पत्रकार खसोज्जीको मृत्यु प्रकरणबारे थप रहस्य खुलासा गर्दै टर्की सरकार
इस्तानबुल, ४ कात्तिक । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दुतावासबाट बेपत्ता भएका पत्रकार जमाल खसोज्जीको मृत्यु प्रकरण सम्बन्धी विवरणहरु टर्की सरकारले खुलासा गर्ने भएको छ ।
साउदी अरेबियाले पत्रकार खशोग्गीको मृत्यु भएको पुष्टि गरेसँगै टर्की सरकारले हत्या सम्बन्धी विवरणहरु खुलासा गर्ने प्रतिबद्धता जनाएको छ । साउदी अरेबियाको सरकारी टेलिभिजनले पत्रकार खसोज्जीको दुतावासभित्रै भएको झगडामा मृत्यु भएको जनाएको हो ।
साउदी अरबियाले पत्रकार खसोज्जी मारिएको सूचना पहिलोपटक स्वीकार गरेको हो । यसअघि साउदी अरबियाले खसोज्जी आफ्नो दूतावासबाटै सकुशल निस्किएको र त्यसपछिको अवस्थाबारे केही जानकारी नभएको दावी गर्दै आएको थियो ।
तर, टर्कीले साउदी दुतावासभित्रै खसोज्जीको हत्या भएको भन्दै छानबिन थालेपछि साउदीमाथि अन्तर्राष्ट्रिय दबाब बढेको थियो ।