scheduleमगलवार पौष ३ गते, २०७५

नयाँ पार्टी कि वैकल्पिक राजनीति ?

केशव दाहाल

पछिल्लो समय नयाँ शक्ति र विवेकशील साझा पार्टीका फरकहरुमाथि केहि टिकाटिप्पणीहरु पढ्न पाइयो । बिषेशतः नयाँ शक्ति पार्टीका साथीहरुले यो बिषयमा व्यक्त गर्नुभएका विचारहरुले ध्यानाकर्षण गर्‍यो । त्यही सन्दर्भबाट यो संक्षिप्त आलेख तयार गरिएको छ ।

नयाँ शक्ति पार्टीका साथीहरुको विचार हेर्दा लाग्छ- साथीहरु विवेकशील साझा पार्टीसँग अलिक गतिलै राजनीतिक टकरावको प्रयत्नमा हुनुहुन्छ । साथीहरुका आलेख, सामाजिक सञ्जालका स्टाटस र प्रतिकृयाहरु हेर्दा लाग्छ नयाँ शक्तिका लागि विवेकशील साझा ठूलै प्रतिस्पर्धी पार्टी हो । यसलाई ठेगान नलगाई नयाँ शक्ति बन्दैन । बुझ्न कठिन छैन कि, वैकल्पिक पार्टीको स्पेसलाई विवेकशील साझाले जसरी लिईरहेको छ त्यसले नयाँ शक्तिमा पारेको मनोवैज्ञानिक प्रभावलाई साथीहरु छोपछाप पार्न चाहनुहुन्छ । त्यसका लागि विवेकशील साझा पार्टीलाई वैचारिक हमला गर्नासाथ राहत मिल्छ भन्ने साथीहरुको बुझाई होला । तर यी दुई पार्टीहरु वैचारीक टकरावमा जाने कि सहकार्य गर्ने ? यसमा स्पष्ट बनौं । यद्यपि, बिषय उठिनै सकेको हुनाले केहि बिषयहरुमा लेख्नु आवश्यक ठानेको छु ।

फाइल फोटो

सुरुमै स्पष्ट गर्न चाहान्छु कि म नयाँ शक्ति पार्टी छोडेर विवेकशील साझा पार्टीमा समावेश भएको हुँ । म नयाँ शक्ति पार्टीको संस्थापक हुँ । एउटा सुन्दर पार्टी बनोस् भन्ने अभिष्टबाट सो पार्टीको नेतृत्वमा रहेर काम गरेको हुँ । मैले नयाँ शक्ति पार्टी छोड्दै गर्दाका ति दिनहरु सम्झनामा आउछन् ।

साथीहरुले अत्यन्तै प्रेमसाथ भन्नुभयो नयाँ शक्ति पार्टी नछोड्नु होला । मैले साथीहरुलाई भनेँ, ‘मेरा केही प्रश्नहरु छन् ।’ निश्चयनै मेरा प्रश्नहरु थिए । जसलाई मैले पार्टीमा निरन्तर उठाउने गरेको हुँ । हामी केहि साथीहरुले पार्टीले लिएका सैद्धान्तिक र वैचारिक अडानहरुका बारेमा लुम्बिनी बैठकमा पनि कुरा उठाउने तयारी गरेका थियौं । सो बिषयमा संयोजकसँग पनि छलफल गरेकै हो । मुलतः प्रश्नहरु थिए- हामी कस्तो पार्टी बनाउदै छौं ? यो माओवादीकै भाइ पार्टी बन्छ कि नयाँ पार्टी हुन्छ ? हामीले निर्माण गर्न चाहेको सन्देश, भाषा, आशा र उत्प्रेरणा के हो ? हामीले चाहेको अन्तरपार्टी लोकतन्त्र के हो ? हामी कसरी उन्नत र वैकल्पिक पार्टी बनाउछौं ? विचार, राजनीति र संगठन प्रणालीमा हामीले दिन चाहेको योगदान के हो ?

‘लुम्बिनी बैठकमा पार्टीको समग्र समिक्षा हुने र पार्टीलाई नयाँ गतिदिने’ संयोजकको प्रस्तावमा हामी ढुक्क थियौं । तर लुम्बिनी बैठकले हाम्रा प्रश्नहरुको जवाफ खोज्न सकेन ।

के हो वैकल्पिक पार्टी ? हामीले एउटा उन्नत, अझ धेरै लोकतन्त्रमा विश्वास गर्ने, प्रगतिशील र जनमुखी पार्टी बनाउन चाहेका हौं । त्यो हाम्रो ऐतिहासिक प्रस्ताव र प्रयत्न हो । संविधानसभाबाट नेपालको संविधान ०७२ जारी भएपछि हामी सबैले निकालेको निश्कर्ष हो कि नेपाली राजनीतिको नयाँ युग प्रारम्भ भयो । अबको युग विकास, समृद्धि र सामाजिक न्यायको हो । यो नेपालको सन्दर्भमा नयाँ कार्यभार हो ।

अतः पुराना पार्टीहरुले नयाँ कार्यभार पूरा गर्न सक्दैनन् । पुरानाहरु हजारपटक जोडिएपनि ति पुरानै हुन्छन् । आजको आवश्यकता नयाँ, ताजा, उन्नत र सुन्दर वैकल्पिक पार्टीको हो । यहाँ नयाँ पार्टी भनेको फगत् थप एक नयाँ पार्टी भनेको होईन । बरु पुरानाभन्दा नितान्त फरक विचार, संगठन शैली, संस्कृति, जीवनपद्धति र कार्यदिशासहितको पार्टी भनेको हो । अझ धेरै लोकतन्त्रमा विश्वास गर्ने पार्टी भनेको हो । सदाचार र सुशासनले सज्जित पार्टी भनेको हो । नदीजस्तो कञ्चन र चलायमान पार्टी भनेको हो ।

यो पुराना पार्टीहरुसँगको प्रस्पिर्धाबाट होईन बरु त्यो भन्दा निकै माथिल्लो उचाइबाट निर्माण हुने पार्टीको परिकल्पना हो । मलाई लाग्छ वैकल्पिक र सुन्दर पार्टी निर्माण आजको ऐतिहासिक कार्यभार हो । यो ऐतिहासिक कार्यभार पूरा गर्न असाधारण प्रयत्न गर्नुपर्छ । के यो असाधारण प्रयत्नमा नयाँ शक्ति गम्भीर छ ? कि पूर्वमाओवादीहरुको असन्तुष्टिहरुको संगठन मात्र हुन्छ ? यो प्रश्न नयाँ शक्तिका लागि महत्वपूर्ण हुन्छ भन्ने मेरो बुझाई हो ।

असाधारण प्रयत्न भनेको के हो ? पुरानो शैली नछोड्ने, पुराना सम्बन्धहरु नछोड्ने, पुराना ज्ञानहरुलाई समाई राख्ने, पुरानो ईतिहासको मायाजालमा बस्ने, पुराना संकथनमा रमाउने, पुरानै भाष्य सञ्चार गर्ने, पुरानै घेरामा सुरक्षित हुने तरिकाले असाधारण प्रयत्नको पुष्टि हुँदैन । असाधारण प्रयत्न भनेको साधना हो । नयाँ बन्ने साधना । अनावश्यक पुरानाहरु त्याग गर्ने साधना । अनेकौं नयाँहरुलाई स्वीकार गर्ने साधना । नयाँ संस्कृति बनाउने साधना । राजनीतिमा नयाँ ज्योती बाल्ने साधना । निहित शक्ति र स्वार्थको लालसा त्याग गर्ने साधना । प्रश्न आउछ, के नयाँ शक्तिको नेतृत्वले त्यो असाधारण प्रयत्नलाई स्वीकार गर्छ ? नयाँ शक्तिले गरेका प्रयत्नहरुले कुन विन्दूमा पार्टीलाई साँच्चै वैकल्पिक बनाउन योगदान गरेका छन् ?

नयाँ शक्तिले विचार निर्माणमा वाम लोकतन्त्रलाई पार्टीको मुख्य प्रस्ताव बनायो । तर वाम लोकतन्त्रलाई पुष्टि गर्ने छलफलहरु कहाँ भए ? पार्टीले ‘५ स’ को कार्यदिशा भन्यो तर त्यो कसरी नयाँ हो ? आफुले विचित्रै नयाँ भनेको भ्रममा रमाउनासाथ यसलाई समृद्ध गर्ने हुटहुटी सकिने रहेछ ।

त्यसैले, साथीहरुले आफैलाई परीक्षण गर्ने प्रश्नहरु बनाएको कतै देखिंदैन । भन्नलाई प्रत्यक्ष लोकतन्त्र भन्ने तर कार्यकर्तालाई सार्वभौम नबनाउने के हो ? प्रश्न आउँछ, अन्तरपार्टी लोकतन्त्रलाई प्रवर्द्धन गर्न नयाँ काम के भए ? पार्टीले सदाचार, सुशासन र उन्नत राजनीतिक संस्कार निर्माणका लागि के नयाँ दियो ? यी प्रश्नहरु नयाँ शक्तिलाई तेजोवध गर्न उठाईएको होईन । बरु वैकल्पिक पार्टीहरुलाई अझ वैकल्पिक बनाउन उठाईएको हो । अन्यथा नयाँ पार्टी गठन गरेको ऐतिहासिकता र उपादेयता पुष्टि हुँदैन । यो संकटमा नयाँ शक्ति पार्टी फसेको छ भन्ने मलाई लाग्दछ ।

साथीहरुले भनेजस्तै नयाँ शक्ति पार्टी वाम लोकतान्त्रिक पार्टी बनोस् भन्ने चाहना हो । वाम भन्नाले प्रगतिशील आन्दोलनसँगको पक्षधरता हो । लोकतान्त्रिक भन्नाले आजको पुस्ताको लोकतन्त्रको कुरा हो । तर नयाँ शक्ति वाम लोकतान्त्रिक पार्टी हो कि परम्परागत लोकतन्त्रवादी, माओवादी, पहिचानवादी पार्टी ? मलाई लाग्छ, नयाँ शक्ति कम्युनिष्ट जस्तो पनि, कांग्रेस जस्तोपनि भन्ने द्विविधामा फसेको छ । त्यसैले त कहिले समाजवादी फोरमसँग एकता, कहिले कम्युनिष्टसँग एकता त कहिले कांग्रेससँग सहकार्यको गोलचक्करमा फस्छ ।

अझ पछिल्लोपटक पार्टीको लुम्बिनि बैठकको प्रतिवेदनले भन्छ, ‘दर्शनशास्त्रीयरुपमा ‘द्वन्द्वात्मक भौतिकवादी विश्लेषण पद्धति’लाई अवलम्बन गर्ने तर त्यसलाई हिगेल र कार्ल मार्क्सको युगभन्दा अझै अगाडि बढेर क्वान्टमीय विज्ञानको युगका ज्ञानहरु समेत संश्लेषण गरेर ‘द्वन्द्ववादको समृद्धीकरण’ गर्ने । कुरा ठिकै होला । तर त्यो प्रयत्नलाई अगाडि बढाउन भएका सोध, अनुसन्धान र अन्तरकृयाहरु के छन् ? आफ्ना प्रारम्भिक प्रस्तावहरुलाई पुष्टि गर्न आवश्यक वैचारिक काम नगर्ने तर मनोगतरुपमा नयाँ नयाँ बिषयमा प्रवेश गर्ने समस्यामा नयाँ शक्ति फसेको देखिन्छ ।

अझ पछिल्लो समय पार्टीको वर्ग आधार बनाउने, अन्य राजनीतिक पार्टीहरुलाई मित्र वा विरोधी पार्टीको रुपमा व्याख्या गर्ने र अन्तरविरोधहरुलाई तीव्र बनाउने परम्परागत कम्युनिष्ट शैली पार्टीमा देखिन्छ । मलाई लाग्छ- यस्ता विरोधाभाषहरुले नयाँ शक्तिलाई अझ परम्परावादी र एकलकाँटे बनाउँदै लगेको छ । आत्मरत्तिमा रमाउने पार्टी बनाउँदै छ । बृहत्तर सम्वाद र सहकार्यलाई पर धकेल्दै छ ।

लुम्बिनीमा पारित दस्तावेजले भन्छ कि पार्टी विचारको नीतिगत तथा कार्यक्रमिक अभिव्यक्तिलाई ‘५ स’का रुपमा प्रष्ट्याएका छौं । … पार्टीले एक विशिष्ट र मौलिक प्रकारको पञ्चागिंक सिद्धान्त निर्माण गर्न सफलता हासिल गरेको छ’ । ‘पञ्चागिंक सिद्धान्त’ के यो नयाँ शक्तिले विकास गरेको सिद्धान्त हो ? यो सिद्धान्तको विकासका लागि भएको सोध के हुन् ? कसरी यो सिद्धान्त बन्यो ?

तपाईहरुको दावी छ कि ‘नेपालका अरु कुनै पनि पार्टीहरु वैचारिक विकासक्रमका हिसाबले यति व्यवस्थित, वैज्ञानिक र सुस्पष्ट छैनन्’ । यो दावीको आधार र औचित्य कसरी पुष्टि हुन्छ ? यो प्रश्न मैले नयाँ शक्तिलाई कमजोर बनाउन गरेको होईन, बरु मनोगत अहंकारबाट निकालेर वैज्ञानिक आधारहरुको खोजी गर्न उत्प्रेरित गरेको हो । म आफैं कुनैबेला त्यो पार्टीको महत्वपूर्ण नेता भएको कारण यो मेरो आफ्नै कमजोरीको स्वीकारोक्ति पनि हो ।

तपाईहरु देशव्यापी संगठन बिस्तार गर्न सकेकोमा गर्व गर्नुहुन्छ । निश्चय नै त्यो उपलब्धि होला । तर गत निर्वाचनमा कतिपय स्थानमा संगठित सदस्यहरु भन्दा कम मत कसरी प्राप्त भयो ? कसरी स्थानीय संगठनहरु वैकल्पिक पार्टी निर्माणको साधन बन्दैछन् ? कि बाधक छन् ? मलाई लाग्छ हारेका, थाकेका, माओवादी संस्कार र संस्कृतिले थिलथिलो भएका स्थानीय संगठनहरु ऊर्जा नभई उल्झन हुन् । संगठन बनाउने तर नेता र कार्यकर्ताहरुलाई वैकल्पिक बनाउन नसक्ने समस्याले संगठनहरु बोझ बन्दैछन् । यसर्थ नै म लगायत केहि साथीहरुले वैकल्पिक पार्टी निर्माणका लागि लुम्बिनी बैठकमा सबै कमिटिहरु विघठन गर्ने प्रस्ताव गरेका हौं ।

यसको अर्थ पुराना भद्दा, परम्परागत संगठन र शैलीहरुबाट पार्टीलाई मुक्त गरौं र नयाँ सुरुवातमा जाउँ भन्ने थियो । गाँउ-गाँउसम्म परम्परागत संगठन संरचना, शैली र संस्कृतिलाई यथावत राखेर कसरी नयाँ पार्टी बन्छ ? नयाँ शक्तिका साथीहरुलाई मेरो अनुरोध छ कि पुरानो कुराले नयाँलाई अपिल गर्दैन । पुरानो संरचना नभत्काई नयाँका लागि ‘स्पेस’ बन्दैन ।

लुम्बिनी दस्तावेजमा भनिएको छ कि ‘पार्टी गठनको २ वर्ष नपुग्दै ४ जना सह–संयोजकले पार्टी छोडे । मूल नेतृत्वले नाजायज महत्वाकांक्षा, गुनासा, धम्की र बार्गेनिङ सुन्न समय खर्चिनु पर्ने भयो ।’ निश्चयनै पार्टी निर्माणको प्रारम्भिक दिनमा धेरै साथीहरु पार्टीमा संलग्न थिए । तर विस्तारै या त उनीहरु विभिन्न वहानामा कारबाहीमा परे या त पार्टी छोड्दै गए । किन पार्टीमा पटक-पटक महत्वपूर्ण जिम्मेवारी लिएकाहरु नै बाहिरिए ? किन परम्परागत शैलीको कारबाहीको दण्डा चलाईयो ?

जानेहरु मात्र दोषी हुन् कि पार्टी संस्थापनको पनि दोष छ ? यो प्रश्नमाथि सन्तुलित छलफल भयो होला भन्ने म विश्वास गर्दछु । अन्यथा भनौं कि नयाँ शक्तिमा जो जति आए सबै खराब आए । त्यसो हो भने खराब ल्याउनेहरुले जिम्मेवारी लिनुहोला । त्यसो हो भने तपाईहरु भित्रै समस्याहरु छन् । त्यसलाई सुधार गर्नुहोला ।

नयाँ शक्तिका साथीहरुलाई थाहै छ कि संगठनलाई कसरी वैकल्पिक बनाउने भन्नेमा केहि छलफलहरु भएका थिए । साथीहरुको प्रस्ताव थियो पार्टीमा सदस्यहरु सार्वभौम हुनेछन् । पार्टीभित्र शक्ति सन्तुलनको अभ्यास हुनेछ । जनसंगठनहरुमा फरक गरिने छ । विद्यार्थी संगठनहरु हुनेछैनन् । निजामति कर्मचारी, शिक्षक र प्राध्यापकहरुका संगठन बनाईने छैन । तर भयो के ? सुशासन, सदाचार, पारदर्शिता र जवाफदेहिता कहाँ छ ? एक व्यक्ति एक पद के भयो ? आफ्नै प्रस्तावहरुलाई कार्यान्वयन गर्न नसक्ने र अरुलाई धारेहात लगाउनुको के अर्थ हुन्छ ?

मलाई लाग्छ, वैकल्पिक पार्टी निर्माण एक बृहत्तर प्रयोग हो । यसका लागि संगठन, आन्दोलन, सम्वाद, ध्रुवीकरणहरु संगसंगै चल्नुपर्छ । अतः बृहत्तर ढाँचाको वैकल्पिक राजनीतिक फोरम बनाई यसको बहसलाई बिस्तारित गरौं भन्ने मेरै प्रस्ताव थियो । समान विचार राख्ने पार्टी, व्यक्ति र समूहबीच सहकार्य गर्नुपर्छ । यस्तो सहकार्यले वैकल्पिक पार्टी निर्माणमा सहयोग गर्छ । कम्युनिष्टहरु बृहत्तर पार्टी एकतामा छन् भने वैकल्पिक भन्नहरुबीच पनि सम्वाद हुनु आवश्यक छ ।

हामी आजको भाषा, आजको सपना, आजको भाष्यको कुरा गरिरहेका छौं । नयाँ शक्तिको समस्यानै यहि हो कि ऊ हिजोका तथ्यहरुमा त खुबै चर्को कुरा गर्दछ तर आजको भाषा बुझ्दैन । आजको भाषा नबुझ्ने पार्टी आजका लागि कसरी वैकल्पिक हुन्छ प्रश्न यहि हो ।

मुलतः नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टीबीच सम्वाद र सहकार्य बढाऔं भन्ने मेरो आसय थियो । निश्चय नै यस्तो ध्रुवीकरण सजातिय हुनुपर्छ । वैकल्पिक पार्टी निर्माणका लागि निकै ठूलो धक्का (विग पुस) चाहिन्छ । त्यसले गति र उर्जा दिन्छ । तर अहिले त उल्टो साथीहरु फरक खोतल्न पो लाग्नुभएछ ।

मेरो अनरोध छ, साथीहरु व्यक्तिलाई प्राधिकार बनाउन नलागौं । अरुलाई होचो देखाएर आफू अग्लो हुन सकिंदैन । राजनीतिमा व्यक्ति बलियो हुनेकुरा महत्वपूर्ण हुँदैन । वैकल्पिक राजनीति बलियो हुनुपर्छ । त्यसका लागि काम गरौं ।

यद्यपि, यसो भनिरहदा विवेकशील साझा पार्टी र नयाँ शक्तिका बीचमा मिल्नै नसक्ने केहि अन्तरहरु छन् भन्ने नयाँ शक्तिका नेताहरुको भनाई देखियो । मिल्नै नसक्ने हो भने मिल्नुपर्छ भनेर कसले कर गरेको छ र ? आफ्ना कार्यकर्ताहरुलाई थामी राख्न साथीहरुले यस्तो प्रपञ्च गर्नुभएको हो भने अनुरोध छ त्यसो नगरौं । अरुमाथि वैचारिक भ्रमहरु सृजना गरेर आफु अब्बल हुन सकिँदैन । यहि आह्वान साथ साथीहरुले उठाएका केहि अन्योलहरुबारे बुँदागत रुपमा केहि भनाईहरु राख्न चाहन्छु-

एक– नयाँ शक्तिका साथीहरु भन्नुहुन्छ नयाँ शक्ति समाजवादी दल हो । समाजवादी हुनु नेपालको सन्दर्भमा के नयाँ कुरा हो र ? समाजवादी दल त कांग्रेस पनि हो । समाजवादी हुनु कुनै वैकल्पिक कुरा होईन । तालपरे राप्रपा पनि आफुलाई समाजवादी भन्ला । संविधानमै राज्य समाजवादउन्मुख हुने भनिएको छ । तर राज्य नियन्त्रित समाजवादको पक्षमा विवेकशील पार्टी छैन । निश्चय नै विवेकशील साझा पार्टीले कल्याणकारी राज्य भनेको छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ, सार्वजनिक यातायात र सामाजिक सुरक्षालाई राज्यको दायित्व बनाउनुपर्छ भनेको छ । हामीले समन्वयकारी अर्थव्यवस्था भनेका छौं । हामी प्रगतिशील, सहभागितामुलक लोकतन्त्रमा विश्वास गर्ने, सुशासित पार्टी हौं ।

यसैले त केहि अगाडि डा. गोविन्द केसीको आन्दोलनमा विवेकशील साझा पार्टीले सहभागिता जनाएको थियो । समाजवादको नाममा ढोगी राज्यको पक्षपोषण गर्नुभन्दा उन्तन र लोककल्याणकारी राज्यको पक्षमा रहनु उन्नत र प्रगतिशील कुरा हो भन्ने हाम्रो विचार हो । भन्दैमा जे पनि हुनेभए हामी नयाँ शक्तिलाई भाइ माओवादी भनौंला । नयाँ खाले कम्युनिष्ट पार्टी भनौंला । अर्को कुरा गहिरो लोकतन्त्र, सेवक सरकार र कल्याणकारी राज्य भन्नु प्रवोधनयुगको लिवरल डेमोक्रेसीमा आधारित छ भन्ने नै साथीहरुलाई लाग्छ भने ठिकै छ । मार्क्सवादी भएर अनेकौं भ्रमहरु सिर्जना गर्न हामीलाई आउँदैन । भ्रमहरु छर्न नआउनु हाम्रो कमजोरी हो भने यस्ता कमजोरीहरु स्वीकार गर्न हामीलाई कुनै लाज लाग्दैन ।

दुई– नयाँ शक्तिका साथीहरु भन्नुहुन्छ- अहिलेको संविधानलाई हामीजस्ताको त्यस्तै मान्दैनौं । हामी शासकीयस्वरुपमा परिवर्तन चाहन्छौं । वहाँहरुको आरोप छ कि विवेकशील साझा पार्टी यो मुद्दामा मौन छ । कस्ले भन्छ हामी त्यस्तो छौं ? कुन तथ्यले साथीहरुले यस्तो आरोप लगाउनु भयो ? हामी यो संविधानप्रति आलोचक छौं । तर हामी अहिलेनै यो संविधान फेर्न धेरै रडाको नगरौं भन्ने पक्षमा छौं । संविधान बनाउने, भत्काउने, असहमतिहरु जोरजार गर्ने र राज्यलाई निरन्तर आन्दोलनको चक्रव्यूहमा फसाउने हाम्रो नियत छैन ।

हामी आजसम्मका आन्दोलनहरुको उपलब्धिलाई संस्थागत गरौं भन्ने पक्षमा छौं । हामी यहि संविधानबाट गर्न सकिने कामहरु गर्दैजाउँ भन्ने पक्षमा छौं । संविधानलाई फेरिरहने निहुँमा विकास र समृद्धिको गतिमा भाँजो हालिबस्ने कुरा अहिले नगरौं भन्ने हाम्रो मान्यता हो ।

हामीलाई थाहा छ संविधान वेद, कुरान, बाईबल होईन । यो फेरिन्छ । यो फेर्नकै लागि मधेसका मुद्दाहरु, जनजातीका मुद्दाहरु, शासकीयस्वरुपमा परिवर्तन, नागरिकता, समावेशीकरण जस्ता थाती बिषयहरुमा बहस गर्दैजाऊँ । भोलि खास समयमा जनताले विधिसम्मत प्रक्रियाबाटै यसलाई फेर्नेछन् । त्यो प्रक्रियामा हामीले सहजीकरण गर्नुपर्छ । तर निश्चित विधि र प्रक्रियाभन्दा अलग बसेर निरन्तर आन्दोलनको मनोविज्ञानमा खेल्ने स्वार्थको राजनीति गर्न हामीलाई कुनै रुचि छैन ।

तेस्रो– साथीहरुले आफुलाई समावेशी लोकतन्त्रमा विश्वास गर्ने पार्टीको रुपमा चित्रित गर्नुभएको छ । समावेशीकरण, पहिचान र जातीवादका भेदहरु सायदै वहाँहरु बुझ्नुहुन्छ । तर किन समावेशीकरण भन्दा जातिवादमा साथीहरुको रुझान धेरै छ ? सायद यस्ता बिषयहरुमा बुझेर पनि पूर्वाग्रही हुनु वहाँहरुको समस्या हो । रह्यो विवेकशील साझा पार्टीको कुरा । यो पार्टीको केन्द्रीय समितिमा हेर्नुहोला । त्यहाँ हामीले जातजाती, उमेर र क्षमताको समावेशी अभ्यास गरेकै छौं । गत स्थानीय निर्वाचनमा काठमाडौंमा साझा पार्टीले मधेसी महिलालाई उपमेयर उठायो । अरु कस्ले यस्तो हिम्मत गरे ? विवेकशील पार्टीले युवा महिला रन्जु दर्शनालाई उठायो । दुवै पार्टीहरु मिलेर बनेको विवकशील साझा पार्टीको प्रतिवद्धता अहिले पनि त्यहि हो । तर राजकाज सञ्चालनको बिषयमा समावेशिताको प्रयोग गर्दा क्षमता र समावेशीताको सन्तुलन आवश्यक छ भन्ने हामीलाई लाग्दछ । त्यसैले हामीले समतामुलक समृद्धिको नारा बनाएका छौं । बरु साथीहरुलाई समावेशीकरणमा धेरै भ्रम नपाल्न र जातिवादलाई छोड्न म अनुरोध गर्न चाहन्छु ।

चौथो– नयाँ शक्तिका साथीहरुले पहिचानको बिषयमा केहि भ्रमहरु छर्न खोज्नुभएको देखिन्छ । स्पष्ट पारौं- हामी आदीवासी, जनजाति, मधेसी, महिला, मुस्लिमलगायत सीमान्तकृत समुदायको सवलीकरण चाहन्छौं । हामी अन्धराष्ट्रवादको पनि विपक्षमा छौं । हामी देशप्रेमीहरु हौं । हामी जातीय पहिचानको उग्रताको पनि विपक्षमा छौं । पहिचानलाई जातीय विभाजनको हतियार बनाउने र खेल्ने कुरामा हामी नयाँ शक्तिभन्दा फरक छौं । हामीलाई त्यो फरक हुन मन्जुर छ । त्यसमा हाम्रो दोष देख्नुहुन्छ भने साथीहरु हामी त्यो दोष स्वीकार गर्दछौं ।

पाँचौं– नागरिकताको सवालमा हाम्रा दोषहरु साथीहरुले उठाउनु भएको देखियो । हुँदैनभएको दोष देख्नु साथीहरुको दृष्टिदोष हो । हामी महिला र पुरुषका बीचमा सम्पूर्ण समानताको पक्षमा छौं । कुनै पनि बहानामा नेपाली नागरिकलाई नागरिकतामा विभेद नहोस् भन्ने हाम्रो चाहना हो । तर सस्तो लोकप्रियताको नाममा यो बिषयमा असन्तुलित हुन हामी अस्वीकार गर्दछौं ।

छैठौं– नयाँ शक्तिका साथीहरु भन्नुहुन्छ, हामी ७ प्रदेशको पुनर्सीमांकन चाहन्छौं । हाम्रो धारणा अहिले पनि १० प्लस १ हो । विवेकशील साझा पार्टी यो सवाल सुन्न पनि चाहनुहुन्न । मा फगर्नुहोला साथीहरु तपाईहरुले भनेजस्तै हामी यो सवाल सुन्नै नचाहाने भै सकेका छैनौं । हामी सुन्न तयार छौं । हामीले संघीयतालाई बाध्यतावश स्वीकार गरेको पनि होईन । नेपाली जनताका आन्दोलनका सबै उपलब्धिहरुलाई हामी स्वीकार गर्दछौं । तपाईहरु जतिनै । तर अहिलेनै पुनः पुर्नसीमांकनको बिषयलाई उठाएर बिषयलाई गिजोल्नुपर्छ भन्ने हामीलाई लाग्दैन । भविष्यमा यो बिषयमा जनताले निर्णय गर्नेछन् । जस्तो कतिपय देशहरुमा सीमांकनका बिषयहरु निरन्तर चलिरहेका छन् । तातो तातो कुरा गरेर परिस्थितिलाई भड्काउन र पार्टीलाई सस्तो लोकप्रियतामा फसाई अरुभन्दा फरक देखिन हामीलाई कुनै हतारो पनि छैन । चाख पनि छैन ।

सातौं– साथीहरुको आरोप छ कि नयाँ शक्ति सुशासनका लागि संरचनात्मक परिवर्तनको कुरा गर्दछ । विवेकशील इमान्दारिताको कुरा गर्छ । त्यसो होईन । हामी संरचनाको एकांकि कुरामात्र गर्दैनौं । हामी दुवै कुरा गर्दछौं । हामी संरचनागतरुपमा अख्तियारलाई बलियो बनाउन चाहन्छौं । हामी सम्पत्ति सुद्धिकरणलाई बलियो बनाउन चाहन्छौं । तर हामी व्यक्तिलाई पनि शुद्ध, ईमान्दार हुनुपर्छ भनेर भनिरहेका छौं । बलिया संरचनाहरुले मात्र काम गर्दैनन् भन्ने हाम्रो ठहर हो । साथै, व्यक्ति ईमान्दार भएर मात्र हुँदैन । व्यक्ति र संरचनाको प्रभावकारी सन्तुलनले मात्र भ्रष्टाचारको अन्त्य हुन्छ भन्ने हाम्रो कुरा हो । यो अभ्यास विवेकशील साझा पार्टीले आफ्ना सात मूल्यमान्यताहरुमा स्पष्ट गरेको छ । बरु आवश्यक परे साथीहरुले पनि यसबाट सिक्न सक्नुहुन्छ ।

आठौं– इतिहासको मूल्यांकन कसरी गर्ने बिषयमा साथीहरुले हामीलाई शंका गर्नुभएछ । शंका त हामी पनि तपाईहरुलाई गरौंला । तर तथ्यहरु शंकाभन्दा बलिया हुन्छन् । स्पष्ट गरौं- निश्चयनै हामी माओवादी होईनौं । हामी ईतिहासका सबै आन्दोलनहरुलाई उसरी नै, उत्तिकै महत्व दिदैनौं । बरु आन्दोलनका गुण, दोष, त्यसले समाजमा पारेका प्रभाव, त्यसले हाम्रो जनजीवनमा पारेका उपलब्धि र क्षतिहरुको आधारमा मुल्यांकन गर्दछौं । तर नेपालका सबैखाले प्रजातान्त्रिक आन्दोलन, गणतन्त्रका आन्दोलन, सामाजिक न्याय र अधिकारका आन्दोलनहरुलाई हामी सम्मान गर्दछौं । हामीले पनि ती आन्दोलनहरुमा भाग लिएका छौं र रगत पसिना बगाएका हौं । त्यसैले आन्दोलनका योद्धा र सहिदहरुप्रति हाम्रो सम्मान छ । त्योम्संमानलाई जोगाँउदै अगाडि बढौं भन्ने हाम्रो विचार हो । इतिहासको ब्याज खाएर आजको राजनीति हुँदैन । इतिहासलाई सम्मान गरेर, इतिहासबाट सिकेर अगाडि बढ्नुपर्छ । हामी सहिदहरुको अवमूल्यन गर्दैनौं । तर सहिदहरुको खेती गर्ने र सत्ताको कुर्सिमा बसेर त्यसको फसल काट्न चाहने ढोगी राजनीतिको भने विपक्षमा छौं ।

नवौं– जहाँसम्म नयाँ पुस्ताको कुरा छ हामी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दछौं । यो उमेरको मात्र कुरा होईन । यद्यपि, नेपालमा क्रियाशील पार्टीहरुमा सबैभन्दा धेरै युवाहरु आवद्ध पार्टी विवेकशील साझा पार्टी हो । विवेकशील साझा पार्टीमा ४० बर्षभन्दा भन्दा तलका सायद ७० प्रतिसत सदस्यहरु होलान् । केन्द्रीय समतिमा ३० बर्ष भन्दा कमउमेरका साथीहरुको उपस्थिती रहरलाग्दो छ । हामी आजको भाषा, आजको सपना, आजको भाष्यको कुरा गरिरहेका छौं । नयाँ शक्तिको समस्यानै यहि हो कि ऊ हिजोका तथ्यहरुमा त खुबै चर्को कुरा गर्दछ तर आजको भाषा बुझ्दैन । आजको भाषा नबुझ्ने पार्टी आजका लागि कसरी वैकल्पिक हुन्छ प्रश्न यहि हो ।

साथीहरु, निश्चयनै नमिल्नेकुरा खोतल्दै जाने हो भने धेरै छन् । परिवार, समाज, सबैतिर यस्तै हुन्छ । हाम्रा विविधताहरु व्यापक छन् । हाम्रा स्कूलहरु फरक छन् । जसले हामीबीच अनेक विमतिहरु निर्माण गर्दछन् । मुख्य प्रश्न नमिल्ने कुरा उदिनी बस्ने कि मिल्ने कुराहरुको खोजी गर्ने भन्ने हो ।
मुलतः आजको आवश्यकता वैकल्पिक पार्टी बनाउने भन्ने हो । यसका लागि हामीले अझ धेरै वैचारिक, राजनीतिक, संगठनात्मक कामहरु गर्न बाँकी छ । त्यसैले कुरा नेपाली राजनीतिमा नयाँ योगदान गर्ने कि कुण्ठित भएर छिद्रहरु खोतल्ने भन्ने हो । मलाई लाग्छ- छिद्र नखोजौं । बरु नेपालको प्रगतिशील, अझ लोकतान्त्रिक र वैकल्पिक राजनीति कस्तो हुनुपर्छ ? यसमाथि बृहत्तर दायराबाट छलफल गरौं । अन्यथा कसैको आत्मरतिका लागि एकथान नयाँ पार्टी बनाउने प्रयत्न गर्नु समयको बर्बादी मात्र हुनेछ ।

यो पनि पढ्नुहोस्-
‘नयाँ शक्ति विचारधाराको अन्त्य होइन, पुनर्जन्मका लागि काम गरिरहेको छ’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob