scheduleबुधवार आश्विन ६ गते, २०७८

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिप्रति ध्यानाकर्षण

काठमाडौँ, १० असोज । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको भन्दै त्यसको नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले चाडबाडको मुखमा मूल्य वृद्धि नगर्न आग्रह गरेका हुन् । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चिनीको भाउ वृद्धि, बजार अनुगमनमा देखिएको कमजोरी, सहुलियत पसल सञ्चालन र कालोबजारीका कारणबारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामवीर मानन्धरले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको काम गर्न सरकारलाई सुझाव दिए । सांसद देवेन्द्र पौडेलले दैनिक उपभोग्य वस्तुमा किन र कसरी मूल्य बढाइयो भन्नेबारे जनतालाई जानकारी दिनुपर्ने बताए । सांसदहरु गोपालबहादुर बम, अमृतादेवी अग्रहरि, सरिता न्यौपाने, दुर्गाकुमारी विश्वकर्मालगायतले चाडबाडको समयमा कालोबजारी हुने गरेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मात्रीका यादवले चाडबाडको समयमा जनतालाई राहत दिने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । बजार अनुगमन गर्दै सहुलियत पसल सञ्चालन र कालोबजारी नियन्त्रण गर्न सरकार कटिबद्ध रहेको बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय