scheduleबिहिवार माघ ३ गते, २०७५

आईसियुमा प्रधानमन्त्री, आईसियुमा देश !

सौगात पोखरेल

कहिलेकाहिँ देशलाई दूरदर्शनमा हेर्छु । बडो अजिब लाग्छ । यसो सोच्दै भित्तातिर नियाल्छु अनि भित्ता छोप्न टाँसिएका अखबारहरुमा अहिलेको जस्तै खबरहरु भेटिन्छन् । समयले पनि सोच्न बाध्य बनाउँछ । के यो देश दश बर्षको अन्तरालमा जहाँको त्यहि छ ? यो देशको शासन कागजमा मात्र फेरिएको हो ? स्वरहरुमाथि प्रतिबन्ध लगाईनुलाई गणतन्त्र भनिन्छ ? के यो देशमा न्याय भुईंमान्छेहरुले पाउँदैनन् ? यदि पाउने भए किन निर्मलाको हत्यारालाई भेटाउन सकेन सरकारले ? किन निर्मलाको परिवारले आजसम्म न्याय पाउन सकेन ?

सामन्ती राजतन्त्र मुर्दावाद भनेर नारा लगाउँदै राजतन्त्र ढालेको पनि त बर्षौ भएछ । तर के हामीले राजासँगै सामन्तवादलाई फाल्न सक्यौं ? कि नयाँ सामन्त जन्माउन लाग्यौँ ? राष्ट्रपतिको टिका प्रकरण यसैको भद्दा नमुना हो जस्तो लाग्छ ।

यतिबेला सामाजिक सञ्जाल प्रम बिरामी भएको खबरले खुब तातेको छ । यस्तै खबरहरु हामी बर्षौदेखि सुन्दै आईरहेका छौँ । समाचारहरु हेरेर विचार गर्दा कहिलेकाँहि लाग्छ- यो देश नै आईसियूमा छ । आईसियूमा बसेर देश कतिको गतिमा दगुर्न सक्छ ? बर्षौंदेखि हामी प्रमहरुको उपचारको समाचार सुनेर आजित भएका छौँ । राजतन्त्र हटेपश्चात् त्यसको श्रृंखला गिरीजाप्रसाद कोईरालाबाट भएको थियो ।

सौगात पोखरेल

यो दश बर्षको अन्तरालमा केहि राजनैतिक उपलब्धी बाहेकका केहि उपलब्धीहरुलाई हेरौँ न आज हिजोको तुलनामा देश कहाँ छ ? देशको प्रतिव्यक्ति आय हिजो कति थियो ? आज कति छ ? देशको व्यापारघाटा हिजो कति थियो, आज कति छ ? हिजो विदेश पलायन कति थियो, आज कति छ ? दक्ष जनशक्ति पलायन हिजो कति थियो, आज कति छ ? अब्रोड स्टडीका लागि भन्दै शिक्षित युवाहरु कति पैसा लिएर प्रतिबर्ष कतिको संख्यामा विदेश पलायन भैरहेका छन र कति पैसा प्रतिबर्ष विदेश गएको छ ?

कहिलेकाँही सुन्दा पनि गज्जब रिदममा सुनिन्छ समृद्धिको संगीत । पचास लाखभन्दा बढी युवाहरु विदेशमा बेचेर हामी देश बनाउने सपना बनाईरहेका छौँ । मेलम्चीको पानीका लागि बर्षौंदेखि कुरिरहेका जनतालाई पानी जहाजको सपनाले खुसी बनाउँदैन, बरु तर्साउँछ भन्ने कुरा हामीले किन बुझाउन सकेनौँ ? बाटोको ढल पुर्न नसक्दा खाल्टोमा ज्यान गुमाउनेहरुको परिवार घरघरमा ग्याँस पाईपको कुरा समाचार सुनेर कति रुँदा हुन् ।

देशको शिक्षा, स्वास्थ क्षेत्र माफियाहरुको हातमा छ । उनीहरुकै पक्षमा सरकार उभिन्छ । यो देशको न्याय क्षेत्र हाट बजारजस्तो छ । यो देशको सुरक्षा क्षेत्रप्रति जनताको अलिकति विश्वास बचेको थियो । त्यो पनि निर्मला हत्या प्रकरण र सुनकाण्डसँगै सकिँदै गएको छ ।

आजकाल मन्त्रीहरु मन्त्रालयको नीति बनाउने काममा भन्दा उद्घाटन र कार्यक्रमहरुमा ज्यादा भेटिन्छन् । बडो गज्जब लाग्छ- किन स–साना कार्यक्रमहरु पनि मन्त्रीहरु भेटिन्छन ? खोजी गर्दा पत्ता लाग्यो उनीहरुलाई त कार्यक्रमनै पिच्छे भत्ता आउँदो रहेछ ।

कहिलेकाहि समाचारहरुले पनि बडो मजाक गर्छन् । फलानो कार्यालयको कर्मचारी पाँच हजारसहित पक्राउ ! सोच्छु- सुनकाण्डको त्यत्रो घोटला के भयो ? सिण्डीकेटवालाहरुले फेरि शीर उठाएर किन हिंडिरहेका छन् ? फेरि अखबारमा खबरहरु आउँछन् । फलानो होटलमा छापा मार्दा यति जोडी रङ्गेहात पक्राउ ! अनि जोडजोडले हाँस्दै प्रश्न गर्न मन लाग्छ- निर्मलालाई बलात्कार गरेर हत्या गर्ने हत्यारा कहाँ छ सरकार ? कि निर्मलाको हत्या भएकै हाईन ? प्रहरी त त्यता लाग्नुपर्ने होईन र ?

फेरि समाचार भन्छ- सीमाविवादका कारण प्रताडित नेपालीहरु पैसा उठाएर प्रधानमन्त्री भेट्न आए । तर प्रधानमन्त्रीलाई उनीहरुसँग भेट्ने समय थिएन फर्किए । के राष्ट्रवादको नारा चुनावको लागि मात्र थियो ? त्यसको लगत्तै अर्को समाचार आउँछ । फलानो उद्योगी र प्रधानमन्त्री बीच भेटवार्ता ! अनि सोच्छु यो सरकारचाहिँ खास कस्को हो ? पप्पु कन्स्ट्रक्सन कालो लिस्टमा परेन, समाचार बन्छ । सरकारले ताली बजाउन भन्दा प्रश्न गर्न सिकाएको छ । हिजोको कालो लिस्टमा भएको पप्पु आज कसरी रातारात सेतो भयो ? खासमा म कहिलेकाँहि बडो कन्फ्युजनमा पर्छु । यो सरकार खासमा कस्ले चलाएको छ ?

सायद यस्तै कुरा तपाईको मनमा पनि खेलिरहेको होला तर, हामीले उत्तर पाउन सकिरहेका छैनौँ । जबसम्म यो देश बिरामी नेताले चलाउँछ तबसम्म हाम्रो हालत उस्तै हुन्छ । सरकार फेरिँदैपिच्छेको प्रमको स्वास्थ्य खराबीको समाचार सुनेर आजित भैसकेका छौँ । र त फलानो देशमा ३० बर्षीय युवा प्रधानमन्त्री भन्ने समाचार सामाजिक सञ्जालमा खुब शेयर हुन्छ । यता हाम्रो भने प्रधानमन्त्रीको स्वास्थ्य चिन्ताले व्यर्थ दुईचार दिन बितिरहेको छ । यता देश हरेक बर्ष पुरानै निरन्तरतामा आईसियुबाट चलिरहन्छ । सरकार चल्नुपर्ने त प्लेनजस्तो थियो तर ट्याम्पोको गतिमा पनि चल्न सकिरहेको छैन । यतिका बर्षपछि बनेको यो शक्तिशाली सरकार यति छोटो समयमा यति धेरै आलोचित भएको पनि पहिलो सरकार बन्न सफल भएको छ ।

देशका थुप्रै ठाउँहरुमा निषेधित क्षेत्र घोषणा गरेर सरकारले लोकतन्त्रको मजाक गरिरहेको उडाइरहेको छ । निर्मला हत्याकाण्डको अपराधी पक्रन नसकेर सरकारले कानुनी शासनको खिल्ली उडाएको छ ।

दैनिक सयौँ किलो सुनको ओसारपसारजस्तो डरलाग्दो सुनकाण्ड सुनसान हुनुले हाम्रो सुरक्षा चुनौती बढेर गएको छ । चाईनामा नै कालोसुचिमा रहेको गेजुवा कम्पनीलाई बुढीगण्डकी सुम्पिएर राष्ट्रिय गौरवको आयोजनालाई अलपत्र पारेको छ ।

गोविन्द केसीको अनसनपछि भएको सम्झौता कार्यन्वयन गराउन आलाटाली गरेर स्वास्थ्य क्षेत्रमा थप समस्या सिर्जना गर्न खोजिरहेको छ । देशका मुख्य विश्वविद्यालयहरु राजनैतिक भागबण्डाको कारण अस्तव्यस्त रहेको छ । यी त भए सतहमा देखिएको केहि समस्याहरु । तर, खासमा देशको अर्थतन्त्र कति परनिर्भर भन्ने कुराको अध्ययन गर्ने हो भने निराशाले सगरमाथा छुन्छ । सरकार वामपन्थीको तर हाम्रो अर्थनीति भने उदार छ । कुरा एकातिर काम अर्कोतिर गर्दै यो सरकारले असफलताको बाटो हिँडिरहेको छ ।

अहिले यतिबेला नेकपा सरकारमा हुन्थेन र अरु कसैको सरकार हुन्थ्यो । नेकपा प्रतिपक्षी दल हुन्थ्यो भने शहरका सडकपेटीका कुनै रेलिङहरु सकुशल रहन्थ्यो या रहँदैन थियो होला भन्ने कुरा सोचिरहन्छु ? हामी राजनीतिको यति ठूलो कुलतमा फसेका छौँ कि हामीले पार्टीलाई ब्लड ग्रुप सम्झिरहेका छौँ । यसलाई फेर्न वा यसले गरेको गलत कुराको विरोध नै पनि गर्न हुँदैन । त्यसो गर्नु भनेको अपराध गर्नु हो भन्ने हामीलाई लागिरहेको छ ।

अन्त्यमा, तपाईलाई पट्यार पनि लाग्यो होला । कति सरकारको गलत कुरा मात्र गरिरहेको होला भनेर । तर, सरकारले सहि काम गर्दाको दिन सरकारको समर्थन पनि गरौँला । यो सरकारले न्याय, सुरक्षाका र जनजीविकाका कुराहरुलाई जसरी हलुका हिसाबले बुझिरहेको छ । भुई मान्छेका समस्याहरु पनि गम्भीर बनेको छैन । यसले सरकारको गरीमालाई बढाउन सक्दैन बरु घटाउँछ । यी र यस्तै घटनाहरुमा देखिएको उदासिनताको कारण राजनीतिप्रति जनताको हेर्ने दृष्टिकोण गलत रहेको छ ।

हामीले सत्तामा शासकहरु त फेर्‍यौँ तर, शासनको स्वरुप बदल्न सकेनौँ । त्यसकारण बर्षौबाट आईसियुमा बसिरहेको देशलाई बाहिर निकाल्न सकेनौं । यतिबेला प्रधानमन्त्री स्वयम् पनि आईसियुमा हुनुहुन्छ । आफुसँगै देशलाई पनि आईसियुबाट बाहिर निकाल्नुस् । शुभकामना !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob