scheduleबिहिवार माघ ३ गते, २०७५

डाक्टरहरुको लापरबाहीविरुद्ध बोल्न किन पाईदैन ?

माधव दाहाल

लापरबाहीका कारण व्यक्तिको ज्यान गएमा चिकित्सकहरुलाई सजायँ हुने भनिएको विधेयक संसदमा प्रवेश गरेको कारण नेपालको स्वास्थ्य क्षेत्र आन्दोलनकारीका व्यवहार र अभिव्यक्तिले तरंगित भएको छ । हामी कहाँ वाक स्वतन्त्रता छ । त्यसैले विरोध गर्न पाउने अधिकार पनि सम्पूर्ण नेपाली नागरिकलाई नेपाल अधिराज्यको संविधानले नै सुनिश्चितता प्रदान गरेको छ । यसर्थ, चिकित्सकहरुको उक्त विरोधलाई जवाफदेहीता र ‘प्रोफेसनल ईथिक्स’का हिसाबले गैरजिम्मेवार भने पनि वाक स्वतन्त्रताका दृष्टिले भने अन्यथा रुपमा लिईनु आवश्यक छैन ।

हो, बिरामीको ज्यान डाक्टरहरुले अनवरत प्रयत्न गर्दागर्दै पनि जान सक्छ । यसमा दुईमत छैन । अनि असल नियत राख्दा राख्दै पनि मानविय त्रुटिका कारण पनि व्यक्तिको ज्यान जान सक्छ । यो पृथक कुरा भयो । तर, लापरवाहीका कारण व्यक्तिको ज्यान जाँदा समेत लापरबाहीकर्तालाई कारबाही गरिनु न्यायोचित हैन भन्दै विरोध गर्नु भनेको चाहिँ अधिनायकवादी चरित्र हो । डाक्टरहरुको अहिलेको आन्दोलनले त्यस्तै संकेत गरेको छ । उनीहरु आफुलाई कानुनभन्दा माथि अनि जवाफदेहिताभन्दा पर लगेर आफ्नो पेशाको वकालत गर्दैछन् । यो अत्यन्त दुःखद कुरा हो ।

लापरवाही कसैले भन्दैमा प्रमाणित हुने विषय हैन । लापरबाही भएको वा नभएको हेर्ने कानुनी संयन्त्र पनि बन्ला । त्यसले सबै वस्तुस्थितिको निष्पक्ष अनुसन्धान पनि गर्ला । त्यस अध्ययनपश्चात् प्राप्त परिणामले कसैलाई दोषी प्रमाणित गरेको खण्डमा पनि, लापरवाहीकर्तालाई कारबाही गरिनु हुन्न भनिनु कुनै हिसाबले तर्कसंगत कुरा हैन । बिरामीको ज्यान गएको बहानामा डाक्टरमाथि हातपात गर्न पाउनु पर्छ भनेर कुनै गैरजिम्मेवार व्यक्तिले आन्दोलन गर्नु, हस्पिटल तोडफोड गर्नु र स्वयं डाक्टरमाथि हातपात गर्नु अनि डाक्टरहरु चाँहि हामीले गरेको उपचार माथि प्रश्न उठाउन समेत पाईदैन भन्नु उही प्रकृतिका उद्धण्डता हुन् । नेपाली समाजले जवाफदेही र जिम्मेवार डाक्टर खोजेको हो । गैरजिम्मेवार र सनकी डाक्टर अनि उदण्ड समाज खोजेको हैन ।

माधव दाहाल

गत हप्ता चिकित्सकहरुले पत्रकार सम्मेलन गरी उक्त विधेयकको विरोध मात्र गरेनन्, एप्रोन बुझाउने, काममा नजाने तथा देशै छाड्ने सम्मको अभिव्यक्ति दिए । यसप्रकारको भनाईलाई आम मानिसहरुले धम्कीको रुपमा बुझ्दा फरक पर्दैन । आमासँग झगडा पर्दा एउटा बालकले घुर्क्याए जस्तै थियो उनीहरुको त्यो विरोध । यसमा आम मानिसहरु सहमत हुन सक्दैनन् । जब मेरो उपचारप्रति डाक्टर संवेदनशील छ, उसले गलत गर्‍यो भने कानुनले उसलाई कारबाही गर्छ त्यसैले मेरो उपचारमा म डराउनु पर्ने कुनै कारण छैन भनेर बिरामीले ढुक्क हुन सक्दैन भने, उसको सहि उपचार कसरी सम्भव हुन्छ ? के बिरामीले आफ्नो उपचारप्रति निश्चिन्त रहन पाउनु पर्ने अधिकार राख्दैन ?

हो, बिरामीको उपचारको क्रममा मृत्यु हुँदा डाक्टरमाथि हातपात गर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कारबाही गरिनुपर्छ । स्वास्थ्यकर्मीहरुलाई निर्भयका साथ काम गर्ने अधिकार र वातावरण बनाउनुपर्छ । यसमा कुनै शंका छैन । तर, उनीहरुलाई जवाफदेही बनाउनु पर्ने कुरामा अनि उनीहरुले आफुले गरेको उपचारका बारेमा जिम्मेवारी लिनुपर्ने कुरामा भने रत्तिभर सम्झौता हुन सक्दैन । व्यक्तिको जागिर र कसैको जीवन एकै गुरुत्व बोकेका कुरा हैनन् । डाक्टरहरुको जीवन र बिरामीको जीवनको मुल्य बराबर हुन्छ । ‘जीवन’को मूल्य ‘जागिर’ को मूल्य भन्दा निकै गह्रुंगो हुन्छ । यो उनीहरुले पनि बुझेकै होलान् ।

यस अर्थमा आफ्नो पेशाप्रति जवाफदेही बन्नुपर्ने डाक्टरहरु नेपालको संविधान र कानुनभन्दा माथि रहेको झैं आन्दोलनमा उत्रिनु अत्यन्त दुःखद तथा दण्डनीय घटना हो । उक्त पत्रकार सम्मेलनमा चिकित्सकहरुको रुवाबासी भएको दृश्य साह्रै आश्चर्यलाग्दो थियो । कुनै भारतीय सिनेमाको दृश्य भन्दा पृथक थिएन । उनीहरुको उक्त रुवाबासी अनि साथसाथै देश छोड्ने धम्की ! यस प्रकारको व्यवहारले उनीहरुको हतास मनोभाव प्रदर्शन गर्दछ ।

पत्रकार सम्मेलन नै गरेर राज्यले ल्याएको कानुनको बर्खिलाप बोल्नु भनेको आफुहरु कानुनभन्दा माथि छौ । भन्ने कुरा प्रमाणित गर्न खोज्नु हो । आखिर बोल्न पैसा पर्ने थिएन । त्यसैले उनीहरुले बोले । प्रेसकिप्सनमा लेखिने अक्षरहरु भन्दा धेरै प्रष्ट थिए उनीहरुका उक्त भनाईहरु ।

यसरी पत्रकार सम्मेलन गरेर उल्टो बाटो हिड्नुको सट्टा बरु व्यक्तिलाई दोषी प्रमाणित गर्ने मेकानिज्म के हो ? दोषी प्रमाणित नभएमा उनीहरुको ईज्जतमा लागेको दागको धक्का कसरी हटाउन सकिन्छ भन्ने कुरामा उनीहरुले जोड दिएको भए आम मानिसहरुको डाक्टरप्रतिको श्रद्धा र सम्मानमा बृद्धि गराउँथ्यो । त्यो उनीहरुले गरेनन् । डाक्टरहरुबाट गल्ति नै हुँदैन जस्तो गरी व्यवहार प्रस्तुत गर्नु गैरजिम्मेवारीको पराकाष्ठा हो ।

संस्कृतमा एउटा श्लोक छ । श्लोकले भन्छ-
‘वैद्यराज नमस्तुभ्यम्, यमराज सहोदर
यमस्तु हरति प्राण, वैद्यो प्राण धनानिचः ।’

यसको अर्थ हुन्छ- वैद्य (डाक्टर)हरु भनेका यमराजका सहोदर दाजुहरु हुन् । यमराजले त व्यक्तिको प्राण मात्र लिन्छ तर वैद्यले भने प्राण अनि धन दुबै लिने गर्दछ । त्यसैले धनका साथ साथै व्यक्तिको प्राण समेत लिने भएकोले यस श्लोकमा यमराजसँग भन्दा वैद्यसँग झन डराउनु पर्ने कुरा उल्लेख गरिएको छ ।

यस श्लोकलाई हुबहु बुझ्दा डाक्टरहरुप्रति अन्याय होला । उनीहरुले गरेको मेहनतको अवमुल्याङ्कन होला । डाक्टरहरुले मेहनत नगर्ने हो भने आम मानिसको ज्यान सामान्यभन्दा सामान्य रोगले पनि जान सक्छ । तर हाम्रो मुलुकमा मौलाएको नर्सिङ होमको व्यापार तथा मेडिकल कलेजको रजगज र माफियागिरीले यस श्लोकलाई धेरै हदसम्म सहि प्रमाणित गर्छ । डाक्टरबाट ज्यान बच्छ भन्नु भन्दा, डाक्टर कहाँ जाँदा धन पनि सकिन्छ अनि ज्यान पनि बच्दैन भन्ने अवस्था सिर्जना भएको छ हाम्रो समाजमा । आम मानिसहरु मर्नको पिरले भन्दा उपचार गर्दा लाग्ने खर्चको पिरले उपचार नै नगरी बरु घरमै बस्न बाध्य हुने परिस्थिती सिर्जना भएको छ । यो अत्यन्त दुःखद कुरा हो । लाग्छ, राज्य निदाएको छ यतिबेला । जसले जहाँ जे गरे पनि राज्य देख्दैन ।

यसै सन्दर्भमा मैले यहा केहि प्रतिनिधि प्रसंगहरु उल्लेख गरेको छु ।
प्रतिनिधी प्रसंग १
करिब १५ बर्ष जति अगाडिको कुरा हो । नेपालका एकजना वरिष्ठ डाक्टरले दिएको टिवीको गलत दवाईका कारण एकजना स्कुल जाने उमेरकी कलिली नानीको जीवन बरबाद भयो । उनको आँखाको देख्ने क्षमता गयो । उनी आज कालो संसार हेर्दै आफ्नो जीवन संघर्ष गरिराखेकी छिन् । त्यो घटना राजधानीको थियो ।

प्रतिनिधी प्रसंग २
भरतपुर क्यान्सर अस्पतालमा गत वर्ष क्यान्सर उपचार गर्न गएकी एक जाना महिलाको पाठेघर नै निकालिएको थियो । उक्त घटना गुपचुप मै रह्यो । उनी निरिह थिईन् । उनका श्रीमान बितेका थिए । उनको लागि बोलिदिने कोही भएनन् । उनको दोस्रो विवाह गर्ने र बच्चा पाउने क्षमता गैरजिम्मेवार रेडियोलोजिष्ट तथा अर्का एकजना डाक्टरका गल्तीका कारण सकियो ।

प्रतिनिधी प्रसंग ३
सुत्केरी गराउन अस्पताल गएकी एकजना गर्भवती महिलाबाट सिजेरीयन बच्चा निकालिसकेपछि कैची र छुरा उनको पेट भित्रै छोडिएको घटना पनि हाम्रै समाजमा घटेको थियो । उक्त घटना घटेको केही हप्ता पछि फेरी उनको पेटको शल्यक्रिया गरियो र पहिल्यै छोडिएको कैची, ब्लेड तथा अन्य सर्जरीका सामान निकालियो ।

प्रतिनिधी प्रसंग ४
सरकारी अस्पतालमा काम गर्ने कैयाैं डाक्टरहरुले बिरामीलाई आफ्नो निजी लगानीमा खुलेको नर्सिङहोममा थप उपचारको लागि जान सल्लाह दिने कुरा कसैले छिपाउन पर्दैन । यसरी मानवीय सेवासहितको सेतो गाउन भित्र लुकेको मानव जीवन माथिको व्यापारका बारेमा केही बोल्नै पर्दैन । त्यस्तै, अलिक फरक प्रसंगमा अर्का एक जना डाक्टरले आफुले बिरामीका अपरेसन गरेका फोटाहरु फेसबुकमा सेयरिङ गर्नुपुर्व यसो गर्न हुने हो वा यसो गर्नु उनको पेशागत धर्म भित्र पर्छ वा पर्दैन भन्ने कुरा थाहा पाएनन् वा थाहा पाएर पनि आफ्नो पुरुषार्थ प्रदर्शन गरे थाहा छैन । मेडिसिन पढ्दा उनलाई प्रोफेसनल ईथिक्सका बारेमा पक्कै पढाईएको थियो होला ।

प्रतिनिधी प्रसंग ५
मेडिकल रेप्रिजेन्टेटिभहरुले बिरामी जाँची रहेको डाक्टरलाई गएर औषधीको विज्ञापन गर्ने औषधी बेचाए बापत डाक्टरहरुलाई औषधी कम्पनीहरुले कमिसन दिने, विदेश भ्रमण गराउने, ठूला ठूला होटलमा पार्टी दिने, अनि डाक्टरहरुले उक्त मेडिसिन कमिसनका आधारमा बिरामीलाई प्रेसक्राइब गर्ने कुरा हामी कहाँ सामान्य जस्तै भैसकेको छ । अनि बिरामीलाई चाहिनेभन्दा बढी औषधी प्रेसक्राईव गराएर मेडिकलबाट अण्डरटेवल कमिसन लिने डाक्टरहरुलाई हामी कहाँ कारबाही गर्ने कुनै निकाय नै छैन र आजसम्म कसैलाई कारबाही भएको भनिएको कतै सुनिएको पनि छैन ।

अधिकांश मेडिकल क्लिनिकमा जाँच्ने डाक्टरहरुले पहिला उक्त औषधी पसलेसँग त्यहा उसको औसधी पसलमा भएको औषधीहरुको लिस्ट माग्ने । अनि त्यही उपलब्ध भएका ब्राण्डनेमका औषधी मात्र बिरामीलाई प्रेसक्राईव गर्ने गलत परिपाटी पनि हाम्रै समाजमा मौलाएको छ ।

प्रतिनिधी प्रसंग ६
लिंग पहिचान गरेर भ्रुणहत्या गराउने जस्तो निन्दनीय कार्य हामी कहाँ दिनहुँ भैरहेको छ । छोरा नै चाहिने अन्धो समाज अनि पैसा भए पुग्ने डाक्टरहरु हाम्रै अगाडि सगर्व हिडिरहेका छन् । के उनीहरु सजायका भागिदार हैनन् ?

माथि उल्लेख गरिएका सबै प्रसंगहरु हामी कहाँ विगतमा घटेका तथा हिजो आज पनि हरेक दिनजसो घट्ने प्रतिनिधि घटनाहरु हुन् । यस्ता स्वरुपका अनगिन्ती घटनाहरु हामी कहाँ सधैं घटिरहन्छन् जसका विरुद्ध संगठित आवाज उठ्दैन र उठिहाले पनि ती आवाजहरु धेरै दिनसम्म टिक्न सक्दैन ।

डाक्टरको आत्मरति र अन्धो समाज
सबै कामप्रति समान हेराई तथा सम्मान नभएको हाम्रो समाजमा डाक्टर, ईन्जिनियर, वकिल, पाईलट तथा अन्य ठुला भनिएका पेशाका व्यक्तिहरुले पाउने सम्मान अत्याधिक छ । यसैको परिणामस्वरुप हामी कहाँ डाक्टरहरुले आफुलाई भिन्दै ग्रहबाट आएको प्राणी र बिरामीहरु उनीहरुको दयाको भिख मागिरहेका व्यक्ति जस्तै गरेको कुरा कतै छिपेको छैन । बिरामीहरु अस्पतालमा जीवनको भिख माग्न आए जस्तो अनि डाक्टरहरु चाहि निशुल्क भिक्षा दिँदा दिँदा थाकेको व्यक्ति जस्तो अनि उनकै पकेटबाट सेवा दिन परे जस्तो अवस्था बिद्यमान छ हामी कहाँ ।

अर्कोतर्फ व्यक्तिमा क्षमता होस् वा नहोस्, ईच्छा होस् वा नहोस्, पैसा कै भरमा आफ्ना बच्चालाई डाक्टर बनाउने अभिभावकहरुको सपना पनि धेरै हदसम्म आजको दुरुह स्वास्थ अवस्थाका लागि जिम्मेवार छ । उनीहरुलाई आफ्ना बाबुनानीहरुलाई ‘डाक्टर साहेब’ पगरी गुथाउनु परेको छ । समाज कथित आडम्बरको चक्रब्युहमा फसेको छ अन्धो भएको छ । अनि अन्धाको अगाडि डाक्टरहरुको रगजग भने उदेकलाग्दो तरिकाले बढेको छ । त्यस्तै क्षमताका आधारमा भन्दा पनि महिला, दलित, जनजाती, मधेश, शहिद पुत्रका नाममा बाँडिने कोटा र उक्त कोटाबाट निस्किएका विद्धानहरुबाट हुने असफल उपचारका लागि हामीले हारगुहार गर्ने कुनै निकाय नै छैन ।

के डाक्टरबाट गल्ति वा हेलचेक्रयाई नै हुन्न त ?
डाक्टरहरु पनि मानिस नै हुन् । उनीहरु भित्र पनि मानवीय संवेदना छ अनि मानवीय त्रुटी हुने पनि मानिसहरुबाटै हो । आम मानिसबाट जसरी काममा हेलचेक्र्याई हुन सक्छ, त्यसै गरी डाक्टरहरुबाट पनि हेलचेक्रयाई हुन सक्दैन भन्न सकिदैन । यो मानवीय स्वभाव नै हो । तर अरु पेशाका मानिसलाई उनीहरुका काममा जती हेलचेक्र्याई गर्ने छुट हुन्छ, जति काममा गल्ति गर्ने छुट छ, त्यती हेलचेक्र्याइ गर्ने छुट डाक्टरहरुलाई छैन । उनीहरुको एउटा सानो भन्दा सानो त्रुटीबाट व्यक्तिको ज्यान जान्छ। त्यसैले डाक्टरहरुलाई काममा लापरबाही गर्ने छुट रत्तिभर छैन । जब उनीहरुलाई काममा रत्तिभर लापरबाही गर्ने छुट छैन भने, गलत काम गर्ने व्यक्तिलाई कारबाही गर्न किन पाईदैन ?

अध्ययनले भन्छ, हामी कहाँ घट्ने मेडिकल नेग्लीजेन्सी सम्बन्धी घटनाहरुमध्ये करिव एक तिहाई घटनाहरु अप्रेसन गर्दा घट्ने गरेको छन् । सामान्य रुपको हर्नियाको शल्यक्रिया गर्दा मर्ने देखी गलत ठाउँमा शल्यक्रिया गरेर अनि शल्यक्रिया गर्दा डाक्टरमा हुनु पर्ने न्युनतम क्षमता समेत नभएका कारण बिरामीले अकालमा ज्यान गुमाउनु परेका उदाहरणहरु हामी कहाँ बग्रेल्ती छन् । त्यो हो भने उक्त हेलचेक्र्याई बापत डाक्टरहरुलाई कारबाही गरिनु पर्छ कि पर्दैन ?

रोगको पहिचान नै गलत हुँदा अनि रक्त समुह पहिचान जस्तो सामान्य कुरामा समेत त्रुटी हुँदा बिरामीको ज्यान गएको दृष्टान्त हामी कहाँ छ । के यो घटना दण्डनीय हैन ?

बिरामीलाई दुहुनो गाई बनाउन पल्केका कतिपय नर्सिङहोमहरुले बिरामीलाई आफ्नो क्षमता र उपकरण अनि प्रविधिले नभ्याउँदा पनि आफ्नै नर्सिङ होममा बिरामी होल्ड गरिराख्ने तथा अन्यत्र सुविधा भएको ठाउँमा रिफर नगरिएको जस्ता उदाहरणहरु हामीले सुनेका छौं । के यो दण्डनीय अपराध हैन ?

ईमरजेन्सीमा तुरुन्त उपचार नपाएर मर्ने बिरामीहरु हामी कहाँ कैयन छन् । डाक्टरले उपचार गर्न भ्याएन, बिरामीको चाप धेरै थियो भनिदिए पनि पुग्छ यहाँ । वास्तविकतामा यो पनि एक पाटो होला । तर उपचार ढिला भएकै कारण कसैको ज्यान जान्छ भने के यो अवस्था प्रति डाक्टर तथा अस्पताल प्रसाशन जिम्मेवार ठहरर्दैनन् ?

बिरामीलाई उपचार गर्नुपूर्व रोगको बारेमा जानकारी उपचारको तरिका तथा यसबाट आईपर्ने समस्या तथा समाधानका निम्ति अबलम्वन गरिनुपर्ने तरिकाका बारेमा थोरै मात्र डाक्टरबाट बिरामीलाई सुसुचित गरिन्छ । के यो थाहा पाउने अधिकार बिरामीलाई छैन ? के यसबारे डाक्टरहरु जवाफदेही हुनु पर्दैन ? के हाम्रा डाक्टरहरुले बिरामीलाई पहिल्यै उनीहरुको यो अवस्थाका बारेमा सुसूचित गर्ने गरेका छन् त ?

सरकारी अस्पतालमा १५/२० हजारमा हुने अपरेशनलाई प्राईभेटमा एक लाखसम्म असुल्ने नर्सिङ होमले उक्त रकम किन र कसरी लियो भनेर के कसैलाई जस्टिफाई गर्नु पर्दैन ?

राज्यबाट हुने अनुगमनका बखत उभ्याउने खडेबाबा डाक्टरहरु र उठाएर लगिएका बिरामी देखाएर सञ्चालन गरिएका मेडिकल कलेजहरु माथि के राज्यले कारवाही गर्न सक्दैन ?

गलत मेडिकल डाईग्नोसिसका कारण कसैको ज्यान खतरामा परेमा वा बिरामीलाई उपचार गनुपुर्व नै पैसाको बार्गेनिङ गरिएका कारण रकम अभाव कै कारण उपचार गर्न नपाएर कसैको ज्यान गएमा यसको जिम्मेवारी कसले लिने ? के यो दण्डनीय छैन ?

राज्यले खटाएको दुर्गम क्षेत्रमा काम गर्न नगई सहर बजारमा निजी क्लिनिक खोली पैसो उपार्जन गर्ने तर जागिर लाई विभिन्न बाहानामा झुण्डाई रहने डाक्टरहरुलाई के राज्यले कारवाही गर्न सक्दैन ?
यसरीमाथि उल्लेख गरिएका सबै प्रतिनिधि घटना तथा प्रवृत्तिहरु अक्षम्य छन् । यस्ता प्रवृत्तिहरु सजायका भागिदार हुन् चाहे ती ठुला स्वास्थ्यकर्मी नै किन नहून् । यस्ता घटनाका विरुद्ध कारबाही गर्न हुँदैन भन्नु र अलाप विलाप गरेर रुनु भनेको हामीले बिरामी उपर जस्तो सुकै व्यवहार गरे पनि, जति नै हेलचेक्र्याई गरे पनि अनि जतीसुकै पैसामुखी प्रवृत्ति देखाए पनि हामीलाई कारबाही गर्न हुँदैन, पाईदैन भन्नु जस्तै हो । राज्यले त्यस्ता तत्वहरुको पहिचान गरी कारबाही गर्नुपर्छ । नागरिकहरुको जीवन रक्षाका निम्ति रत्तिभर सम्झौता गर्ने छुट राज्यसँग छैन ।

त्यसो भए अब के गर्ने त?
डाक्टरहरुलाई निर्भयका साथ काम गर्ने वातावरणको सुनिश्चिता गर्नु राज्यको पहिलो दायित्व हो । त्यसैले अस्पतालमा भएका घटनालाई लिएर उनीहरुमाथि हातपात तथा अभद्र व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्ने सशक्त मेकानिज्मको विकास गर्नुपर्दछ । तर यसका साथसाथै उपचार गर्दा लापरबाही गर्ने डाक्टरलाई उसैगरी कारबाहीको दायरामा ल्याउने परिपाटीको पनि सँगसँगै विकास गरिनुपर्दछ ।

डाक्टरहरुलाई निरंकुश छोडेर उनीहरुले गल्ती नै गर्दैनन् भने जस्तो गरी बेलगाम छोडिदिनु भनेको चाँहि नागरिकको जीवनलाई डाक्टरको शरणमा हैन भगवानको शरणमा छोडिदिनु जस्तै हो । त्यसैले संसदमा प्रवेश गरेको उक्त विधेयकलाई डाक्टरहरुले स्वागत गर्ने तथा लापरबाहीको प्रमाणित गर्दै जिम्मेवार नागरिकको रुपमा आफुलाई प्रस्तुत गर्नुपर्दछ तथा निष्पक्ष संयन्त्रको विकास गर्न राज्यलाई सहयोग गरेर नागरिकका अगाडी आफुलाई विश्वास गर्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्दछ । जबसम्म राज्य निष्पक्ष हुन सक्दैन तथा डाक्टरहरु आफ्नो कामप्रति जवाफदेही हुन सक्दैनन् । तबसम्म आम नेपालीको जीवन भगवान श्री पशुपतीनाथ कै शरणमै छोडिदिए हुन्छ । अन्यथा पैसाको लागि स्वास्थ्य व्यापार गर्दै आएका माफियाहरुको जालोमा आम नागरिकहरुको स्वास्थ्य जकडिने कुरामा कुनै शंका छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob