scheduleशनिवार चैत्र ९ गते, २०७५

ये बम्बे नगरिया, देख बबुआ !

डम्बर खतिवडा


मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा हवाईजहाज अवतरण गर्नुअघि आकासबाट निला त्रिपालले छत छोपेका असंख्य घरहरु देखिन्छन् । साना/ठूला, अग्ला/होचा । परैबाट प्रष्टै छुट्टयाउन सकिन्छ कि यी कमजोर गुणस्तरका घरहरु हुन् । मुम्बई शहरको वैभव र प्रसिद्धीसँग नमिल्दो यो दृष्य पहिलोपटक जोकसैका लागि आश्चर्य अनुभूतिको कारण बन्न पुग्छ ।

यो ‘धारवी’ हो । सम्भवत् संसारको सबैभन्दा ठूलो झुपटपट्टी । हुन त तथ्यांकले धारवीलाई दोस्रो ठूलो झुपटपट्टी मानेको छ । पाकिस्तानको ओराङ्गी पछिको दोस्रो ठूलो । तर यो निक्कै पुरानो तुलना हो । धारवीमा जनसंख्या तीव्र गतिले बढिरहेको छ । यो झनझन अव्यवस्थित हुँदै गइरहेको छ । यहाँ २.१ वर्गकिलोमिटर क्षेत्रमा करिब १ करोड मान्छे बस्छन् । संसारकै सबैभन्दा बढी जनघनत्व भएको क्षेत्र हो यो । २० वर्ष बढी समयदेखि मुम्बई बसिरहेका मेरा मित्र दीपक शर्मा भन्छन, ‘यहाँ ८/१० को एउटा कोठामा सिंगो परिवार ५ पुस्ता बिताउने मान्छेहरु छन् ।’

धारवीको बसोबास सन् १८८३ मा शुरुवात भएको थियो । ब्रिटिस शासकहरुले जब बम्बेलाई औद्योगिक शहरका रुपमा विकास गर्ने सोच बनाए मजदुरहरुको लागि धारबी बस्यो । भारतका सबै प्रदेशका ग्रामिण क्षेत्रबाट कामको खोजीमा मान्छेहरु यहाँ ओइरिए । रोग, भोक, शोक, अशिक्षा, गरिबी र कमजोर मानवीय जीवनस्तरको बेजोड नमुना बन्यो– धारवी । सन् १८९६ मा यहाँबाट फैलिएको प्लेगले बम्बे शहरको करिब आधा जनसंख्या मरेको थियो ।

दिपक शर्मा भन्छन्– धारवीको समस्या यहाँका पार्टी, नेता, प्रशासक सबैलाई थाहा छ । हरेक पटक चुनावअगाडि झुपटपट्टीबाट मान्छेहरुलाई हटाइँदैछ भन्ने हल्ला पिटाइन्छ । पार्टीका नेताहरु जान्छन्– ‘खबरदार यहाँबाट गरिबहरुलाई कस्ले हटाउँदो रैछ भनेर भाषण गर्छन् । आफ्नो पार्टीले हटाउन नदिने वाचा गर्छन् । धारवीलाई भोट बैंकका रुपमा उपयोग गरिन्छ । जसले झुपटपट्टी कायम राख्ने पक्षमा चर्को भाषण गर्दछ, उसैलाई गरिब र मजदुर पक्षधर पार्टी मानिन्छ । तर धारवीलाई व्यवस्थित गर्ने योजना कसैसँग हुँदैन । महाराष्ट्रमा प्रभाव भएका तीनवटै ठूला दल विजेपी, शिवसेना र राष्ट्रवादी कांग्रेस यस मानेमा कोही भन्दा कोही कम छैनन् ।’

बम्बे शहरको अर्को पाटो भने जुहुदेखि गेट अफ इण्डियासम्मको समुन्द्र किनार करिब १५ किलोमिटर क्षेत्र हो । यहाँ करिब ७ किमी लामो समुन्द्रमाथिको पुल छ । पुल प्रवेश गर्ने बगैचा क्षेत्रमा दिउँसै युवायुवतीहरु निस्फिक्री चुम्माचाटी गरिरहेका हुन्छन । यही क्षेत्रमा भारतका अधिकांश सेलिब्रेटीहरु बस्छन् ।

अमिताभ बच्चनको घरदेखि विराट कोहलीको फ्ल्याटसम्म, धिरुभाई अम्बानीको छतमा हेलिकप्टर बस्ने अलिशान महलदेखि बाल ठाकरेका राजनीतिक उत्तराधिकार तथा छोरा उद्धव ठाकरेको बसोबास वा दफतर यही क्षेत्रमा छ ।

साना वा मझौला निजी घरहरुको खासै प्रचलन नभएको गगनचुम्बी अपार्टमेन्टहरुको यो क्षेत्रमा सेलिब्रेटीहरुको अपार्टमेन्ट, फ्लाइट नम्बर, मूल्य सर्वसाधारणलाई पनि कन्ठै हुन्छ । हामीलाई बम्बे घुमाउन मज्जा मानिरहेका हिराजी भन्छन्– ‘ऊ त्यो २२ तलाको अपार्टमेन्टको अन्तिम तलामा विराट कोहली बस्छन् । ४ कोठा भएको यो फ्ल्याट उनले २२ करोडमा किनेका हुन् ।’

जसै अमिताभ बच्चनको घर अगाडि ट्याक्सी पुग्दा उनले भनेका थिए– ‘अमिताभजी हरेक आइतबार साँझ ५ बजे देखि ७ बजेसम्म दुई घण्टा घरको बाल्कोनीमा आउँछन् । घरअगाडि सडकमा हज्जारौं मान्छेको भीड हुन्छ । उनी हात हल्लाएर अभिवादन गर्छन् । अमिताभलाई एक झल्को हेर्न मान्छेको ठूलो उत्सुकता र ठेलमठेल हुन्छ ।’

महाराष्ट्र राजनीतिमा बाल ठाकरेको उदय र उनको मृत्युपछि निरन्तर कमजोर हुँदै गएको शिवसेना पार्टी बम्बे किंबदन्तीको लोकप्रिय पक्ष हो । कुनै समय यस्तो थियो कि बाल ठाकरेको इशारा बिना बम्बेले सास फेर्दैथ्यो । ठाकरे आफै कहिल्यै मुख्यमन्त्री भएनन् । उनी ‘किंङ’ भएनन्, ‘किंङ मेकर’ भए । यस्ता ‘किंङ मेकर’ जो ‘किंङ’ भन्दा कयौं गुणा बढी शक्तिशाली थिए ।

ठाकरे पुणेमा जन्मिएका थिए । बम्बेमा उनले आफ्नो क्यारियर कार्टुनिष्टका रुपमा शुरु गरेका थिए । प्रकारान्तले उनी ‘मार्मिक’ र ‘सामना’ जस्ता राजनीतिक पत्रिकाका संस्थापक र सम्पादक बने । धेरैमा यो भ्रम छ कि ‘शिवसेना’ पार्टीको नाम भगवान शिवको नामबाट लिइएको हो । वास्तविकता त्यस्तो हैन ।

बाल ठाकरे मराठी राष्ट्रवाद र हिन्दुत्वको प्रतिक थिए । उनले आफूलाई निसंकोच भारतीय राजनीतिको फासिष्ट भन्ने गर्थे । ‘हिटलरको मराठी अवतार’ उनका लागि गाली हैन, गौरवको विषय थियो । उनले मराठी सम्राट छत्रपती शिवाजीको नामबाट आफ्नो पार्टीको नाम शिव सेना जुराएका थिए । मराठी इतिहासका महान योद्धा शिवाजी भोसले मराठ छत्रपती (महाराजा) रहँदा मुगल, अंग्रेज, फ्रेन्च र पोर्चुगिज साम्राज्यसँग अनेक बहादुरीपूर्ण युद्ध लडेका थिए ।

स्वराज पछिको महाराष्ट्रमा बाल ठाकरेले त्यही भावनालाई पुनर्जाग्रित गरे । मुम्बई विमानस्थलको नाम उनै योद्धाको संझनामा ‘छत्रपती शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल’ राखिएको छ । बाल ठाकरेको मृत्युपछि शिवसेना पार्टीमा उत्तराधिकारलाई लिएर छोरा उद्धव ठाकरे र भतिजा राज ठाकरेबीच झगडा शुरु भयो ।

बम्बेबाट नासिक जाँदै गर्दा ट्राफिक जाम कम थिएन । हाइवेमा पुग्नु अघि महानगरभित्रको २६ किमी छिचोल्न ४ घण्टा बढी समय लागेको थियो । गफिनका लागि पर्याप्त समय थियो यो । मित्र राजु बिसीले भनेका थिए– ‘बाल ठाकरेको वास्तविक व्यक्तित्व र सोच भतिजा राज ठाकरेमा थियो तर वंशवादको पल्ला छोरा उद्धब ठाकरेको पक्षमा भारी भयो । उद्धब कमजोर व्यक्तित्वका छन् । अन्तर्पार्टी संघर्षमा टिक्न गाह्रो भएपछि राज ठाकरेले भिन्नै पार्टी ‘महाराष्ट्र नवनिर्माण सेना’ गठन गरे । पार्टी गठनसँगै करिब एक दर्जन बढी बिहारी र उत्तरप्रदेशीको हत्या गराए । नेपाली समुदायमा पनि ठूलो भय फैलियो । यहीँनेरबाट शिव सेनाको अधोगति शुरुवात भयो । राज ठाकरेको पार्टीले खासै भोट ल्याउन सकेनन् । तर उद्धब ठाकरेको समूहलाई नराम्रो क्षति पुर्‍यायो ।’

नासिकमा मैले अर्का मित्र तिलक विकलाई सोधेको थिएँ । यहाँ बस्ने नेपाली समुदायका मानिसहरु कसलाई भोट दिन रुचाउँछन् ? उनले विना हिचकिचाहट भने– ‘बिजेपीलाई’ । महाराष्ट्रमा मात्र १० लाखभन्दा बढी नेपाली हुन सक्ने उनको अनुमान थियो । तीमध्ये कतिपय मतदाता छन् । मतदाता नभएकाले पनि चुनावमा जुलुसमा हिडेर वा अन्य तवरले बिजेपीलाई सहयोग गर्छन् । नेपालमा ती कांग्रेस कम्युष्टिका समर्थक हुन सक्छन् ।

नयाँ शक्ति पार्टीका समर्थकहरु पनि बाक्लै छन्, नासिक क्षेत्रमा । तर महाराष्ट्री राजनीतिको विशिष्ठताले त्यहाँ भने उनीहरुलाई बिजेपीको समर्थक वा सहयोगी बनाँउदो रहेछ ।

तिलकजीले यसको कारण बढो राम्रो गरी बताएका थिए– ‘शिवसेनाको राजनीति मराठी– हिन्दूत्वमा आधारित छ । कांग्रेस र कम्युनिष्ट पार्टी महाराष्ट्रमा बलशाली छैनन् । राष्ट्रिय कांग्रेसभन्दा राष्ट्रवादी कांग्रेसको प्रभाव बढी छ । शिवसेना अरु प्रदेशका मान्छेलाई जुन प्रकारको घृणा र प्रहार गर्छ, त्यसको प्रतिउत्तरमा बिजेपीबाट मात्र सुरक्षाको अनुभूति गर्न सकिन्छ । हिजोसम्म शिवसेना बिजेपी पार्टनर पार्टी थिए । आउँने दिनमा उनीहरु बीचको दरार बढ्ने संभावना छ । बिजेपी सबै प्रदेशका हिन्दूप्रति समभाव राख्छ । शिवसेना मराठीको पक्षमा मात्र हुन्छ । शिवसेनाको तारोमा नेपाली कम बिहारी र उत्तरप्रदेशी बढी हुन्छन् । तर बिजेपीजस्तो प्रष्ट सुरक्षाको प्रत्याभूति नेपाली समुदायले शिवसेनाबाट पाउँदैन ।’

मराठी भाषामा ‘न’ को साटो औसत ‘ण’ को प्रयोग हुन्छ । जस्तो ‘पुने’ को साटो ‘पुणे’, ‘थाने’को साटो ‘थाणे’, ‘पानी’ लाई ‘पाणी’ ‘किराना’ लाई ‘किराणा’ आदि । ‘ण’ को अप्ठ्यारो उच्चारणले मराठी भाषाको स्वादलाई रोचक र कर्णप्रिय बनाईदिन्छ । अन्यथा देवनागरिक लिपीमा लेखिने अरु दक्षिण एसियाली भाषाभन्दा मराठी खासै भिन्न लाग्दैन । न त बुझ्न नै गाह्रो छ ।
धार्मिक हिसाबले मराठीहरु रामायण र महाभारत दुबै कालखण्डसँग जोडिएका छन् । नासिक बम्बेसँगै जोडिएको अर्को ठूलो महानगर हो । बुम्बेमा खानेपानीका पाइपहरु नासिकबाटै आएका छन् । नासिक–बुम्बे बीचका पहाडहरु अन्डरग्राउड गरेर रेलमार्ग बनाइएको छ ।

मराठी विश्वास अनुसार नासिक अयोध्या राजकुमार रामलक्ष्मण वनबास बसेको क्षेत्र हो । लक्ष्मणले रावणकी बहिनी सुपर्णखाँको नाक काटेको कारण यो ठाउँको नाम नासिक भयो । रावणले यहीबाट सीताहरण गरेका थिए । पाण्डुलिनको पहाडलाई उनीहरु कुरुक्षेत्रको युद्धपछि पाँच पाण्डवहरुले विश्राम गरेको क्षेत्रमा रुपमा अर्थ्याउँछन् ।

नासिकको राममन्दिर काला ढुंगाहरुले बनेको छ । राम, लक्ष्मण र सीताको मुर्ति कालो ढुंगामा कुँदिएका छन् । तसर्थ, यो मन्दिरलाई मराठीहरु ‘काला रामको मन्दिर’ भन्छन् । उनीहरुलाई सीता मिथिला राजकुमारी थिइन् भन्ने राम्ररी थाहा छ । सीताको साइनो जोडर उनीहरु जनकपुर र काठमाडौंलाई चिन्छन् । जिन्दगीमा एकपटक नेपाल पुग्ने सपना औसत मराठीहरुको अधुरो सपनास्तो हुँदो रहेछ ।

‘मुम्बई’ लाई अंग्रेजले ‘बम्बे’ बनाई दिए । मराठी भाषामा ‘मुम्बा’ को अर्थ ‘आमा’ हो । ‘बम्बे’ अंग्रेजले उच्चारण गर्न नजानेर अपभ्रंश भएको शब्द थियो । सन् १९९५ पछि पुनश्च ‘मुम्बई’ भन्न थालियो । हिन्दी सिनेमाको राजधानीको अर्थमा यसलाई मान्छेले ‘बलिउड’ भनिदिए । हिन्दी सिनेमाका ९० प्रतिशत स्टारहरु मुम्बई मै बसोबास गर्छन् । राजनीतिक राजधानी दिल्लीसँग उनीहरुको खासै मोह हुँदैन ।

मराठी अवचेतनामा मराठ साम्राज्य र राष्ट्रियता अद्यापि सुषुप्त छ । उनीहरुको धारणामा दिल्ली मुम्बई भन्दा गतिलो ठाउँ हैन, न त मराठी राष्ट्रियता विना भारतीय राष्ट्रियता पूर्ण हुन सक्छ ।
मुम्बइको चर्चा गर्दा छुटाउनै नमिल्ने चिज ‘गेट अफ इन्डिया’ हो । जुहुदेखि ‘गेट अफ इन्डिया’सम्म समुन्द्रमा उचालिने छालले भिन्दै हज्जारौं बटुवाहरु हिंडिरहेका हुन्छन् । १२ बजेपछि समुन्द्रमा छालहरु कमजोर हुन्छन् र टाढाटाढा भाग्दछन् । ‘गेट अफ इन्डिया’ को भीड त्यसपछि झनै जम्छ । सन् १९११ मा बेलायतका राजा जर्ज पञ्चम् र महारानी मेरीको भारत भ्रमणको स्मारक हो– ‘गेट अफ इन्डिया’ । उनीहरु भारत भ्रमण गर्ने अंग्रेज साम्राज्यका पहिलो राजारानी थिए । तर ‘गेट अफ इन्डिया’ को महत्व यतिमा मात्र सीमित हुँदैन ।

‘गेट अफ इन्डिया’ भारतीयहरुका लागि पश्चिमा संसारसँगको सम्पर्कको रहस्य विन्दू हो । अंग्रेजहरु पाल टाँगेका पानीजहाजहरुमा यहीँ आएर उत्रिन्थे । स्वामी विवेकानन्द संभवत् अमेरिका भ्रमण गर्ने पहिलो भारतीय थिए । उनले यहीबाट समुन्द्रयात्रा शुरुवात गरेका थिए । भारतीय स्वतन्त्रतापछि अंग्रेज सेनाको अन्तिम टुकडी यहीबाट बिदाई भएर हिंडेको थियो । ‘गेट अफ इन्डिया’ प्राकृतिक रहस्यले त सुन्दर छ नै, त्यसभन्दा बढी ऐतिहासिक रहस्यले सुन्दर छ ।

‘गेट अफ इन्डिया’ को सम्मुख छ– ताज महल होटल । जसरी कुनै समय अंग्रेजहरुको पालवाला जहाज यहाँ आएर रोकिन्थ्यो, मराठी जनताका लागि त्यो रहस्यको विषय बन्थ्यो, त्यसरी नै सन् २००८ को ताज होटल आक्रमण मुम्बईहरुका लागि ठूलो तनाव र रहस्यको विषय थियो । यो आक्रमणमा १६४ जना मारिएका थिए, ३०० बढी घाइते भएका थिए ।
मुम्बई संसारकै ठूला महानगर मध्ये एक हो । तर मेट्रो रेलका संरचनाहरु भरखरै शुरुवात् भएका छन् । कर्पुरबबाडी चोकमा एक मराठी भन्दै थिए– ‘तीन वर्षपछि यहाँ मेट्रोरेलको अन्डरग्राउण्ड प्लेटफर्म हुनेछ ।’

नभन्दै शहरको व्यस्ततालाई व्यवधान गर्दै डोजरहरु जताततै कार्यरत देखिन्थे ।

मराठी खानाको शैली मेरालागि थोरै आश्चर्यको विषय थियो । हरेक चिजमा मसलाको लेदो मिसाउने तरिका कति स्वास्थकर हो, थाहा भएन । नत्र चनामसला भनेर मगाउनु पर्छ, एक बटुको जति मसलाको लेदो हुन्छ, मुश्किलले ५–१० दाना चना । पालुङ्गो साग मगाउँदा पनि हरियो लेदो, फर्सीको मुन्टा मगाउँदा पनि हरियो लेदो । काउलीको तरकारी मगाउँदा सेतो लेदो, जे मगाउँदा पनि लेदो र मसला । मराठीहरुको मसला पचाउन सक्ने क्षमताचाहिँ मान्नै पर्छ ।

ट्राफिक जाम र ट्राफिक प्रहरीको भूमिका भने काठमाडौंको भन्दा खासै फरक देखिएन । कहाँ कतिखेर कस्ले ट्राफिक नियम उल्लंघन गर्ला र पैसा झार्न पाइएला ! जिप जब जाम र ट्राफिक नियमको फन्दामा पर्थ्यो, मनमा डर र झर्को लाग्न थाल्थ्यो । राजुजी भनिहाल्थे– ‘यो महाराष्ट्र पुलिस हो । हजुरहरुले चिन्ता गर्नु पर्दैन ।’ न भन्दै बार्गेनिङ्ग ५०० बाट शुरुवात हुन्थ्यो र ५० को नोटमा कुरा मिल्थ्यो ।

महाराष्ट्र वा मुम्बईमा नेपाली समुदायको अवस्था र सरोकारका विषयहरु के-के होलान् ? अन्तर्राष्ट्रिय नेपाली समाज, भारतका अध्यक्ष प्रकाश नेपालीलाई यो प्रश्नमा मैले बारम्बार खोतल्न खोजेको थिए । तर गहिरो र भावुक उत्तर भने स्थानीय साथीहरुले नै दिन्थे ।

पप्पु गदाइलीले भनेका थिए– ‘नेपाल अब हामी न बिर्सनै सक्छौं, न फर्किनै सक्छौं । नेपालसँगको हाम्रो सम्बन्ध भावनाको सम्बन्ध हो । यथार्थको सम्बन्ध हैन । राज ठाकरेको पार्टीले बिहारी र उत्तरप्रदेशीमाथि त्यत्रो ज्यादती गर्दा पनि नेपाली समुदायमाथि कुनै नराम्रो घटना भएन ।

भारतका नेपालीलाई हेपिएको मात्र छ, कुनै अवसर दिएको छैन, भन्नु पुरानो कुरा हुन्छ ।

समस्या कहाँ छ भने गुजरातमा ‘पटेल आन्दोलन’ पछि मराठीहरुले पनि राष्ट्रियस्तरमा आरक्षणको माग गर्न थालेका छन् । सबैले आरक्षणको माग गर्न थाले, नेपाली समुदायले पनि माग्ने कि भन्ने छलफल हुन्छ । फेरि स्थानीयहरु बायस हुने हुन कि भन्ने डर पनि लाग्छ ।’

मुम्बई बरपर ९० प्रतिशत बढी नेपालीहरु पश्चिम नेपालका छन् । त्यसमा पनि कर्णाली र सुदरपश्चिमका बढी । पुर्वी नेपालबाट छँदै छैनन् भने पनि हुन्छ । मुस्किलले एकादुवा भेटिन्छन् । पप्पुको अभिव्यक्ति रैथाने भइसकेका नेपालीहरुको थियो । बम्बेमा भेटिएका टिकापुर कैलाली घर भएका पौडेलजीको कुराले भने मौसमी रोजगारीको खोजमा नेपालबाट त्यहाँ जाने नेपालीहरुको मनोदशालाई चित्रण गर्थ्यो ।

उनी भन्दै थिए– ‘नेपालीहरुले यहाँ सजिलै पाउने काम दरबान नै हो, त्यसको तलब न्यूनतम १२ हजार भारु हुन्छ । नेरु करिब २० हजार । सामान्य जीवनयापन नेपालको भन्दा सस्तो हुन्छ । नेपालमा न्यूनतम् ज्याला १० हजारभन्दा कम छ । महंगी उत्तिनै । नेताहरुले समृद्धिको जतिसुकै गफ लगाऊन्, नेपालमा श्रमशक्ति अडिन गाह्रो छ ।’

उनले अगाडि थपे, ‘पश्चिम पहाडका अदक्ष कामदारहरुका लागि बम्बे अहिले पनि रोजगारीको सहज गन्तव्य हो । नेपालले जबसम्म बजार लागतस्तर र तुलनात्मक लाभको प्रत्याभूति श्रमिकलाई गराउन सक्दैन, त्यहाँ खेत बाँझो पल्टिने नै हुन् । मोदीले भनेझैं पश्चिम पहाडमा जवानी अड्न गाह्रो छ ।’

मनमनै सोचेँ मैले– नेपालको करिब आधा जनसंख्या देश बाहिर छ भन्ने अनुमानमा ठूलो सत्यता छ । पश्चिम पहाडबाट मौसमी रोजगारका लागि इण्डिया जानेहरुको तथ्यांक नेपालमा कस्ले राखेको होला र ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob