scheduleआइतवार भाद्र २९ गते, २०७६

नेपाल बाल संगठनमा बेथिति, विधानविपरित कौडीको मूल्यमा पदाधिकारीलाई जग्गा भाडामा


काठमाडौं, २४ कात्तिक । अनाथ, टुहुरा र संरक्षणको अभावमा रहेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने संगठन नेपाल बाल संगठनमा बेथिति मौलाएको छ ।

संगठनको केन्द्रीय पदाधिकारीको संलग्नतामा नेपाल बाल संगठन काठमाडौंको स्वामित्वमा रहेको जग्गा विधानविपरित कौडीको मूल्यमा भाडामा लिएको पाइएको छ । संगठनको केन्द्रीय महासचिव गणेशभक्त श्रेष्ठले आफू शेयर सदस्य रहेको फेयर इन्टरनेशनल प्राइभेट लिमिटेड कम्पनीको नाममा बाल संगठन काठमाडौंको टेकुमा रहेको एक रोपनी ११ आना जग्गा सस्तो मूल्यमा भाडामा लिएर अकूत फाइदा लिइरहेको खुलासा भएको छ ।

सुरुमा नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौं र सितापाइला बस्ने नरेन्द्रलाल प्रधानलाई ०७१ पौषदेखि लागू हुनेगरी जग्गा भाडामा दिने सम्झौता भएको कागजातले देखाउँछ । असाध्यै कम रकममा जग्गा भाडामा दिने सम्झौतापछि प्रधानलगायत नेपाल बाल संगठनका केन्द्रीय महासचिव गणेशभक्त श्रेष्ठ समेत संस्थापक भएर ०७३ असोज ५ गते फेयर इन्टरनेशनल प्रालि दर्ता गरिएको भेटिएको छ । हाल कम्पनीको शेयर एक शेयर सदस्यको रुपमा स्व. नरेन्द्रलाल प्रधानका छोरा निकेश प्रधान रहेका छन् ।

सम्झौता गरिएको नरेन्द्रलाल महासचिव गणेशभक्तका ससुरा हुन् भने निकेश सालो । कम्पनी दर्ता लगत्तै त्यसअघिको सम्झौता अक्षरशः पालना हुनेगरी सम्झौता कम्पनीको नाममा सार्ने निर्णय बाल संगठन काठमाडौं जिल्ला शाखाले ०७३ मंसिर १० गते गरेको पाइएको छ ।

पछिल्लो समय महासचिव श्रेष्ठले आफ्नो पत्नी अनिता प्रधानको नाममा शेयर नाम सारी गर्ने प्रक्रिया अगाडि बढाएका छन् । श्रेष्ठले शेयर नामसारीका लागि ०७४ भदौ १ गते बाल संगठन काठमाडौंमा निवेदन दिएको र भदौको १६ गते संगठनका काठमाडौं सभापति भगवान शाक्यले स्वीकृतिको पत्र दिएको अभिलेखबाट देखिन्छ ।

यसबारे नेपाल बाल संगठनका महासचिव गणेशभक्त श्रेष्ठलाई सम्पर्क गर्दा उनले आफू संगठनमा जिम्मेवारीमा आउनु अगाडि नै सम्झौता भइसकेको बताए । उनले भने, ‘म आउनुअगाडि नै यो सम्झौता भइसकेको रहेछ । म महासचिवको जिम्मेवारीमा आइसकेपछि यसलाई मिलाउन खोजिरहेको छु ।’

उक्त जग्गामा २० वटा सटर निर्माण गरेर भाडामा लगाइएको छ । टेकुको पुलपारि पेट्रोलपम्पसँगै रहेको २० वटा सटरबाट बार्षिक ५० लाखभन्दा बढी आम्दानी भइरहेको संगठनका एक कर्मचारीले जानकारी दिए । ‘अबोध बालबालिकाको हितका लागि स्थापित संस्थाको सम्पत्तिबाट मासिक लाखौं नाफा खानेगरी विधानविपरित संगठनकै पदाधिकारीको संलग्नतामा सम्पत्तिको दुरुपयोग भइरहँदा पनि अध्यक्षलगायत सम्बन्धित निकायको मौनता उदेकलाग्दो छ,’ उनी भन्छन् ।

नेपाल बाल संगठनको विधान २०४९ को धारा १६(२)(ङ) मा संगठनबाट सञ्चालित ठेक्का पट्टा वा व्यवहारमा हिस्सा लिन बन्देज गरिएको छ । यसरी बन्देज गरिएको व्यवहार गरेमा पदाधिकारी तथा सदस्यहरुको कार्यकाल समाप्त हुने विधानमा स्पष्ट प्रावधान रहेको छ । ‘अध्यक्षज्यूलाई पनि यो सबै कुरा थाहा छ, उहाँको मौनताले उहाँहरु दुवैजना यो कार्यमा मिल्नुभएको पुष्टि हुन्छ,’ संगठनका एक कर्मचारीले बताए ।

महासचिवको प्रत्यक्ष संलग्नतामा संस्थाको सम्पत्ति दुरुपयोग भएकोबारे अख्तियार र महिला तथा बालबालिका मन्त्रालयमा समेत उजुरी परिसकेको छ । प्रचलित कानुन र विधानअनुसार महासचिव श्रेष्ठलाई तत्काल पदमुक्त गरिनुपर्ने भए पनि सम्बन्धित निकायबाट पहलकदमी लिएको पाइएको छैन ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ मा पनि संगठनले नेपाल सरकारबाट स्वीकृति भएको विधान बमोजिम नै काम कारबाही गर्नुपर्ने स्पष्ट कानुनी प्रावधान रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage