पहिरोमा पुरिएर चार घाइते
काठमाडौँ, ३ भदौ । अविरल वर्षापछि शनिबार राति आएको पहिरोमा परी चार जना घाइते भएका छन् । कागेश्वरी मनोहरा नगरपालिका–३ ब्रह्मखेलमा सो पहिरो जाँदा चार जना घाइते भएका हुन् ।
पहिरोले शिरोमणि सिग्देलको घर पुरिँदा सिग्देल, उनकी श्रीमती सावित्री सिग्देल, छोराहरु विपुल सिग्देल र विप्लव सिग्देल घाइते भएको महानगरीय प्रहरी प्रभाग थलीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकामा गम्भीर घाइते सावित्रीलाई राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा पठाइएको प्रभागका इञ्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए ।
पहिरो गएको स्थलको प्रदेश नं ३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत जनप्रतिनिधिले आजै अवलोकन गरेका छन् ।
पहिरोले सिग्देलको घर पूर्णरुपमा क्षति भएको छ । पुरिएका सामान छिमेकी र नगरपालिकाको सहयोगमा निकालिएको र छिमेकीको घरमा राखिएको छ ।