scheduleबिहिवार कार्तिक २९ गते, २०७५

भाटभटेनीबाट भइरहेको दूधजन्य खाद्य वस्तु बिक्रीवितरणमा रोक


काठमाडौं, २१ कात्तिक । सरकारले भाटभटेनी सुपरमार्केटबाट भइरहेको दूधजन्य खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले आज दिउँसो महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो ।

भाटभटेनी सुपर मार्केटबाट बिक्री हुने दूधजन्य खाद्यवस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले जानकारी दिए । तिहारमा अत्यधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले आज अत्याधिक बिक्री वितरण हुने महाराजगंजस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्य वस्तुको पनि परीक्षण गरेको हो ।

परीक्षणमा दूधजन्य वस्तु गुणस्तरहिन पाइएको थियो । यसैगरी विभागले आज तीनवटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगञ्जस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो ।

अनुगमनका क्रममा तीनवटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ । रङको प्रयोग सन्तोषजनक रहेको पाइएपनि खाद्य वस्तुमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाई पसललाई सचेत गराइएको पनि विभागका महानिर्देशक कर्णले बताए ।

सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्य–मुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ । सरकारले विगत २ महिनायता तरकारी, दूध, मासु, खानेपानी, तेललगायतका दैनिक उपभोग्य खाद्य वस्तुको बजार अनुगमन गरी गुणस्तरहिन खाद्यवस्तु उत्पादकहरुको कारखानामा शीलबन्दी समेत गर्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob