेको हो ॽ या कुनै सोच, विचार नभएको हो ? यतिबेला चासोको विषय बनेको छ । विशेषत: नेपालको सहकारी क्षेत्रमा अवसर र उपलब्धि मात्र होइन, विकृति र चुनौतिहरू पनि देखा परेका छन् । सहर केन्द्रित अधिकांश संस्थाहरूले सहकारी सिद्दान्तअनुरुप सञ्चालन गर्न र सर्वसाधारणको बचत फिर्ता फिर्ता गर्न नसक्नुका साथै अरबौं रकम कुम्ल्याएर रातारात भागेका उदाहरण प्रशस्तै छन् । समूदाय र उद्यमशिलतामा आधारित नहुँदा यस्ता समस्याहरू उत्पन्न भएका हुन् । यसमा बिचौलियाहरूको समेत बिगबिगी बढेको देखिन्छ ।

सर्वसाधारण, किसान र श्रमिकहरु उत्पादन र लगानीकर्ता मालिक हुन् भने सहकारीकर्मी सेवक हुँ भन्ने विपरीत अर्थ सहकारीकर्मीले नबुझेसम्म तमाम सहकारी र लगानीकर्ताबीच गहिरो विभेदको खाडल अन्त्यका लागि सहकारी अधिनायकवादी पुँजीवाद, एकाधिकारवाद, मालिकवाद र अतिरिक्त मूल्य/नाफाको शोषण उन्मुलन गर्न सर्वसाधारण लगानीकर्ताहरूले संघर्ष तथा विद्रोह गरी परम्परावादी सहकारी दलाल, नातवाद, कृपावादी व्यवस्थाको ध्वस्त गर्न उद्दत छन् । जसरी बेलायतको औधोगिक कृषि क्रान्तिले पुरातन जडसुत्रवादी आर्थिक व्यवस्था र उत्पादन प्रणालीको अन्त्य गरी वैज्ञानिक सहकारीको सुरूआत भएको थियो ।

समाजमा एकाथरी जन्मदेखि मृत्युसम्मको सेवा दिने संस्था छन् भने अर्का थरी आफ्ना सदस्य नचिन्ने पनि छन् । हामीले दोश्रो प्रकारको सहकारी खोजेको होइन । सहाकारीको वासलत बढ्दै जाने तर सदस्यहरूको आर्थिक स्थिति खस्किनु हुँदैन । पछिल्ला केही समय/वर्ष यता निजी क्षेत्रबाट सन्चालित सहकारीहरू संख्यात्मक रूपमा तिव्र फस्टाएका छन् । तर, गुणात्मक हिसाबले हेर्दा चाहीँ औलामा गन्न सकिने मात्र सफल एवंम् प्रगति उन्मुख छन् । अधिकांश दीर्घकालीन व्यवसाय भन्दा पनि ज्यादा नाफा कमाउन खोज्ने र विकृत मानसिकताको उपजले क्षणभरमै टाट पल्टेका पनि प्रशस्तै छन् । समान उदेश्य भएका एकअर्का सहकारीहरूबीच मर्जर/एकीकरण गरी गुणात्मक, व्यवहारिक र वैज्ञानिक तवरले फरक सञ्चालक र फरक व्यवस्थापकीय माध्यमबाट सञ्चालन गर्न सके आमसमुदायमा विश्वसनीयता बढ्ने र आर्थिक उन्नतितर्फ लम्किने सम्भावाना छ । अहिलेसम्म कृषि सहकारी, बहुउद्देशीय सहकारी, बचत तथा ॠण सहकारी र फाइनाइन्सबीच उस्तै-उस्तै सेवा प्रवाह भएको पाइन्छ । यिनीहरूबीचमा स्पष्ट कार्य क्षेत्र निर्धारण/किटान गरी फरक-फरक प्रक्रियाबाट सञ्चालन हुनुपर्ने हो तर यस सम्बन्धमा सहकारी सेवा प्रवाह पारदर्शी, विश्वसनीय बनाउन संघ, प्रदेश र सम्बन्धित स्थानीय निकायले ऐन, नीति सर्कुलर तथा नियमनमा जोड दिइएको छैन ।

अन्त्यमा, आर्थिक समृद्धिको खम्बाको रूपमा रहेको सहकारी वर्तमान परिप्रेक्ष्यमा हेर्दा सहकारी सम्बन्धि अन्तर्राष्ट्रिय मूल्य, मान्यता एवंम् राज्यले निदृष्ट गरेका प्रचिलत ऐन, कानून र मापदण्डको धज्जी उडाउँदै शहर केन्द्रित प्रत्येक घरघरमा सहकारीका साइनबोर्ड देखिन्छ । नारा आ-आफ्नै जेजे भएपनि तिनीहरूको साझा उद्देश्य भनेको सर्वसाधारणलाई आफ्नो दुनियाँमा कहीँ नभएको स्किम/योजना भएको बताउँदै जबरजस्ती खाता सञ्चालन गराउने र धेरथोर सकेसम्म ठग्ने कार्य बढेको छ । यसमा सम्बन्धित निकायले ध्यान दिनु जरूरी छ । सीमित क्षेत्र सहरकेन्द्रितबाट हालको संघीय संरचना अनुसार मुलुकका विभिन्न प्रदेशहरू र गाउँगाउँमा सहकारीको सेवा बिस्तारमा जोड दिनु तत्कालको आवश्यकता हो ।

हाल क्रियान्वयनरत सङघीयतालाई मध्यनजर गरी गाउँ स्थानीय तहदेखि अन्तर प्रादेशिक अर्थनीति, अर्थतन्त्र, पुँजीनिर्माण र अर्थव्यवस्थामा लोकतान्त्रिक तवरले योगदानका लागि जोडबलका साथ सहकारीको प्रभावकारी उपस्थिति व्यापक स्थानान्तरण गर्न सके मात्र हरेक वर्ष चैत्र २० गतेलाई राष्ट्रिय सहाकारी दिवस भव्यताका साथ मनाएको सार्थक हुन्छ ।

(पेशल कुमार खतिवडा पेशाले सहकारीकर्मी हुन् )

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob