scheduleबिहिवार कार्तिक २९ गते, २०७५

मैले सबैभन्दा बढी सम्मान गर्ने मध्येका आदर्श मानव गुमाएँः डा. भट्टराई


काठमाडौं, १९ कात्तिक । वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गहिरो दुःख व्यक्त गरेका छन् ।

पछिल्ला राजनीतिक गतिविधिहरुमा दिवंगत तुलाधर र डा. भट्टराई नजिक देखिएका थिए । डा.भट्टराईले उनको निधनलाई नेपाली इतिहासका एक अनमोल रत्नको रुपमा चित्रित गरेका छन् ।
‘आदरणीय पदम दाई अब सदाका निम्ति हामीबाट विदा हुनुभो,’ उनले लेखेका छन्, ‘केही दिन पहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उहाँलाई अर्धचेत अवस्थामा भेट्दा हिसिला र मैले ‘पदम दाई’ भनेर बोलायौं । चिनेजस्तो गरेर केही चलमलाउनुभयो तर बोल्नसक्नुभएन ।’

उनले अगाडि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज दिउँसो नर्भिक अस्पताल पुग्दा वहाँ चीर निद्रामा पुगिसक्नु भएको रहेछ । वहाँलाई अन्तिम बिदाइ गरेर गरूंगो मन र वहाँसँगका चालिस बर्षका सहकार्यका सम्झना मनभरी संगालेर फर्कियौं ।’

तुलाधरले नेपालमा इन्द्रधनुषी राष्ट्रिय चरित्रलाई स्थापित गर्न योगदान दिएको डा. भट्टराईको बुझाई छ । ‘पद्मरत्न तुलाधर साँच्चि नै नेपाली इतिहासका एक अनमोल रत्न हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘नेपाल भाषा र नेपाल सम्वत् आन्दोलनबाट नेपालको इन्द्रधनुषी राष्ट्रिय चरित्रलाई स्थापित गर्न र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याउन वहाँको अग्रणी भूमिका नेपाली इतिहासले युगयुगसम्म सम्झिरहनेछ ।’

तुलाधर मानव अधिकार आन्दोलन र नेपालको मौलिक शान्तिप्रक्रियामा वहाँको विशिष्ठ भूमिका तथा सदैव सत्य र न्यायको पक्षमा उभिने दृढता, स्वतन्त्र र निष्कलंक छवी सदा स्मरणीय रहने भट्टराईले उल्लेख गरेका छन् ।

‘आज मैले आफ्नो जीवनमा सबैभन्दा बढी सम्मान गर्ने मध्येका आदर्श मानवलाई गुमाउनुपर्दाको पीडा भोगिरहेछु,’ उनले भने, ‘संसारमा धेरै मान्छे आउँछन् जान्छन् तर पद्मरत्न जस्ता आजीवन अरूको दु:खमा रूने र सुखमा हाँस्ने निस्वार्थ र स्वच्छ छवीका मान्छे विरलै मात्र भेटिनेछन् ।’

उनले श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्, ‘हार्दिक श्रद्धान्जली आदरणीय पदम दाई । गहीरो समवेदना शोकसन्तप्त भाउजु र सम्पूर्ण परिवारजन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob