scheduleबिहिवार कार्तिक २९ गते, २०७५

‘नयाँ शक्ति विचारधाराको अन्त्य होइन, पुनर्जन्मका लागि काम गरिरहेको छ’

डम्बर खतिवडा

केही दिन अघि एक राष्ट्रिय दैनिकमा एउटा लेख छापिएको थियो– वैकल्पिक दलका चुनौति र औचित्य वा यस्तै केही शीर्षकको । त्यो लेखमा नयाँ शक्ति पार्टी, नेपाल र विवेकशील साझा पार्टीलाई नयाँ र वैकल्पिक दलका रुपमा चित्रित गर्दै दुवै दलका सम्भावना र चुनौतिबारे चर्चा गर्न खोजेको पाएँ ।

लेखमा एकातिर नेकपा र नेकाजस्ता मूलधार पार्टीहरुको सुधार असम्भवझैं हुँदै गइरहेको अवस्थामा नयाँ र वैकल्पिक दल आवश्यक हुँदै गएको तर्क गरिएको थियो भने अर्कोतिर नयाँ शक्ति पार्टी दुई वर्ष पुग्दा न पुग्दै असफल भएको र विकेकशील साझा पार्टी पनि असफलताकै बाटोमा हिंड्न लागेको हुँदा नेपालमा वैकल्पिक दल प्रभावशाली ढंगले अस्तित्वमा आउने सम्भावना क्षीण रहेको निष्कर्ष निकालिएको थियो ।

यो लेख पढेपछि एकक्षण घोत्लिएँ । नेपालका विश्लेषक वा बुद्धिजीवीहरुमा यसप्रकारको द्वैध मनस्थिति किन बनेको होला ? एकातिर वैकल्पिक दलहरुको औचित्य र आवश्यकता छ भन्ने तर्क छ त्यहाँ । अर्कोतिर दुई वर्ष नपुग्दै नयाँ शक्ति असफल भएको तर्क गरिएको छ । जे चिज औचित्यपूर्ण छ त्यो कसरी असफल भएको मान्न सकिन्छ ? जे चिज अत्यावश्यक हुँदै गएको छ, त्यसको सम्भावना कसरी क्षीण हुन सक्छ ? त्यही लेखमा २२ वर्ष लगाएर पाकिस्तानमा इमरान खानको तेहरिक–ए–इन्साफ पार्टी पहिलो हुनुलाई चाहिँ ठूलो सफलताका रुपमा चित्रण गरिएको छ ।

पाकिस्तानमा २२ वर्ष लाग्नुलाई सफलता मान्नु र नेपालमा २ वर्ष नपुग्दै नयाँ शक्ति र विवेकशील साझा दुवै असफल भएको निष्कर्ष निकाल्नुबीच मैले कुनै संगति देखिन । तर त्यसले एउटा प्रश्नमा घोत्लिन मद्दत गर्‍यो । यस्तो मनोविज्ञान कसरी सृजना हुन्छ ? पाकिस्तानमा इमरान खानलाई सार्वजनिक परिचयको कुनै खाँचो थिएन । उनी सन् १९८२ देखि १९९२ सम्म निरन्तर १० वर्ष पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको कप्तान थिए । उनकै कप्तानीमा सन् १९९२ को क्रिकेटको विश्व कप पाकिस्तानलाई जिताएका थिए । यसले उनको ख्यातिलाई पाकिस्तानी जनताबीच असाध्यै बढाएको थियो । तथापि, उनले नयाँ दल निर्माण गरी राजनीतिमा उल्लेखनीय सफलता हासिल गर्न २२ वर्ष लाग्यो ।

नेपालका राजनीतिक विश्लेषकहरु भारतमा अरविन्द केजरीवाल र ‘आप’ को उदय, फ्रान्समा इमानुअल म्याक्रोन र ‘इन मार्के’ को उदयलाई आश्चर्यजनक र जादुगरी सफलता मान्दछन् । नेपालका नयाँ र वैकल्पिक दलहरुले पनि त्यसरी आश्चर्यजनक र जादुगरी सफलता हासिल गर्नु पर्ने अपेक्षा गर्दछन् । तर, जति आश्चर्यजनक वा आकस्मिक ठानिन्छ, त्यहाँ पनि त्यति सजिलै ती दलहरुको उदय भएको हैन । दलका रुपमा नभए पनि आपका मुख्य अभियन्ता अरविन्द केजरीवाल र मनिष सिसोदियाले करिब १४ वर्ष दिल्लीका गरिबहरुबीच अनेक सामाजिक आन्दोलन चलाएका थिए ।

म्याक्रोन आफू अघिका राष्ट्रपति फ्राँस्वा होल्याण्डका आर्थिक सल्लाहकार थिए । उनका आर्थिक सुधार नीतिहरुबारे होल्याण्डसँग मतभेद भएपछि राजीनामा गरी नयाँ दल गठन गरेका थिए ।
द्वैध मनस्थितिको आधार

नेपालका पुराना दल, तिनका नेता-कार्यकर्ता, विश्लेषक, बुद्धिजिवी र मतदाता भयंकर द्वैध मनस्थितिमा छन् यतिखेर । नेपालको राजनीतिक परिदृष्य सामाजिक स्कुलिङ्गको एक हिस्सा बन्ने गरेको छ । स्कूल कलेजदेखि नै अखिल र नेविसंघले कमिटी बनाउँछन् । कलिलो उमेरमा नै उनीहरु कांग्रेस कि कम्युनिष्ट बन्न पुग्छन् । त्यसपछि जीवनभरी उनीहरुलाई त्यही नै आफ्नो पार्टी हो भन्ने लाग्छ ।

अधिकांश बुद्धिजिवी, विश्लेषकहरु पनि यही पृष्ठभूमिबाट आउँछन् । मुस्लिम परिवारमा जन्मिएको बच्चालाई इस्लाम धर्म उत्कृष्ट लागेझैं, हिन्दू वा क्रिश्चियन धर्म मान्ने परिवारमा जन्मिएको बच्चालाई आ-आफ्नो धर्म नै ठीक र उत्कृष्ट लागेझैं नेपाल पनि मान्छेहरुलाई कांग्रेस, कम्युनिष्ट आफ्नो पार्टी लाग्न थाल्छ । यस्तो भावनालाई ‘मातृपार्टी भावना’ भन्ने गरिन्छ ।

नेपालमा एकातिर मातृपार्टी भावना असाध्यै बलियो छ । अर्कोतिर ती पार्टीहरुले देश र जनताका लागि राम्रो गर्न नसकेको यथार्थ पनि उनीहरु बीच लुकेको छैन । यस्तो परिस्थितिमा अधिकांश मान्छेहरु नयाँ वा वैकल्पिक दलका लागि योगदान गर्नुलाई धर्मच्यूत हुनुझैं ठान्दछन् । पार्टी परिवर्तन त भिन्नै कुरा, भोट परिवर्तनलाई नै नैतिक विषय मान्ने समाजमा लोकतन्त्र फस्टाउन सजिलो हुँदैन । नयाँ र सृजनशील प्रयासहरुले सजिलै सफलता पाउँदैनन् ।

डम्बर खतिवडा

लोकतन्त्र भनेको एजेण्डाकेन्द्रित मतदान हो । पार्टी केन्द्रित मतदान हैन । तर नेपालमा कस्तो बिडम्बना छ भने मान्छे एक खाले पार्टीमा बस्छन, अर्कोखाले एजेण्डा मन पराउँछन । जस्तो कि कांग्रेसमा खुमबहादुर खड्का वा अहिलेका महामन्त्री शशांक कोइराला संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्य चाहन्थे तर, राप्रपामा जाने वा राप्रपालाई भोट दिने आँट गर्दैनथे । कांग्रेस वा एमालेमा थुप्रै संघीयता विरोधी छन् तर उनीहरु चित्रबहादुर केसीको पार्टीमा जाने वा त्यसका लागि भोट माग्ने आँट गर्दैनन् । नेकपामा त्यस्ता धेरै मान्छे छन्, जो पहिचानमा आधारित प्रदेशको पुनर्सीमांकन चाहन्छन्, तर त्यो एजेण्डा बोक्ने नयाँ शक्तिलाई भोट दिन हिचकिचाउँछन् । फलतः नेपालमा मतदाता कुन एजेण्डामा भोट गर्दैछन् भन्ने वास्तविक अभिव्यक्ति नै हुन पाउँदैन ।

नेपालमा वैकल्पिक दलहरुको एउटा दायित्व यस्तो मतदाता शिक्षा फेर्नु पनि हो । मतदाताको सोच परिवर्तन गर्न प्रेरित नगरिकन नेपालमा राजनीतिक प्रवृति परिवर्तन गर्न सजिलो छैन । त्यो हो– मातृपार्टी भावना केन्द्रित मतदानलाई एजेण्डाकेन्द्रित मतदानमा फेर्न मतदाता शिक्षित गर्नु ।

नेपालमा कांग्रेस र कम्युनिष्ट पार्टीका थुप्रै मातृपार्टी भावना राख्ने मतदाता छन्, ती आफ्ना नेता र पार्टीबाट सन्तुष्ट पनि छैनन् । नयाँ पार्टीहरु जन्मेर पुरानालाई चुनौति दिए पुराना सच्चिन्थे कि भनेर आशा पनि गर्दछन् तर मातृपार्टी भावनाको कारण भोट फेर्न पनि सक्दैनन् । यही अन्तर्विरोधका कारण नेपालमा यस्तो द्वैध चरित्र देखिने गरेको छ ।

मतदातामा रहेको यो स्वभाव नै भारतमा आप वा फ्रान्समा इन मार्केझैं नेपालमा वैकल्पिक दल शक्तिशाली हुन नसक्नुको मुख्य कारण हो । यसमा नयाँ दलहरुका कमजोरीले पनि काम गरेको छ । तर त्यो मुख्य हैन । मुख्यतः हाम्रो पोलिटिकल स्कुलिङ्गको स्तर, सामाजिक शक्ति-सम्बन्धको स्थिति हो ।

यही प्रवृति फेर्न त वैकल्पिक दलहरु चाहिएको हो । तसर्थ, नेपालमा नयाँ वा वैकल्पिक दल स्थापित हुनु भनेको केवल एउटा नयाँ दल स्थापित हुनु मात्र हैन, लोकतन्त्रको नयाँ मूल्य मतदातासम्म विस्तार र सघनीकरण हुनु पनि हो । यो काम गाह्रो छ । केही समय लाग्छ । तर अपरिहार्य छ ।

कामरेडहरुको दुविधा
नेपालको कम्युनिष्ट आन्दोलन विल्कुलै फरक सोच र विश्व परिप्रेक्ष्यमा शुरुवात भएको थियो । बिल्कुलै फरक विन्दूमा आईपुगेको छ । त्यतिखेर सोभियत संघ थियो । चीनमा भर्खरै कम्युनिष्ट क्रान्ति भएको थियो । वर्गविहीन, राज्यविहीन, निजी सम्पतिविहीन, मुद्रा, अतिरिक्त मूल्य र बजारविहीन समाज बन्न सक्छ भन्ने विश्वास थियो । आज कामरेडहरुलाई राम्ररी थाहा छ कि त्यो बाटो गलत छ । त्यो हुनेवाला छैन । तथापि धेरै कमरेडहरु ‘होस मरोस्, लागि हालियो, अरु केही नभएपनि हँसिया–हथौडाको झण्डा ओडेर मर्ने हो’ भन्ने धारणा राख्दछन् ।

नेपालको पोलिटिकल मार्केटमा कम्युनिष्ट पार्टी भनेको याकको बट्टामा गणेश बिंडी बोकेर याक तानेको शान अनुभूति गरेजस्तै हो । ब्राण्डनिष्ठा कामरेडहरुले छोडन् सकिरहेका छैनन् । तर, यो कुरा प्रष्ट छ कि सारतत्वको हिसाबले नेपालको कम्युनिष्ट आन्दोलन अब कम्युनिष्ट आन्दोलन हैन ।

बजारशास्त्रमा एउटा शब्द हुन्छ– ब्राण्ड लोयालिटी अर्थात् ब्राण्डनिष्ठा । यस्को अर्थ हुन्छ– कुनै कम्पनीको कुनै प्रोडक्टको लत लागेपछि उपभोक्ता त्यसबाट मुक्त हुन नसक्नु । प्रोडक्टको गुणस्तर तलमाथि भए पनि, बजारमा अरु राम्रा प्रोडक्ट आए पनि त्यही लत लागेको वा बानी परेकोलाई नै आफ्नो प्रिय ब्राण्ड ठान्नु । अलिक नकारात्मक उदाहरण भयो, अन्यथा नलागोस् । मैले आफ्नो बाल्यकालमा त्यस्ता धेरै ‘याक’ चुरोटका सोखिनहरु देखेको थिएँ । कतिपय मान्छेहरु याक चुरोटको बट्टामा गणेश बिंडी हालेर बोक्थे । याकको बट्टाबाट गणेश बिंडी निकालेर सल्काउँदा पनि याक तानेझैं शानको अनुभूति गर्थे ।

नेपालको पोलिटिकल मार्केटमा कम्युनिष्ट पार्टी भनेको याकको बट्टामा गणेश बिंडी बोकेर याक तानेको शान अनुभूति गरेजस्तै हो । ब्राण्डनिष्ठा कामरेडहरुले छोडन् सकिरहेका छैनन् । तर, यो कुरा प्रष्ट छ कि सारतत्वको हिसाबले नेपालको कम्युनिष्ट आन्दोलन अब कम्युनिष्ट आन्दोलन हैन । यसले बहुदलीय व्यवस्था स्वीकार गरी सक्यो । सर्वहारा अधिनायकत्व छोडी सक्यो । नयाँ जनवादी क्रान्ति र माओवाद छोडिसक्यो । जनताको बहुदलीय जनवाद र प्रचण्डपथ पनि बाँकी छैन अब । क्रान्तिकारी भूमिसुधारको कार्यक्रम छोडिसक्यो । उत्पादन साधनको राष्ट्रियकरणको कुरा छोडी सक्यो । समाजलाई कम्युन प्रणालीमा फेर्ने कुरा छोडी सक्यो । शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण र व्यापारीकरण स्वीकार गरिसक्यो । त्यसलाई अब किन कम्युनिष्ट भनिरहनु पर्‍यो ?

सत्तारुढ नेकपाका पार्टी अध्यक्ष्य तथा प्रधानमन्त्री केपी ओलीले नै यो कुरा बारम्बार स्वीकार गरेका छन् । उनले भनेका छन्– ‘नेपालको कम्युनिष्ट पार्टी आइडोलोजिकल वा फिलोसोफिकल हैन, यो पोलिटिकल कम्युनिष्ट हो ।’ मैले कुनै आरोप लगाइरहेको छैन । ओलीले यो भनाईको खण्डन गरेको मलाई थाहा छैन । यसको अर्थ के हुन्छ त ? प्रष्ट छ– उनका लागि कम्युनिष्ट याकको बट्टामा बोकेको गणेश बिडीजस्तै हो ।

नेताहरुले बुझिसकेका छन् । कार्यकर्ता र मतदाता बुझ्दैनन् त उनीहरु के गरुन् ? जसरी बजारमा कुनै पनि कम्पनीले बिकुन्जेल ब्राण्ड फेर्दैन, त्यसरी नै नेताले पनि भोट आउँन्जेल पार्टीको नाम र राजनीतिक कार्यक्रम किन फेर्छ ? हेर्नु होला, जुन दिन नेपालका कम्युनिष्टहरु सोभियत संघ, पूर्वी युरोप वा पश्चिम बंगालको हालतमा हुनेछन्, अहिलेका कम्युनिष्टहरुमध्ये आफूलाई कम्युनिष्ट नै भनिरहने एकदुई हजार मान्छे पनि बाँकी रहने छैनन् ।

एक्काइशौं शताब्दिको समुन्द्र-मन्थन
हाम्रो हिन्दू मिथोलजीमा समुन्द्र-मन्थनको कथा छ नि, त्यो निक्कै रोचक छ । मार्क्सवादका सन्दर्भमा पनि यो लागू हुन्छ । कमरेडहरुको अर्को दुविधा के हो भने कम्युनिष्ट पार्टीमा रहुन्जेल कम्तीमा आफूलाई मार्क्सवादी त भन्न पाइन्छ ? कार्ल मार्क्स आफै मार्क्सवादी थिएनन् । उनले आफूलाई मार्क्सवादी भन्नेहरुलाई बारम्बार भनेका थिए कि यदि तिमीहरु मार्क्सवादी हौं भने म मार्क्सवादी हैन । उनले मार्क्सवादी भन्नेहरुको मनोदशालाई चित्रण गर्दै भनेका थिए– मैले जीवनभरी दुःख गरेर गोहीको दाँत रोपेको थिए, तर फल्ने बेलामा झिंगा फल्यो ।

मार्क्सका यी भनाईको अर्थ के हो त ? यसको अर्थ हो संसारमा मार्क्सको हुर्मत तिनैले बढी लिएका छन्, जसले आफूलाई सच्चा मार्क्सवादी भन्ने गर्दछन् । मार्क्सको त कुरा के थियो भने हरेक ‘थेसिस’ को ‘एन्टी–थेसिस’ जन्मिन्छ । नयाँ-नयाँ ‘सेन्थेसिस’हरु बनिरहन्छन् । यो क्रम निरन्तर चलिरहन्छ । किनकि मार्क्सवादमा आएर सृष्टिको अन्त्य हुँदैन । मार्क्सवाद नै सृष्टिको अन्तिम विचार हैन । मार्क्सवाद नै सृष्टिको अन्तिम थेसिस हैन, त्यसपछि पनि एन्टीथेसिस आउँछ । नयाँ सेन्थेसिस आउँछ ।

वैचारिक हिसाबले एउटा अर्को समुन्द्र मन्थनको बेला भइसकेको छ । एक्काइसौं शताब्दीका लागि प्रवोधनकालको लिवरल डेमोक्रेसी, औद्योगिक क्रान्तिकालको मार्क्सवाद मात्र पूर्ण छैन । पुग्दो छैन । नयाँ शक्ति कुनै वादको विरुद्धमा आएको पार्टी हैन । यो विवेकशील साझाजस्तो विचारधाराको अन्त्य अर्थात् ‘इन्ड फ आइडोलजी’ मा विश्वास गर्ने पार्टी हैन । हाम्रो विचारमा राजनीति भनेकै विचारधाराको संघर्ष हो । विचारधाराको अन्त्य कहिल्यै पनि हुँदैन । विचारधारा टाइम एड स्पेश रिलेसनमा नयाँ-नयाँ सेन्थेसिसमा आइरहन्छ । अर्थात् इन्ड हैन, विचारधारा रिबर्न हुन्छ । विचारधाराको अन्त्यमा लागि हैन, हामी विचारधाराको पुनर्जन्मका लागि काम गरिरहेका छौं ।

समुन्द्र मन्थन भनेपछि त्यसबाट धेरै चिज निस्कन्छ । कामधेनु, कल्पवृक्ष, अमृत पनि निस्कन्छ । कालकुट बिष पनि निस्कन्छ । कालकुट पनि कसै न कसैले पिउनै पर्छ । मलाई लाग्छ यतिखेर नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको भूमिका नै कालकुट पिउने हो । नीलकण्ठ हुने हो । उनीलाई कस्ले के गाली गर्न बाँकी राखेको छ ? शिवजीलाई निन्दा गर्ने हो भने अनेकरुपमा गर्न सकिन्छ । दिगम्बर भन्न सकिन्छ । गजाडी भन्न सकिन्छ । डा. भट्टराईलाई पनि एकथरीले पागलसम्म भनेकै छन् । मलाई लाग्छ– यो नीलकण्ठको भूमिका हो । हामी एक्काइशौं शताब्दिका लागि समुन्द्र मन्थन गर्दैछौं, त्यहाँ नीलकण्ठको भूमिका फेरि पटक पुजनीय हुने निश्चित छ ।

मार्क्सवादका चार रुप
विश्व समाजवादी आन्दोलन, श्रमिक आन्दोलन, शोषण र उत्पीडनविरुद्धको आन्दोलन हाम्रा कामरेडहरुले बुझेजस्तो एकांकी थिएन । भन्नलाई द्वन्द्ववादी भन्ने, बुझ्नलाई एकांकी बुझ्ने, अन्तर्विरोध त हुने नै भयो । समस्या त हुने नै भयो । नेपालमा लेनिन–स्टालिनको धारलाई मार्क्सवाद बुझियो । तर त्यसमा पनि कमरेडहरु आखिर टिक्न सकेनन् । व्यवहारमा उनीहरु बर्नस्टिन–काउत्स्कीको धारमा आए । भन्नलाई लेनिनिष्ट–स्टालिनिष्ट भन्ने । प्राक्टिस भने बर्नस्टिनिज्म–काउत्स्कीज्मको गर्ने । यसरी लामो जान सक्ने कुरै हुँदैन । यही समस्याले खान्छ नेपालका कम्युनिष्टहरुलाई । हेर्नु होला, आउँदो ५–१० वर्षभित्र अहिलेको सत्तारुढ नेकपाको उल्लेखनीयरुपमा पतन हुनेछ ।

हामी नयाँ शक्तिले भनेको कुरा चाहिँ के हो त ? हामी अहिले पनि द्वन्द्ववादी दर्शन मान्छौं । यही दर्शनका आधारमा एक्काइशौं शताब्दिका लागि एउटा अर्को सेन्थेसिस निर्माण गर्ने बेला भयो भन्ने ठान्छौं । यसका मुख्य ५ अंग हुन्छन् । कमरेडहरु त्रिआंगिकक सिद्धान्तको कुरा गर्छन् । हामी पञ्चांगिक सिद्धान्तको कुरा गर्दैछौं । आइस्टाइनको सापेक्षता सिद्धान्त, माक्स प्ल्ङ्याक र स्टेफेन हकिंसको क्वान्टम साइन्सपछि दर्शनमा एडजस्ट गर्नुपर्ने कुरा के हो, त्यो हाम्रो पहिलो सरोकार हो ।

दोस्रो– आर्थिक सिद्धान्त के हो ? तेस्रो लोकतन्त्रको प्रश्न कहाँ पुग्यो ? चौथो– समाजशास्त्रीय भाष्य के हो ? पाँचौं– साइकोलजीकल एस्पेक्ट के हो ? यी ५ प्रश्नले ५ वटा उत्तर ५ वटा नयाँ सिद्धान्तको जन्म गराउँछ । त्यो नै पञ्चागिंक सिद्धान्त हो । त्यो नै ‘५ स’ हो ।

शास्त्रीय हिसाबले भन्नु हुन्छ भने मार्क्सवादका ४ हाँगा थिए । एक– लेनिन–स्टालिनको एकदलीय प्रणाली अर्थात् सोभियत ढाँचा । त्यो त पतन भयो अब । त्यसमा फर्किन सकिन्न । फर्किने प्रयास पनि गर्नु हुन्न । पछाडि फर्किनु क्रान्तिकारी हैन, प्रतिगामी कुरा हुन्छ । अगाडिको पो बढ्नुपर्छ ।

दोस्रो– बर्नस्टिन–काउत्स्कीको संसदवादी धार । नेकपाका साथीहरु आज त्यही अभ्यास गर्दैछन् । यो संसदीय गोलचक्कर हो । यो कांग्रेसजस्तो हुने कुरा हो । आज नेकपा र नेपाली कांग्रेस बीचको भिन्नता समाप्त हुँदै गएको छ । किन त ? त्यो त्यही बर्नस्टिन–काउत्स्कीको धार समातेको कारणले हो ।

तेस्रो धार, मिखालय बाकुनिन र पिटर कोप्रटकिनको धार थियो जसलाई अनार्किष्ट भनिन्छ । यो धारको नेपालमा खासै प्रभाव छैन । धेरै चर्चा नगरौं । नयाँ शक्ति यो धारलाई पनि ठीक ठान्दैन ।

हामीले समाजवादी आन्दोलनको चौथो धारलाई विकास गर्न खोजेको हो । जसलाई ‘सामाजिक लोकतन्त्र’ वा ‘र्‍याडिकल डेमोक्रेसी’ भन्ने गरिन्छ । यो धार पनि त्यति बेलादेखि थियो । यो धारका महान हस्तीहरु इलिनियोर मार्क्स र रोजा लम्जेम्बर्ग थिए । यो एउटा रोचक संयोग हो– दुवै महिला । समाजवादी आन्दोलनमा पनि पितृसतात्मक सोच हावी थियो । अहिले पनि छ ।

लेनिन–स्टालिन पुरुष थिए । सोभियत संघको सत्ता जिते । उनीहरुको खुबै चर्चा भयो । बर्नस्टिन– काउत्स्की पुरुष थिए । जर्मनीको राजनीतिमा प्रभावशाली रहे । खुबै चर्चा भयो । बाकुनिन–कोप्रोटकिन पुरुष थिए । रुसी राजनीतिमा प्रतिपक्षी नेताजस्ता भए । उनीहरुको पनि अलिअलि चर्चा भयो ।

कम्युनिष्ट इन्टरनेशनल र लेवर मुभमेन्ट भिन्न हुँदै जानुको एउटा कारण इलिनियोर मार्क्स पनि थिइन् र बुढा मार्क्सको छोरी इलिनियोरलाई समर्थन थियो । यो यथार्थ चर्चा गर्ने साहस कति कमरेडहरुसंग छ ? अनि सिद्धान्तको कुरा गर्ने ?

इलिनियोर–रोजा महिला थिए । उनीहरुको धार के थियो ? विचार के थियो ? कसैले चर्चा गरेन । लेनिन र स्टालिनका टुक्रेटाक्रे लेख र भाषणहरुको संकलित रचना बने । विश्वका सयौं भाषामा अनुदित भए । इलिनियोर र रोजाका विचारको खोजी त तब हुन थाले जब सोभियत संघमा संकट आयो । रोजाले ‘पुँजीको संचयन’ भन्ने झण्डै मार्क्सको ‘पुँजी’ जत्रै ग्रन्थ लेखेकी छन् । नेपालका कति कमरेडहरुले त्यसको नाम सुनेका छन् वा पढेका छन् ? मलाई आशंका छ । ओली– प्रचण्डले पनि सायदै सुनेका, पढेका होलान् । अनि अल्पज्ञानमा उभिएर सिद्धान्तको कुरा गर्ने ?

इलिनियोर र रोजा
इलिनियोर मार्क्स कार्ल मार्क्सकी कान्छी छोरी थिइन् । जब मार्क्स जीवितै थिए– उनी मार्क्सको सेक्रेटरीजस्तो थिइन् । जीवनको उत्तरार्धमा कार्ल मार्क्सको सोच कस्तो थियो ? मार्क्स परिवारको संघठन र विघठनको कथा कस्तो थियो, त्यसका आधिकारिक दस्तावेजहरु हुन् इलिनियोर मार्क्सका डायरीहरु । सबै कुरा गर्न यहाँ संभव छैन । यति भनौं– अहिले बेलायतको जुन लेवर पार्टी छ, त्यो इलिनियर मार्क्सले भूमिका गरेको बेलायती खानी मजदुर आन्दोलन र पूर्ववर्ति इन्डेपेन्डेन्ट लेवोर पार्टीको उत्तराधिकारी हो । कम्युनिष्ट इन्टरनेशनल र लेवर मुभमेन्ट भिन्न हुँदै जानुको एउटा कारण इलिनियोर मार्क्स पनि थिइन् र बुढा मार्क्सको छोरी इलिनियोरलाई समर्थन थियो । यो यथार्थ चर्चा गर्ने साहस कति कमरेडहरुसंग छ ? अनि सिद्धान्तको कुरा गर्ने ?

रोजा लेक्जेम्बर्गले न लेनिनिज्म स्वीकार गरिन न काउत्सकीज्म । उनले भेनगार्ड पार्टीको सिद्धान्त कहिल्यै स्वीकार गरिनन् । राजनीति भोलेन्टरिज्म हो र मास बिनाको पार्टी तानाशाहीतिर जान्छ । तसर्थ, लेनिनिज्म तानाशाहीको अर्को रुपमा हो भनेर रोजाले त्यतिखेरै भनेकी थिइन् । उनले लोकतन्त्र बिना समाजवादको कहिल्यै कुनै भविष्य देखिनन् । विशेषतः नेपालका महिला कम्युनिष्ट नेतृहरुसँग मेरो आग्रह छ, एकपटक इलिनियोर पढ्नुस् । रोजाका रचनाहरु खोजेर पढ्नुस् । तपाईहरुले कम्युनिष्ट आन्दोलनमा नभेटिरहेको महिलामुक्ति त्यहाँ भेटिने छ । सोभियत वा चिनियाँ कम्युनिष्ट पार्टी र सत्ताको त्यति लामो इतिहासमा किन कुनै महिला कहिल्यै महासचिव, राष्ट्रपति वा प्रधानमन्त्री भएनन्, त्यसको उत्तर खोज्न सजिलो हुनेछ ।

कांग्रेसको भ्रम
कमरेडहरुलाई जस्तै नेपाली कांग्रेसका साथीहरुलाई अर्को ठूलो भ्रम छ– नेपालमा लोकतन्त्रवादी पार्टी एक मात्र कांग्रेस हो । कम्युनिष्टहरु पनि बहुदल मान्ने भए । राजावादीहरु पनि बहुदल मान्ने भए । तसर्थ, कांग्रेसको वैचारिक जित भयो !

हो, संसदीय लोकतन्त्रको प्रश्नमा कहिल्यै पनि कसैसँग सम्झौता नगरेको जस इतिहासले कांग्रेसलाई दिन्छ नै । तर त्यो त इतिहासको प्रश्न भइसक्यो । वर्तमानको प्रश्न, भविष्यको प्रश्न रहेन ।

इतिहास विस्तारै विस्मृत हुँदैजान्छ । त्यो वर्तमानको भविष्यको प्रभावशाली तत्व सधै रहँदैन । जहाँ लोकतन्त्र हुँदैन, त्यहाँ लोकतन्त्रवादी हुनु निश्चिय नै गौरवको कुरा हो । तर जहाँ लोकतन्त्र हुँछ, त्यहाँ अर्को प्रश्न आकर्षित हुन्छ, कस्तो लोकतन्त्र ? ह्वाट काइन्ड अफ डेमोक्रेसी भन्ने प्रश्न आउँछ ? तीन दशकदेखि कांग्रेस देशको मुख्य शासक पार्टी छ ? यो ३० वर्षभित्र नेपालको जे हालत रह्यो, के नेपालको लोकतन्त्रको सीमा यही हो ? यदि हो भने कांग्रेसको पतनको रहस्य यही कुराभित्र लुकेको छ ।

पछिल्लो कालखण्डमा विश्वव्यापी रुपमा लोकतन्त्र कसरी ‘डिपेनिङ’ भइरहेको छ, यो कांग्रेसीहरुले पढ्न आवश्यक छ । बुझ्न आवश्यक छ । लोकतन्त्रमा निर्वाचन प्रणालीको शुद्धता, आर्थिक पारदर्शीता, सहभागिता, समावेशिता र कर्मचारीतन्त्रको पुनर्गठनबारे कांग्रेसीहरुले पढ्न, बुझ्न र शोध गर्न जरुरी छ ? परम्परागत संसदीय लोकतन्त्रको एउटा सीमा नेपालले पार गरिसक्यो । कांग्रेसको आदर्श संविधान त सायद २०४७ को संविधान थियो । संवैधानिक राजतन्त्र र संसदीय लोकतन्त्र थियो । त्यो क्रस भयो ।

अझै नेपालमा धेरै कुरा हुन बाँकी छ । त्यो कांग्रेसले नचाहे पनि हुन्छ । हुनेवाला छ । त्यो कांग्रेसले रोक्न चाहे रोकिन्न । रोकिनेवाला छैन । जे चिज भएरै छोड्नेवाला छ, त्यसलाई कांग्रेसले किन रोक्न खोज्नु, किन छेक्न खोज्नु ? त्यो भनेको डिपेनिङ अझ डेमोक्रेसी हो, पारदर्शीता हो, सुशासन हो, शासकीय स्वरुपको परिवर्तन हो । प्रदेशको पुनर्सीमांकन हो । कर्मचारीतन्त्रको पुनर्ठगन हो । यी मुद्दामा कांग्रेस फेरि एकपटक र्‍याडिकल हुन जरुरी छ ।

अन्थथा हेर्नु होला, केही वर्षभित्र, त्यही ५–१० वर्षभित्र नेपाली कांग्रेस पनि कांग्रेस आईजस्तै हुन्छ । गान्धी–नेहरुको लिगेसीले मात्र जसरी भारतका कांग्रेस धानिएन, धानिदैन, बीपी र कोइरालाहरुको लिगेसीले मात्र पनि नेपालमा नेपाली कांग्रेस धानिदैन ।

गाई पल्टियोस् वा त्रिशुल सिक्काको दाम उत्तिनै हुन्छ
यो सबैले गम्भीरतापूर्वक सोच्ने विषय हो कि नेपालमा नेपाली कांग्रेस र नेकपा बीचको भिन्नता हराउँदै गयो । हिजो यी दुई फरक विचारका पार्टी मानिन्थे । आज भिन्नता देखिन्न । शास्त्रीय सिद्धान्तमा केही भिन्नता होला । ऐतिहासिक पृष्ठभूमिमा केही भिन्नता होला । तर व्यवहारमा खै भिन्नता ? शासकीय प्रणालीमा खै भिन्नता ? राज्य सञ्चालनको शैली र नीति तथा कार्यक्रममा खै भिन्नता ? यदि सबै कुरा उस्तै छ भने दुईवटा पार्टी किन चाहियो । हिजो हामीले त्यही भनेका थियौं– एमाले र माओवादीका सन्दर्भमा । ती मिले हुन्छ भनेका थियौं । मिले पनि ।

आज नेपालमा कांग्रेस र कम्युनिष्ट एउटै सिक्काका दुई पाटा भएका छन् । गाई पल्टिए पनि के ? त्रिशुल पल्टिए पनि के ? सिक्काको दाम त उत्तिनै रहने हो । कांग्रेसले जिते पनि के ? कम्युनिष्टले जिते पनि के ? देशको हालत त उस्तै रहने हो । अब कांग्रेस र नेकपा पनि मिले हुन्छ । अब यी पार्टीहरु बीचको भिन्नता समाप्त भइसक्यो । अब फरक प्रकारको प्रतिस्पर्धा र सीमाकरण हुनुपर्दछ । कांग्रेस–कम्युनिष्टको एउटा ध्रुव– पुरानो ध्रुव । नयाँ शक्ति लगायत नयाँ चाहनेहरुको एउटा ध्रुव– नयाँ ध्रुव । अबको राजनीतिक प्रतिस्पर्धा पुरानो र नयाँको बीचमा हुनुपर्दछ । विस्तारै त्यही हुन्छ अब । यस्तो समीकरण निर्माण नगरिकन देशले गति नलिने भो ।

विगत ३० वर्ष कांग्रेस र कम्युनिष्टहरुको शासनकाल हिसाब गर्ने हो भने झण्डै बराबर हुन्छ । देशको हालत जहिँकोत्यही छ । देशको प्रतिव्यक्ति आय १००० डलर मुस्किलले पुगेको छ । कुल उपभोगको ९४% आयात हुन्छ । ४०% परिवारको चुल्हो रेमिटेन्सले बल्छ । अल्पविकसित देशको सूचीमा पनि पुच्छारतिर छौं हामी । भ्रष्टाचार इन्डेक्समा नेपालको बेहाल छ । राजस्वले चालू खर्च धान्न छोडेको छ । करिब १३% बजेट वैदेशिक ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुन्छ । देशको यो हालत रहुञ्जेल कांग्रेसले जिते के हुन्छ ? कम्युनिष्टले जिते के हुन्छ ?

वैकल्पिक दलहरुको एकताको कुरा
धेरै मान्छेहरु यो सुझाव दिन्छन् कि वैकल्पिक दल एक हुनु पर्‍यो । कम्तीमा नयाँ शक्ति र विकेकशील साझा एक हुनु पर्‍यो । विशेषतः विदेशमा बस्ने साथीहरु, युवा मित्रहरु, फ्रेस मतदाताहरु बारम्बार यस्तो आग्रह गर्दछन । सतहबाट हेर्दा यो नराम्रो कुरा हैन ।

तर वैकल्पिक भनेर मात्र हुँदैन । मुख्य कुरा एजेण्डा हो । एजेण्डा मिलेन भने पार्टी मिलेर पनि के गर्ने ? के कुराको पैरवी गर्ने ? कुन मुद्धा उठाउने ? तसर्थ यो कुरा पनि अब बहसमा जानु परो । कस्तो बिकल्प ? कस्तो वैकल्पिक दल ? कांग्रेस–कम्युनिष्टको विकल्प त राप्रपाले पनि मै हुँ भन्ला । के त्यस्तो कुरा मान्न सकिन्छ ? किमार्थ सकिन्न ।

हामीले प्रगतिशील– लोकतान्त्रिक विकल्पको कुरा गरेका हौं । फ्रन्टिज्ममा आधारित अग्रगामी बिकल्पको कुरा गरेका हौं । तर विवेकशील साझाका साथीहरुको कुरा सुन्दा, कतिपय उनीहरुको एजेण्डा सुन्दा राइटिष्ट विकल्पको कुरा गरेजस्तो लाग्छ । उदारवादी विकल्पको कुरा गरेजस्तो लाग्छ । समाजवाद शब्दसँगै उहाँहरुलाई घृणा छ । लोककल्याणकारी राज्य भन्नु हुन्छ । नेपालको संविधानमा नै समाजवाद परिसक्यो । लोककल्याणकारी राज्यतिर फर्किने कुरा त राइटिष्ट कुरा भयो ।

युरोपमै पनि दुई खाले वैकल्पिक दलहरु छन् । जस्तो फ्रान्सको म्याक्रोन वा इन मार्के, त्यो अग्रगामी अर्थात् फ्रन्टिज्ममा आधारित विकल्प हो । तर जर्मनीको एल्टरनेटिभ पार्टी अफ जर्मनी जो त्यहाँको तेस्रो ठूलो दल हो, त्यो दक्षिणपन्थी दल हो । फ्रान्समा नै मारिन लिपेनको नेशनालिष्ट फ्रन्ट छ, त्यो दक्षिणपन्थी दल हो । मेरिन लि पेनले म्याक्रोनलाई बलियो टक्कर दिएकी थिइन् । राष्ट्रपति चुनावमा उनी दोस्रो भएकी थिइन । यस्तो पनि हुँदो रहेछ । त्यहाँ सबै पुराना दलको साइज एउटै चुनावमा खुम्चियो । प्रगतिशील दल पनि नयाँ, दक्षिणपन्थी दल पनि नयाँ अर्थात् म्याक्रोन र लि पेनको प्रतिस्पर्धा भयो ।

नेपालमा पनि कुनै दिन त्यस्तो हुन सक्ला । नयाँ शक्ति र विवेकशील साझाकै टक्कर हुने दिन आउला । कांग्रेस–कम्युनिष्ट–राप्रपाहरु अझ खुम्चेलान् । तर अहिलेकै अवस्थामा विचार र एजेण्डाका हिसाबले यी दुई दलको एकता असम्भव कुरा हो । विपरित ध्रुवको कुरा हो ।

म यो कुरा पूर्वाग्रहवश भनिरहेको छैन । तथ्य र तर्कका आधारमा भन्दैछु । ती तथ्य के हुन् त ? एकपटक हेरौं ।

नयाँ शक्ति र विवेकशील साझाका नौ फरक

एक– नयाँ शक्ति समाजवादी दल हो । माथि पनि मैले मार्क्सवादको चौथो धार र्‍याडिकल डेमोक्रेसी वा सामाजिक जनवादको कुरा गरेँ, इलिनियोर मार्क्स र रोजाको कुरा गरेँ, त्यो लिगेसीमा हामी एककाइशौं शताब्दिका लागि नयाँ समाजवादको नयाँ भाष्य समुन्नत समाजवादको भाष्य निर्माण गर्न चाहन्छौं । उहाँहरु लोककल्याणकारी राज्यको कुरा गर्नुहुन्छ । त्यो प्रवोधनयुगको लिवरल डेमोक्रेसीको लिगेसीमा आधारित छ ।

दुई– अहिलेको संविधानलाई हामीजस्ताको त्यस्तै मान्दैनौं । हामी शासकीय स्वरुपमा परिवर्तन चाहन्छौं । उहाँहरु यो मुद्दामा मौन हुनुहुन्छ ।

तेस्रो– हामी समावेशी लोकतन्त्रमा विश्वास गर्दछौं । उहाँहरु योग्यतातन्त्रमा विश्वास गर्नु हुन्छ । यी वैचारिक हिसाबले विपरित कुरा हुन् ।

चौथो– हामी आदीवासी, जनजाति, मधेसी, महिला, मुस्लिमलगायत सीमान्तकृत समुदायको सवलीकरण चाहन्छौं । ओलीजस्तै उहाँहरु यी मुद्दालाई जातीय प्रश्न ठान्नु हुन्छ ।

पाँचौं– हामी नागरिकताको सवालमा महिला र गैरआवासीय नेपालीहरुलाई समान अधिकार हुनुपर्दछ भन्दछौं । आंगिक नागरिकताको सवालमा महिला र पुरुषबीच भेद हुनुहुन्न भन्ने नयाँ शक्तिको धारणा हो । गैरआवासीय नेपालीलाई ३ पुस्तासम्म नेपालमा राजनीतिक अधिकार दिनुपर्छ भन्ने नयाँ शक्तिको धारणा हो । यी सवालमा उहाँहरु यात प्रष्ट हुनुहुन्न यात सकारात्मक हुनुहुन्न ।

छैठौं– हामी ७ प्रदेशको पुनर्सीमांकन चाहन्छौं । हाम्रो धारणा अहिले पनि १० प्लस १ हो । उहाँहरु यो सवाल सुन्न पनि चाहनुहुन्न । संघीयतालाई बाध्यतावश स्वीकार गरेजस्तो गर्नु हुन्छ ।

सातौं– हामी सुशासनका लागि संरचनात्मक परिवर्तनको कुरा गर्दछौं । उहाँहरु इमान्दारिताको कुरा गर्नु हुन्छ । इमान्दारिता व्यक्तिगत कुरा हो । एकदुई व्यक्ति आर्थिक हिसाबले इमान्दार भएर देश बन्ने भए कांग्रेसमा नै किशुनजी हुनुहुन्थ्यो । कम्युनिष्टमा नै मनमोहनजी हुनुहुन्थ्यो । किन भएन त ? किनकी हामीसँग सिष्टम भएन । हामीसँग सुशासनका सिष्टमजन्य मुद्दाहरु छन् । जस्तो कि हामी अख्तियारको संवैधानिक पुनर्संरचना चाहन्छौं । अख्तियार सेवाको गठन चाहन्छौं । राजनीतिक दलहरुलाई ‘स्टेट फन्डिङ’ चाहन्छौं । ब्यूरोक्रेसीलाई एक्सनल युनिट सिष्टममा ढाल्न चाहन्छौं । संरचना बिनाको इमान्दारिता वा इमान्दारिता बिनाको संरचना दुवै काम लाग्दैन ।

आठौं– इतिहासको मुल्यांकन कसरी गर्ने भन्ने हो । हामी गणतन्त्रमा पार्टी बनाउँदैछौं । तसर्थ, हामीलाई राणा, पञ्चायत र शाहशाही विरुद्ध भएका लोकतन्त्रिक आन्दोलन चाहे ती सशस्त्र हुन् वा निशस्त्र त्यसको विरोध गर्ने, सहिद, घाइते, बेपत्ता योद्धाहरुको अपमान र निन्दा गर्ने नैतिक अधिकार छैन । उहाँहरु त्यो गर्नुहुन्छ । यो मासु चाहिँ मीठो मानेर खाने, खसी काटेको चाहिँ गलत हो भन्ने जस्तो द्वैध चरित्र हो । कि त गणतन्त्र गलत हो, लोकतन्त्र गलत हो भन्नु पर्‍यो । अन्यथा इतिहासको, सहिदहरुको बलिदान र योगदानको गलत व्याख्या गर्नु भएन ।

नवौं– नयाँ फेसको प्रिभिलेज उहाँहरुलाई छ । तर फेस मात्र सबै थोक हैन । राजनीतिमा एजेण्डाको महत्व उत्तिकै हुन्छ । विवेकशीलको मात्र कुरा भए त्यो युवाहरुको फ्रेस इनिसिएसन थियो होला । तर अरु साथीहरुको हकमा त्यो मान्न सकिन्न । म आफैलाई युवा भन्दिनँ । ५० हाराहारी आइपुगे । तर त्यहाँ त मभन्दा जेठाजेठा मान्छेहरु देख्छु । त्यसलाई कसरी युवाहरुको फ्रेस इनिसियएन मान्न सकिन्छ ?

यदि भन्दाभन्दै पनि सम्भावनाका ढोका सधैलाई बन्द गर्नु हुन्न । मुख्य कुरा त रियलाईजेशन आउनु पर्‍यो ।

अन्त्यमा, नेपालमा वैकल्पिक दल अनिवार्य छ । अपरिहार्य छ । त्यो समयको आवश्यता हो । युगको औचित्य हो । कसैले रोकेर रोकिन्न । व्यक्तिगतरुपमा भन्नु हुन्छ भने मेरो सम्पूर्ण बाँकी जीवनको अभिष्ट नै त्यही हो । यही काममा बाँकी जीवन समर्पण गर्ने हो । धेरै चाहिँदैन, केही सय मान्छेहरुले जीवन समर्पण नगरिकन नयाँ राजनीतिक शक्ति बन्दैन । नयाँ राजनीतिक शक्ति बिना नेपालको समृद्धिकरणको युगको नेतृत्व हुँदैन ।

यदी कसैलाई लाग्छ कि हुन्छ– त्यो व्यवहारिक रुपमा पुष्टि होस्, मान्न तयार छौं । यदि नेकपाको दुई तिहाईको सरकारले आउँने ५ वर्षभित्र प्रतिव्यक्ति आय ५००० डलर कटाओस्, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको निजीकरण अन्त्य गरोस्, निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गरोस्, कमिसन र भ्रष्टाचार रोकोस्, भूमिसुधार कार्यक्रम लागू गरेर भूमिहीन, सुकुम्बासी, हलिया, कमैयाको समस्या हल गरोस्, हाम्रो पार्टी नबनोस् केही छैन ।

लि क्वान युले ३० वर्षमा सिंगापुरलाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुर्‍याए । सिंगापुरको प्रतिव्यक्ति आय ५८, ००० डलर पुग्न लाग्यो, त्यहाँ विपक्षी दल नै नरहने अवस्था आयो । यहाँ पनि नेकपाले त्यो गरेर देखाओस । हाम्रो पार्टी सकियोस्, केही छैन । पार्टीभन्दा त देश ठूलो हो नी । पार्टीभन्दा जनताको समृद्धि र खुशीयाली ठूलो हो नी । तर, हेर्नु होला, नेपालमा कांग्रेस–कम्युनिष्टबाट त्यो मरे हुने छैन । उहाँहरुको सोचमा नै खोट छ । तसर्थ, नेपालमा वैकल्पिक दल त बन्छ, बन्छ । त्यसमा कसैले कुनै शंका नगरे हुन्छ ।

(नयाँ शक्तिका प्रवक्ता तथा प्रशिक्षण विभाग प्रमुख खतिवडासँग कुराकानीमा आधारित)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob