scheduleबिहिवार कार्तिक २९ गते, २०७५

लडाकूको रगत र सपनासँग नेताहरु नजिस्किएकै राम्रो

राजन थापा 'सुवास'

नेपालमा आकाश धर्ती थर्काउने जनताको आन्दोलनहरु भए । इतिहासमा कुडाकर्कट बनेका व्यवस्थालाई बिसाउनका लागि धेरै नेपाल आमाका होनहार छोराछोरीहरुले बलिदानी दिए ।

हरेक आन्दोलनहरु एउटा निष्कर्षमा पुग्छन् । नेपालमा पनि बृहद् शान्ति सम्झौता भयो । त्यहीक्रममा माओवादी जनयुद्धको एउटा महत्वपूर्ण पक्ष जनमुक्ति सेनाबारे पनि विभिन्न निर्णय हुन थाले । अनमिनको रोहबरमा नेपाल सरकार र माओवादीद्वारा शान्ति प्रक्रियाको नाममा २०६६ मा जनमुक्ति सेनाको प्रमाणीकरण सुरु भयो ।

त्यतिबेला ४ हजार ९ जना जनमुक्ति सेना परिवर्तनकारी युवाहरुलाई अयोग्य बिल्ला भिराई शिविरबाट बिदाइ गरियो । धेरै ठूलो सपना बोकेर आमूल परिवर्तनको निमित्त समाजमा भएको विभेद अन्त्य गर्न जीवनमरणको लडाईंमा होमिएका युवायुवतीहरुलाई अयोग्य नाम दिइयो । छाती नाप्त थालियो, उचाई नाप्न थालियो । तर, मान्छेभित्र अन्तरनिहित साहस र विरताको नापन गरिएन । त्यो नाप्नेहरुको हैसियत र क्षमताभन्दा बाहिरको कुरा पनि थियो सायद ।

ज्ञानेन्द्रले असक्षम भनेकाहरु योग्य भए । गणतन्त्रको लागि लडाईं र संघर्षको मोर्चामा सहभागी नहुनेहरु योग्य मानिए । तर, रणमैदानमा होमिएका योद्धाहरुलाई कथित अयोग्यको बिल्ला भिराईयो ।

नेपाली जनताले सदियौंदेखि भोग्दै आएको गरिबी, अशिक्षा र अभावको चक्रव्यूह तोड्न हिम्मत गर्ने लडाकुहरु असक्षम घोषित हुनुपर्ने अवस्था नेपाली इतिहासको असाध्यै दुःखदायी र बिडम्बनापूर्ण अवस्था हो ।

जसले व्यक्तिगत समस्या होइन, देशको समस्यालाई आफ्नो समस्या ठान्यो । जसले देशको लागि आफ्नो जीवनलाई खुकुरीको धारमा राख्न तयार भयो र राख्यो पनि । जसले शरीरका अंगहरु गुमायो लडाईंमा । जो घाइते छन् लडाईंबाट । उनीहरुको उचाई नाप्न थालियो । तर बिडम्बना, भ्रष्टाचार गर्ने, गडबडी गर्नेहरु यो देशमा सबै योग्य बस्ने कुर्सीमा बसिरहेका छन् । लाखौं युवा विदेशमा छन्, कुपोषणबाट बालबालिका मरिरहेका छन् । स्वास्थ्य सेवा नपाएर मर्ने सुत्केरी आमाहरु कति छन् कति । अव्यवस्था छ । अभाव छ । तनाव छ । गडबडी छ । यसका कारण असक्षम शासकहरु सबका सब योग्य दावी गरिरहेका छन् ।

पहिलो संविधानसभा चुनावमा माओवादी ठूलो पार्टी बन्यो । आम जनताले मत दिए । परिवर्तनको आशा गरे तर, व्यवस्था फेर्न हिंडेका नेताहरु व्यवस्थाद्वारा फेरिए । राज्य व्यवस्था होइन, आफ्नै व्यवस्था फेरे । जनमुक्ति सेनाकै रकम हिनामिना भयो । लडाकूले सपनाको हत्या त गरे गरे, साथमा उनीहरुको नाममा आएको रकम पनि लुट्न पछि परेनन् कतिपय नेताहरु ।

युद्धमा दुःख पाएकाहरु पीडितका पीडित नै रहे । आम नागरिकको जीवनमा कुनै सुधार आएन । व्यवस्था फेरियो । एकाध नेताहरुको बाहेक नागरिकको अवस्था फेरिएन् । कुर्सीका लागि जे पनि गर्न थालियो । बिचौलिया र दलालहरुको इशारामा नेताहरु चल्न थाले । आन्दोलन र युद्धमा जीवन लगानी गर्न तयार हुनेहरुको बेहिसाब सडकमा छाडिए ।

बिडम्बना कस्तो रह्यो भने २४० वर्षको राजतन्त्र फाल्ने जनमुक्ति सेनाले आफ्नै पार्टीभित्रको राजाहरुसँग संघर्ष गर्न सकेनन् । केही नेताहरु मालामाल भए । हजारौं लडाकूहरु गुमनाम भए ।

तर, सबैले होस गर्नुपर्छ । जीत सत्यकै हुन्छ, भलै यो केही समय ओझेलमा पर्न सक्छ । अनमिनद्वारा प्रमाणित भएका चार हजार ९ जना जनमुक्ति सेनाले फेरि आफ्नो योग्यता देखाउनुपर्ने भएको छ । को योग्य छ, को अयोग्य छ भन्ने कुराको फैसला लडाईंको मैदानबाट हुने अवस्था आयो भने काँतर र कायर शासकहरुको अवस्था कस्तो होला ?

हाम्रा नेताहरुले हाम्रो सपना खोसे । उनीहरुले बिस्तारै हाम्रा हातबाट हतियार खोसे । अनि हाम्रा सपनाहरुको हत्या गर्दै हतियार बेचे । अहिले उनीहरु नयाँ राजामा फेरिएका छन् । कुनै अभिजात वर्गको प्रतिनिधिभन्दा कमजोर देखिँदैन उनीहरुको रवाफ र जीवनशैली । तर, लाखौं नेपालीको कथा व्यथा उस्तै छ । लाखौं नेपालीहरु रोइरहेकै छन् एक थान जीवन जिउनका लागि । रोग लागेको सन्तानको उपचार गर्न नसकेर गुमाएकै छन् । तर, समाजवादको सपना बेचेर नेताहरु नवधनाढ्य वर्गमा फेरिएका छन् । जनताबाट लुटेर जनताकै विरुद्ध हर्कत गर्ने पुराना शासकहरुबाट फरक देखिँदैनन् नेताहरु ।

२१औं शताब्दीका युवाहरु कमजोर छैनन् । उनीहरु कुर्न सक्छन् । धैर्य हुन सक्छन् । तर, यसलाई कमजोर ठानियो भने दशकौंसम्मको धैयर्ताको बाँध टुट्न सक्छ । त्यतिबेला के के बग्छ, ककसलाई बगाउँछ । भविष्यले नै बताउनेछ । त्यसैले, सहिदको रगत र सपनासँग नेताहरुले नजिस्किएकै राम्रो । नेपाली भविष्यविरुद्ध जालसाँझी नगरेकै राम्रो ।

हामी अयोग्यको बिल्ला भिराईएका लडाकूहरु हाम्रो योग्यतालाई संगठित गरिरहेका छौं । हामी इतिहासको हिसाब पनि खोज्छौं र भविष्यमा साझेदारी पनि रोज्छौं । अधिकार मागेर नपाए पनि खोसेर लिने विकल्प कुनै पनि शासकको वशमा हुँदैन । अन्नतः त्यो नागरिककै वशमा हुन्छ, नियन्त्रणमा हुन्छ ।

(लेखक बहिर्गमित जनमुक्ति सेना केन्द्रीय समितिका महासचिव हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob