scheduleआइतवार भाद्र २९ गते, २०७६

बन्दिपुरको बान्की

मनिकर कार्की 'निवर्तमान'

बर्खामासको दिन आकासमा घाम र बादलबीच लुकामारी चल्दा धर्तीमा भने कहिले टन्टलापुर घाम त कहिले शीतल वर्षात हुँदैथियो । यस्तै घामपानीबीचको लुकामारीमै हाम्रो बन्दिपुरतिरको यात्रा तय भयो । भरतपुरबाट बन्दिपुरतर्फ हुईंकिँदा अपरान्हको ३ बजिसकेको थियो । हामी निर्धारित समय भन्दा एक घन्टा ढिलो निस्कियौं ।

सामूहिक यात्रामा कहिलेकाहीँ आफ्नै कारण ढिला हुन्छ त कहिले अरुका कारण । यद्यपि निजी सवारी साधनको प्रबन्ध भएकोले निर्धारित समयभन्दा ढिलै भए पनि यात्रामा भने खासै असर परेन ।

भरतपुरबाट पंक्तिकारसहित मित्रहरु शरद खरेल, गुणाखर बस्याल, दुर्गा भुसाल र प्रकाश सापकोटा गरी पाँच जनाको यात्रा सुरु भयो । भर्खरै निर्माणसम्पन्न नारायणगढ–मुग्लिङ खण्डको सडकयात्रा रमाइलो हुन थालेको छ, आजकल ।

वरिपरी साउने हरियाली अनि लमतन्न सुतेको निख्खर कालो सडक । सडकमा भर्खरै गरिएको लेन मार्किङ र चिटिक्क पारेर सजाइएका प्याराफिट । आरामदायी मोटर अनि मित्र शरद खरेलको उत्कृष्ट ड्राइभिङ कला । चितवनको रामनगर कटेपछिको दृष्यले हामीलाई भ्रम छरिरहेको थियो कि यो नेपालकै सडक हो त ? हामी कतै युरोपको आकर्षक सडकमा त ड्राइभिङ गर्दैछैनौं ?

यद्यपि यो भ्रम भने लामो समय टिकेन । किनकि सवारी चालकहरुले लापरवाही तरिकाले गर्ने ओभरटेक अनि हर्नको आवाजले कल्पनाको त्यान्द्रो चुँडाइहाल्थ्यो । त्यसो त सडकमा ट्राफिक अनुशासन सबैभन्दा कम भएको मुलुकमै पर्ला नेपाल । अनि हामीलाई पनि सबैभन्दा हतारो सडकमै हुनेगर्छ । तथ्यांकले देखाउँछ अधिकांश दुर्घटना सडक अनुशासन उल्लंघन गर्नाले अथवा लापरवाहीजन्य गतिविधिका कारण हुने गर्दछ । तर, कसैलाई सडकमा सुरक्षा सतर्कता अवलम्बन गर्न फुर्सद छैन । सायद यस्तै गतिविधि दुर्घटनाका कारण बनिदिन्छ ।

बन्दिपुरको यसपटकको भ्रमण राजनीतिक थियो । नयाँ शक्ति पार्टीले गण्डकी प्रदेशका जिल्लाहरुका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम राखेको थियो । भ्रमणको मूल उद्देश्य वैकल्पिक राजनीतिका अन्तरवस्तुहरुको बारेमा व्यापक पैरवी गर्नु नै थियो । केही सिकाउने जमर्को त धेरै सिक्ने अभिलाषाका साथ हामी त्यसतर्फ हुईंकिदै थियौं । मोटरभित्र सवारहरुबीच अनेकन विषयमा गफ चल्थ्यो । मोटरभित्रको तात्तातो बहस अनि आँखामै टाक्सिने साउने हरियालीसँग रमाउँदै हामी डुम्रे पुग्यौं ।

डुम्रेबाट बन्दिपुरसम्मको बाटो भने अलिक साँघुरो छ । एक लेनको पहाडी सडकमा पहिलोपटक मोटर ड्राइभ गर्नेलाई केही असहज हुनसक्छ । यो पंक्तिकार पनि यो बाटोमा एकाधपटक मोटरसाइकलमा हुईंकिएको छ । मोटरसाइकलमा हुईंकिन भने असाध्यै रमाइलो अनुभूति हुन्छ । सुन्दर डाँडाकाँडा अनि दायाँतर्फ देखिने विशाल फाँट, फाँटका वरिपरीका ससाना थुम्काथुम्की विछट्टै सुन्दर लाग्छन् । खुलेको मौसममा वरिपरीको दृष्यावलोकनका लागि सबैभन्दा उत्तम ठाउँ हो, बन्दिपुर ।

आयोजकले बासको प्रबन्ध स्थानीय बन्दिपुर सामुदायिक होमस्टेमा मिलाएका रहेछन् । त्यसैले हामी आआफ्नो झोलीतुम्बा बोकी बजार क्षेत्रतिर प्रवेश गर्यौं । बन्दिपुरको खास बजार क्षेत्रमा सवारी निषेध गरिएको छ । यसबाट कम्तीमा बजार क्षेत्र सफा राख्न र पर्यटकलाई हिंडडुल गर्न सहज हुने देखियो । बन्दिपुरको यो अभ्यासलाई हामीले खासखास पुराना सहरी क्षेत्रहरुमा लागू गर्दा पुरातात्विक सम्पदा पनि जोगिने र त्यसले छुट्टै पहिचान पाउन सक्छ । यसर्थ, यो अभ्यासलाई सम्भव भएसम्म अन्यत्र पनि लागू गर्दा राम्रै होला भन्नेलाग्यो ।

बजार अवलोकन गर्दै हामी होमस्टेको पाहुनाघरमा पुग्यौं, जहाँ स्वागत कार्यक्रम चल्दै थियो । स्थानीय दिदीबहिनीहरुले पाहुनालाई फुलमाला एवं पुष्पगुच्छाले स्वागत गरे । दिदीबहिनीहरुले स्वागत गीत गाउँदै सुनाए – ‘तीन धारेको चिसो पानी, लाग्छ माया छोडेर कहाँ जानी’ ।

अनि स्वागत गीतसँगै पाहुनाहरुलाई साँधेको उसिनेको आलु खान दिइयो । सामुदायिक भवनमा भएको स्वागत कार्यक्रममा स्थानीय होमस्टे संचालक महिलाहरुले होमस्टेको सेवा तथा नियमहरुको बारेमा जानकारी गराए ।

२०६८ सालबाट सुरु गरिएको बन्दिपुर होमस्टे स्थानीय समुदायका महिलाहरुको अग्रसरतामा व्यवस्थापन गरिएको तनहुँको पहिलो होमस्टे रहेछ । कूल २२ घरमा १५० जनासम्म पाहुनालाई राख्ने क्षमता भएको यो होमस्टे आफैंमा इन्द्रेणी राष्ट्रियताको प्रतिबिम्ब झैं लाग्यो । किनकि यहाँ संचालित होमस्टेमा कुनै एक समुदाय विशेष मात्र नभई नेवार, गुरुङ, मगर, सुनार, बाहुनक्षेत्री सबै मिलेर होमस्टे संचालन गरेका छन् ।

होमस्टेकी अध्यक्ष दिल कुमारी रानाले बताए अनुसार यहाँ विदेशी भन्दा स्वदेशी पर्यटक नै बढी आउँछन् । दुई छाक खानासहित एक रात बसाईको रु. ७५० शूल्क लाग्छ । पाहुनाहरुलाई घरलौरी विभाजन गरेर राखिने व्यवस्था रहेछ । आन्तरिक तथा बाह्य पर्यटकलाई हृदयदेखि नै स्वागत गर्ने बन्दिपुरबासी आमा दिदीबहिनीहरुको मेहेनत र आतिथ्यताले बन्दिपुरको सम्झना जोकोहीको मन मस्तिष्कमा ताजै रहन्छ ।

बन्दिपुर पुरानो बजार हो । यो मुख्यतः पुरानो व्यापारिक केन्द्र हो । उबेला नुन बोक्ने ढाक्रेहरुको बास बस्ने ठाउँ हो, बन्दिपुर । कुनै समय उत्तरी पहाडी अनि हिमाली क्षेत्रबाट बजार गर्न आउनेहरुको लर्को लाग्ने ठाउँ हो । आज बन्दिपुरमा पहिलेको जस्तो व्यापारिक रुट त छैन । तर, समय परिवर्तनसँगै बन्दिपुरले आफूलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा उभ्याएको छ । जहाँ दैनिक सयौंको संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरु आउँछन् । यहाँको संस्कृति, परम्परा अनि प्राकृतिक छटासँग रमाउँछन् ।

बन्दिपुरको टुंडिखेल क्षेत्रबाट देखिने मनोरम हिम श्रृंखला यहाँको मुख्य आकर्षण हो । त्यस्तै डुम्रेको फाँट अनि मस्र्यांदी नदीको आकर्षक फैलावट यसको अर्को आकर्षण हो । त्यसैले यहाँ पर्यटकहरु बन्दिपुरको संस्कृति र पर्यावरणीय विविधता हेर्न आउँछन् । विभिन्न समुदायको मिश्रित कलासंस्कृति, प्राकृतिक सौन्दर्यता अनि यहाँको मीठो आतिथ्ता नै बन्दिपुरको बान्की हो ।

बन्दिपुरको बजारलाई पुरानै शैलीमा आधुनिक तवरले सिंगारिएको छ, जुन बन्दिपुरको अर्को विशेषता हो । कताकता भक्तपुरको झल्को दिने सानो तर सुन्दर बजार क्षेत्रले पनि पर्यटकहरुलाई केही बेर पदयात्राको आनन्द प्राप्त हुने रहेछ । हामीले पनि दुई दिनसम्म बन्दिपुरको रमणीय वातावरणमा विचरण गर्यौं । हाम्रो यात्राको मुख्य उद्देश्य राजनीतिक मिसन थियो । त्यसैले बन्दिपुरका रमाइलो मौसममा हामीले सघन रुपले छलफल गर्यौं । नयाँ शक्ति गण्डकी प्रदेशले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नयाँ शक्तिका केन्द्रीय नेतृत्वले देशको समसामयिक राजनीतिक विषय, आर्थिक विकास समृद्धि र सुशासन, पार्टीको विचार दर्शन, समावेशी लोकतन्त्र, नेतृत्व विकास, संगठनात्मक विषयका साथै व्यवस्थापन र प्रचार रणनीतिको बारेमा सघन प्रशिक्षण चल्यो ।

कार्यक्रमकै दौरान पंक्तिकारले नेपालको आर्थिक विकास, समृद्धि र सुशासनको विषयमा आफ्नो प्रस्तुति दिएको थियो । नेपालको अविकासको मुख्य कारण के हो ? किन हाम्रो विगत सात दसशको विकासे अभियान सफल हुन सकेन ? इतिहासको कुनै कालखण्डमा समृद्ध मानिएको हाम्रो देश अहिले किन यस्तो अवस्थामा पुग्यो ? विगतमा शासकहरुले विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेनन् । परिणामतः हाम्रा जे जस्ता प्रयासहरु भए ती सबैले पुरानै शैली र संस्कारको निरन्तरतालाई मात्रै जारी राखे । विकासमा नयाँ पहलकदमी आएन ।

त्यसैले अब विकास र समृद्धि हासिल गर्नका लागि संरचनागत परिर्वतन आवश्यक छ । गाउँ र सहरको समान ढंगबाट विकास गर्नका लागि गाउँलाई उपेक्षा गरेर हुँदैन । गाउँ र सहरको अर्थतन्त्रलाई लिंक गर्न सकेनौं भने हाम्रो अर्थतन्त्र दीगो हुन सक्दैन । ग्रामीण उद्यमशीलताको विकास नै हाम्रो अर्थतन्त्रको बलियो आधार हुनसक्छ । त्यसैले यसबारे गम्भीर भएर सोच्नु जरुरी छ । साथै गाउँको विकासका लागि गाउँलाई सहर बनाउने होइन, गाउँलाई उत्पादनको केन्द्र बनाउनुपर्छ ।

त्यहाँ उत्पादिन कृषिजन्य सामग्रीहरु तथा ससाना घरेलु तथा कुटीर उद्योगबाट उत्पादन हुने सरसामानको उचित बजार व्यवस्थापन गरी ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउनु्पर्छ । ठूला ठूला उद्योग र नयाँ नयाँ प्रविधिजन्य उत्पादन हाम्रो लागि लागत मैत्री हुन सक्दैन । त्यसैले हामीले जोड गर्नुपर्ने ससाना मझौला तथा हाते उद्योग नै हो । हाते उत्पादनको बजार न्यून हुनसक्छ । तर, हामीले हाते उत्पादनलाई फरक ढंगले बजार व्यवस्थापन गर्न सक्यौं भने विश्व बजारमा त्यसको छुट्टै मूल्य सिर्जना गर्न सकिन्छ ।

जस्तैः उच्च हिमाली क्षेत्रमा पनि अनवरत चल्ने कोबाल्ट घडीको नेपाली उत्पादन विश्व बजारमा निकै महंगोमा बिक्री हुने गरेको समाचार केही समयअघि सार्वजनिक भएको थियो । मानिस जब सम्पन्नशाली हुन्छ, उसको सोंच र सोखमा परिर्वतन आउँछ । उनीहरु बिस्तारै हातले बुनेका सामानहरुको प्रयोगलाई प्रतिष्ठाको विषय बनाउँछन् । यस्ता सामानहरुको उत्पादनका लागि हामीसँग पर्याप्त स्रोत साधन र जनशक्ति छ । हो अब हामीलाई चाहिएको नयाँ सोच र बजार हो । यस्तै नयाँ सोचले नयाँ चिजको जन्म दिन्छ ।

त्यसैले हामीले चाहेको समृद्धि प्राप्त गर्नका लागि ग्रामीण अर्थतन्त्रको सबलिकरण अपरिहार्य छ । यसका लागि ग्रामीण अर्थतन्त्रका अवयवहरु पहिचान गरी त्यसको प्रवद्र्धन र ग्रामीण अर्थतन्त्र र सहरी अर्थतन्त्रबीचको आर्थिक लिंक पहिल्याउनु अनिवार्य हुन्छ । जसका लागि अर्थतन्त्रको संरचनागत रुपान्तरण आवश्यक छ । गाउँलाई बेवास्ता गरेर देशको विकास संभव छैन । गाउँमा बस्ने मानिसहरुमा कुनै न कुनै सीप छ, उनीहरुको आफ्नै जीवन जिउने कला छ । सत्ता र राज्यस्रोतबाट प्राप्त हुने कुनै पनि सेवासुविधा नलिइकन पनि त्यहाँ मानिसको दैनिकी चलेकै छ, सबैले आफ्नो गुजारा गरेकै छन् । यसरी गरिने गुजारा पनि एक खालको कला हो । उद्यमशीलता हो । यसको प्रवद्र्धन र बजार व्यवस्थापन अहिलेको टड्कारो आवश्यकता हो ।

तर, दुःखको कुरा अहिलेको सहरी अर्थतन्त्र र बजारी उत्पादनले त्यस्ता गाउँले उत्पादनलाई वस्तु र गाउँलेहरुको ज्ञान, सीपलाई क्षमता मान्दैन । यस्तो विद्रुप मानसिकता बदल्न जरुरी छ । पारम्परिक रुपमा गरिने उत्पादन र आफ्नै शैलीमा जीवन जिउने कलालाई व्यवसायिकरण गर्न सकियो भने ग्रामीण अर्थतन्त्रको आधार खडा हुनेछ । हामीले गाउँको विकास र समृद्धिमै मुलुकको विकास र समृद्धि देख्नुपर्छ । त्यसैले देशको विकासका लागि गाउँको विकास अपरिहार्य छ । अब कहीँ न कहीँ गाउँ र सहरको अर्थतन्त्रलाई जोड्ने कडीको खोजी गर्नैपर्छ ।

तस्बिरहरुः मनिकर कार्की
manikar.nibartaman@gmail.com

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage