scheduleशनिवार आश्विन ४ गते, २०७६

नाकाबन्दीमा युद्धकालमा पनि व्यहोर्नु नपर्ने पीडा भोगियोः परराष्ट्रमन्त्री ज्ञवाली


न्यूयोर्क, १३ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नाकाबन्दीमा युद्धकालमा पनि व्यहोर्नु नपर्ने पीडा भोगिएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिन न्यूयोर्क आएका पराष्ट्रमन्त्री ज्ञवालीले यस महासभाको समाचार सङ्कलन गर्न यहाँ आएका र यही बसोबास गर्ने पत्रकारसँगको एक संयुक्त अन्तरक्रियामा उक्त कुरा बताएका हुन् ।

भारतले गरेको नाकाबन्दीसम्बन्धी एक प्रश्नको उत्तरमा पराष्ट्रमन्त्री ज्ञवालीले आफूले जीवनकालमा २०२७ सालमा २०४५ सालमा र २०७२ सालमा यस्तो नाकाबन्दी भोगेको उल्लेख गरे । उनले नाकाबन्दीको पीडा युद्धकालमा व्यहोरेको पीडाभन्दा चर्को भएको स्मरण गरे । उनले काठमाडौँ वरपरका चार पुल भत्किँदैमा काठमाडौँले नाकाबन्दी भोग्ने भएकाले आफ्नो क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

पराष्ट्रमन्त्री ज्ञवालीले चीनसँग पनि विभिन्न नाका खोल्नेमा प्रयास भइरहेको बताए । उनले चिनियाँ बाटो भएर समुद्रसम्म पुग्ने सहज बाटो खोजिएको र यसका लागि जुनसुकै बन्दरगाह प्रयोगका लागि अनुमति मागिएको बताए । उनले चीनसँग सन् २०१६ मा सन्धि गरेको र त्यसको कार्यान्वयनका लागि समझदारी आवश्यक भएको उल्लेख गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले जुनसुकै ‘रुट’ तथा सवारीका सधान प्रयोग गर्न सकिने मार्गका लागि प्रयास भइरहेको बताउँदै भारतसँग जलमार्गका लागि पहिलो चरणमा नारायणी र दोस्रो चरणमा कोशी नदीमा सम्भाव्यता अध्ययन हुने जानकारी दिए । उनले ढिलोमा आठ वर्षसम्म काठमाडौँमा भारतको रक्सौल र चीनबाट रेल आइपुग्ने अनुमान व्यक्त गरे । साथै उनले नेपाल पुनः भारत तथा चीनको व्यापारिक केन्द्र बन्न सक्ने आशा व्यक्त गरे ।

मन्त्री ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विषयमा यसका सदस्य मुलुकहरूबीच कुनै विवाद नभएको तर यस सङ्गठनभित्र मतभेद रहेको र त्यसलाई हटाउन सकिने धारणा राखे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage