scheduleआइतवार जेष्ठ ५ गते, २०७६

एर्दोगानको अारोप- खशोग्गीको हत्या साउदीको उच्च तहबाटै

अङ्करा, १७ कात्तिक ।  साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबकै उच्च तहको संलग्नतामा भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाएका  छन् ।

टर्कीस्थित साउदी वाणिज्य दूतावासमा गएका बेला साउदी अरबको उच्च नेतृत्वकै निर्देशनमा खशोग्गीको हत्या भएको उनको दावी छ ।

टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजात लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका थिए ।

राष्ट्रपति एर्दोगानले पहिलो पटक प्रत्यक्षरूपमा साउदी सरकारलाई खशोग्गीको हत्याको आरोप लगाएका  हुन् ।

अमेरिकी पत्रिका द वाशिङटन पोस्टमा प्रकाशित उनको एउटा लेखमा भनिएको छ, ‘हामीलाई थाहा छ खशोग्गीको हत्या गर्ने आदेश साउदी सरकारको उच्च तहबाटै आएको हो ।’

राष्ट्रपति एर्दोगानले खशोग्गीको हत्यामा राजा सलमानको संलग्नता रहेको कुरामा भने आफूलाई विश्वास नलागेको बताएका  छन् ।

उनले साउदी अरबसँगको टर्कीको मित्रवत् सम्बन्धमा यही घटनाका कारण असर पर्न नहुनेमा पनि जोड दिएका  छन् ।

टर्कीका अनुसन्धानकर्ताले निर्वासित जीवन विताइरहेका पत्रकार खशोग्गी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका बेला घाँटी अठ्याएर हत्या गरिएको दावी गरेका छन् ।

शुरूमा साउदी अरबले ढाकछोप गर्न खोजेको खशोग्गी हत्या प्रकरणले साउदी अरब र अन्य देशको सम्वन्धमा समेत असर पारेको छ ।

खशोग्जीले स्तम्भ लेख्ने गरेको वाशिङटन पोस्टमै लेख लेख्दै एर्दोगानले साउदी अरबमा पक्राउ परेका १८ सन्दिग्धमध्ये नै दोषी भएको दावी गरेका  छन् ।

दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गरेका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध विग्रिएको थियो ।

राजपरिवारबाट टाढा भएपछि उनले अमेरिकामा निर्वासित जीवन विताउदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आएका  थिए ।

मासिकरुपमा स्तम्भ लेख्न थालेपछि उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिको आलोचना गर्ने गरेका थिए । त्यही आलोचक भएकैले उनको हत्या भएको कतिपयको आशंका छ । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob