scheduleबिहिवार कार्तिक २९ गते, २०७५

जताततै एसिड आतंक !

पुष्पा महरा

‘बन्दका बेला युवतीमाथि एसिड प्रहार’, ‘प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड प्रहार’, व्यक्तिगत रिसइबीका कारण एसिड प्रहार’, ‘अपमानको बदला लिन एसिड प्रहार’, ‘विवाह गर्न नमान्दा एसिड प्रहार’ यी हुन् चर्चामा रहेका समाचारमा हेडलाइनहरु । यहाँसम्मकी ११ वर्षीय सन्तानकी आमामाथि विवाह प्रस्ताव अस्वीकार गर्दा एसिडको शिकार बनिन् ।

यी र यावत समाचारहरु अहिले बढ्दो अवस्थामा छन् । अहिले हुर्केकी चेलीबेटी एक्लै, दुक्लै घरबाहिर हिंड्ने अवस्थामा हराउँदै गएको छ । कसैले अन्याय गर्छ या फटाईं काम गर्छ भने त्यो सहनै पर्ने बाध्यता बन्दै गएको छ । कसैको विरुद्ध आवाज उठाउन नपाइने जस्तै भएको छ । यो सबैको कारण हो ‘एसिड त्रास’ !

पुष्पा महरा

हाल एसिड आक्रमण कुनै पनि कारणबाट उठेको आक्रोस पोख्ने सजिलो माध्यम भएको छ । महिला वा पुरुष जो कोहीमाथि पनि यो हिंसा हुन सक्छ । विशेषतः एसिड आक्रमण महिला हिंसाको सजिलो माध्यम बन्न पुगेको छ । एसिड आक्रमण कसैलाई मार्न भन्दा पनि कुरुप बनाई जिन्दगीभर अपमान सहेर बाँच्न परोस् वा आफ्नो रुप हेर्दै घटनाबारे सम्झियोस् भन्ने हेतुले प्रहार गरिन्छ ।

दिनहुँ बढ्दै गएको एसिड प्रहारको त्रासले कसैले प्रेम प्रस्ताव गर्छ भने पनि त्यसलाई मान्न कर लाग्ने स्थिति सिर्जना हुँदैछ । प्रेम प्रस्ताव अस्वीकार गरेर उसले एसिड प्रहार गर्‍यो भने जिन्दगी नै सकिन्छ कि भन्ने डरमा किशोरीहरु बाँच्न थालेका छन् । के बालिका, के युवती जो कोही पनि अहिले एसिड प्रहारको डरभित्र बाँच्न बाध्य छन् ।

त्यसो त अन्तर्राष्ट्रिय स्तरको तुलनामा नेपालमा एसिड प्रहारलाई नगन्य रुपमा मान्न सकिन्छ । तर पनि यसरी वार्षिकरुपमा बढ्दै गएको एसिड आक्रमणले पछि गएर विकराल रुप नलेला भन्न सकिन्न । नेपालको परिपेक्षमा विभिन्न सञ्चार माध्यम प्रकाशित समाचारहरुलाई आधार मान्य हो भने अहिलेसम्म डेढ दर्जन एसिड आक्रमणका घटनाहरु भइसकेका छन् । जसमा महिला तथा किशोरीहरु नै पीडित बनेका छन् ।

पहिलो पटक २०६३ मोरङ्गकी २० वर्षीया सदिना खातुनलाई उनकै श्रीमानले एसिड प्रहार गरेका थिए । त्यसपछि नेपालमा एसिड प्रहारको खाता खोलिएको थियो । यानकी त्यसपछिका दिनहरु एसिड प्रहार आतंकको रुपमै फैलिएको छ । पछिल्लो समय रौतहटको चन्द्रपुर नगरपालिकामा २०७५ भदौ २७ गते १७ वर्षीया सम्झाना दास र १५ वर्षीया सुस्मिता दासमाथि एसिड प्रहार भयो ।

सम्झना दासलाई एकतर्फी मन पराउने ५२ वर्षीया रामबाबु पासवानलाई प्रहरीले पक्राउ गर्‍यो । तर, यता सम्झानाको भने उपचारकै क्रममा ज्यान गयो । त्यस्तै असोज ९ गते पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड प्रहार गरे । स्थानीय ३६ वर्षीय विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र छुरा हानेका थिए । परियार ११ वर्षीया छोराकी आमा हुन् भने श्रीपाली पनि विवाहित हुन् । परियारका श्रीमान् विदेशमा भएका बेला उनले विवाह गर्न नमानेको भन्दै श्रीपालीले परियारमाथि एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यी घटना त उदाहरण मात्रै हुन् । नेपालमा ०६३ यता १७/१८ वटा घटना भइसकेको प्रहरीले जनाएको छ । यसबाट पनि प्रष्ट हुन्छ कि एसिड प्रहार प्रतिशोधका लागि गरिन्छ । नेपालमा प्रयोग हुने यस्ता एसिडहरु मुख्यरूपमा सल्फयुरिक, नाइट्रिक र हाइड्रोक्लोरिक एसिड रहेका छन् । यस्ता एसिडहरु सुनचाँदी पसल र विभिन्न उद्योगमा उपयोग गरिने अनुसन्धानबाट खुलेको छ । त्यसैबाट किनेर, मागेर वा चोरेर एसिड अरुलाई छ्याप्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एसिड हिंसा कुनै एउटा मुलुक वा जाति, धर्ममा मात्रै सीमित नभई विश्वव्यापी समस्या बनेको छ । Acid Survivors Foundation नामक संस्थाले बंगलादेशमा मात्र सन् १९९९ देखि २०१७ सम्म ३३८६ घटना घटेको तथ्यांक सार्वजनिक गरेको थियो । उक्त तथ्यांक अनुसार एसिड आक्रमणका शिकार महिला पुरुष दुवै छन् । त्यसैगरी दाइजो, पारिवारिक विवाद, विवाह र प्रेम प्रस्तावको इन्कारी लगायतका कारणबाट त्यस्ता घटनाहरू बढी घट्ने गरेको तथ्य उक्त संस्थाले उजागर गरेको छ ।

बंगलादेशले आफ्नो देशमा विश्वमै सबैभन्दा बढी फस्टाएको एसिड आक्रमणलाई रोक्नका आक्रमणकारीलाई आजीवन कारावासको सजायको व्यवस्था गर्‍यो भने एसिड पनि जहाँत्यही सजिलैसँग किन्न नपाउने व्यवस्था गर्‍यो । त्यस्तै यसबारे व्यापक जनचेतनाको कार्यक्रम पनि चलाउँदै आएको छ । तर, नेपालको कन्टेस्टमा यस्ता घटनाहरु दिनप्रतिदिन बढीरहेका छन् ।

फितलो कानुन व्यवस्था, जनचेतनाको कमी र एसिड सजिलै जहाँत्यही पाइनुले सामान्य यस्ता अपराधहरु दिनप्रतिदिन बढ्दो छन् । कानुनी तवरले नै कडाइ नगरीए आगामी दिनमा नेपालमा पनि बंगलादेशको जस्तो भयावह स्थिति नआउला भन्न सकिन्न । त्यसैले बेलैमा त्यसप्रति सरकारको ध्यान जान जरुरी छ । एसिड जस्तो मानव शरीरका लागि हानी गर्न सक्ने पदार्थको बिक्री वितरणमा नियमन तथा नियन्त्रण र अनुगमनको आवश्यकता रहेको छ । घटनापछि अभियुक्तलाई पक्राउ गर्ने र कारवाही गर्ने आफ्नो ठाउँमा छ, तर घटना नै हुन नदिन सरकारी तवरबाट कडा कानुन ल्याउनु जरुरी छ र त्यसलाई कार्यान्वयन गर्न नपनि ।

मानव शरीरका लागी खतरा हुने पदार्थको नियन्त्रण गरी महिला तथा बालिकामाथि हुने हिंसालाई अन्त्य गर्नु राज्यको प्रमुख दायित्व हो । यसको लागी एसिडको बिक्री वितरणमा अनुगमन तथा उचित नियन्त्रण गर्न सकेमा सम्भावित धैरै अपराधलाई रोक्न सकिन्छ । घटनापछि पीडककोे जरिवानामा मात्रै उपचारलाईनिर्भर गराउनु सर्वथा अन्यायपूर्ण छ । साथै जरिवानाको रकमको हद तोक्नु भन्दा पीडितलाई उपचारका लागी आवश्यक खर्च पीडक तथा राज्यबाट भराउने वा उपचार गराउने व्यवस्था भएमा हाल कानूनमा भएको रिक्तता संवोधन हुन सक्दछ ।

घटनापछि क्षति कम गर्न कतिलाई प्राथमिक उपचार नै के भन्ने थाहा हुँदैन, त्यसैले त्यससम्बन्धि जनचेतना जगाउन जरुरी छ । प्रत्येक सार्वजनिक अस्पतालमा एसिड पीडितको लागी अति आवश्यक सेवाको रुपमा निशुल्क उपचार प्राथमिक सहायता वा उपचार प्रदान गर्नु आवश्यक छ । विद्यमान अपराध संहिताले एसिड आक्रमणको उद्योगलाई अपराधको रुपमा परिभाषित गरेको छैन । कुनै पनि अपराधको उद्योग गर्नु भनेको सबै प्रकारबाट अपराध हो । खाली केही कारणले गर्दा कार्य सफल हुन पाएको हुँदैन । तर ऐनले एसिड आक्रमणको उद्योगलाई अपराधको रुपमा उल्लेख नगरेकाले अपराधिले पुन अपराध गर्न पाउने सम्भावना रहन्छ ।

Email: mcpushpa75@gmail.com

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob