scheduleआइतवार भाद्र २९ गते, २०७६

काठमाडौंमा कुकुरमाथि छुरा प्रहार-कुकुरको उपचार हुँदै, पीडकको घर घेराउ

काठमाडौंं, २७ कात्तिक । काठमाडौं महानगर–११ बबरमहल गणेशस्थान नजिक एक स्थानीयले सडकमा रहेको कुकुरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । सडकमा बस्ने कुकुरले आफ्नो घर नजिक आएर दिशा पिसाब गरेपछि आक्रोशित बनेका उनले कुकुरलाई खेदी खेदी चक्कु प्रहार गरेका हुन् । प्रत्यक्षदर्शी २ जना स्थानीयलाई उधृत गर्दै पशुअधिकारका लागि काम गरिरहेको आथा नेपालकी कार्यक्रम संयोजक शोभा श्री भन्छिन्, ‘कुकुर मन नपरेपछि उनले यस्तो हर्कत गरेका हुन् ।’

उनले आइतबार बिहान साँढे ६ बजेतिर कुकुरमाथि हतियार प्रहार गरेका हुन् । यो कुरा स्थानीयले देखिरहेका थिए । हतियार प्रहार भएपछि यो खवर वडाध्यक्ष हीरालाल तण्डुकारकोमा पुग्यो । खबर पाएपछि वडाध्यक्षले—आथा नेपालकी कार्यक्रम संयोजक शोभा श्रीलाई फोन गरेर तत्काल उपचार गर्न आग्रह गरे । आथा नेपाल, सद्गुरु सेवा कुटुम्बको पशु अधिकार हेर्ने कार्यक्रम हो । यससँग काठमाडौं महानगरपालिकाले पशु जोखिम व्यवस्थापनमा काम गर्न सम्झौता गरेको छ ।

एकछिनमा पशुचिकित्सकसहितको टोली बबरमहल पुग्यो । त्यहाँ कुकुरको अवस्था सडकमा राखेर उपचार गर्न सकिने खालको थिएन । पेटदेखि खुट्टासम्म लामो काटिएको चोट थियो । त्यसपछि कुकुरलाई थप उपचारका लागि काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर बुढानिलकण्ठ लगियो । अहिले कुकुरको त्यहीँ उपचार भएरहेको छ ।

कुकुरमाथि स्थानीयबाट भएको यो व्यवहार ज्यादतीपूर्ण भएको जनाउँदै सोमबार ३५ जना पशु अधिकारकर्मीले ३ घण्टा पीडकको घर घेराउ गरे । यस क्रममा घरबाट कोही पनि बाहिर निस्किएनन् । त्यस क्रममा पुगेकी आथा नेपालकी कार्यक्रम संयोजक शोभाश्री भन्छिन्, ‘वडाको रोहवरमा हामीले मुचुल्का उठाएका छौं । दोषीमाथि कारवाही गर्न महानगरीय प्रहरी वृत्त अनामनगरमा जाहेरी दिएका छौं । पीडकलाई कारवाही नहुञ्जेल दबाबका कार्यक्रम गरिरहन्छौं ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage