scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

बा …

बासुदेव भट्टराई
बासुदेव भट्टराई

तपाईंको मटुमा यमराजले बाण हान्दा
तपाई पानी-पानी भन्दै लडिरहँदा
तपाइको छेउ हुन पाइन ।

अहँ अझै पत्यार लागेन
चकमन्न रात चुक घोप्ट्याएजस्तो
र पनि बाटो देख्ने कस्ता यमराज ?

आऊदै थिएँ एक बचन सुन्न
‘बाबु ! आयौ ?’

अहँ दिएन

टपक्क टिपी लिएर गए !
पच्छ्याउँदै थिएँ, तैपनि भेट्छु कि भनी
निष्ठुरी रहेछन् यमराज !

बा … बा …
उठनुस् !
छामे तपाईंका हात
चिसा थिए हिउँजस्तै !
मलाई उफारेर
आकाश पुर्‍याउने
ति पञ्जाहरू अब चिसिएका थिए !

मलाई हलोको अनौ समाउन
सिकाउने ती औंला
अनौजस्तै कडा भैसकेका थिए !

मुसारेँ तपाईको अनुहार
हजारौं पटक उठनुस् उठनुस् भनेर
अहँ तपाईले सुन्नु भएन,
किनकी तपाईलाई यमराजले
लगिसकेका थिए !

लाखौंपटक बोलाए ,
रोएँ , कराएँ , बिलौना गरेँ, चिचियाएँ
अहँ सुन्नु भएन ।
तपाईका सुन्ने कान बन्द भईसकेका थिए ।

तपाईको अन्तिम स्वास प्रस्वास
अवरुद्ध हुँदा
तपाईलाई भेट्ने कष्ट गर्दै
नागबेलि बाटो पार गर्न मलाई
तपाईलाई स्वर्ग जानजस्तै
अफट्यारो थियो !

मेरा यि हातहरूले तपाईको
चम्किलो अनुहार
देखी आगो सल्काउँदा
बा …
मेरा आँसुका ढिक्का
तछाडमछाड गर्दै
तपाईको चितामा तप्प तप्प चुईएर
आगो निभाउन खोज्दै थिए ।
मेरा आँसुले तपाईको चिता
जल्न दिएका थिएनन् ।

तर …
तपाईको शरीर
हेर्दै गर्दा खरानी भयो
मलाई वामे सर्दा सम्हालेका हात जले
मलाई गुडमा ढकमक्क छोपेर राख्ने
पखेटा जले ।
अजंगको जिम्मेवारीको भारी बोक्ने
काँध जल्यो ।

हेर्दा हेर्दै , सम्पूर्ण चिता खरानी भयो ।
म नितान्त बेसहरा भएँ
म टुहरो भएँ ।
अर्थात् हामी टुहुरा भयौं ।

दमको रोगी आमाको हातको
ति राताम्मै चुरा फुटाउँदा
कति एक्लिनु भयो होला ?

बा …
तपाई यो संसार छोडेर गएको
दुई वर्ष बित्यो
हरेक साँझ तपाईको फोनको
प्रतिक्षा अझै छ,
लाग्छ यतै कतै मेरो सामु
हामी माझ हुनुहुन्छ

लाग्छ तपाई फर्किनु हुनेछ,
तर भ्रम ।
सत्य जन्म अनि मृत्यु
तर मन मान्दैन ।
हामी सँगै हुनुहुन्छ ।

-नर्थ क्यारोलाइना, अमेरिका ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob