scheduleशनिवार चैत्र ९ गते, २०७५

पशुको हैन, अहंकारको बलि दिऊँ

कुसुम भट्टराई

विश्वभरी नै शान्ति र अहिंसाको ज्योति फैलाउने भगवान बुद्धको देशमा कतिपय धार्मिक, सांस्कृतिक र परम्परागत संस्कार हिंसामुखी छन् । प्राचीनकालमा धर्मका नाममा नर बलि दिईन्थ्यो । यज्ञमा पशु र मानिसलाई चढाईन्थ्यो । भगवान बुद्धले बलि प्रथालाई निरुत्साहित गरेपछि पशु र नरबलि प्रथामा कमी आएको थियो । तर समय क्रममा फेरी धर्मका नाममा पशुबलि दिने चलन सुरु भयो । खासगरी मांसाहार गर्नका लागि पशुबलिलाई धार्मिक आवरण ओढाईयो ।

जुन देशमा देवादीदेव महादेव अर्थात् बाबा पशुपतिनाथ छन् त्यही देशमा हामीले पशुबलिको विभत्स रुप देख्नुपरिरहेको छ । एकातिर हामी तिहारमा गाई र कुकुरको पूजा गरेर पशुलाई आदर र माया गरेको देखाउँछौं भने अर्कोतिर दशैंलगायतका पर्वहरूमा हामी कुखुरा, बोका, राँगाको बलि दिन पछी पर्दैनौं ।

animal-sacrifies

असत्यमाथि सत्यको विजयको खुशीयाली वा दुर्गा भवानीले राक्षसहरूको बध  गरेको उत्सवका रुपमा पशुबलि दिने चलन चलाउँछौं । दसैंको नवरथाका दिनदेखि नै अधिकांश देवीका मन्दिर, शक्तिपीठमा कुखुरा, बोका, हाँस, राँगालगायतका पशुबलि दिईन्छ । पवित्र मन्दिरमा रगतको खोलो बग्छ । हामो राष्ट्रिय गीतले भने झैं ‘ज्ञान भूमि, शान्ति भूमि’ नेपालमा धर्मका नाममा पशुबलि हुनु संगतपूर्ण संस्कृति हुँदै होईन । पृथ्वीमा रहेका मानिसलगायत सबै जीवजन्तु र पशुपंक्षी प्रकृतिका अनुपम उपहार हुन । सृष्टिका अमूल्य रचना हुन, मानिसलाई जस्तै पृथ्वीमा हरेक प्राणीलाई बाँच्न पाउने समान अधिकार छ ।

जैविक विविधका दृष्टिले पनि पृथ्वीमा हरेक जीवको उत्तिकै महत्व छ । पशुपंक्षीका कारण हाम्रो खेतीपाती र पर्यावरण चक्रको सन्तुलनमा समेत सकारात्मक प्रभाव परिरहेको छ । ती पशुबाट किसानले प्रांगारिक मल प्राप्त गर्न सक्छन् । तर धर्मका नाममा भईरहेको पशुबलिले एकातिर पृथ्वीको जैविक सन्तुलन खलबल्याईरहेको छ भने पशुबलिकै कारण समाजमा मनोवैज्ञानिक रुपमा हिंसा फैलिएको छ । आज खसि काट्नेले भोलि मानिसलाई नै काट्न पछी नपरेका उदाहरण प्रशस्त छन् ।

हिन्दू धर्मका असली अनुयायीका अनुसार बलि भनेको नैवेद बलि मात्र हो, पशुबलि हैन । वेदमा विद्यावारीधि गर्नु भएका स्वामी डा. प्रपन्नचार्यले पनि ‘बलि भनेको नैवेद अर्पण गर्ने मात्र हो’ भन्दै आउनुयो र बहुबलीको विरोध गर्नुभयो । तर हामीकहाँ मांसाहारी पण्डितहरूले बलिप्रथा स्थापित गर्न धार्मिक लेपन लगाए ।

विडम्बना,  धर्मका नाममा कतै करेन्ट लगाएर, कतै हलाल गरेर त कतै मार हानेर पशु पंक्षीको वध गर्ने गरिन्छ । त्यसरी अरुलाई दुःख र कष्ट दिनु धर्म होइन । जीवलाई मारेर धर्म हुँदैन । विवेकशील मानिसले मत्स्य न्याय झैं कमजोर र अवोध पशुलाई धर्मका नाममा मार्न सुहाउँदैन ।  कुनै पनि धार्मिक ग्रन्थमा पशुलाई बलि दिएर पुण्य हुने तथ्य उल्लेख छैन ।

हिन्दु धर्मका असली अनुयायीका अनुसार बलि भनेको नैवेद बलि मात्र हो, पशुबलि हैन । वेदमा विद्यावारीधि गर्नु भएका स्वामी डा. प्रपन्नचार्यले पनि ‘बलि भनेको नैवेद अर्पण गर्ने मात्र हो’ भन्दै आउनुयो र बहुबलीको विरोध गर्नुभयो । तर हामीकहाँ मांसाहारी पण्डितहरूले बलिप्रथा स्थापित गर्न धार्मिक लेपन लगाए । खासमा शक्तिरुपा दुर्गाको नाममा बलि दिने हिंसक संस्कार मूल वेदवाट निर्देशित नै छैन । चण्डिमा पनि कँहिकतै दुर्गा भवानीलाई बलिसँग जोडेर व्याख्या गरिएको छैन । दुर्गा भवानी स्वयंले पनि रक्त वीर्यको रगत भूँईमा खस्न दिएकी थिईनन् भन्ने वर्णन पौराणिक ग्रन्थहरूमा पाईन्छ ।

भारतका सदगुरु ओशो सिद्यार्थले भनेका छन्, ‘अस्तित्व बली प्रथा स्वीकार गर्दैन । भारत,  खासगरी राजस्थानका राजा महाराजाहरु बलीप्रथाका पोषक थिए । त्यसैले भारतमा एक हजार सालसम्म गुलाम रह्यो । नेपालमा राजवंशको नाश र पछि समाप्ति पनि बलिप्रथाकै कारण भयो । नेपालको अहिलेको गणतान्त्रिक सरकार यदि धर्मका नाममा चलिरहेको बली प्रथालाई रोक्दैन भने नेपालको उज्जवल भविश्यको आशा गर्न सकिदैन ।’

विभत्स हिंसा

दशैंको महाअष्टमीका दिन राजधानीको दशैंघर, कोतलगायत मुलुकका विभिन्न शक्तिपीठमा पशुबलिसहित पूजा अर्चना हुन्छ । हनुमान ढोकास्थित दसैंघरमा महाअष्टमीको मध्यरातमा ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्री मनाउने चलन छ । धर्म र संस्कृतिका नाममा यसरी राज्यकै तर्फबाट दिईने पशुबलि अब बन्द हुनैपर्छ । दशैंका अवसरमा काठमार्डौं उपत्यकाका शक्तिपिठहरू दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकाथान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगीनी, संकटा, बज्रबराहीलगायतका मन्दिरमा पशुबलि चढाउने गरिन्छ । दुर्गालाई खुशी पार्ने नाममा पवित्र मन्दिरहरूमा हुने यस्ता पशुबलिमाथि रोक लगाउनैपर्छ ।

कुसुम भट्टराई
कुसुम भट्टराई

पाल्पाको भैरवथान, गोरखाको मनकामना, वीरगंजको गहवामाई, सप्तरीको छिन्नमस्ता, राजविराजको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेको पलाञ्चोक भगवती, गोरखाको गोरखकाली,  नुवाकोटको भैरवी, डोटीको शैलेश्वरी, धरानको दन्तकाली, भोजपुरको शिद्धकालीलगायतका मन्दिरमा पनि शक्तिरुपा भगवतीको पूजा अर्चनाका नाममा पशुबलि दिईन्छ । ति ऐतिहासीक मन्दिरहरूलाई पनि पशुबलि मुक्त क्षेत्र घोषणा गरिनुपर्छ ।

बाराको बरियारपुरमा हरेक पाँच वर्षको अन्तरालमा मंसिर महिनामा आयोजना हुने गढीमाई मेलामा पाँच लाख भन्दा बढी पशुपंक्षीको बलि दिईन्छ । यो पशुप्रतिको क्रुर व्यवहार हो । गढीमाई मेला पशुपंक्षी बलिका दृष्टीले संसारकै सबैभन्दा ठुलो बलि हो, जहाँ २५ हजार राँगासहित पाँच लाख पशुको निर्ममतापूर्वक बलि दिइन्छ । त्यसमा मुसा, हाँस र कुखुरासमेत पर्दछन । अहिलेका पुजारीका कुनै पुर्खालाई सपनामा कसैले ‘देवीलाई बलि दिनुपर्छ’ भनेपछि सपनाकै आधारमा यस्तो बलिको सुरुवात भएको बताइन्छ । सपनाकै भरमा अबोध पशुमाथि धर्मकै आडमा त्यस्तो क्रुर व्यवहार गर्नु अहिलेको एक्काइसौं शताब्दीको मानवलाई कदापि सुहाउँदैन । गढीमाई मेलामा हुने पशुबलिको विरुद्धमा संसारभरीका पशुअधिकारकर्मी, पशुमाथि मानवीय व्यवहारका पक्षपाती तथा सत्य, धर्म, अहिंसा र करुणाका संवाहक विभिन्न आध्यात्मिक संघ संस्थाले आवाज उठाउँदै आएका छन् । गढीमाईको कहालीलाग्दो पशुबलिको विरोधमा भारतकी अधिकारकर्मी मेनका गान्धीलेसमेत पहल गरेकी थिइन । मेनकाले केही वर्षअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई पत्र लेखेर त्यो क्रुुर पशुबलि रोक्न आग्रह गरेकी थिईन । तर पशुबलि रोकियोस भन्ने पुकारको सरकारले कुनै सुनुवाई गरेन । बरु पछिल्लो गढीमाई मेलाका लागी सरकारले ४२ लाख रुपैयाँ उपलब्ध गरायो । अवदेखि गढीमाई मेलामा हुने भयावह पशुबलिमाथि रोक लगाउन सरकारले ऐतिहासिक निर्णय गर्नैपर्छ ।

मुगुको गमगढीमा बडादशैंको अवसरमा दिईने पशुबलि पनि क्रुरताको पराकाष्ठा हो । त्यहाँ एकथरी युवा हर्षका साथ बोको लिएर मन्दिरको प्रांगणमा आउँछन् । डोरी खोल्नुभन्दा पहिले बोकाको जिउभरी खुर्सानीको लेप घस्छन् । पिरोको डाहाले बोको छटपटाउँछ, तडपिन्छ, करुण क्रन्दन गर्छ । बोका छटपटाईरहेकै बेला ति युवा बोकालाई दाँतले टोक्न थाल्छन् । कसको टोकाईबाट बोकाको भुँडी फुटाउन सकिन्छ भन्ने होडवाजी चल्छ । अन्ततः धेरैले टोकेपछि बोकाको भुँडी बाहिर निस्कन्छ । युवा उत्सव मनाउन थाल्छन् । मानवले गर्ने त्यस्तो दानविय व्यवहारमाथि रोक लगाइनुपर्छ ।

ललितपुरको खोकनामा पनि करीब यस्तै पाशविक प्रकृतीको बलिप्रथा छ । त्यहाँ एक पोखरीमा बोकालाई लछार पछार गर्दै रगतपच्छे पारेर मारिन्छ । सप्तरीको छिन्नमस्तामा बोकालाई पिठयुमाथि चढेर अठ्याईन्छ र घाँटीतिरबाट छुरीले रेटेर तडपाई तडपाई मारिन्छ । भक्तपुरमा नवदुर्गालाई चढाईने सुंगुरको पाठोलाई पनि क्रुरतापुर्वक मारिन्छ । पशुमाथिको यस्तो अत्याचार तत्काल बन्द गरिनुपर्छ ।

राज्यकै प्रोत्साहन

सबैभन्दा असहय र दुखलाग्दो अवस्था, सरकारले जनताले तिरेको करबाट संकलित सरकारी ढुकुटीबाट करोडौं रुपैयाँ पशुबलिको लागि बजेट छुट्याउने गरेको छ । माछामासु खाने र पशुबलिका पक्षपातीलाई यो कुरा जायज लाग्न पनि सक्ला, तर करोडौं नेपाली जनता जो शाकाहारी छन् र पशुबलिको पक्षमा छैनन्, उनिहरूले यो देश उन्नतिको लागि तिरेको नियमित कर पशुबलिमा जाँदा उनीहरूको मौलिक हक अधिकारमाथि कुठाराघात हुदैन र ? कसैको खुशीको लागि अरु कसैमाथि अन्याय हुनुहुँदैन । ती जनताले हामीले तिरेको कर र राज्यको ढुकुटीबाट खर्च हुने राजस्व दुरुपयोग गरी पशुबलि र पापमा हामीलाई मुछ्न पाईदैन भनेर भन्न पाउने कि नपाउने ? सामाजिक तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीत दशैंको उपलक्ष्यमा राज्यकोषबाटै पशुबलिका लागि करोडौं रुपैयाँ खर्च छुट्याउने र राज्यकोषको दुरुपयोग गर्ने चलन बन्द हुनुपर्छ ।

निरिह, निरुपाय, निर्दोष र अबोध प्राणीको निर्मम बध गर्नुको साटो हामीले आफूभित्रको महिषासुर प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।

धर्मले पशुपंक्षी र मानिसलाई समान मान्छ । बलि दिइने पशु पनि देवीकै सन्तान हुन् । आफनै आमालाई सन्तानको बलि किन दिने ? यदि देवीलाई बलि दिएर खुशी पार्नु नै छ भने किन काँक्रा, फर्सी, लौका, इस्कुस र नरीवलको बली नदिने ? त्यसैले पशुबलिको साटो फलफूल र तरकारीको बलि दिने संस्कार बसाउन सरकारले जनचेतनामूलक ठोस कार्यक्रम ल्याओस् ।

वैज्ञानिक हिसाबले र स्वभावैले पनि मानिस मांसाहारी वर्गमा पर्दैन । स्वास्थ्यका हरेक दृष्टिले मासु खानु हानिकारक भएको पुष्टि भइसकेको छ । नेपालवाहेक आज संसारका विकसित, अल्पविकसित तथा अविकसित मुलुकमासमेत पशु अधिकारलाई कानूनमै सुरक्षित गरिएको छ । मासुको रुपमा प्रयोग गरिने पशुलाईसमेत एकदमै व्यवस्थित वधशाला निर्माण गरि वध गर्ने गरिएका छन् । हाम्रै छिमेकी देश चीन र भारतमासमेत देवी देवताको मठ मन्दिरमा निर्दोष प्राणीलाई बलि दिने कुरीतिलाई निरुत्साहित गरिएको छ । तर भौगोलिक हिसाबले यति सानो मुलुक नेपालमा निरिह प्राणी पशुलाई बलिदिने गणितिय क्रम हिसाब गर्‍यौं भने कहाली लागेर आत्तिन्छौं । त्यसैले धर्मका नाममा हुने पशुबध रोक्न सरकारले तत्काल कानूनी व्यवस्था गरोस् ।

मानिसले पशुको होइन, आफूभित्रको काम, क्रोध, लोभ, मोह, अहंकारलाई बलि दिनु आवश्यक छ । संसारभरीका सबै धर्मको सार नै यही हो । दुर्गा भवानीले महिषासुरको बध गरेको खुशीयालीमा यदि कसैको बलि दिएर उत्सव मनाउने नै हो भने आफूभित्रैका षडरिपुहरूको बली दिएर उत्सव मनाऔं । खासमा महिषासुर भनेका तिनै षडरिपु हुन । निरिह, निरुपाय, निर्दोष र अबोध प्राणीको निर्मम बध गर्नुको साटो हामीले आफूभित्रको महिषासुर प्रवृत्तिको अन्त्य गर्नुपर्छ । यसका लागि सरकारले आध्यात्मिक जागरणको पहल गरोस् । सत्य, धर्म, अहिंसा, करुणा, प्रेम र आनन्दतर्फ जनतालाई अग्रसर गराउन सकियो भने मात्र मुलुकले चाहेको दिगो शान्ति स्थापना हुनसक्दछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob