scheduleशनिवार चैत्र ९ गते, २०७५

नेकपा विवादः ‘गियर चेञ्ज’ गर्ने कि ‘चेअर चेञ्ज’ गर्ने कमरेड ?

सुदर्शन खतिवडा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसले नेतृत्व गरेको दुईतिहाई बहुमतको सरकारको गतिविधि देखेर आम जनमानसमा निराशा चुलिँदैछ । नेकपा पंक्तिभित्रै पनि विवाद भुसको आगोजस्तो फैलिरहेको छ । नेकपाभित्र माधव नेपाल र झलनाथ समूहले सार्वजनिकरुपमा नै सरकारविरुद्ध अभिव्यक्ति दिन थालेका छन् । सामाजिक सञ्जालहरु ओली समूह र माधव समूहका नेताहरुको दोहोरीले रंगिएका छन् ।

पार्टीभित्र बर्चश्वको लडाईंको रुपमा देखिएको यो ‘वाक युद्ध’बारे छलफल गर्ने नेकपाले बैठकहरु बोलाइरहेको छ । अध्यक्षद्वयको समायाभावका कारण पटक पटक स्थगित भए पनि कुनै दिन एजेन्डा मै प्रवेश गर्नेगरी बैठक बस्ला । पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेकाले बेला बस्न लागेको सचिवालय बैठकमा कस्तो छलफल होला ? पार्टीभित्र रुपान्तरणकारी एजेन्डाले प्रवेश पाउला कि वर्चश्वको लडाईंको मूर्तरुप भागबण्डामै सकिएला ? यो प्रश्नको जवाफमा नेकपाको भविष्य जोडिएको छ । किनकी, पार्टीभित्रको लोकतान्त्रिकरण र प्रगतिशील रुपान्तरण बिना नेकपाले नेतृत्व गरेको सरकारले देशको लोकतान्त्रिकरण र प्रगतिशील रुपान्तरणको नेतृत्व गर्न नसक्ने निश्चित छ ।

बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र तल्लो तहका समितिको एकताका विषयमा छलफल हुने बताइएको छ । समग्रमा केही नेताहरुले असन्तुष्टिको तितो फ्याँक्ने र तल्लो तहसम्म आफ्नो वर्चश्व कायम गर्नतिर नै सबै नेताहरुको ध्यान जाने देखिएको छ । अहिले नेकपामा आन्तरिक लोकतन्त्र नै कोमामा पुगेको असन्तुष्ट र भाग नपाएका नेताहरुको गुनासो छ । प्रदेश तहको जिम्मेवारी समेत स्थायी समितिमा नलगि दुई अध्यक्षले निर्णय गरी सचिवालय मार्फत टुंग्याएको भन्दै पार्टी भित्रै विरोध हुँदै आएको छ । दुई पार्टीको एकता घोषणा भएको लामो समय पुगिसक्दा समेत आधिकारीक निर्णय गर्ने वैद्यानिक निकाय स्थायी समितिको बैठक बस्न सकिरहेको छैन । निर्णय प्रक्रिया र केही नेताको मात्र दादागिरी देख्दा नेकपाभित्र अध्यक्षभन्दा ‘राजा’ बनाइएछ भन्दै सामाजिक सञ्जालमा गरिएको टिप्पणी असान्दर्भिक लाग्दैन ।

रुपान्तरण होइन, वर्चश्वको लडाईं
त्यसो त, नेकपाभित्रको यो विवाद पार्टीलाई रुपान्तरण गर्ने उद्देश्य भने असन्तुष्टहरुको पनि देखिन्न । उनीहरुको असन्तुष्टि आफ्नै गुटगत भाग पाउनको निम्ति छ । कम्युनिष्टहरुले आफू अलगावमा परेका बेला रोजा लक्जेम्बर्गलाई सम्झन्छन् । जब पार्टी सत्तामा पुग्छन् तब बिर्सन्छन् । अहिले रोजालाई बिर्सने पालो ओली र प्रचण्डको छ भने सम्झने पालो माधव, झलनाथ र नारायणकाजीहरुको ।

रोजा भन्छिन्, ‘सामाजिक सत्तालाई राजनीतिक सत्ताले, राजनीतिक सत्तालाई एउटा वर्ग विशेषले, वर्गलाई पार्टी विशेषले, पार्टीलाई एउटा व्यक्तिले अंकुश लगाउँछ ।’ नेकपाभित्रको विवाद र बहस अहिले रोजालाई मनन गर्न र यसबाट सिक्न होइन, नयाँ समिकरणमा आफ्नो वर्चश्व कायम गर्नको लागि हो । तर प्रचण्डलगायत सबैले बिर्सनु हुँदैन कि आज माधवलाई अलगावमा पार्ने ओलीले भोलि उनलाई पनि नछाड्न सक्छन् ।

सुदर्शन खतिवडा

त्यसो त, नेकपाभित्र प्रचण्ड आफ्नै हालत खराब छ । नेकपा भित्रको यो विवाद पूर्व एमाले समूहभित्रको पुर्ख्यौली गुटगत प्रतिष्पर्धाको रुपमा अभिव्यक्त भइरहेको छ, जसमा पूर्वमाओवादी पक्ष तासको जोक्करको भूमिकामा देखिएको छ । पार्टी र सरकारभित्र चेयर परिवर्तन गर्ने भाषण गरेर भारत, चीन र सिंगापुर पुगेर आएपछि उनले सरकारको गेयर मात्रै चेञ्ज गर्ने अभिव्यक्ति दिनुले उनको अवस्था बुझ्न सकिन्छ ।

पार्टीका दोस्रो वरियताका अध्यक्ष सरकारविरुद्ध बोल्न खोज्छन् । तर, जब ओलीले कडा शब्दमा प्रतिक्रिया दिन्छन्, प्रचण्ड पछि हटिहाल्छन् । त्यसैले उनी कहिले ‘चेअर चेञ्ज’को गफ दिन्छन् त कहिले ‘गियर चेञ्ज’को । भारत र चीन जानुअघि चेअर चेञ्ज अर्थात् मन्त्रिपरिषद् नै पुनर्गठनको भाषण गरे पनि ओलीको दनक र भारत चीनको जवाफपछि उनी यही सरकारकै गियर चेञ्जको भाषण गर्न थालेका छन् ।

त्यसो त, माओवादीभित्र वैद्य र बाबुरामको दुईटा विचारबीच खेलेर शक्तिमा टिकेका प्रचण्डलाई ओली र माधव समूहको चर्काचर्कीले फाइदा पुग्न पनि लाग्छ । उनको सोच पनि त्यस्तै देखिन्छ । दुवै समूहतिर गएर ‘छाड्नु हुँदैन’ भन्नेदेखि ओलीलाई ‘ओभर एक्पोज’ हुन दिन लगामरहित बोल्न दिने उनको दुवै रणनीतिले दुईटा गुट ब्युँताइदिन सफलता मिलेको छ । तर, यो निश्चित छैन कि वैद्य र बाबुरामलाई युद्धको बन्द परिवेशभित्र सैन्य शक्तिको बलमा जस्तै उनले ओली र नेपाललाई दाउन सक्छन् ! प्रचण्डले बिर्सनु हुँदैन, अवस्था र भूमिका दुवैले उनी एमाले वर्चश्व रहेको नेकपाभित्र केवल पाहुना मात्र हुन् ।

ओलीका ओठे आश्वासन
सपना देखाउन सिपालु ओली देखाइएको सपनालाई विपनामा रुपान्तरण गर्ने प्रतिवद्धता, अठोट र इच्छाशक्तिसहितको लक्षण नदेख्दा सार्वजनिकरुपमै आलोचनाका पात्र बनिरहेका छन् । राष्ट्रवादको वैशाखीमा कद उचालेका ओली जमिनमा पछारिने अवस्थामा पुगेका छन् । कुरा पार्टी बाहिरको मात्र होइन, पार्टी भित्र पनि उनीप्रतिको अविश्वास बढिरहेको छ ।

एमाले र माओवादीको एकता घोषणासभामा उनले भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन ।’ ओलीलाई सघाउँदै प्रचण्डले भनेका थिए, ‘नेकपा गठनसँगै एमाले र माओवादी केन्द्र एकआपसमा अन्तरघुलित भएकाले अब पार्टीमा गुटउपगुटको अवस्था आउन दिइँदैन ।’ तर अध्यक्षद्वयको यो प्रतिवद्धता पानीजहाज र रेलको सपनाभन्दा बढी भएन ।

तल्ला तहका कमिटी एकता कार्यदलले प्रतिवेदन तयार पार्दा नेकपाका अध्यक्ष ओलीले नै आफ्ना गुटका मान्छेलाई च्यापे र अन्य विचार समूहकालाई सौतेलो व्यवहार गरे । आफू निकटकालाई छानी छानी जिम्मा दिन थाले । पार्टीभित्र जिम्मेवारीदेखि राजनीतिक नियुक्तिसम्म यस्तो देखियो । यतिसम्म कि आफ्नो समूहबाट आएपछि सार्वजनिकरुपमा आलोचनाको पहाडैले थिचेपनि जिम्मेवारी दिने निरंकुशता ओलीमा देखियो । यो आरोप उनकै पार्टीका वरिष्ठदेखि कनिष्ठसम्म नेताहरुकै हो । फलस्वरुपः एकता प्रक्रिया नै प्रभावित भइरहेको छ ।

जसरी झलनाथलाई थाहै नदिई उनको अनुपस्थितिमा पार्टी एकता नै गरियो । जनवर्गीय संगठनमा पनि त्यस्तै देखियो । माधव नेपाल र नारायणकाजी श्रेष्ठ बाहिर हुँदा प्रचण्ड र ओलीले आफ्नै भागबण्डा गरेर प्रदेश पदाधिकारी (इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव) तोक्यो । सचिवालय बैठकको निर्णय स्थायी समितिबाट टुंग्याउनुपर्ने माग निर्णय प्रक्रियाबाट अलगावमा परेका नेताहरुले गरिरहेका छन् । प्रशासनिक काम गर्न बनाईएको सचिवालयले राजनीतिक निर्णयहरु नै गर्न थालेपछि असन्तुष्टि झन चुलिएको हो ।

सुन्दरी र विद्वानको विवाह र नेकपा
एक विद्वानलाई सुन्दरीले राखेको ‘सुन्दर र विद्वान’ सन्तानको सपनासहितको विवाह प्रस्तावमा विद्वानको जवाफ नेकपासँग दुरुस्तै मिल्छ । सुन्दरीले ‘मजस्तै सुन्दर र तिमीजस्तै विद्वान बच्चा जन्माउन विवाह गरौं’ भन्दा विद्वानले जवाफ दिन्छन्, ‘तर सुन्दरी, मजस्तै कुरुप र तिमीजस्तै अज्ञानी सन्तान जन्मियो भने के गर्ने ?’

एमाले र माओवादी मिलेर नेकपा बनिसकेको छ । सांगठनिक व्यवस्थापनमा अब्बल एमाले र प्रगतिशील एजेण्डामा अब्बल माओवादीबीच एकताले अब्बल संगठनात्मक व्यवस्थापन र प्रगतिशील एजेण्डाको संयोजन हुन सके पार्टीले र देशले पनि गति लिन सक्थ्यो । तर, यहाँ त माओवादीको संगठनात्मक भद्रगोलता र एमालेको गैरप्रगतिशील बाहुल्य एजेण्डाको भद्दा संयोजन हुन पुगेको छ । यसबाट दुई पार्टीको एकता सुधारिएको र एकीकृत सिन्डिकेटमा फेरिएको छ, जहाँ योग्यभन्दा नेकपाका, नेकपाका भन्दा शक्तिशाली गुटका, गुटका भन्दा गुटभित्रका अमूक नेताहरु जिम्मेवारीमा पुग्छन् र ऐंजेरु बनेर देश चुस्न थाल्छन् ।

अर्थशास्त्रको गरिबीको दुश्चक्रजस्तै देश भ्रष्टाचारको दुश्चक्रमा फसिरहन्छ । बेलैमा समस्या बुझ्न नसक्दा यसको पटाक्षेपको नतिजा ओली ‘चटके’ अवतारमा पतन र देशको अझै दुर्दशा मात्र हो । चुनाव जित्न करोडौं खर्च गर्नुपर्ने र चुनाव जितेपछि त्यही खर्च उठाउन करोडौं कुम्ल्याउनुपर्ने दुश्चक्रमा पार्टीभित्र विचारको होइन, ठेकेदार र विचौलियाको सर्वोच्चता कायम हुन्छ, यसको भद्दा प्रहसन अहिले पनि नेपाली जनताले भोगिरहेकै छन् ।

अब गियर चेञ्ज कि चेयर चेञ्ज ?
समस्या यहाँ गियरको भन्दा चेयरकै बढी हो । चेयर भनेको नेता हो । नेतालाई अगाडि जाने बाटो थाहा हुनुपर्छ, उसँग त्यो बाटोमा हिँड्नुपर्छ र समर्थकलाई बाटो देखाउनुपर्छ । ठेकेदार र विचौलियाको नेतृत्वमा पार्टी अर्थतन्त्र चलिरहेको छ । पार्टी एउटा यस्तो संयन्त्र बनिरहेको छ, जहाँ नेता कार्यकर्ताहरु पार्टी संचरनालाई देश लुट्ने औजारको रुपमा फेरिरहेका छन् । स्थानीयदेखि संघसम्म पार्टी संयन्त्रले सेवा होइन, लुटलाई संस्थागत गरिरहेछ । राजनीति गर्नेहरु पहेंलो कपडा लगाएर भक्तलाई बलात्कार गर्ने ‘साधु’मा रुपान्तरण भइरहेका छन् । प्रसाईंहरुको नियन्त्रणमा रहेका प्रचण्ड र झाहरुको स्वार्थमा चल्ने ओलीले चेयर गरेको पार्टीको भविष्य के होला ? यस्तो पार्टी संयन्त्रले आलोचनात्मक चेत भएका नेता, कार्यकर्ता र जनतालाई कि त सिध्याउँछ कि बञ्चिकरणको सुरुङमा धकेलिदिन्छ ।

यस्तो अवस्थामा रहेको पार्टी यन्त्रमा गियर चेञ्ज गर्दा लुट्ने दर बढ्छ न कि जनसेवा गर्ने दर । त्यसो त, एकदुई जना नेतालाई कुर्सीबाट उठाएर अर्को अमूकलाई राख्दैमा पनि यो समस्या समाधान हुँदैन । यसको लागि पार्टी संयन्त्रको चरित्रलाई नै बदल्नुपर्छ । पार्टीभित्र संरचनागत परिवर्तन सुनिश्चित गर्दै आन्तरिक लोकतन्त्र बलियो बनाउनुको विकल्प छैन । नत्र धुम्रपान गर्ने शिक्षकले धुम्रपान गर्नुहुँदैन भनेर सिकाउनुको के अर्थ ?

जसरी जिन्दगीभरी आलोचना व्यहोरेका गिरिजाले फरक विचार भएका माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर मलामी मात्र बढाएनन् कि जिन्दगीको उत्तरार्धमा उचाई पनि बढाए, त्यसरी नै ओली र प्रचण्डहरुले आफ्नो जीवनको उत्तरार्धतिर गिरिजाबाट सिक्ने कि ? धेरै केही गर्नु परेन, फरक विचारलाई सुन्ने, उनीहरुलाई पनि शासन प्रक्रियामा समावेश गरेर लैजानेभन्दा उन्नत लोकतन्त्र केही हुँदैन । पहिलो आवाज, आफ्नै पार्टीका नेता कार्यकर्ताको सुन । प्रतिपक्षीलाई पनि त्यतित्तै सुन र त्यसपछि सुन आफ्नै देशका नागरिकको आवाज । नेपालका मधेसी बिहारी होइनन् र जनजातिहरु युरोपेली स्वार्थका एजेन्ट हुँदै होइनन् । उनीहरु अरु सबैभन्दा खाँटी नेपाली हुन् । उनीहरुलाई झन् बढी सुन । अनि फुर्सद्मा सुनेहुन्छ, विदेशीहरुलाई । सबैलाई सुन्नु भनेको आफ्ना कमजोरी सच्याउनु पनि हो भने सबैको शक्ति लिएर अगाडि बढ्नु पनि हो । अनि चेञ्ज गरे हुन्छ गियर !

के ओली र प्रचण्डबाट यस्तो अपेक्षा गर्न सकिएला ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob