scheduleशनिवार आश्विन ४ गते, २०७६

रसिया-अमेरिका परमाणु सम्झौता विवादः यी हुन् महत्वपूर्ण पाँच पक्ष

युजु राई/काठमाडौं, ५ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३१ वर्ष पुरानो रसियासँगको परमाणु हतियार सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । रसियाले उक्त सम्झौताको उल्लंघन गरेको र चीनलाई पनि त्यसमा संलग्न गराउनुपर्ने माग राख्नुलाई उसले सम्झौताबाट बाहिरिने कारण देखाउँदै आएको छ ।

इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस ट्रिटी आइएनएफ सम्झौता भनेर चिनिने यो सम्झौताको अहिलेको संकटले दुई ध्रुवमा विभाजित विश्वको भूराजनीतिमा अर्को नयाँ समस्या खडा गरेको छ । यसबारे बुझ्नका लागि केही पाँच कुराहरु जान्न एकदमै आवश्यक छ ।

पहिलो कुरा यो सन्धि कसरी जन्मियो भन्ने विषय अहम् छ । सन् १९८७ को डिसेम्बरमा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र सोभियतकालीन तत्कालीन प्रमुख नेता मिखाएल गोर्वाचोभबीच यो सन्धिमा हस्ताक्षर गरेका थिए ।

यो सम्झौताले १९८० को दशकबाट शुरु भएको एउटा परमाणु समस्यालाई समाधान गरेको थियो । सोभियतले पश्चिमा मुलुकहरुको राजधानीलाई लक्षित गरी तैनाथ गरेका हात हतियार एसएस २० न्युक्लियर टिप्पड, इन्टरमिडियट रेन्ज ब्लेस्टिक मिसाइलहरुलाई नियन्त्रण गरेको थियो यो सन्धिले । दुई देशले पाँच सयदेखि पाँच हजार पाँचसय किमि दुरीसम्म मार हान्नसक्ने क्षमता भएका क्रुस क्षेप्यास्त्रलाई निमार्ण गर्ने परीक्षण गर्ने वा राख्ने कुराबाट पन्छिन यो सन्धिमा सम्झौता भएको थियो ।

दोस्रो कुरा अमेरिका यो सम्झौताबाट बाहिरिने कुरा हामीलाई थाहा छ तर किन ऊ यो सम्झौताबाट बाहिरिदैँछ भन्ने विषय पनि अहम् छ । वास्तवमा अमेरिकी अधिकारीहरु रसियाले आइएनएफ सन्धिको सम्झौतालाई उल्लंघन गर्दै ग्राउण्ड लन्ड प्रणालीहरु विकास र तैनाथ गरिरहेको विश्वास गर्छन् । तर रसियाले भने त्यस्ता आरोपहरुलाई बारम्बार खारेज गर्दै आएको छ । ट्रम्पले आइतबार सम्झौताको बावजूद पनि रसिया र यो सम्झौतामा असंलग्न मुलुक चीनले हतियारहरु विकास गर्नु अमेरिकामाथि अन्याय भएको बताएका छन् ।

अब आइएनएफ सम्झौतालाई लिएर रसियाको धारण पनि महत्वपूर्ण सवाल छ यहाँ । वास्तवमा रसियाले पनि लामो समयदेखि अमेरिकामाथि परमाणु सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै आएको छ । रसियाको यस्तो आरोप रोमानियास्थित अमेरिकाको नाटो क्षेप्यास्त्र सिल्ड वेसप्रति लक्षित छ जसले जुनकुनै समय परमाणु क्षेप्यास्त्र हमला गर्नसक्छ ।

यस अघि २००७ मा रसियाले पनि यो सम्झौताबाट बाहिरिने चेतावनी दिइसकेको छ । गत आइतबार एक अज्ञात रसियाली विदेश मन्त्रालयका अधिकारीले अमेरिकाले आफैं धेरै वर्ष अघिदेखि प्रायोजित ढंगबाट यो सम्झौताका आधारलाई ध्वस्त गरिरहेको बताएका थिए ।

अमेरिका सम्झौताबाट बाहिरिए के हुनेछ भन्ने स्वभाविक प्रश्न हो । यो सम्झौता रद्द भएमा यसको सबैभन्दा ठूलो प्रभाव २०१० मा ओबामा प्रशासन र रसियाबीच भएको रणनीतिक हतियार घटाउने सन्धि न्यु स्टार्ट सम्झौतामा पर्ने देखिएको छ । २०२१ मा समय सकिने उक्त सम्झौताको नवीकरणको सम्भाव्यतालाई यसले अन्त्य गरिदिने छ । न्यु स्टार्ट सम्झौता अन्तर्गत दुवै देशले आफ्नो रणनीतिक परमाणु वारहेडहरुलाई १५५० को संख्याभन्दा कमिमा झार्नुपर्ने छ ।

रसियाली सिनेटर एलेक्सजाई पुसकोभले ट्वीटरमा अमेरिकाको यो कदमलाई समग्र वैश्विक रणनीतिक स्थिरताको प्रणालीमा यो अमेरिकाले २००१ मा एन्टी बेलेस्टिक क्षेप्यास्त्र सन्धिबाट पछि हटेपछिको दोस्रो ठूलो धक्का भएको लेखेका छन् ।

त्यस्तै आइएनएफ सन्धिका अर्का हस्ताक्षरकर्ता सोभियतकालिन नेता गोर्वाचोभले आइतबार सम्झौताबाट बाहिरिनु अमेरिकाको गल्ती हुने बताएका छन् । उनले अमेरिकाको यस कदमले हतियार प्रतिस्पर्धालाई रोक्ने आफ्नो र अमेरिकी तत्कालीन समकक्षीको प्रयासलाई कमजोर बनाउने बताएका छन् ।

यी सबै घटनाक्रममा बावजूद पनि के यो सम्झौतालाई बचाउन सकिएला त ? अमेरिकी राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यसै हप्ता मस्कोमा रसियाली नेताहरु र त्यहाँका विदेशमन्त्री सेर्गेई लेभरोभ र सुरक्षा परिषदका सचिव निकोलाई पास्ट्रुसेभलाई भेटघाट गर्दैछन् ।

यो भेटवार्ताले सन्धिलाई बचाउनसक्ने सम्भावनालाई देखाउने छ । ट्रम्पको शनिबारको घोषणाले उनले सम्झौताका बुँदाहरुमाथि पुनरविचार गर्न चाहेको संकेत दिएको छ ।

पछिल्लो हप्ता बेलायती पत्रिका गार्डियनको रिपोर्ट अनुसार हतियार नियन्त्रण गर्ने सम्झौताहरुको घोर विरोधी रहँदै आएका बोल्टनले रसियाको कथित उल्लंघनलाई कारण देखाउँदै अमेरिकालाई त्यसबाट पछि हट्न उत्साहित गर्दैछन् ।

यस अघि अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले वासिङ्टनको परमाणु हतियारमा सामुद्रिक क्रुज क्षेप्यास्त्रलाई पनि संलग्न गराउने ट्रम्प प्रशासनको प्रस्तावले रसियालाई सम्झौतामा फिर्ता ल्याउन सहयोग गर्ने बताएका थिए ।

-विभिन्न एजेन्सीहरुको सहयोगमा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage