scheduleसोमवार श्रावण ६ गते, २०७६

राजनीतिमा नैतिकताको प्रश्न- यसकारण जन्मिन्छन् वामदेवहरु

प्रशान्त सिंह

नेपालमा लामो समयदेखि राजदरबार हत्याकाण्ड, कोटपर्वलगायतका हत्याकाण्डहरु हुँदै आएका छन् । हामीले यस्ता हत्याकाण्डहरुको विभत्स रुप देख्दै आएका छौं । यसलाई अंग्रेजीमा प्यालेस इन्ट्रिग अथवा दरबारिया षड्यन्त्र पनि भनिन्छ । यस्ता ठूला घटनाहरु नहुँदा पनि एक दुई पात्रहरुलाई सिध्याएर जसरी पनि सत्तामा पुग्ने अभ्यासहरु हुँदै आएका छन् ।

इतिहासका पानाहरु पल्टाएर हेर्ने हो भने विश्व इतिहासमा पनि यस्ता प्रशस्तै घटनाहरु देख्न पाइन्छन् । जसरी भए पनि सत्तामा पुग्ने प्रक्रिया नै राजनीति भनेर बुझ्ने बुझाउने काम पनि भए । बाबुको सत्ता छोराले खोस्ने, अरुले खोस्ने अभ्यास पनि भइरहेका हुन्छन् । यद्यपि, कतिपय देशहरुमा प्रजातान्त्रिक अभ्यास हुनेक्रममा १९५० को दशक वा २००७ को आसपास केही परिवर्तन देखिन थाले । दक्षिण एसियाली देशहरुमा पनि प्रजातन्त्रको अभ्यास हुनथाल्यो । ती देशहरुको प्रजातन्त्रको अभ्याससँगै राजनीतिक संस्कार र राजनीतिक नैतिकताको विकास हुन थाल्यो । तर, हाम्रोमा अर्कै खेल हुनथाल्यो । बिपीको सत्ता उल्ट्याइयो । पुनः राजतन्त्र सक्रिय भयो । फेरि प्रजातन्त्रको पुनर्स्थापना भयो भनियो तर राजाले नै व्यवस्थापन र नियन्त्रण गर्ने अवस्था सिर्जना भयो । राजा ज्ञानेन्द्र पनि आए । उनले तुल्सी गिरीहरुलाई प्रधानमन्त्री पनि बनाए ।

राजनीतिमा नैतिकताको खडेरी

राजनीतिक दलहरुभित्र पनि राजनीतिक नैतिकताको अभाव देखियो । कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहरुजस्ता पात्रले समेत अपमान भोग्नुपर्ने र पार्टी नै छाड्नुपर्ने अवस्था पनि सिर्जना भए । प्रधानमन्त्री पदको लागि निवेदन माग्ने र नाम चलेका नेताहरु दरबारको ढोकामा पुगेर निवेदन दिने अभ्यास पनि भए । पदका लागि पार्टी छाडेर राजासँग मिल्ने, कम्युनिष्ट पार्टीका प्रमुख नै दरबार छिर्ने, आफ्नो समयका शक्तिशाली नेताहरुले शक्तिका लागि आस्था र विचारसँग सम्झौता गरेका असंख्य घटनाहरु छन् । रातारात विपक्षीको पोल्टामा पुगेका उदाहरण पनि छन् ।

यी घटनाहरु आकस्मिकरुपमा घटेका होइनन्, एउटा ऐतिहासिक श्रृंखलामा नै यी भइरहेका छन् । एक ढंगले भन्ने हो भने उनीहरुलाई जनमानसले एकहदसम्म स्वीकारेको पनि देखियो । उनीहरुलाई नराम्रो व्यक्ति भनेर प्रक्षेपित गर्नुभन्दा औसत मानिसकै रुपमा स्वीकार गरियो । किनभने हाम्रोमा जसरी पनि सत्तामा पुग्नु नै राजनीति हो भन्ने बुझाई शक्तिशाली बन्यो ।

यो बीचमा जनयुद्ध र मधेस आन्दोलन भयो । दुईपटकको संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान पनि पाइएको छ । यसपछि नयाँ समयको सुरुवात हुने अपेक्षा र आशा थियो । विगतका पुराना खेलहरु दोहोरिँदैनन्, नयाँ राजनीतिक संस्कार र संस्कृतिको विकास हुने अपेक्षा गरिएको थियो । एकथरी राजनीति सोच भएका मानिस एकातिर आउँछन्, अर्कोथरी सोच भएका मानिसहरु अर्कोतिर जान्छन् । कुनै पार्टीले चुनाव जितेपछि उसले पाँच वर्षसम्म सरकार चलाउने हो । यो अनौठो कुरा होइन ।

रुपान्तरणरहित रुपान्तरण
मुलुकले सातौं संविधान पाएको छ र यसलाई उत्कृष्ठ संविधान भनिएको छ । तर, दुःखको कुरा नयाँ परिवर्तनलाई आत्मसाथ गर्न नसकिएको देखिन्छ । अहिले पनि सत्ता परिवर्तनको खेल भइरहेको चर्चा चुलिन थालेको छ । केपी ओली व्यक्तिगतरुपमा कसैलाई मन नपर्ला । तर उहाँ निर्वाचन जितेर आउनुभएको हो । जनताले नै मतदान दिएर जिताएका हुन् । गलत काम गर्दा पक्का पनि विरोध गर्नुपर्छ ।

नयाँ शक्ति लगायत विपक्षीले पनि यो कुरा बुझेका छन् कि प्रजातन्त्रको अगाडि सबैले शिर निहुराउनुपर्छ । यहाँ त सत्तापक्षी पार्टीभित्रै र नेकपाका अध्यक्षले नै प्रधानमन्त्रीलाई कमजोर बनाउने क्रियाकलाप गर्नु राम्रो होइन । वामदेव गौतम चुनावमा उठ्दा नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेका थिए । निर्वाचनमा पराजित भइसकेपछि पाँच वर्ष कुर्न नसकेको जस्तो देखिएको छ । प्रक्रियाभन्दा माथि कोही पनि हुँदैन । चुनाव धेरै नाम चलेका नेताहरुले हारेका छन् । व्यक्तिले पो चुनाव हारेको हो त, पार्टीले त जितेकै थियो ।

हामीलाई लागेको थियो, राजनीतिक परिवर्तनसँगै नेताहरुमा पनि रुपान्तरण आउँछ । सामन्तवादी संस्कार र संस्कृतिबाट माथि उठ्न सक्छन् । उन्नत राजनीतिक संस्कार अबलम्बन सुरु गर्छन् । तर त्यस्तो देखिएन् । जसरी पनि सत्तामा आउनुपर्छ, शक्तिको अभ्यासमा पुग्नैपर्छ भन्ने देखियो ।

जसरी पनि मन्त्री र प्रधानमन्त्री बन्नै पर्ने माथवरसिंह र जंगबहादुरहरुको कथा अहिलेको जमानामा पनि दोहोर्‍याउने अवस्था आउनु शर्मनाक कुरा हो ।

यदि चुनाव हारेका नेताहरु अहिले नै राष्ट्रको लागि आवश्यक छ भने उनीहरुलाई जिम्मा दिने धेरै विकल्पहरु छन् । प्रधानमन्त्रीले नै त्यस्ता भूमिकाहरु सिर्जना गर्न सक्छन् । मूल प्रवाहको राजनीति गर्न चुनाव हारेर केही फरक पर्दैन । कुनै आयोग र प्राधिकरणहरु बनाउन सकिन्छ । गरिबी निवारण कसरी गर्ने, लगानी कसरी भित्र्याउने, पुनर्निमाण कसरी गर्ने ? यस्ता काम गर्न मन्त्रीजस्तै जिम्मेवारी दिन सकिन्छ । म त उहाँहरुलाई पदमा पुग्न केही समस्या देख्दिनँ । तर पनि प्रजातान्त्रिक विधि र प्रक्रिया लत्याएर कहिले डोल्पाका सांसद त कहिले काठमाडौं ७ का सांसदलाई राजीनामा गराएर उपनिर्वाचन गराउने काम तल्लो स्तरको काम देखिन्छ । उहाँहरुजस्तो स्थापित शिर्ष नेताहरुले यस्तो तल्लो स्तरको व्यवहार जनताबाट अपेक्षित व्यवहार नै होइन ।

प्रशान्त सिंह

पार्टीलाई दुईतिहाई बहुमत छ । देशको लागि काम गर्न कुनै पद नै चाहिन्छ भन्ने होइन । आफ्नै पार्टी सरकारमा छ । काम गर्न चाहँदा जस्तो जिम्मेवारी पनि लिन सक्ने अवस्था छ । तर, जसरी पनि मन्त्री र प्रधानमन्त्री बन्नै पर्ने माथवरसिंह र जंगबहादुरहरुको कथा अहिलेको जमानामा पनि दोहोर्‍याउने अवस्था आउनु शर्मनाक कुरा हो । ठूला नेताले चुनाव हार्दा उनीहरु सन्तुष्ट नहोलान् तर, सबै अस्त्र प्रयोग गरेर यसलाई उल्ट्याउँछु भन्नु लज्जाजनक कुरा हो । अझ, उपनिर्वाचन गर्ने तर आफ्नो पार्टीले नहार्नेगरी गर्ने भन्ने अभिव्यक्ति खेदजनक छ ।

कुनै प्रजातान्त्रिक चरित्र भएको नेताले यस्तो अभिव्यक्ति दिनसक्छन् ? हामी कल्पना पनि गर्न सक्दैनौं । विश्वभरीबाट नेपालको राजनीतिलाई नजिकबाट नियाल्नेहरुले कसरी बुझिरहेका होलान् ? राजनीतिक नैतिकता र मूल्य बुझेका प्रवासी नेपाली र स्वयम् सत्तारुढ पार्टीकै इमान्दार नेता कार्यकर्ताको पनि शीर निहुरिएको हुनुपर्छ ।

यो राजनीतिक परिवर्तन ठूलो त्याग, तपस्या र दुःखबाट आएको हो । यसलाई अवमूल्यन गर्दै प्रजातान्त्रिक मूल्य मान्यतालाई व्यक्तिअनुरुप व्याख्या गरेर सही ठाउँमा पुग्न सकिँदैन । आगामी दिनमा उहाँहरुले आत्ममूल्यांकन गरेर यस्तो हर्कत् दोहोर्‍याउनुहुनेछैन भन्ने हामी आशा गरौं ।

पशुले मात्रै अरुबाट सिक्नैन

जनताले कुनै पनि नेतालाई अस्वीकार गर्न सक्छन् । राजनीति सेवा गर्नको लागि हो नि । तर जसरी पनि मरिहत्ते गरेर राज्यसत्तामा पुग्नुपर्ने यो त पुरानै राजनीति भयो । कोटपर्व नि गर्ने दरबारहत्या काण्ड नि गर्ने । यसरी हेर्दा त बालुवाटारहरु त नयाँ राजदरबार बन्न पुग्यो । जसरी पनि त्यहाा पुग्नै पर्ने चिन्तन त लोकतान्त्रिक राजनीतिको लागि सुहाउने कुरा होइन । यो त अज्ञानता हो ।

२००७ सालदेखि यहाँसम्म नदीमा धेरै पानी बगिसके । संसारले सिकिसकेको कुरा हामीले पनि सिक्नुपर्छ । मानिसको चरित्र भनेको अरुको गल्तीबाट पनि सिक्ने हो । पशुले मात्रै अरुको गल्तीबाट सिक्न सक्दैन । संसारका धेरै देश प्रजातान्त्रिक भइसकेका छन् । हाम्रा नेताहरु संसारका धेरै देशहरु घुम्छन् । नेतासँग भेट्छन् । उनीहरुको प्रजातान्त्रिक अभ्यास देखेका पनि छन् । सबै कुरा नेपालमै हुनुपर्छ भन्ने छैन । हामीले अरुको अभ्यासबाट पनि सिक्न सक्छौं । सिक्नै नसक्ने र राजनीतिलाई नयाँ र उन्नत संस्कार दिन नसक्नु त अल्पज्ञानबाहेक के हुनसक्छ र ?

२०१८ सम्म आउँदाको राजनीतिक संस्कार भनेको कुनै स्पष्ट उद्देश्यका साथ राजनीतिमा आउनु हो । आफ्नो राजनीतिक उद्देश्यलाई आफ्नो व्यक्तित्वसँग जोड्नुपर्छ । प्रजातन्त्रमा कहिले जनताले टाउकोमा बोक्छन् कहिले हराइदिन्छन् । तर, तपाईंले आफ्नो उद्देश्य छोड्नु हुँदैन । जनताले जिताए भने उनीहरुले तपाईंको तर्क माने । जिताएनन् भने मानेनन् । राजनीति उद्देश्यविहिन हुँदैन । कसैको पालो पुर्‍याउने प्रकृतिको पनि हुँदैन । नेतालाई पालो पुर्याउन थाल्दा देशले पालो पाउँदैन ।

पद भनेको पुरस्कार होइन
रामचन्द्र पौडेले कहिलेकाँही भन्नुहुन्छ कि अब मेरो पालो हो । वामदेव गौतम भन्छन् केपीसँग कुरा मिलिसकेको छ, अब मेरो पालो हो । यो पालो भनेको के हो ? हाम्रो देशमा राजतन्त्र चलिरहेको छ र ? बाबुपछि छोरोको पालो अनि नातिको पालो । त्यस्तो गर्दा त ५० नाघेका नेताहरुले कहिले पालो पुर्याएर नयाँ पुस्ता नेतृत्वमा आउने ? उमेर, अनुभव र जेलजीवन र पार्टी सदस्यता लिएको आधारमा प्रधानमन्त्रीको जिम्मा दिने होइन ।

पदलाई हामीले पुरस्कारको रुपमा लियौं । राजनीतिक पद भनेको पुरस्कार होइन । त्यागी हुँदैमा ऊ हरेक पदका लागि योग्य नहुनसक्छ । त्यागी नेतालाई देश, समाज र पार्टीले उहाँहरुको योगदानको कदर र सम्मान गर्नुपर्छ । अग्रस्थानमा राख्नुपर्छ । पार्टीको नेतृत्व पनि दिन सकिन्छ । तर, सरकारको नेतृत्वमा जाने त काम गर्ने हो नि ।

उन्नत लोकतन्त्रमा त यस्ता व्यक्तिलाई राजनीतिज्ञ नै मानिँदैन । जसले आफ्नो नीति नै छाडिदिन्छ, राजनीतिमा त्यस्ता मानिसका लागि कुनै स्थान नै हुँदैन । तर, नेपालमा त उहाँलाई नै राम्रो नेताको रुपमा मानिन्छ ।

दश वर्ष जेल बसेको वा आफूलाई मन परेको मान्छेलाई पाइलट बनाउँछौं ? देश चलाउने कुरा पनि यस्तै होइन र ? अप्रेशन थियटरमा सर्जरीका लागि १० वर्ष जेल बसेको मानिसलाई दिएर हुन्छ ? एउटा मन्त्री सामान्य पद होइन । एउटा हस्ताक्षरले देश युद्धमा जान सक्छ, हजारौं मानिस मर्न सक्छन् र हजारौं लाखौंले सुख पनि पाउन सक्छन् । भविष्य फेरिन नि सक्छ बर्बाद बनाउन पनि सक्छौं । त्यसर्थ, त्यहाँ पालो पुर्‍याउने होइन, योग्य मानिस पुग्नुपर्छ ।

पार्टीभित्र पनि योग्न मानिसलाई नेता बनाउनुपर्छ । भारतमै हेरौं, राजनाथ सिंह, सुष्मा स्वराज र आडवाणीहरु ? मोदी त सबैलाई पछाडि पार्दै आए । जनताले मत पराउने, पत्याउने, केही गर्न सक्ने मानिस अगाडि आए उनी । पालो गरेको भए त मोदी नै आउँदैन थिए । विकसित देशमा त झन पालो भन्ने नै हुँदैन । त्यहाँ डेढ दुई सय वर्षदेखिको प्रजातान्त्रिक अभ्यास छ । त्यहाँ पालोको कुरा अकल्पनीय कुरा हो । त्यहाँ राजनीतिमा कुनै न कुनै पेशामा आवद्ध मानिस हुन्छन् । राजनीतिलाई नै करिअर बनाउने मान्छे हुँदैनन् । कोही वकिल हुन्छन्, कोही सिइओ हुन्छन्, कोही कुटनीतिज्ञ वा सेनाका जर्नेलहरु हुन्छन् । उनीहरु राजनीति मार्फत् सेवा गर्न बाँकी जीवन म देशको लागि दिन्छु भनेर राजनीतिमा आउँछन् ।

विदेशका कुरा
बेलायतको भर्खरैको उदाहरण छ । नाइजेल फरार्ड भन्ने नेता युरोपिएन युनियनबाट बेलायतलाई बाहिर ल्याउनुपर्छ भनेर राजनीतिमा आए । निजी क्षेत्रबाट राजनीतिमा आए । बेलायतको सार्वभौमसत्ता जोगाउनुपर्छ भनेर चुनाव लडे । अभियान चलाए । जनमत संग्रहमा उनी सफल भए । नतिजा आएको हप्ता नबित्दै उनले आफ्नो उद्देश्य पूरा भयो भन्दै राजनीति छाडे । उनले आफ्नो लक्ष्य पूरा भए पछि म एक मिनेट पनि राजनीतिमा बस्दिनँ र म पुरानै जीवनमा फर्कन्छु भने र छाडे पनि ।

डेभिड क्यामरुन बहुमतमा हुँदाहुँदै पनि ब्रेक्जिट सफल भएपछि नैतिक हिसाबले पद छाडे । नैतिकताको आधारमा पद छाडे । यी त कन्जरभेटिभ पार्टीभित्रको कुरा हो । यस्तो राजनीतिक नैतिकता देखाउँछन् त्यहाँका नेताहरुले । त्यहाँ त राजनीतिमा सेवा गर्न आउँछन् । करोडौं कमाउने मान्छे त्याग गरेर राजनीतिमा आउँछन् । सधैंको लागि होइन, केही समयका लागि ।

अमेरिकाको तर्फबाट संयुक्त राष्ट्र संघको राजदूत निकी हेलीले पनि भर्खरै राजीनामा दिएको घटना सुनियो । ट्रम्पले पनि मन पराएको पात्र हुन् उनी । उनले अब बाँकी जीवन अरु लक्ष्यहरु र परिवारका लागि दिन्छु भनेर छाडे । सामान्य जीवन बिताउन चाहन्छु भने । असल मानिसहरुका लागि पद ठूलो हुँदैन भन्ने यही उदाहरण हो । गान्धी र नेल्सन मण्डेलाहरुले पद नलिएर पनि सर्वोत्तम सम्मान पाए र राष्ट्रको लागि भूमिका खेले । यसर्थ, नैतिकता र विश्वस्नीयता नै राजनीतिको अर्को नाम हो । उन्नत प्रजातन्त्रान्त्रिक संस्कारमा पद ठूलो कुरै होइन ।

तर, नेपालको अवस्था हेर्दा हामी सबैलाई लाज लाग्छ । उहाँहरुले विश्वबाट सिक्नै पर्छ । नेपालमा बाबुराम भट्टराईले त्यो नैतिकता देखाउनु भएको छ । कुरा नमिलेपछि पद र सम्भावना छाड्नुभएको छ उहाँले । उहाँले भनेको कुरा तत्काल अस्वीकार गरे । उहाँ अहिले जनताले दिएको स्थानअनुसार काम गर्नुभएको छ । उनले पुरानो कामको जशअपश लिइरहनुभएको छ । सानै भए पनि त्यही बाटो ठूलो बनाउन मेहनत गरिरहनुभएको छ । पदकै लागि त जता गए पनि हुन्थ्यो ।

तर, प्रचण्डले त आत्मसमर्पण नै गरिदिनुभयो पदका लागि । कहाँ गयो प्रचण्डपथ, कहाँ गए सहिद, कहाँ गए एक्काइसौं शताब्दीको जनवाद ? माओवादी आन्दोलनको कुनै पनि कुरा नेकपाले स्वीकार गरेको छैन । वैधानिकता दिएको छैन । तर, पदका लागि आफ्नो पुरानो कुरा नस्वीकार्नेसँग पनि सम्झौता गरे । यो त राजनीतिक निकृष्टता हो । उन्नत लोकतन्त्रमा त यस्ता व्यक्तिलाई राजनीतिज्ञ नै मानिँदैन । जसले आफ्नो नीति नै छाडिदिन्छ, राजनीतिमा त्यस्ता मानिसका लागि कुनै स्थान नै हुँदैन । तर, नेपालमा त उहाँलाई नै राम्रो नेताको रुपमा मानिन्छ । मिडियाले पनि यस्तो नैतिकताको प्रश्न उठाउँदैन । अरुले राजनीति नबुझ्नु त सामान्य कुरा हो, तर जसले राजनीति खाएर राजनीतिमै सुत्छन्, उनीहरुले नबुझ्नु दुःखद कुरा हो । अहिले वामदेव गौतमको घटना पनि यसैको प्रतिक्रिया हो । आशा गरौं, भविष्यमा यस्तो घटना दोहोरिनेछैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob