scheduleसोमवार भाद्र २ गते, २०७६

नेता होइनन, हुस्सु त हामी मतदाता नै हौँ

बिनाराम खड्का

राणाशासन र पञ्चायतविरोधी आन्दोलनका एक धरोहर गणेशमानले एक प्रसंगमा भनेका थिए- ‘मलाई जेल हाल्दा पनि खुशियाली मनाउने नेपाली जनता नै थिए र मलाई जेलमुक्त गर्दा पनि फूलमाला अविरसहित खुशियाली मनाउने उनै जनता थिए । त्यसैले नेपाली जनता भेडै रहेछन् !’

उनको कटुवाक्य आजपर्यन्त सान्दर्भिक नै छ । यसो भन्दा हामी आफैलाई रिस उठ्ला तर, नेपालजस्तै भौगोलिक, आर्थिक अवस्था भएका देश विगत २०/३० बर्षको दौरान कहाँबाट कहाँ पुग्दासम्म हेरौँ त हाम्रो नियति !

भौगोलिकरुपमा सानो देश नेपालमा खर्चिलो संघीयता चाहिँदैन, असल विकेन्द्रीकरण भए पुग्छ भनेर चित्रबहादुर चिच्याए । हामीले चुनावमा उनको जमानत जफत गर्‍यौं । अनि छ महिना पछि भन्दैछौँ चित्रबहादुर नै ठीक रे !

भोट हाल्दा पुस्तौपुस्तादेखि सूर्य, रुख र गोलाकारभित्र हँसिया हथौडाभन्दा अरु चिन्है नदेख्ने पार्टीभक्त, ब्लाइन्ड सपोर्टर, ‘दिअन्धा’हरुले त्यसो भन्नु के हुस्सुपन होइन ?

पुरानो मरिगए नछोड्ने अनि नयाँ पनि खोज्ने !

बिनाराम खड्का

भू-परिवेष्ठित देश नेपालमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण ९ वटा करिडोर प्रमुख प्राथमिकता हुनुपर्छ, राष्ट्रिय गौरवका ठूलाठूला आयोजना नेपाल आफैंले निर्माण गर्नुपर्छ । आन्तरिक राष्ट्रियता मजवुद् पार्नुपर्छ र नेपालका सबै जातजाति भाषाभाषीको आत्मसम्मानसहित इन्द्रेणी पहिचान नै नेपालको स्वाभिमान हुनुपर्छ भन्दै आर्थिक विकास र समृद्धिको मुख्य मुद्दा अंगीकार गर्ने बाबुरामलाई हामीले देशैभर पत्तासाफ पार्‍यौं !

समुन्द्र सतहबाट सबैभन्दा उच्च उचाइमा रहेको देश नेपालमा पानीजहाज कुदाउने, जताकतै पानी नै पानी खेर गइरहेको जलस्रोतको धनी देशमा हावाबाट बिजुली निकाल्ने, अस्तव्यस्त हिलाम्मे र धुलाम्य सडकलाई स्तरोन्नति गर्ने आवश्यकतालाई थाती राखेर रेल कुदाउने प्राथमिकताक्रम तोक्नेहरुलाई भारी बहुमतले चुनाव जितायौँ ।

यहाँ रेल नचाहिने भनिएको होइन । बरु आवश्यकताको प्राथमिकताक्रम निर्धारण सही भयो कि भएन भन्न खोजिएको हो ।
हुस्सु नेता होइनन, हामी मतदाता नै हौँ । एकथाल भात, दु@ टुक्रा मासु, थोरै रक्सी, व्यक्तिगत र पार्टीगत प्रलोभन तथा भैपरी आउने सानातिना परिबन्धमा ठूलाबडाको संरक्षण । अनि बाबुबाजेले भोट हालेको चुनाव चिन्ह किन नातिले छोड्ने भन्दै जन्मजात र पुस्तौनी सम्बन्ध तोड्न नसकेर बहुमुल्य मत खेर फाल्यौँ ।

अहिले आएर कसलाई दोष ?!

हिजो मतपत्र लिएर छाप लगाउन्जेलसम्म सुरक्षित र गोप्य कोठामा जम्मा पाँच मिनेट पनि विवेक प्रयोग गर्न नसक्ने अनि अहिले गरिएको विवेकको बनावटी प्रदर्शन कसले पत्याउने ?! काम गर्न नसकेमा निर्वाचित भएपछि पनि बीचमै फिर्ता बोलाउने निर्वाचन प्रणाली अपनाउने कुरा उनै बाबुरामले गर्दा कसैले सुन्यो !?

हामी सार्वभौमसत्तासम्पन्न नेपाली मतदाताहरुले पाँच बर्षसम्म दुई ठूला कमनिष्ट (कम्युनिष्ट दर्शन, नैतिकता, आचरण र आदर्शबाट च्युत भएका नाम मात्रका ब्रान्डेड कम्युनिष्ट) पार्टीको तलदेखि माथिसम्म एकीकरण (एकता ?), बंगालको खाडीमा नेपाली झन्डा फहराउँदै उतैको बन्दरगाहसम्म पानीजहाज कुदाउने र बुढीगण्डकीजस्ता राष्ट्रिय आयोजनाहरु विदेशीलाई सुम्पेर सुइइइइ हावा हुईंकने डाँडाकाँडामा वैकल्पिक ऊर्जाका पावर हाउस निर्माण गर्ने कार्यभार र अपेक्षासहित भारी बहुमत दिएको होइन ?

योभन्दा पृथक अपेक्षा गर्ने हामी अन्धभक्त मतदाता हुस्सु कि चुनावमा २/४ दिन जनताको दैलोमा प्रलोभनको जालो फिजाउँदै बहुमूल्य भोट सोहरसाहर पारी राजधानी छिरेर सत्ताको रसोस्वादनमा निर्लिप्त हाम्रा ‘राजनेता’ हरु हुस्सु ?

यस्तो कुराले सत्तामा रहेका ‘सत्ताधारी’हरुका कान भित्रका रौँ ठाडाठाडा होलान् ! ताता ताता रिस उठ्लान् ! झनक्क रिस उठाउने यो कुनै बनावटी व्याख्या होइन । संविधान जारी भएपश्चात् देश द्रुत गतिमा विकास र समृद्धिको चरणमा प्रवेश गर्छ भनेर नेताजीहरुकै मुखबाट सुनिएको हो । तर आज नेपाल देश कस्तो तिव्र गतिमा हुईंकिरहेको छ ?

देश आफै बोलिरहेको छ ! बर्षौदेखिको एउटा भ्रम, कमनिष्टको बहुमत नभएर रोकिएको विकास र समृद्धिको छनक अहिले देखिइरहेको छ ! बरु पूरा गर्नुपर्ने ऐतिहासिक दायित्व यत्ति हो कि अरु पनि केही बाँकी छ? अगुवाले भन्नु पर्‍यो ।

हामीले बुझेको त राजनीति समाजको सर्वश्रेष्ठ मुहान हो । पहिले राजनीति नसुध्री केही सुध्रिँदैन ।

म यो देशको करोडौँ बालुवाको कणमध्ये एक कण मात्र हुँ । एक स्वतन्त्र नागरिक । त्यसैले यी कुरा बोलेको । मजस्तो एक भुसुनाले बोलेर यो देशको कुनै शक्तिशाली दुईतिहाई सरकार ढल्ने र फेरबदल हुने त होइन !

विगत साक्षी छ, म जस्ता भुसुनाले बोलेर हुने भए, ‘वैकल्पिक शक्ति’ सरकारमा हुन्थ्यो । पुराना दलहरु विगतमा पुर्‍याएको योगदानको आधारमा सम्मानित अभिभावकको भूमिकामा सम्मानित रहन्थे । युवा र भिजनेवल पुस्ताको नेतृत्वमा दिनरात नभनी समृद्ध नेपालको एकसुत्रीय खाकामा देश हुईंकिरहेको हुन्थ्यो ।

नेतादेखि कर्मचारीसम्म राष्ट्रको ढुकुटी रित्याउँदै विदेशी भूमिमा माग्नेजसरी सहयोगको याचना गर्न कहाँ बरालिन्थे यसरी ! लाखौँलाख युवाहरु रोजगारीको खोजीमा विदेशतिर किन भौँतारिन्थे यसरी ! देश यतिखेर अपूर्व निर्माणको चरणमा हुन्थ्यो । जता हेर्‍यो उतै विकासै विकासको लहर ! के नेता, के जनता, के पेशाकर्मी, के अधिकारकर्मी अहिले राष्ट्र निर्माणको महान अभियानमा लामबद्ध हुन्थ्यौं होला ! हामी यसरी सामाजिक सञ्जालमा स्टाटस र आलेख लेखेर टाइम पास गर्ने अवस्थामा कहाँ हुन्थ्यौँ र !

तर, हाम्रो नियति भनौँ कि भाग्य भनौं । हामीले खोजेको भनौँ कि रोजेको भनौँ ! कर्मै खोटो भनौँ कि बर्मै बाङ्गो भनौँ ! नाँच्न जानिएन भनौँ कि आँगन टेढो भनौँ !

नेपालको इतिहासमै सबैभन्दा ठूलो पार्टी (त्यसमा पनि यथास्थितिमा आमूल परिवर्तनको पक्षधर कम्युनिष्ट पार्टी !?) को चालामाला, हिंड्दैछ कि सुतेको छ ! सुष्त छ कि सुष्क छ ! गतिशील छ कि गतिहीन छ !

जनमतका त कुरै छोडौँ । दोस्रो र तेस्रो नम्बरका कमरेडहरु नै असन्तुष्ट !

नियतिको निर्मम खेल ! उनले उखान सुनाउने, हामीले सुन्ने ! बरु उखान अलि कम सुनिएछन् भने त्यसमा जोडदार टिप्पणी गरौँ ! हाम्रो हैसियत त्योभन्दा ज्यादा देखिएन !

नविनतम क्वान्टम थ्योरीले पनि एउटा कुरा भन्दोरहेछ । पुरानो नसिद्धिएर, नयाँ बन्दैन ।
२०७५/०६/०३

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage